वार्ता

संवार्ता : सञ्जीव पोखरेलसँग प्रश्नबारे नै २८ प्रश्न

प्रश्न गर्ने मान्छेलाई समाधान पनि खोज भन्‍नु भयंकर ठूलो षड्यन्त्र हो

प्रश्नभन्‍दा जवाफ दिइरहने पत्रकार नायक हैनन्, खलनायक हुन्

विमल आचार्य | सृजना खड्का |
पुस २९, २०७८ १६:० बजे

राजनीतिक-सामाजिक विषयमा लेख लेखिरहेका सञ्जीव पोखरेलको पुस्तक ‘एक अनि शून्य’ हालै सार्वजनिक भएको छ । पुस्तकलाई उनले ‘पाश्चात्य  दर्शनशास्त्रको संक्षिप्त वर्णनयात्रा’ भनेका छन् । परिचय र उपसंहार गरी किताबमा एक दर्जन पाठ छन् । किताब दश दर्शनबारे लेखिए जस्तो देखिए पनि विभिन्न दर्शन आपसमा ठेलमेल भएका छन् । दर्शन जस्तो विषय पनि सजिलो बनाउँदै उनले ‘प्रिय पाठक’ भन्दै कथा हालेका छन् । पाश्चात्य दर्शन मूलतः प्रश्नमुखी दर्शन हो । लेखक पोखरेलसँग प्रश्नबारे प्रश्नैप्रश्न गरिएको छ । इकागजका विमल आचार्य सृजना खड्काले पोखरेलसँग गरेको प्रश्न-संवाद: 

प्रश्न यो छ कि प्रश्न के हो ? 


रमाइलो प्रश्न । प्रश्नभित्र केही निश्चित तत्व हुन्छन् । ती तत्व उत्सुकता र दृष्टिकोण हुन् । तिनै तत्वले हामीलाई आफू र संसारसँगको आफ्नो सम्बन्ध बुझ्न सघाउँछन् । तर, हामी प्रश्नभन्दा बढी जवाफमा केन्द्रित भइरहेका हुन्छौँ । किनभने, जवाफ दिन एकदमै सजिलो छ । जवाफ भनेको व्याख्या हो । हामी सबैसँग आफ्नो-आफ्नो खाले केही न केही व्याख्या त हुन्छन् । जवाफभन्दा एक कदम बाहिर निस्किएर आलोचनात्मक ढंगले हेर्ने हो भने प्रश्नको निर्माण गर्न सकिन्छ ।

कसरी निर्माण हुन्छ ? 

प्रश्नलाई धेरै जटिल बनाउन पनि आवश्यक छैन । प्रश्न सामान्य नै भए राम्रो । सामान्य प्रश्नहरूको निर्माणले नै हामीलाई वैचारिक रूपमा थप उन्‍नत र प्रस्ट हुन सघाउँछ । हामीले संसारलाई धेरै व्याख्या गर्‍यौँ । अब व्याख्याहरूलाई पनि प्रश्न गर्नुपर्छ । 

बच्चा हुँदा हामी पनि धेरै प्रश्न सोध्छौँ, सोच्छौँ । तर, उमेर बढ्दै जाँदा हामीसँग प्रश्न पनि कमकम हुँदै गए जस्तो लाग्छ, किन यस्तो हुन्छ होला ? 

हाम्रो हुर्काइ, हाम्रो सांस्कृतिक विशेषता र त्योसँग जोडिएको मनोविज्ञानमा प्रश्नभन्दा जवाफको महत्व धेरै भएर हो कि ? अनि धेरै प्रश्नको उत्तर नपाएपछि, अभिभावक-स्कुलले प्रश्न टारिरहेपछि, प्रश्नतिर प्रेरित नगरेपछि सायद हामीलाई प्रश्न गर्नु जरुरी काम रहेनछ भन्ने लाग्दो हो कि ? 

प्रश्नलाई नै प्रश्न गर्न पनि त सकिएला ? 

पानी किन पर्छ ? खाना कस्तो खानुपर्छ ? कस्तो सिनेमा हेर्नुपर्छ ? जस्ता प्रश्नको सबैसँग सरल जवाफ हुन्छ । हामी ती सरल जवाफभित्र पसेर थप प्रश्न गर्दैनौँ । जस्तै : मलाई कुनै साथीले ‘फिल्न हेर्न जाऊँ’ भन्यो भने म ‘जान्नँ’ भन्छु । उसले ‘किन नजाने ?’ भनेर प्रश्न गर्ला । त्यसबेला म ‘त्यो फिल्मको निर्देशक/कलाकार मन पर्दैन’ भन्छु अथवा केही भन्छु । साथी ‘ए ल तिमी नजाने भए म गएँ है त’ भनेर जान्छ । त्यहाँ साथीले अर्को तहको प्रश्न गर्न सक्थ्यो— ‘किन त्यो निर्देशक/कलाकारको सिनेमा मन पर्दैन ?’ प्रश्नहरू किन महत्वपूर्ण हुन्छन् भनेर हामी आत्मसात् गर्दैनौँ । सम्भवतः यो हाम्रो संस्कृति र सामाजिकीकरणको विशेषता हो । प्रश्नको शृङ्खलालाई निरन्तरता दिन हामी बालबालिकालाई सिकाउँदैनौँ । जसरी व्याख्याहरू महत्वपूर्ण हुन्छन्, प्रश्नहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन् भनेर उनीहरूलाई भन्दैनौं । 

कतिपय प्रश्न साँच्चै झर्कोलाग्दा पनि हुन्छन् कि हामीलाई त्यस्‍ताे लाग्छ ? 

