वार्ता

आलोचनाले अर्थ राख्दैन, म काम गरेर देखाउँछु

हरियो वन नेपालको धन हराउँला कि भन्ने चिन्ता छ !

जितेन्द्र थापा | विष्णु विवेक |
चैत २९, २०७८ मंगलबार १७:१८ बजे

सुर्खेत : चौतर्फी विवाद र आलोचना चुलिँदा पनि माओवादी केन्द्रबाट सिफारिस हुम्लाका कार्चेन लामा कर्णाली प्रदेश सरकारमा उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री बनी छाडे । उनको सिफारिस हुँदा नै आलोचना नचुलिएको होइन । बहस र विवाद पनि नभएको होइन । मन्त्री बनेर शपथ खाँदा र कार्यभार सम्हाल्दा उच्च अदालत सुर्खेतमा कर्णाली प्रदेश सरकारविरुद्ध रिट नै दर्ता भएको थियो । कर्णाली प्रदेश सरकार समावेशी त हुन सकेन नै । समावेशीका नाममा विवादित व्यक्तिलाई मन्त्री बनाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कर्णालीलाई ‘बदनाम’ गरेको आरोप पनि लाग्यो । यसअघि खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्री बनाउँछु भनेका ठम्मर बिष्ट पार्टी छाडेर एमाले प्रवेश गर्दा लामा मन्त्रीको कुर्सीमा छन् । एउटालाई मन्त्री बनाउँछु भनेर अर्कोलाई कुर्सीमा बसाल्ने प्रचण्डको स्वभाव जस्तै कर्णालीको राजनीतिमा लामाको चर्चा र टिप्पणी घटेको छैन । बरु यस्तो विवाद र आलोचनाबाट घेरिएका उनले कसरी काम गरिरहेका छन् ? सबैभन्दा बढी चुनौतिपूर्ण मन्त्रालय सम्हालेका उनले कस्तो विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छन् ? इकागजका लागि विष्णु विवेकजितेन्द्र थापाले कर्णालीका पर्यटनमन्त्री लामासँग उनकै कार्यकक्षमा पुगेर गरेको कुराकानीको सम्पादित अंशः 

विवाद र आलोचना हुँदा पनि मन्त्री बनेपछि कर्णालीलाई पर्यटकको हब बनाउने तपाईंका योजना के–के छन् ? 
कर्णाली प्रदेश पर्यटनका दृष्टिकोणले स्वर्ग हो । यसैगरी साँस्कृतिक, धार्मिक रुपमा धनी, भौगोलिक रुपमा सुन्दर र विविध जातिहरुको संगमस्थल पनि हो । मैले यी चिजहरुलाई छोटो समयमा नयाँ ढङ्गबाट चिनाउने जिम्मेवारी सम्हालेको छु । जिम्मेवारी सम्हालेको दुई महिना पुग्न लाग्दा कर्णालीको हरेक पर्यटन क्षेत्रमा सहज तरिकाले पहुँच पु-याउने वातावरण बनाउनका लागी एउटा विद्येयक पास गरेको छु । विद्येयक अन्तर्गतको कार्यविधिहरु बनाएर कर्णालीको पर्यटनलाई नयाँ ढंगबाट अघि बढाउन खाकाहरु तयार पारिएका छन् । 


स्वर्गकी अप्सरा भनेर परिचित रारा ताल, से–फोक्सुन्डोजस्ता तालहरु, झरना, नदीहरु सुन्दर हिमालहरु कैयौँ लुकेर बसेका छन् । यी सुन्दर प्राकृतिक उपहारहरुलाई प्रचार गरी सबैतिर चिनाउने अभियानको तयारीमा लागेका छौँ । कार्णाली प्रदेशको ठूलो आम्दानीको स्रोतमा हुम्ला जिल्लाको लिमी लाप्चा भन्ने ठाँउ पनि रहेको छ । मानसरोवर कैलाश दर्शनका लागी हजाराँै तिर्थयात्रीहरु आउने हुँदा सो क्षेत्रलाई हामी महत्वपूर्ण पर्यटन क्षेत्रका साथ ‘फोकस’ गरेका छौँ । त्यसैगरी सिमकोटबाट सैपाल हिमालमा जान दुई तीन ठाउँमा नयाँ गन्तव्य पत्ता लगाई व्यवस्थित गरी पर्यटक भित्र्याउने सोच बनाएका छौँ ।

निरन्तर बगिरहने नदी उपयोग गर्न नसकी खेर गइरहेको छ । यसलाई कसरी सदुपयोग गरेर पर्यटकलाई आकर्षण गर्ने भन्नेमा हाम्रो ध्यान गएको छ । साथै मनोरञ्जन दिन जलयात्रा कदमहरु चालिरहेको छौँ । पचाल झरनाको डीपीआर तयार गरेर बहु-वर्षीय योजनामा परिसकेको छ । यस्तै राराको पनि काम भइरहेको छ । बजेटको अभावले समेट्न नसकेको अन्य पर्यटकीय स्थलहरुलाई अर्को बजेटमा समेट्ने गरी तयारी भईरहेको छ । 

