वार्ता

संवार्ता : नीलाम्बर आचार्य

मार्क्सको शिक्षाअनुसार नै ३० वर्षअघि कम्युनिजम छाडेको हुँ

यी सबै दलले महाधिवेशन पार्टीको आवश्यकता हो भन्‍ने बुझेर गरेका होइनन्, बाध्यताले गरेका हुन्

विमल आचार्य | अनिष भट्टराई |
पुस २७, २०७८ मगलवार ९:३९ बजे

नीलाम्बर आचार्य आजभन्दा ६१ वर्ष पहिले बीपी सरकारका बेला पढ्न रुस पुगे । इन्जिनियरिङ पढ्न गएका उनी बिदामा नेपाल आए, पञ्चायती व्यवस्थाले गर्दा उनकै शब्दमा नेपाल ‘उराठ’ देखे । अनि राजनीतितिर चासो बढेपछि उनले पत्रकारिता पढ्न थाले । पत्रकारिता पढेर आएर उनी यहाँ पत्रकार बन्‍न चाहन्थे । ‘गोरखापत्र’मा विज्ञापन शाखामा नियुक्ति पाएपछि दुई महिनामै राजीनामा गरे तर पत्रपत्रिकामा भने लामै समय उनले लेख लेखे । आचार्य पूर्वमन्त्री हुन्, पूर्वराजदूत हुन्, पूर्वसभासद् हुन् तर पूर्व विशेषण जोड्न नपर्ने गरी पूर्वलेखक भने होइनन् । ‘प्रजातन्त्रमा संक्रमण : द्वन्द्व, अवरोध र अप्ठ्याराहरू’ तथा ‘समय चेतना’ पुस्तक लेखेका छन्, रुसी साहित्य नेपालीमा अनुवाद गरेका छन् । उनले जीविकाका लागि अदालती वकालत पनि गरे । ४८ वर्षको उमेरमा ०४८ सालमा उनले कम्युनिस्ट पार्टीको सदस्यता त्यागे । त्यसयता स्वतन्त्र नागरिकका रुपमा बाँकी जीवन बिताउने निर्णय गरे । त्यसयता उनी कुनै दलमा आबद्ध त भएनन् तर मानिस स्वभावैले सामाजिक प्राणी मात्र होइन, राजनीतिक प्राणी पनि हो । उनी राजनीति, कूटनीतिको साक्षीका रुपमा रहेकै छन् । कांग्रेस र एमाले सरकारबाट उनले श्रीलंका र भारतका लागि राजदूत पद पनि प्राप्त गरेका छन् । त्यसैले यहाँ अवसरवादबारे प्रश्न त छुट्ने कुरै भएन, राजनीतिक दर्शन र दिशाबारे यहाँ सोधिएको छ । बानेश्वरथित आफ्नो निवासमा किताब मिलाइरहेका, तिनैमा घोरिइरहेको अवस्थामा इकागजका विमल आचार्यअनिष भट्टराईले उनीसित विविध विषयमा कुराकानी गरेका थिए । संवादको दोस्रो शृंखला यहाँ प्रस्तुत गरिएको छ । पहिलो शृंखला 'त्यसबेला पनि काम नलाग्‍ने पत्रकारहरू थिए, अहिले पनि छन्' उनको अध्ययन र अनुभव पनि भएको विषय पत्रकारितासँग सम्बन्धित थियो । 

राप्रपा, एमाले, कांग्रेस, माओवादीका महाधिवेशन लगालग सम्पन्‍न भए । देशका ठूला पार्टी यिनै हुन् । महाधिवेशन हेर्दा हाम्रा दलहरू कहाँ छन्, कता जाँदै छन् ? 
महाविधेशन हुनु राम्रो हो तर यी महाधिवेशन किन भए भन्‍नेमा ध्यान दिनुपर्छ । महाधिवेशन यसकारण भए कि कानुनले महाधिवेशन गर्न बाध्य पारेको छ । पार्टीको स्तर बढाउन, लोकतान्त्रिक बनाउन, पार्टीको ताजकीको आवश्यकता बोध गरेर महाधिवेशन गर्नुपर्थ्यो । बदलिँदो अवस्थाअनुसार पार्टीले अपनाउनुपर्ने कार्यदिशा तय गर्न महाधिवेशन हुनुपर्थ्यो । तर यी सबै दलहरूले महाधिवेशन पार्टीको आवश्यकता हो भन्‍ने बुझेर गरेका होइनन्, बाध्यताले गरेका हुन् । महाधिवेशन गरेँ है भन्‍नलाई महाधिवेशन गरेका हुन् । महाधिवेशनमा कुनै परिवर्तनको एजेन्डा नै आएन । ५/५ वर्षमा महाधिवेशन गर्नुपर्ने छ भनेर संवैधानिक व्यवस्थाका कारण महाधिवेशन गरियो ।