हामीलाई कतिपय प्रश्नको निश्चित जवाफ छ जस्तो लाग्छ । त्यसमा थप प्रश्न गरिरहनुपर्छ भन्ने लाग्दैन । कुनै प्रश्न, प्रश्न गर्नैलायक छैन जस्तो लाग्छ । कसैले ‘सुन्तला किन गुलियो हुन्छ ?’ भनेर प्रश्न गर्‍यो भने गुलियो हुन्छ त्यसैले गुलियो हुन्छ भनौँला । तर, हामीले सुन्तला गुलियो हुने आधार के हुन् ? यो फल्ने प्रक्रिया, मौसम आदि आदिमा हामी जाँदैनौँ । सबै जानुपर्छ भनेको होइन तर आफ्ना केटाकेटी, विद्यार्थीलाई रुचि हुनसक्छ नि, प्रेरित गर्दैनौँ । अभिभावक भएपछि, शिक्षक भएपछि हर प्रश्नको उत्तर हुनुपर्छ भन्ने छँदै छैन, तर हर विषयमा प्रश्न चाहिँ हुनुपर्छ । प्रश्न बनाइदिनु पनि पर्दैन ।  

प्रश्न नै सबथोक हो त ?

सबै थोक त केही पनि होइन । तर, मेरो विचारमा प्रश्न धेरै महत्वपूर्ण छन् । 

प्रश्न दुई खाले हुँदा हुन् । शिक्षकले विद्यार्थीलाई सोध्ने अर्थात् आफूले जवाफ लुकाउने र विद्यार्थीले शिक्षकलाई सोध्ने अर्थात् साँच्चै जवाफको चाहना राख्ने । ज्ञान लुकाउने वा ज्ञानको चाहना राख्ने कस्ता प्रश्न ? 

प्रश्न कसरी बनाउने भनेर धेरै सोच्नुपर्छ भन्ने होइन । राम्रो प्रश्न कसरी बनाउने भन्नेमा अल्झियौँ भने बढी सचेत भइन्छ । सबै खाले प्रश्नको जवाफ नभए पनि अर्थ चाहिँ छ । तपाईंको प्रश्नको जवाफ यहाँ भेटिएन वा छैन भन्दैमा ‘कस्तो अर्थहीन प्रश्न’ भन्न मिल्दैन होला । 

कलेज पढ्दा रिसर्च प्रपोजल (शोधप्रस्ताव) लेख्दा सबैभन्दा गाह्रो ‘स्टेटमेन्ट अफ द प्रब्लम’ (समस्या कथन) मा भएको हाम्रो आफ्नै अनुभव छ । प्रश्न सही, स्पष्ट र सूक्ष्म भए मात्र अनुसन्धान राम्रो हुने, तर समस्यै बनाउन नै सबैभन्दा गाह्रो... 

ठीक भन्नुभयो । यो म आफैँले पनि, मेरा विद्यार्थीले पनि फेस गरेको अनुभव हो । हामी प्रश्नमुखी नहुने हुँदा हामीलाई एक्कैचोटि प्रश्न बनाउन गाह्रो लागेको होला । भनिन्छ, सही प्रश्न बनाउन सक्नु शोधको आधाआधी काम पूरा गर्नु हो । यसमा अर्को समस्या पनि छ– धेरैजसो विद्यार्थी 'स्टेटमेन्ट अफ द प्रब्लम' भन्ने शब्दावलीमा रहेको ‘प्रब्लम’ शब्दको अर्थलाई राम्रोसँग बुझ्न खोज्दैनन् । उनीहरू यसलाई समाजको समस्याजस्तो गरेर बुझ्छन् र समाधानका उपायमा आफ्नो ध्यान केन्द्रित गर्छन् । किनकि हामीलाई समाधान वा जवाफ बढी महत्त्वपूर्ण हुन्छन् भनेर सिकाइएको छ । त्यसै हुनाले विद्यार्थीहरूको रुचि पनि जवाफमा छ, प्रश्नहरूमा छैन ।

प्रश्न असान्दर्भिक, अप्रासांगिक कति बेला हुन्छन् ? 

जब प्रश्नहरूले जवाफको ठाउँ लिन थाल्छन् त्यसबेला प्रश्नहरू अप्रासङ्गिक हुन्छन् । जस्तै, हिजोआज मानिसहरू आफ्नो स्वार्थ वा पूर्वाग्रहको संरक्षण गर्न जवाफलाई प्रश्न बनाउने यत्न गरिरहेका छन् ।