कर्णालीमा पर्यटनभन्दा बढी चुनौतिपूर्ण अवस्था उद्योगको देखिन्छ ? औद्योगिक क्षेत्रको विकासका लागि के–के गर्ने सोच र योजना छ ?
कर्णालीको उद्योग त्यत्ति मात्रामा फस्टाउन सकेको छैन । ठूला उद्योगहरु सञ्चालन गर्न संघले अधिकार दिएको छैन । मझौलाको पनि त्यत्ति धेरै संख्यामा छैन । साना साना उद्योगहरु मात्र रहेका छन् । हामीले प्रदेश स्तरको जडिबुटि संकलन तथा प्रशोधन केन्द्र र काष्ठ उद्योगहरु सञ्चालन गर्ने योजना बनाएका छौँ । सम्भाव्यता हेरेर हरेक जिल्लाहरुमा जडिबुटी तथा कच्चा पदार्थ खरिद गर्ने तथा संकलन केन्द्र बनाउने योजना बनाएका छौँ । संकलित जडिबुटीलाई औषधिको रुपमा उत्पादन गरी बाहिरबाट आयात हुने औषधिको आयात कम गर्ने योजनामा छौँ ।

सरकारले व्यवस्थित गर्न नसकेर कर्णालीको वन जंगल मासिँदै गएको छ । वन क्षेत्र जोगाउने प्रयासहरु केही भएका छन् र ?
वन जंगलको विषयमा म एकदमै चिन्तित छु । हामीले वैज्ञानिक वनको अवधारणालाई अघि सारेका छौँ । तर, यसलाई विस्तार गर्न सकेका छैनौँ । विदेशी मुलुकहरुमा हेर्ने हो भने केही प्रतिशत बजेट छुट्याएर पुरानो बुढा रुख सफा गर्दै नयाँ विरुवा रोप्ने गरेको देखिन्छ । जसले गर्दा जनताले रोजगारीको अवसर पनि पाउने र सरकारले राजस्व पनि भर्न पाउने र आफ्नै जनताले काठको प्रयोग पनि गर्न पाएका छन् । यो एकदमै व्यवहारिक र वैज्ञानिक पनि मानिन्छ । हाम्रोमा कानुनी बाधा अड्चनले गर्दा यस्तो हुन सकेको छैन । यसको समाधान गर्न वन सम्बन्धी विज्ञहरु राखेर संघ, प्रदेश, वन उपभोक्ता महासंघ, राष्ट्रिय वन, निजी वनसँग सहकार्य गरेका छौँ । यिनीहरु सबैलाई अनिवार्य रुपमा वन संरक्षणका लागी आफ्नो–आफ्नो जिम्मेवारी दिएर काम अगाडि बढाएका छौँ ।

हाम्रो वनमा धेरै थरिका बोट-विरुवा रहेका छन् । यस्तै सल्लाको रुख धेरै मात्रामा छन् । सल्लाको रुखमा हुने खोटो यतिकै बगेर रुख मर्ने हुनाले यसको संरक्षण गर्न खोटो वैज्ञानिक ढंङ्गबाट खोटो सफाई गर्ने कार्य सोचेको छु । अर्कोतिर जंगलमा रहेको पात-पतिंगर सकंलन गर्ने योजना बनाएको छु । जसले गर्दा वन जंगलमा आगलागी हुनबाट धेरै मात्रामा बचाउने, पात पतिंगरको प्रायोग हुने र रोजगारीको सिर्जना हुने देखिन्छ । 

जलवायु परिवर्तनको असर कर्णालीमा पनि देखिन थालेको छ । जसले गर्दा पानीको मुहान सुक्ने, लगायतका विभिन्न समस्याहरु बढ्दै गएका छन् । यसप्रति कत्तिको चिन्तित हुनुहुन्छ ? 
यसप्रति म जति चिन्तित छु त्यत्ति नै तपाईंहरु पनि चिन्तित हुन जरुरी छ । यो हाम्रो लागी अग्रिम सूचना पनि हुन सक्छ । तपाई हाम्रै क्रियाकलाप गतिविधिले जलवायु परिवर्तन भइरहेको छ । हाम्रै हिमालमा हिँउ पग्लिने क्रम बढेको छ । हामी अरुका मात्र टिकाटिप्पणी गर्ने गर्छौ । तर हाम्रै कारण भइरहेको समस्याबारेमा टिप्पणी गर्दैनौँ । हामी स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारहरु एक भएर वातावरण जोगाउनका लागी अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउनु पर्छ । हरियो वन नेपालको धन अबको दिनमा हराउँला की भन्ने चिन्ता छ । यसको संरक्षण गर्न सुक्ष्म ढंगले अध्ययन गर्ने प्रतिबद्धता गर्दछु । 

अन्तिममा, तपाईं विवादकाबीच पनि मन्त्री बन्नुभयो ? धेरै आलोचना गरिरहेका छन् ? तपाईंको मात्रै होइन, प्रदेश सरकारकै आलोचना भयो, यसलाई कसरी लिनु भएको छ ?
मुख्य कुरा काम हो । आलोचना हुन्छ । म काम गरेर देखाउन चाहन्छु । म पार्टीले, पार्टी अध्यक्षले विश्वास गरेर मन्त्री बनेको हुँ । त्यसैकारण अहिले धेरै नबोलु । काम गर्न आएको हुँ । काम गर्छु । बाँकी कसले के भन्यो, त्यो कुराले ठूलो अर्थ राख्दैन ।


Author

विष्णु विवेक

राजनीति, समाज, शिक्षा, पर्यटन लगायत समसामयिक विषयमा कलम चलाउने विवेक करेस्पोन्डेन्ट हुन् ।


थप समाचार
x