महाधिवेशनमा (न)आएका विचारमा विचार गरिदिनुस् न ।
महाधिवेश स्थलमा गएर हतारमा छलफल गरेर विचार र दर्शन टुंग्याउँछु भन्‍ने होइन । महाधिवेशन अगाडि नै छलफल गरेर विषयमा बहस गरेर, कतिपय टुंग्याएर महाधिवेशन हलबाट औपचारिकता दिनुपर्ने हो । महाधिवेशनस्थलमै भएका छलफल पूरा नहुन सक्छन् । स्थानीय तह, प्रदेश तहबाट मुद्दाहरूमा छलफल चलाएर माथि आएर छलफल गरेर व्यापकता दिनुपर्थ्यो । यसले वैचारिक लोकतन्त्रलाई बढावा दिनुका साथै कार्यकर्ताको प्रशिक्षणमा पनि सहयोग पुर्‍याउने थियो ।

मैले राजदूत पद मागेर गएको होइन । मलाई जाऊ भने, म गएँ । मैले कम्युनिस्ट आन्दोलन छाडेकै हुँ । तर कुनै दुश्मनी त छैन नि ।

चामत्कारिक नेतृत्व आएर सबै समस्या हल गर्छ भन्‍ने हुँदैन । इमानदारी नेताहरूको जमातमै सिर्जना हुनुपर्छ । नेतृत्व मात्र इमानदार हुनुपर्छ भन्‍ने सोच पुरानो हो र अपुरो हो । एउटा मान्छेले देश, पार्टी बनाउन सक्दैन, देश बनाउन पूरा समाज नै चाहिन्छ । 

महाधिवेशन हेर्दा अब आउने विभिन्‍न तहका चुनावतिर पनि तिनले चियो गरेको देखिन्छ ?
देखिएन । अब चुनाव आउँदै छ । चुनावमा आफ्ना पार्टीका एजेन्डा के हुन सक्छन् भनेर सबैलाई स्पष्ट देखाउन सक्नुपर्थ्यो । समीक्षा हुनुपर्थ्यो । चुनावलाई केन्द्रविन्दुमा राखेर पार्टीका कार्यक्रम तयार पार्न सक्थे । कार्यकर्ताहरूलाई प्रशिक्षित बनाउन सक्थे । वैचारिक, संगठनात्मक र कार्यकर्ताको प्रशिक्षण हुने गरी महाधिवेशन गर्न सक्नुपर्ने हो ।  

नेतृत्व निर्वाचित होस् या वाचित, नयाँपन पाउनुभयो ? 
नेताहरू व्यक्तिवादी भए भनिन्छ । हामीले आफ्नो देशको अवस्था पनि बुझ्नुपर्‍यो । संस्कृति बुझ्नुपर्‍यो । हामी निर्गुणभन्दा पनि सगुणका उपासक छौँ । हामी के हेर्छौं भन्दा चित्र प्रस्तुत भएपछि मात्र उसको चरित्रप्रतिको विचार बनाउँछौं । यो यस्तो चरित्र, विचारको छ भनेर नै विचार बनाइने हो । तर हामीले चरित्रको आकांक्षा एउटा राख्छौं तर मान्छे छान्दा त्यस अनुरूपको छान्दैनौं । व्यक्तिले कस्तो विचार राख्छ, कस्तो आचरण राख्छ, कस्तो स्वभावको छ भन्‍ने नै हेरिँदैन । विचार नगरी नेता छान्‍नाले गुनासो आफैँप्रति गरिरहेका हुन्छौँ । 