यसलाई अलि विस्तारमा हेरौँ । व्यक्ति, समाज र राष्ट्रलाई निर्देश गर्ने केही आधारभूत मूल्य-मान्यता हामीसँग हुन्छन् । ती मूल्य-मान्यता न्याय, अधिकार, समानता, स्वतन्त्रतासँग जोडिएका हुन सक्छन् । आफू, समाज र राष्ट्रलाई बुझ्न प्रश्न गर्नु आवश्यक छ । मनमा कुनै न कुनै खाले प्रश्न हुन्छन् र त हामी कला होस् वा साहित्य वा अन्य पढि-हेरिरहेका हुन्छौँ । तर, हिजोआज मानिसहरू मानिसका लागि चाहिने आधारभूत सामाजिक सर्तहरूलाई निश्चित स्वार्थवश प्रश्न उठाइरहेको देख्छु ।

‘वर्तमान राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?’ देखि ‘अन्तिममा केही भन्न चाहनुहुन्छ कि ?’ सम्मका वार्ता समयको सत्यानाश मात्र हो । आलोचनात्मक चेतको विरोध गर्दै प्रश्न गर्नुभन्दा जवाफ दिइरहने पत्रकार नायक हैनन्, खलनायक हुन् ।  

के लोकतन्त्र आवश्यक छ ? के विधिको शासन महत्वपूर्ण छ ? यस्ता प्रश्न सही प्रश्न होइनन् । हिजोआज म एउटा प्रश्नबाट दुःखी छु- लोकतन्त्र, सकारात्मक विभेद देशका लागि राम्रो नै हो त ? मलाई यस्ता खालका प्रश्नमा विश्वास छैन । यी प्रश्न झट्ट हेर्दा प्रश्नजस्ता लागे पनि दृष्टिकोण हुन् । यस्ता दृष्टिकोणले प्रश्नहरूलाई ठाउँ दिँदैनन् । समाजको समग्र मूल्य-मान्यता बलियो बनाउँदैनन् ।

प्रश्न गतिलो भयो भने मात्र जवाफ पनि गतिलो आउँछ होला । हामीले अहिले भोगिरहेको परिस्थितिलाई एकप्रकारले हाम्रा प्रश्नको ‘जवाफ’ मान्ने हो भने प्रश्न त प्रश्नमै पो गर्नुपर्ने देखियो, हैन र ? 

हुन सक्छ, हामीले सही प्रश्न सोधिरहेका छैनौँ । सही प्रश्न समाजमा आउन नसक्नुका विभिन्न कारण होलान् । हामीले जसरी बालबच्चा हुर्काइरहेका छौँ, जस्तो खालको शिक्षा प्रणालीको स्थापना गरिरहेका छौँ, जस्तो संस्कृतिलाई जोड दिइरहेका छौँ, र जस्तो प्रकारको मूल्य-मान्यतालाई प्रश्रय दिइरहेका छौँ, त्यसमा प्रश्नका लागि ठाउँ नै छैन । जवाफका लागि मात्रै प्रशस्त ठाउँ छ । हामी जताततै जवाफै जवाफले घेरिएका छौँ । 

प्रश्नका लागि प्रोत्साहन छैन भन्नुभयो, अनि तपाईं आफैंले सामाजिक सञ्जालमा धेरैलाई ‘ब्लक’ गरेको देखियो, किन त ?

हो, म सामाजिक सञ्जालमा ट्वीटर चलाउँछु, जहाँ लगभग चार-पाँच सय जनालाई ब्लक गरेको छु । म दुईखाले मानिसलाई ब्लक गर्छु । पहिलो, जसको विचार मलाई असाध्यै विषाक्त लाग्छ । दोस्रो, जसले मलाई बोल्नै हुँदैन भनेर व्यक्तिगत तहमै उत्रेर किचकिच गरिरहन्छन्, बहिष्कार गर्नुपर्छ भनेर अभियान चलाउँछन् । ब्लक गरेपछि उनीहरूको विचार मेरो टाइमलाइनमा आउँदैन । यसको अर्थ उनीहरूले मेरो विरोध गर्न पाउन्नन् वा आफ्ना विचार राख्न पाउन्नन् भन्ने होइन– ती विचार नसुन्न मैले आफ्नो स्वतन्त्रताको उपयोग गरेको मात्र हो । त्यो उनीहरूका लागि भन्दा पनि मेरा लागि हो । कतिपय कहिल्यै सम्पर्क, सम्बन्ध र कुराकानी नभएकालाई पनि मैले ब्लक गरेको छु । उनीहरू मलाई ‘अरुको विचार नसुन्ने, ब्लक गर्नेको विचार किन सुन्नु’ भन्छन् । यसो गर्न उनीहरू एकदमै स्वतन्त्र छन् । म पनि आफूलाई मन नपर्ने धेरै लेखक, टिप्पणीकार वा अन्यका कुरा सुन्दिनँ । 

म ट्वीटरमा यस्ता मानिसलाई ब्लक गर्छु, जससँग विचार भएको पाउँदिनँ । जसले दलित, आदिवासी, महिला, अपांगता भएका आदिबारे निकृष्ट ‘विचार’ राख्छन् वा जसले एउटा नेता वा धर्मगुरुको चाकरीमा आफ्नो आत्मसम्मान सुम्पेर अन्टसन्ट कुरा गरिरहन्छन्, उनीहरूलाई मेरो टाइमलाइनमा किन आउन दिनु ? मानिस भएर मानिसका लागि चाहिने आत्मसम्मानविरुद्ध घिसापिटा तर्क गर्ने र कसैको दास बन्न पाए हुन्थ्यो भनेर गनगन गर्नेहरूलाई पनि मेरो टाइमलाइनमा कुनै स्थान छैन । जसरी तपाईं आफ्नो घर-अफिसमा सबै खालको विचारलाई सम्मान गर्ने नाममा कमजोर पारिएकालाई झनै हेप्ने-अपमान गर्ने ‘विचार’लाई प्रवेश दिनुहुन्न त्यसरी नै ‘ब्लक’ सामाजिक सञ्जाल चलाउने म सामान्य नागरिकले गरेको एक हिसाबको ‘दण्ड’ हो । त्यही भएर ट्विटरले ब्लक गर्ने प्रावधानको उपयोग गर्न प्रयोगकर्ताहरूलाई प्रोत्साहित पनि गर्छ ।

पत्रकारिताको काम, कर्तव्य, अधिकार, औचित्य सबै खासमा प्रश्न नै होला । हामीले सोध्ने प्रश्न कस्तो लागिरहेको छ, तपाईंलाई ? 

पत्रकारितामा प्रश्नै नभएको होइन । तर, पत्रकारिताको मुख्य चासोमा भने 'रिभिजिट' गनुपर्ने देखिन्छ । पत्रकारिताले कसलाई कस्ता प्रश्न सोधिरहेको छ, त्यसमा समीक्षा गर्नुपर्छ । हामीले नै स्थापना गरेका संस्थाहरू राज्य, सरकार, राजनीतिक दल आदि नै हाम्रो समस्याको स्रोत हुन् । यी संस्थाले हाम्रो जीवन जटिल बनाइरहेका छन् । यस हिसाबले मिडियाको चासो यस्तै संस्थामा बढी हुने गर्छ । सरकार कहिले बन्ने/कहिले ढल्ने ? को नेताले के भने ? आदि इत्यादि ।

रामदेव कसरी क्रान्तिकारी भए भनेर माओवादीलाई ​सोध्थेँ । 

हाम्रा प्रश्न तिनै संस्थामा मात्र केन्द्रित हुन्छन् जसले जवाफ मात्र दिन्छन् । जसले आफैँलाई कहिल्यै प्रश्न गर्दैनन् । सरकार, राजनीतिक दलले आफैँलाई कहिल्यै पनि प्रश्न गर्दैनन् । उनीहरू जवाफ मात्रै फर्काउँछन् । आफू सही छु भनेर पुष्टि गर्ने मात्रै प्रयत्न गर्छन् । हामीले प्रश्न सही ठाउँमा केन्द्रित नगरेको हो कि जस्तो लाग्छ । तर, केही पक्षमा नेपालको पत्रकारिता दक्षिण एसियाका थुप्रै देशको भन्दा पृथक् र सन्तोषजनक छ । नेपाली पत्रकारिताले धेरै हदसम्म शक्ति र सत्तालाई प्रश्न गर्ने गरेको छ । जसलाई बचाएर राख्नुपर्नेे, अझै बढाउनुपर्ने छ जस्तो लाग्छ ।

प्रश्नपछि जवाफ । जवाफपछि हामी शान्त । प्रतिप्रश्न चाहिन्छ ?
 
हामी प्रतिप्रश्नमा चुकिरहेका पनि छौँ । प्रतिप्रश्न गर्न अध्ययन, अवलोकन, तयारी राम्रो चाहिन्छ । ‘वर्तमान राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?’ देखि ‘अन्तिममा केही भन्न चाहनुहुन्छ कि ?’ सम्मका वार्ता समयको सत्यानाश मात्र हो । हाम्रोमा यस्तो पनि देखिन्छ, आलोचनात्मक चेतको विरोध गर्दै आफू चाहिँ पुरानै टेप बजाइरहने, प्रश्न गर्नुभन्दा जवाफ दिइरहने, यस्ताले आफूलाई पत्रकारिताको नायक दाबी गर्छन् । तर तिनीहरू नायक हैनन्, खलनायक हुन् ।  

मिडियासँगै विचार पनि जोडिएर आउँछ । पत्रपत्रिकामा आउने विचार-टिप्पणीमा कति प्रश्न पाउनुहुन्छ ? अनि तिनले समसामयिक सवाललाई, नागरिकका दुःखलाई कति उठाएका छन् ? 

विचारका रुपमा आउने टीका-टिप्पणी निश्चित व्याख्यालाई स्थापित गर्ने उद्देश्यसँग केन्द्रित छन् । लेखक र विश्लेषकको काम स्थापित विचारलाई बुझ्न प्रश्न निर्माण गर्ने हो । तर, विचार निर्माण र प्रवाह गर्ने पद्धतिमा केही समस्या छ, जसले प्रश्नलाई ठाउँ दिँदैन । यसमा अरुलाई मात्र दोष दिन्नँ । त्यो कमजोरी ममा पनि छ । नेपाली कांग्रेसको महाधिवेशनको छेको पारेर मैले ‘नेपाली कांग्रेसलाई पाँच प्रश्न’ भनेर एउटा लेख लेखेको थिएँ । नेपालको संविधानको मूल र पेचिला विषयमा कांग्रेसको भूमिका के हो भनेर सोधेको थिएँ । त्यो मैले प्रश्न निर्माण गर्नु महत्वपूर्ण काम हो भन्ने सचेतनाले गरेको थिइनँ । लेख्दै जाँदा त्यो संरचना ठीक लाग्यो, त्यसरी नै लेखेँ । अरु लेखमा मैले पनि प्रश्नलाई ठाउँ दिएको छैन । त्यो हामी सबैको कमजोरी हो । विचारको पद्धति निश्चित ढंगले अगाडि बढिरहेको छ । हामी आफ्नै ढंगले व्याख्या र विश्लेषण प्रस्तुत गरिरहेका छौँ । त्यसमा ताजापन र विविधता ल्याउन जरुरी छ ।