म जबज निकट छैन । जनताको जनवाद भनेको के हो ? सीधै बहुदलीय जनवाद भने ठीक नि ।

हामीसँग जे स्रोत-साधन छ, त्यसैलाई सक्दो प्रयोग गरेर अघि बढ्ने हो । नभएको कुरा हामीकहाँ छैन, अमेरिकामा यो छ, बेलायतमा यो छ, चीनमा यस्तो छ भनेर मात्र हुन्‍न । प्रविधि आउला, शैली आउला, साधन आउलान्, तर मानिस त हाम्रै प्रयोग गर्ने हो । हामीसँग जस्तो जनशक्ति छ, त्यहीलाई लिएर अघि बढ्ने हो । यस्तो भएन, उस्तो भएन भन्‍नुभन्दा जे छ त्यसैको अधिकतम उपयोग गर्नुपर्छ । गुनासै-गुनासोले योगदान दिँदैन । 

दलहरूको विचारधारा र काम-कारबाहीमा सामञ्जस्य छ वा के छ ?  
विचार र व्यवहारमा, बोली र कर्ममा ठूलो अन्तर छ । संसदीय प्रणालीमा विश्वास गर्ने, बहुलवादमा विश्वास गर्ने कांग्रेस, एमाले छन् । अर्को बहुलवादमा विश्वास नगर्ने, जनगणतन्त्रको धारमा लैजाने भन्‍ने विप्लव, मोहन वैद्यको कुरा छ । प्रचण्डले त पुरानो आफ्नो विचार पनि छाड्न सकेनन्, नयाँबाट पनि सुविधा पाइन्छ भन्दै दुवै डुंगामा खुट्टा राखेका छन् । 

तपाईंको सुझाव कुन डुंगामा दुवै खुट्टा टेक्नुपर्छ भन्‍ने छ त ? 
अहिले दुईवटा मात्रै पार्टी प्रमुख हुन्, नेकपा एमाले र कांग्रेस । त्यसैले अरु पार्टीप्रति त्यति चिन्ता गर्नुपर्ने, ध्यान दिनुपर्ने आवश्यकता छ भन्‍ने लाग्दैन । यी दुई पार्टी कसरी बढ्छन्, त्यसले नेपालको भविष्य निर्धारण गर्छ । अरु पार्टीले पनि रोल खेल्लान्, भत्काउलान् । त्यति बेला मात्रै साना पार्टीप्रति चिन्ता गर्नुपर्ने होला । 

आजभन्दा ३० वर्ष पहिले २०४८ सालमा तपाईंले कम्युनिजम, साम्यवाद ढोंग हो भन्‍नुभएको थियो । अनि स्वतन्त्र नागरिक बन्‍ने घोषणा गर्नुभयो । ३० वर्ष अगाडिको त्यो निर्णय अहिले कत्तिको उचित लाग्छ ? 
त्यो सही निर्णय रहेछ भन्‍ने ठान्छु । त्यही निर्णयमा म अझै अडिग छु । 

त्यसबेला तपाईंको प्रधान असन्तुष्टि केमा थियो ? 
पहिलो कुरा के बुझ्नुपर्यो भने दर्शन र राजनीतिलाई जोड्नुपर्‍यो । तपाईं दार्शनिक हुनुहुन्छ भने तपाईंले १/२ सय वर्षपछिको सोच राख्न सक्नुहुन्छ । तर यदि तपाईं राजनीतिज्ञ हो भने, अहिले जे सम्भव छ त्यसअनुसारको सोच राख्नुपर्यो, कार्यक्रम बनाउनुपर्यो । मार्क्सको शिक्षाअनुसार नै ३० वर्षअघि मैले कम्युनिजम छाडेको हुँ । पुँजीवादी व्यवस्थाले सामन्ती वर्गलाई हटायो, उत्पादन, प्रविधिको विकास गर्यो तर यसमै विरोधाभाष पनि ल्यायो । यही विरोधाभाषले नै यसलाई समाप्त पार्छ । पुँजीवादले गर्नुपर्ने कार्यक्रम सकिएपछि मात्रै समाजवादको बाटो सुरु हुन्छ । सामन्तवाद भन्दा त राम्रो हो पुँजीवाद । अहिले ल्याउन सकिने परिवर्तन नल्याई छलाङ मात्र मार्ने सपना चाहन्छौं भन्‍ने त्यो कल्पनावाद ‘युटोपिया’ हो । 