यसले प्रश्न मात्र गर्‍याे, गुनासो मात्र गर्‍याे, जवाफ पनि दिएन, विकल्प पनि दिएन भनेर लेखकप्रति धेरैले प्रश्न उठाउँछन् । नोट लेखाउने टिचर खोजेजस्तो हामी किन बनिबनाउ जवाफ दिने लेखक खोजिरहेका हुन्छौँ त ? 

समाधानमुखी चिन्तनले हामीलाई कतै लैजाँदैन । हामीसँग प्रश्नमुखी चिन्तन हुनुपर्छ । एउटा मानिससँग समाज र राष्ट्रलाई कस्तो बनाउने भन्ने विचार हुन्छ । तर, त्यो मानिसले दिएको विचारले समाज र राष्ट्र राम्रो हुन्छ भन्ने होइन । खगेन्द्र संग्रौला समाज र राज्यको चरित्रबारे कुरा गर्नुहुन्छ । उहाँको लेखमार्फत दिने समाधानले यी कुरा निश्चित हुने होइनन् । प्रश्न गर्ने र समाधान खोज्ने पक्ष फरक–फरक हुनुपर्छ । आफैँले प्रश्न गर्ने, आफैँले जवाफ दिने भयो भने त्यहाँ निश्चित आग्रह लुकेको हुन्छ ।

एनजीओले कुनै देशबाट पैसा लिएर मानिसलाई धर्म परिवर्तन गराउँछु भन्दै हिँड्यो भने त्यसलाई तुरुन्तै अवैधानिक घोषणा गरेर उसका काम-कारबाही बन्द गर्नुपर्छ र कानुनअनुसार कारबाही गर्नुपर्छ ।

त्यहाँ जवाफदेहिताको कुरा आउँछ । प्रश्न गर्ने मान्छेलाई समाधान पनि खोज भन्नु भयंकर ठूलो षड्यन्त्र हो । यसो हुँदा मानिसले प्रश्नै गर्न पाउँदैन । प्रश्न गर्नेसँग समाधान नहुन सक्छ । उदाहरणका लागि, कोही सार्वजनिक बस चढ्छ । तर, उसको ठाउँमा सार्वजनिक बस नियमित आउँदैन भने उसले ‘किन नियमित आउँदैन ?’ भनेर प्रश्न गर्छ । बसलाई कसरी नियमित गराउने भनेर जवाफ ऊसँग हुनुपर्छ भन्ने छैन । त्यसैले समस्याको मात्रै कुरा गर्ने, समाधानको कुरा नगर्ने भन्नु प्रश्न रोक्ने षड्यन्त्र हो । 

खगेन्द्र संग्रौलाको प्रसंग आइहाल्यो । ‘किन प्रश्न मात्र ?’ भन्ने प्रश्नमा उहाँले जवाफ दिनुभएको पनि छ । उहाँ भन्नुहुन्छ— जवाफ दिने भनेरै त यत्रा सिंहदरबारहरू छन्, योजना आयोगहरू छन्, शासक-प्रशासकहरू छन्, तिनको काम हाम्रा प्रश्न सुन्नु होइन ? अनि जवाफ पनि मै निम्छरो चाबेलको चाउरेले दिनु !

हो नि, जवाफ नभएको त होइन । जवाफ दिन मन नलागेको त होइन । जवाफ दिँदै लेख्न स्वाद पनि आउँछ । तर, मैले ‘नेपाली कांग्रेसलाई पाँच प्रश्न’ भनेर लेखेँ । अब जवाफ दिने काम उनीहरूको हो नि ! यस्ता यस्ता प्रश्न छन् है, यी हाम्रा पनि प्रश्न हुन् भनेर सम्झिने-सोध्ने जिम्मेवारी नै हामी आम नागरिकदेखि पार्टीका नेता-कार्यकर्ताको हो ।

पत्रकार हुँ भन्छस्, यत्ति पनि थाहा छैन भनेर एमसीसीदेखि बीआरआईसम्मका पृथ्वीनारायणदेखि अन्तरिक्षसम्मका प्रश्न परिवार–साथीसँगीबाट आउँछ । कुनै विषयमा पीएचडी गर्नेबित्तिकै त्यो सर्वज्ञ भइजान्छ यहाँ । कसलाई कुन प्रश्न ​सोध्ने भन्नेमै हामी आफैँलाई प्रश्न सोच्दैनौँ । सबै प्रश्न अनिवार्य छन् जसरी प्रश्न पनि अन्टसन्ट, जवाफ पनि अन्टसन्ट आइराखेको हुन्छ, यसको साइड इफेक्ट छ ? 

यो खासै नराम्रो त होइन । चेतनाको स्तर बढ्दै जाँदा पत्रकारिता पनि सुध्रेला । समग्रतामा प्रश्नसँग हामीलाई त्यति सरोकार छैन, जति सरोकार जवाफमा छ । जवाफको सत्यापनमा पनि छैन । जवाफपछि प्रश्नचिह्न हुनुपर्ने हो, पूर्णविराम हुन्छ । पूर्णविरामले जिज्ञासा, सृजना, समालोचना, समाज सबै मार्छ । हामी कुनै अवस्था वा घटनाको विभिन्न आयाम हुन्छन् भन्नेमा विश्वास गर्दैनौँ । हामी कुनै परिणामको निश्चित कारण हुन्छ भन्नेमा विश्वास गर्छौँ ।

म को हुँ ? भन्ने प्रश्नका निश्चित सजिला अर्थ छन् । पुरुष हुँ । बुवा हुँ । छोरा हुँ । कथित उच्च जातको हुँ । हिन्दु हुँ । पहाडको हुँ । तर, हामी अझै बढी उपयोगी र उन्नत अर्थहरूमा पुग्ने प्रक्रिया भनेको ‘त्यो म कसरी हुँ ?’ भनेर खोज्नु हो । पुरुष हुँ भन्ने लाग्छ भने त्यो हुनुको अर्थ के हो ?

जवाफ थाहा नहुँदा हामीलाई लाज लाग्छ । म लामो समयदेखि बसिरहेको पाकिस्तानमा धेरैले आफूलाई थाहा नभएको कुरा ‘थाहा छैन’ भन्दैनन्– एउटा कुनै उत्तर दिन्छन् । किनभने, त्यहाँ थाहा छैन भन्नु नराम्रो हो भन्ने संस्कृति रहेछ । हामीले के कुरामा विचार गर्नुपर्छ भने ‘थाहा छ’ भन्नेले त्यसको परिणाम बेहोर्नु पर्दैन । यसमा हामी आफैँ सतर्क हुनुपर्छ । हामीकहाँ एकखाले मानिस जानीजानी गलत प्रश्नले स्थान पाऊन् भनेर प्रयास गरिरहेका हुन्छन् । यो दुखद् अवस्था हो । 

प्रश्नहरूलाई प्रतिबन्ध गर्दा त्यसले निम्त्याउने परिणाम कस्तो हुन्छ ?

यसका दुइटा परिणाम हुन सक्छन् । एउटा ‘साइलेन्ट’, अर्को ‘भायलेन्ट’ । साइलेन्ट हुँदा मानिसले प्रश्न गर्न पाउँदैन । प्रश्न नगर्दा जवाफ पाउँदैन । जवाफ नपाउँदा मानिस दुःखी र विक्षिप्त हुन्छ । म जस्तो अवस्थामा छु, म त्यही हुँ भन्न थाल्छ । मनमनै प्रश्न गर्नुहुन्न भन्ने सोचेर ऊ चुप लाग्छ । प्रश्नबाट वञ्चित हुँदा उसले जिम्मेवार र सम्मानजनक जीवन बाँच्न पाउँदैन । त्यस्तै, भायलेन्ट हुँदा परिणाम के हुन्छ भने उसले ती प्रश्नलाई हतियारमार्फत, हिंसामार्फत अभिव्यक्त गर्छ । उसले प्रश्न गर्न खोज्छ, प्रश्न गर्न पाएन भने हतियार त उठाउँछ । नेपालका युद्ध जसले नेतृत्व गरे उनीहरू युद्धप्रति इमानदार थिएनन् । तर, जो युद्धमा सामेल थिए उनीहरू प्रश्न गर्न नपाउने मानिस हुन् । उनीहरूका प्रश्नलाई सही स्थान नदिनाले ती प्रश्न हतियारमा परिणत भएका हुन् । 

जेमा पनि शंका गर्नु, प्रश्न गर्नु मानसिक रोग हो पनि भनिन्छ । कुन तहसम्म प्रश्नवादी वा संशयवादी हुँदा मानसिक रोगी भइन्न त ?

प्रश्नहरू कहाँनेर उपयुक्त हुन्छन् भन्नेमा हाम्रा आफ्नै चिन्तन, बुझाइ, दृष्टिकोण छन् । त्यसैलाई कोष्ठभित्र राखेर हामीले प्रश्न निर्माण गर्छौं । जसको असाध्यै ठूलो उपयोगिता छ । म को हुँ ? भन्ने प्रश्नका निश्चित सजिला अर्थ छन् । पुरुष हुँ । बुवा हुँ । छोरा हुँ । कथित उच्च जातको हुँ । हिन्दु हुँ । पहाडको हुँ । तर, हामी अझै बढी उपयोगी र उन्नत अर्थहरूमा पुग्ने प्रक्रिया भनेको ‘त्यो म कसरी हुँ ?’ भनेर खोज्नु हो । पुरुष हुँ भन्ने लाग्छ भने त्यो हुनुको अर्थ के हो ? मैले पाउने विशेषाधिकार के हो ? त्यो हुनुको अर्थ र जिम्मेवारी के हो ? भनेर प्रश्न गर्नु हो । आफ्नो भूमिका प्रभावकारी बनाउन आफूले आफैँलाई प्रश्न गर्नुपर्छ । यसले हाम्रो दैनिक जीवनलाई सहज बनाइदिन्छ । प्रश्न गर्ने भनेर सबै कुरामा प्रश्न गर्नुपर्छ भन्ने छैन । तर, प्रश्नले हाम्रो जीवन र सोचाइलाई उन्नत चाहिँ अवश्य बनाउँछ । 

अब अलिकति रमाइलो खेलौँ । यदि तपाईं पत्रकारको भूमिकामा हुनुभयो भने यो सरकारलाई सोध्नुपर्ने एउटा प्रश्न के हुन सक्ला ? 