म कम्युनिस्ट बन्‍ने बेला विश्व साम्यवादी व्यवस्थामा गइरहेको छ भन्‍ने थियो । दुईवटा शिविर भएकाले पुँजीवाद राम्ररी विकास नभएको देशमा पनि समाजवादी क्रान्ति ल्याउन सकिन्छ, आयो भने चाहिँ जोगाउन सकिन्छ किनकि बाह्य समाजवादले त्यसको रक्षा गर्छ ।

बीपी प्रधानमन्त्री भएको दिन महत्वपूर्ण होला कि राजासँग मेलमिलाप गर्नुपर्छ भनेको दिन महत्वपूर्ण होला ? स्वतन्त्रता खोसिएको पुस १ बिर्संदै गएर पुस १६ सम्झिरहनु अब ?

बाह्य साम्राज्यवादले प्रहार गर्छ । विश्वमा दुई ध्रुवबीच टक्कर चलिरहेको बेला, समाजवाद बलियो हुँदै जाँदा पुँजीवाद राम्रो नभएको देशमा पनि समाजवाद आउन सक्छ भन्‍ने थियो । तर स्थिति फेरिँदै गयो । चिज के हो भन्दा कम्युनिस्ट पार्टीप्रति मेरो विरोध होइन । मैले सोचेँ, त्यो मेरो बाटो होइन । किनकि कम्युनिस्ट पद्धतिमा स्वतन्त्रता छैन, आलोचना गर्ने अधिकार छैन, बहुलवाद छैन । कमीकमजोरीबाट सिक्नुपर्‍यो नि त । यो राजनीति ठीक होइन भनेपछि मैले छाडेको हुँ । 

नेपालका कम्युनिस्ट पार्टीहरूले अब आफैंलाई कम्युनिस्ट भनिरहन सुहाँउछ ? नाम फेर्नुपर्छ भन्‍ने लाग्छ ? 
नाम त फेर्लान् । तर भयंकर प्रतिक्रियावादी, भयंकर उग्र-चरमपन्थी भए भने नाम फेरेर के हुन्छ त ? त्यसैले नाम फेरेर हुने केही होइन । कम्युनिस्ट नलेखे पनि कम्युनिस्ट पार्टी त छ नि, नारायणमान बिजुक्छेको- नेपाल मजदुर किसान पार्टी । उहाँ त कम्युनिस्ट नै हो । त्यसैले अब मैले नाममा जोड गर्न छाडेँ । खान नपाउनेको पनि नाम ‘धनबहादुर’ हुन सक्छ । 

कांग्रेस र एमाले दुई ठूला पार्टी । यी दुईबीच व्यवहारमा अर्थात् सरकारमा के फरक पाउनुहुन्छ ? 
कांग्रेसको दृष्टिकोणमा राजनीतिक स्वतन्त्रता प्रमुख हो । एमालेको दृष्टिकोणमा समानता प्रमुख हो । यी दुवै महत्वपूर्ण हुन् । स्वतन्त्रता जोगाउन समानता आवश्यक छ । ठूलो असमानता भएको ठाउँमा स्वतन्त्रता रहँदैन । असमानता पनि कम गर्नुपर्यो, सामाजिक रूपमा कुनै असमानता लागू हुनुहुँदैन । सामाजिक न्यायलाई स्थापित गर्नुपर्‍यो ।

वामपन्थी, दक्षिणपन्थी भन्‍नु नै पुरानो भइसक्यो । अब २१ औं शताब्दिको दृष्टिकोण बोकेर बढ्नुपर्यो नि । अझै पनि उही शीतयुद्धकालीन सोचाइ बोकेर काम छैन । जीवनका विभिन्‍न पक्ष हुन्छन् ।

तपाईं बिरामी पर्दा सामान्य उपचार, तपाईंको शिक्षामा पनि सरकारले केही सहयोग गरिदिनुपर्‍यो । राजनीतिक पक्ष बलियो हुनुपर्छ भन्‍ने चाहिँ कांग्रेसको सोचाइ हो । आर्थिक-सामाजिक पक्ष बलियो हुनुपर्छ भन्‍ने चाहिँ एमालेको सोचाइ हो । मूल विचार यही हो । व्यवहारमा भने खास ठूलो अन्तर छैन । कांग्रेस र एमाले दुवैको राजनीतिक, आर्थिक, सामाजिक सबै पक्षलाई जोडेर देशमा दलहरू बलियो बन्दै आम नागरिकलाई झनै बलियो बनाउनुपर्छ ।  

वामपन्थ छाडेको व्यक्ति तपाईंलाई केपी शर्मा ओलीले भारतका लागि राजदूत बनाउनु भयो । के एमाले नेतृत्वले तपाईंको विचारमा केही प्रश्न गरेको थिएन ?  
त्यस्तो केही प्रश्न गरिएन । मैले राजदूत पद मागेर गएको होइन । मलाई जाऊ भने, म गएँ । मैले कम्युनिस्ट आन्दोलन छाडेकै हुँ । तर कुनै दुश्मनी त छैन नि । 

अहिले वैचारिक रूपले तपाईं कांग्रेस निकट कि एमाले निकट ?
वैचारिक रूपमा म कांग्रेस निकट छु । तर के भने लोकतान्त्रिक विचार कांग्रेसको मात्र त होइन । एमालेले पनि लिएको छ । 

तपाईं ‘वाम लोकतान्त्रिक’ ? 
अहिले वामपन्थी, दक्षिणपन्थी भन्‍नु नै पुरानो भइसक्यो । अब २१ औं शताब्दिको दृष्टिकोण बोकेर बढ्नुपर्‍यो नि । अझै पनि उही शीतयुद्धकालीन सोचाइ बोकेर काम छैन । जीवनका विभिन्‍न पक्ष हुन्छन् । समयअनुसार कुनै पक्ष बलियो हुन्छ भने अर्को पक्ष कमजोर बन्छ । 

म राजदूत भएर श्रीलंका गएँ, कांग्रेसको सरकारको पालामा । भारत जाँदा एमालेको सरकार थियो । मैले पद मागेको होइन, अब म गरौं के ?

कुनै बेला राष्ट्रियताले महत्व पाउला । कुनै बेला एकताले पाउला । कुनै बेला विकासले महत्व पाउला । तर कुन बेला केलाई जोड दिने भन्‍ने हो । स्थिति, परिस्थितिअनुसार एउटा विषयमा बढी ध्यान दिनुपर्ने हुन सक्छ । म यो विचार, त्यो विचार भनेर ठमठम्ती बस्नुभन्दा दिल र दिमाग खुला राख्नुपर्छ । पढ्नु, चिन्तन गर्न भनेको झ्याल-ढोका बन्द गर्नु होइन, खुला राख्नु, खुला ढंगले सोच्‍नु र व्यवहार गर्नु हो । 

२०४७ को संविधान बन्दा कानुनमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला छोटै समयमा संविधान बन्‍न सक्यो । मन्त्रिपरिषद्‌बाट मनोनीत भएर पछि संविधानसभामा सभासद् पनि हुनुभयो । अहिलेको संविधानमा ‘समाजवादउन्मुख’ भनेर लेखिएको छ, हामी साँच्चै कतातिर उन्मुख छौँ ?  
समाजवाद भन्‍नु र साम्यवाद भन्‍नुमा फरक छ । राजनीतिक रूपले चाहिँ त्यो शासन प्रणाली ठीक होइन । समानता होस्, सबैले खाना पाओस्, नाना पाओस्, स्वास्थ्यमा हेरचाह होस्, अन्याय नहोस्, अन्यायमा परेकाले न्याय पाऊन् भन्‍ने सोच त नराम्रो होइन । तर आजको भोलि छलाङ मारेर एकदम ‘स्वर्ग’ बनाइदिन्छौं यो भूमिलाई भनेर झुक्याउनु भएन । 