म यदि प्रधानमन्त्रीलाई भेट्ने पत्रकार हुन्थेँ भने एउटा प्रश्न सोध्थेँ- तपाईंले प्रधानमन्त्रीका रूपमा गर्न नसक्ने काम के हो ? हामी जहिल्यै के गर्नुहुन्छ भनेर मात्र सोध्छौँ । अनि जवाफ दिनेले म सबथोक गर्छु भनेर गर्वसाथ भनिरहेको हुन्छ । आफ्नो सीमितताबारे उसलाई हेक्का हुँदैन ।

हुन त सरकारको नेतृत्व कांग्रेसकै हो, तर पनि नेपाली कांग्रेसलाई चाहिँ के प्रश्न गर्न चाहनुहुन्छ ?

एउटा नेपाली नागरिक कांग्रेस हुनुको अर्थ के हो ? अथवा कांग्रेसलाई भोट दिनुको अर्थ के हो ? भनेर सोध्थेँ । कांग्रेसलाई यो पनि सोध्थेँ— २०७२ सालको संविधानमा हुनुपर्ने तर नभएको कुरा के हो ? 

अनि एमालेलाई नि ?

तपाईंहरूले देखेको नेपाली समाजभित्रको अन्तर्विरोध के हो ? भनेर सोध्थेँ । किनभने, उनीहरूले सबै ठीक छ, मिलेको छ भनिरहेका छन् । उनीहरूले हाल कुनै अन्तर्विरोध देखेका छैनन् । अन्तर्विरोधबारे उनीहरूको विचार जान्न पाए मज्जा हुन्थ्यो । 

माओवादीलाई ?

रामदेव कसरी क्रान्तिकारी भए ? भनेर सोध्थेँ । 

अनि नागरिक समाजलाई अर्थात् हामी सबैलाई ?

हामीले परिकल्पना गरेको नेपाली समाजको तस्बिर कस्तो हो ? 

त्यस्तै, हामी मिडियालाई सोध्न मन लागेको प्रश्न ?

नेपाली समाजको संरचना र मिडियाको संरचनाबीचको अन्तर्विरोध के हो ? भनेर सोध्थेँ । मिडियाको संरचनाले समाजको संरचनालाई प्रतिनिधित्व गरेको देखिँदैन । नेपाली मिडिया अलि बढी पुरुषवादी, कथित उच्च जातको आवाजलाई प्रवद्र्धन गर्ने खालको छ । त्यसभित्र सीमान्तीकृतको भौतिक मात्रै नभएर वैचारिक प्रतिनिधित्व कसरी बनाउने ? मिडियाले नेपाली समाजको तस्बिरलाई कसरी प्रतिविम्बित गर्ने ? मिडियालाई म यिनै प्रश्न गर्छु ।

तपाईं आफू आबद्ध गैरसरकारी संस्थाको अभियानलाई गर्नुपर्ने प्रश्न के छन् ? 

गैरसरकारी संस्था विश्वव्यापी सन्दर्भमा सिर्जना भएका अस्थायी संयन्त्र हुन् । एउटा देशको समुन्नति र समृद्धिका लागि यिनीहरूको योगदान सीमित नै हुन्छ । विकास गरिदिने नाममा स्थापना हुने संस्थाले विद्यमान शक्ति संरचनालाई टिकाइराख्छन् जसबाट रूपान्तरणको विषय ओझेलमा पर्न जान्छ । यिनले शक्तिसम्पन्न देशका प्रभावलाई बचाइराख्ने काम पनि गर्छन् ।

तसर्थ, अन्तर्राष्ट्रिय संस्थाको सहयोग अल्पकालका लागि कामचलाउ संयन्त्र मात्रै हो, दीर्घकालमा यिनको अन्त्य हुनु आवश्यक छ । गैरसरकारी संस्थाले प्रवद्र्धन गर्ने न्याय, समानता, समावेशिता, मानवअधिकार, वातावरण संरक्षण, सेवा प्रवाह आदिमा राज्यले स्वामित्व र अग्रसरता लिँदै जानुपर्छ । देशले आफ्नो सार्वभौमिकता र सक्षमतालाई वृद्धि गरेर विकासे सहयोगलाई पूर्ण रूपमा आफ्नो प्राथमिकताअन्तर्गत राख्नुपर्छ । आफ्नो प्राथमिकतामा नपर्ने बाह्य सहयोगलाई बन्द गर्नुपर्छ । समग्रमा, कुनै विदेशी राष्ट्रले नेपाललाई राम्रो बनाइदिने होइनन् । नेपालले आफैँ राम्रो बन्ने प्रयत्न गर्नुपर्छ ।

लेख्ने मेरो पेसा होइन । मेरो रुचि लेख्नमा भन्दा खाना पकाउनमा बढी छ । त्यसका बाबजुद पनि म किन लेखिरहेको छु ? लेखनसँग जोडिएको मेरो स्वार्थ के हो ?