आजको भोलि छलाङ मारेर एकदम ‘स्वर्ग’ बनाइदिन्छौं यो भूमिलाई भनेर झुक्याउनु भएन ।

विचार र वादका कुरा संविधानमा नपरेकै राम्रो हुन्थ्यो । कसैले समाजवाद भन्ला, कसैले पुँजीवाद भन्ला, कसैले के वाद भन्ला । समाजवादको परिभाषा त बेग्लाबेग्लै छ नि । पुँजीवादी राष्ट्रमा पनि समाजवाद छ । समाजवादी राष्ट्रमा पनि पुँजीवाद छ । कम्युनिस्ट पनि समाजवादीबाट नै छुट्टिएर बनेको हो नि, इतिहास हेर्दा पहिला त सोसल डेमोक्रेटिक पार्टी थियो । अहिले डेमोक्रेटिक सोसलिजम भनेको छ नि । म डेमोक्रेटिक सोसलिजमको निकट हुँ ।

विचारले डेमोक्रेटिक सोसलिस्ट हुँ भन्‍नुभयो । बीपीको त्यही प्रजातान्त्रिक समाजवाद र मदन भण्डारीको जनताको बहुदलीय जनवादबीचको रौँचिरा के हो ? कांग्रेस र एमालेले बीपी र मदनका यिनै विचारमा आफूहरू छौँ भन्छन् ।  
म जबजमा निकट छैन । जनताको जनवाद भनेको के हो ? जनता, जन भनेको के हो ? सीधै बहुदलीय जनवाद भने ठीक नि । तर, नाममा, शब्दमा म विवाद गर्न चाहन्‍नँ तर त्यसले दिने सन्देश के हो भन्‍ने पनि हेर्नुपर्‍यो नि । कुनै समय बीपीबाट मेलमिलाप आयो, त्यो जहिलेसुकैको सत्यता त होइन । कुन चरणमा आएको हो, त्यही चरणको सान्दर्भिकताका रूपमा हेर्नुपर्यो । बीपी प्रधानमन्त्री भएको दिन महत्वपूर्ण होला कि राजासँग मेलमिलाप गर्नुपर्छ भनेको दिन महत्वपूर्ण होला ? स्वतन्त्रता खोसिएको पुस १ बिर्संदै गएर पुस १६ सम्झिरहनु अब ?

यो ‘समाजवादउन्मुख’ मुलुकमा शिक्षा-स्वास्थ्यमा अपार व्यापारीकरण भइरहेको छ । आमनागरिकले सामान्य उपचार नपाउने, नेताहरू तिनै गरिबको कर लिएर उपचारका लागि विदेश जाने । शिक्षा-स्वास्थ्य नाफावालको कब्जामा जाने । स्वार्थ बाझिने गरी सिधै व्यवसायीहरू समानुपातिक सांसद र मन्त्री हुने । शिक्षा-स्वास्थ्यमा राज्य अगुवा हुुनुपर्छ भन्‍ने त कम्युनिस्टको पनि कखरा नै होला । गणतन्त्रपछि शिक्षा, स्वास्थ्य मन्त्रालय हाँक्ने पनि कम्युनिस्ट र परिवर्तनकारी भनिएका शक्ति नै बढी छन् । तर उनीहरूले शिक्षा, स्वास्थ्यको क्षेत्रमा समाजवादउन्मुख प्रस्ताव ल्याएको, प्रस्ताव अरुले फेल गराएको पनि थाहा नै छैन । नागरिकको खुसीका लागि काम भएको छैन, किन ? 
सोचे जति भएको छैन । तर हामी त पञ्चायतमा संघर्ष गरेका मान्छे भयौं । वित्पात फरक, ठूलो फरक देख्छौं । सासै फेर्न गाह्रो थियो, कुन दिन घरबाटै घिसारेर लैजालान् भन्‍ने थियो । १० वर्षे माओवादी जनयुद्धका बेला एउटा आउँथ्यो खान माग्थ्यो, अर्को आएर ‘किन खान दिइस्’ भन्दै मार्थे ।