मेरो विचारमा यो कुरा नेपाललाई अल्पकालका लागि विकास सहायता दिइरहेका दातृसंस्था वा विदेशी राष्ट्रले पनि बुझ्न आवश्यक छ र सम्भवतः उनीहरूले बुझिरहेका पनि छन् । यसको अर्को पाटो पनि छ, विकासे सहयोगलाई चर्को आलोचना गरिरहनेहरूको विचार राष्ट्र दह्रो र समुन्नत होस्, सन्तुलित र न्यायपूर्ण होस् भन्ने होइन । विकासे संस्थाले अन्याय, असमानता आदिका मुद्दालाई सहयोग गरेका छन् जसको कारण यी मुद्दा नरुचाउनेहरू अन्तर्राष्ट्रिय सहयोगप्रति असन्तुष्ट छन् । यिनलाई धपाउन पाए ती मुद्दाको पनि अवसान हुन्थ्यो भन्ने हिसाबले पनि उनीहरूले विरोध गरेका हुन् । धार्मिक अतिवादी र राजावादीहरूले विकासे संस्थाको विरोध गरेर नागरिकको स्थानलाई जुन तरिकाले खुम्च्याउने प्रयत्न गरेका छन्, त्यसबारे भने सचेत हुनु जरुरी छ ।

एउटा समाज वा राष्ट्रका लागि खुलापन अनिवार्य सर्त हो । नागरिक आवाजको अभिव्यक्तिका लागि यथेष्ट ठाउँ चाहिन्छ । हिजोआज नागरिक आवाज नरुचाउनेहरूले पनि यसलाई विदेशी सहयोगका रूपमा व्याख्या गरेर नागरिक अभियानलाई निलम्बन गर्न प्रयास गरिरहेका छन् । यो प्रवृत्तिलाई पनि ध्यान दिनु जरुरी छ । 

हाम्रा विश्वविद्यालय, थिंक ट्यांक, प्राज्ञ र बौद्धिकहरूलाई पनि तपाईंका केही प्रश्न छन् कि ?  

विश्वविद्यालय, प्राज्ञ र नागरिक समाजलाई कोबाट सञ्चालित छन् भनेर प्रश्न गर्नु हुँदैन । हामीले उनीहरूलाई उनीहरूले दिएको योगदान, उनीहरूको कामबारे प्रश्न गर्ने हो । उनीहरूले उठाएका प्रश्नबारे प्रश्न गर्ने हो । एनजीओले कुनै देशबाट पैसा लिएर मानिसलाई धर्म परिवर्तन गराउँछु भन्दै हिँड्यो भने त्यसलाई तुरुन्तै अवैधानिक घोषणा गरेर उसका काम-कारबाही बन्द गर्नुपर्छ र कानुनअनुसार कारबाही गर्नुपर्छ । तर, यदि कुनै विदेशी संस्थाले पैसा दिएर महिला अधिकार सुरक्षित गर्नुपर्‍यो, दलितहरूको सबलीकरण गर्नुपर्‍याे, आरक्षणलाई प्रभावकारी बनाउनुपर्‍यो, स्थानीय सरकारलाई क्षमताशील बनाउनुपर्‍यो, निर्वाचनलाई पारदर्शी बनाउनुपर्‍यो भन्छ भने त्यो हामीले नै बोक्नुपर्ने मूल्य-मान्यता हो । त्यसमा के गल्ती भयो र ? उनीहरूलाई कहाँबाट पैसा लिएर परिचालित छन् भन्नुभन्दा पनि उनीहरूले कस्ता प्रश्न उठाइरहेका छन्, त्यो महत्वपूर्ण हो । हामी केवल कोबाट सञ्चालित छन् भन्ने प्रश्नबाट मात्रै निर्देशित हुन थाल्यौँ भने संकीर्ण र अनुदार अवस्थामा पुग्छौँ । हामीले यस्तो संसारको परिकल्पना गर्नुपर्छ जहाँ कोही जुन देशबाट जस्तो खालको स्वार्थले पनि काम गर्न स्वतन्त्र हुन्छ । किनभने, सबै स्वार्थ गलत हुँदैनन् ।

सबैलाई सोधियो, तपाईं आफैँले आफैँलाई सोध्नुपर्ने प्रश्न के छ ?

म के हुँ ? मलाई चिन्नेमध्ये धेरैले लेखकका रूपमा चिन्छन् । म किन लेख्छु ? अथवा म किन बोल्छु ? यी मेरा आफ्नै लागि महत्वपूर्ण प्रश्न हुन् । किनभने, लेख्नु मेरो ‘प्रोफेसन’ र ‘प्यासन’सँग जोडिएको कुरा होइन । लेख्ने मेरो पेसा होइन । मेरो रुचि लेख्नमा भन्दा खाना पकाउनमा बढी छ । त्यसका बाबजुद पनि म किन लेखिरहेको छु ? लेखनसँग जोडिएको मेरो स्वार्थ के हो ? यही नै मलाई मेरो प्रश्न हो ।  


 



Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।

सृजना खड्का

स्वास्थ्य तथा सुरक्षा मामिलामा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
ad
x