हामी देशको ऐतिहासिक गतिशीलता हेदैनौं, अरु घटनासँग नजोडी हेर्छौं । टपक्क एउटा घटना लिएर यो भएन भनिदिन्छौं । हामी कुन अवस्थाबाट कुन अवस्थामा आयौं हेर्दैनौं । ‘हिजोको भन्दा केही भएन’, ‘गणतन्त्र ल्याएर केही भएन’ भनेर भन्छन् । बर्माको व्यवस्थालाई ठीक ठान्‍नुहुन्छ ? हिजो कुन अवस्थाबाट आएका थियौं त्यो हेर्नुहोस् न । किरियापुत्री घिसारेर मारिन्थे । पढाउँदा-पढाउँदै मारिन्थे ।

विचार र वादका कुरा संविधानमा नपरेकै राम्रो हुन्थ्यो ।

कहालीलाग्दो अवस्थाबाट यहाँ आएका छौं । हिजो विदेश जान सुविधा पाएकालाई मात्रै थियो, आज लाखौं युवा विदेशिएका छन् । हिजोको अवस्था भन्दा त आज धेरै फरक छ नि । विद्यालय, कलेज, उद्योग, बाटोघाटो त हिजोका भन्दा फरक छन् नि । हामीले गरिबी उन्मूलन कार्यक्रम अगाडि बढाउन सकेनौं, स्रोत साधनको उपयोग गर्न सकेनौं, कमीकमजोरी धेरै नै छन् । जो सत्तामा आए, उनीहरूले पुरानै व्यवस्था, भ्रष्टाचारलाई नै बढाए । अहिले गल्ति भएका छन् तर भएका उपलब्धिलाई बेवास्ता गर्नुभएन । वर्षौंबाट न्याय नपाएका छन्, रोजगारी नपाएका छन् । अब हामीले यता ध्यान दिनुपर्‍यो । अहिले राजनीति त आफ्नो रहनसहन सुधार्ने बाटो भयो । हामीले त राजनीतिलाई सेवा मान्थ्यौं । 

२०४७ पछि मैले पनि विभिन्‍न अवसर पाएँ । तर मानिसहरू रातारात कसरी घर बनाउँछन्, गाडी किन्छन् मैले बुझेको छैन । देख्छौँ कि उसको आम्दानी धेरै छैन, त्यही पनि उसले घर-गाडी किन्दा हामी सम्मान गर्छौं । उसलाई प्रश्न गर्दैनौं, उल्टै प्रशंसा गर्छौं- खुब कमायो भन्दै । 

नागरिकले न्यूनतम सेवा-सुविधाको अपेक्षा राख्दा गणतन्त्र ल्याइदियौँ त भनेर कहिलेसम्म टार्ने ? सामाजिक न्याय र अधिकार माग्नु, प्रश्न गर्नु व्यवस्था विरोधी भइहाल्नु हो र ? राष्ट्र खतरामा छ, लोकतन्त्र खतरामा छ, मेरो ज्यान खतरामा छ, विदेशी षड्यन्त्र छ भनेर नेताहरूले आफ्नो अक्षमता ढाक्न खोजेको देखिन्छ । चीजमा छिर्ने कहिले ?
हामीले आचरण ठीक पार्न सकेनौं । मुलुकको पद्धतिको रक्षा त जनताले गरिहाल्छन् नि किनकि राजनीतिक परिवर्तन त जनताले ल्याएको हो नि । खतरा छ भने किन सुदृढ पार्न सकेनौं ? आफू टेस्टेड भइसक्ने, सुदृढ पार्न नसक्ने अनि बाटो पनि नछाडिदिने ?

चिज के हो भन्दा कम्युनिस्ट पार्टीप्रति मेरो विरोध होइन । मैले सोचेँ, त्यो मेरो बाटो होइन । किनकि कम्युनिस्ट पार्टीमा स्वतन्त्रता छैन, बोल्ने अधिकार छैन, बहुलवाद छैन ।

पटकपटक टेस्टेड हुने, प्रधानमन्त्री बन्‍ने अनि ‘अब हामी देशलाई यस्तो बनाउँछौं, यस्तरी सुधार्छौं,’ भन्‍ने ? नयाँलाई बाटो खोलिदिनुपर्‍यो नि । आआफ्नो अनुभवबाट युवा पिँढीलाई सिकाउनु पर्छ । यो-यो कारण देशलाई खतरा छ भन्दै भावनामा खेलेर सत्तामा बस्ने होइन । 

युवालाई बाटो छोड्नुपर्छ भन्‍नुभयो । तपाईं ८० वर्ष पुग्दै हुनुहुन्छ, तपाईं अब कुनै कार्यकारी भूमिकामा बस्नुहुन्छ कि हुन्‍न ? 
भारतका लागि राजदूतको जिम्मेवारी लिनुअघि नै मेरो मनस्थिति म अब पूर्ण लेखपढ र चिन्तनतर्फ लाग्छु भन्‍ने थियो । दुई वर्ष जति बसेर आएपछि चिन्तनमै लाग्छु भन्‍ने थियो । भोलि म यस्तै गर्छु भनेर भन्‍न पनि नसकिने रहेछ । भारतको राजदूत बन्छु भन्‍ने सोचेको पनि थिइनँ । तर बन्‍नुस् भनेपछि मैले नाइँ भन्‍न सकिनँ । प्रलोभन भन्‍नुहोस् वा आकर्षण भन्‍नुहोस्, मैले नाइँ भन्‍न नसकेकै हो । अब राजकीय कार्यकारी जिम्मेवारी लिने बेला मेरो होइन । तर, भोलि कुनै सरकार वा कसैले मेरो अनुभवअनुसार केही काम सघाउनुपर्‍यो भन्यो भने म गर्दिनँ भन्‍न सक्दिनँ होला । राज्यले ममा लगानी गरेको छ भने मैले विज्ञता र अनुभव दिनुपर्छ । तर, चिज के हो भन्दा मैले कुनै जिम्मेवारी लिन्छु भनेर कहिल्यै माग गरेको छैन । अब पनि जिम्मेवारी लिने उमेर नै छैन । ७९ वर्ष लागिसकेँ । यतिसम्म गर्नुपर्ने काम त गरिसकेँ । अब म स्वतन्त्र रूपमै मन लागे पढ्छु, लेख्‍न मन लाग्दा लेख्छु । 

राजनीतिक रूपमा त मैले २०४८ मै छाडेको हुँ । काम गर्दिनुहोस् अनि त्यसबापत सुविधा लिनुहोस् भनेपछि मैले नाइँ भनिनँ । मैले कहिल्यै कुनै पद मन्त्री, सांसद, राजदूतको माग गरिनँ । स्थितिले मलाई संविधान बनाउने बेला आवश्यक ठानेर मनोनीत गरेपछि म संविधानसभा गएँ । साझा मनोनयन गर्नुपर्थ्यो तर दलगत गरे । त्यसो गर्नुहुँदैन थियो । अब यसलाई तपाईं दलगत भन्‍नुहोस् वा जेसुकै भन्‍नुहोस्, मन्त्रिपरिषद्ले निर्णय गरेको हो । म श्रीलंका गएँ, कांग्रेसको सरकारको पालामा । भारत जाँदा एमालेको सरकार थियो । अब म गरौं के ? 

त्यही त तपाईंलाई अवसरवादी पनि भन्दा रहेछन् नि त ? 
अवसरवाद भनेर मैले अवसरका लागि पार्टी फेरेर त बसेको छैन नि । मेरो पछिल्लो पार्टी त कम्युनिस्ट पार्टी नै हो नि, ०४८ मा छाडेँ ।  मेरो बाटो कम्युनिजम होइन भन्‍ने लागेर छाडेँ । कम्युनिजम मान्‍नुहुन्छ अनि बहुलवाद मान्‍नुहुन्छ भने तपाईंसँग मेरो राम्रो सम्बन्ध रहन्छ । बहुलवाद मान्‍नुहुन्‍न, कम्युनिजम मान्‍नुहुन्छ भने मसँग नमिल्न सक्छ । 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x