इसंवार्ता
देउवा गुटमा त म थिइनँ, मेरै गुटले पनि मेरो कुरा सुनेन
'बीपीले भन्नुभएको छ, अन्याय सहने कार्यकर्ता हैनन्, दास हुन्'
लोकतन्त्र र नेपाली कांग्रेसको राजनीतिमा साढे तीन दशक व्यतित गरेका गुरुराज घिमिरेको मंगलबार बिहान सामाजिक सञ्जालमा पोस्ट आयो, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि ।’ ७०–८० वर्ष वृद्ध उमेरका नेताहरू चाहिँ अझै गुट दरिलो बनाउँदै कुर्सीसँगै आर्यघाट पुग्ने दाउमा छन्, तर घिमिरे ५१ वर्षकै उमेरमा सन्यास लिने घोषणाले राजनीतिलाई तरंगित पारेको छ । ‘तपाईंले किन राजनीतिबाट सन्यास लिन खाज्नुभयो ?’ इकागजको प्रश्नमा घिमिरेले भने, ‘पार्टीभित्र भएका अन्यायलाई दास जसरी टुलुटुलु हेरेर बस्न सकिनँ ।’ अर्थात्, दलीय राजनीतिमा हाबी हुँदै गएको अराजकता, अन्याय, अराजनीतिक चरित्रबाट आजित हुँदै अन्ततः घिमिरे राजनीतिबाटै सन्यास लिने निर्णयमा पुगेका हुन् । लोकतान्त्रिक आन्दोलनका युवा र विद्यार्थीहरूलाई मैदानमा उतार्ने घिमिरेसँग ‘राजनीतिक सन्यास सन्दर्भ’मै केन्द्रित रहेर इकागजले गरेको कुराकानी :
तपाईंले एकाएक राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभयो, युवावस्थामै किन राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको हो ?
मेरो अन्तर्मनको आवाज अथवा मेरो ब्रह्मले भन्यो, ‘राजनीतिक बाटो तेरा निम्ति उपयुक्त छैन । तैँले बुझेको राजनीति, तैँले बुझेको लोकतन्त्र यहाँ चलेको छैन । तैँले यहाँ बाँच्न सक्दैनस् ।’ म निर्णयमा पुगेपछि राजनीतिबाट बिदा लिने निर्णय लिएको हुँ । त्यसो त, मैले राजनीतिक सन्यासको घोषणा गर्नुमा नेपालको राजनीति जसरी अघि बढेको छ, त्यसका हामी सन्तुष्ट छँदै थिएनौं । कांग्रेसमा मात्र होइन कि नेपालकै राजनीतिप्रति सन्तुष्टि प्राप्ति हुने अवस्था छैन । मैले त्यो असन्तुष्टि लेखेर, बोलेर व्यक्त गर्दै आएको हुँ ।
त्यसमाथि यसपालिको स्थानीय तहको चुनावमा टिकट वितरणमा जुन किसिमको चरम गुटगत, पकड, पहुँच र पैसालाई आधार बनाइयो, अनि विधि–पद्धतिलाई निषेध गरियो । आपसी परामर्श र छलफलबाट पार्टीका लागि खटेका योग्य, इमानदार, निष्ठावान व्यक्तिहरूलाई उम्मेदवार बनाइनुपर्थ्यो । तर, योग्य र इमानदारलाई पूर्णतः लत्याइयो । पार्टीमा यो र त्यो गुट हाबी भयो । म सभापति शेरबहादुर देउवाको गुटमा त थिइनँ, तर अर्काे गुटमा रहेका भनिएकाहरूले पनि स्थानीय तहमा टिकट दिँदा प्रवृत्ति त्यस्तै देखाए । जुन मलाई जँचेन ।
भनेपछि त्यसो भए, टिकट वितरणमा पकड–पहुँच प्रमुख आधार बनेकै कारण तपाईं असन्तुष्ट हुन पुग्नुभएको हो ?
हो, टिकट वितरणमा पकड, पहुँच, पैसा, गुटगत स्वार्थ हाबी रह्यो । त्यसमा गुटगत स्वार्थलाई मुख्य प्रधानता दिइयो । व्यक्तिको गुटकाप्रति बफादारी हेरियो । पार्टीमा लामो समय काम गरेका साथीहरूले वडाध्यक्षसमेत नपाउने स्थिति बन्यो । भर्खरै प्रवेश गरेका वा जागिरे जीवनबाट अवकाश पाएकाहरूलाई टिकट दिइयो । जहाँ पैसाको खेल भयो । पार्टी विधानमा टिकट वितरणका निम्ति संसदीय समिति छन्, त्यहाँ छलफल गरी निर्णय लिइनुपर्थ्यो । त्यस्ता सम्पूर्ण कुराको कुनै गुन्जायस देखिएन ।
बीपीले भन्नुभएको छ, अन्याय सहने कार्यकर्ता हैनन्, दास हुन् ।
म जत्तिको व्यक्तिले भनेको कुराको पनि कुनै सुनुवाइ भएन, म रहेकै गुटमा पनि । म जहाँ छु, त्यही गुटका मानिसहरूले पनि मेरो कुरा सुनेनन् । यसले त ममाथि रेड–कर्नर नोटिस जारी गरेझैँ भयो । मलाई कहीँ उभिने ठाउँ छैन भनिएको देखियो । त्यसबाट मैले राजनीति मेरा लागि उपयुक्त ठाउँ होइन भन्ने निष्कर्ष निकाल्न बाध्य हुनुपर्यो । म गलत क्षेत्रमा आएछु भन्ने मलाई पर्यो । यो स्थानीय तहको चुनावमा केही ठाउँमा राम्रा मानिस साथीहरूले टिकट पाएका छन्, ती राम्रा साथीहरू भएका ठाउँमा गएर, बोलेर, दौडेर सहयोग गर्छु । अनि वैशाख ३० को मतदान सकिएपछि म फरक ढंगले अघि बढ्छु ।
तपाईं कांग्रेसको राजनीतिबाट मात्र सन्यास लिनुभएको हो कि सबैखाले राजनीतिबाट ?
मैले राजनीतिबाटै निष्क्रिय हुने विचार गरेको छु । किनभने देशैभरको राजनीतिक चरित्र–प्रवृत्ति एकै खालको छ । जहाँ पनि त्यही खाले प्रवृत्ति बाक्लिएको छ ।
तपाईं साढे तीन दशक लामो राजनीतिक लगानी गरी विनाशासकीय पद बाहिरिने घोषणा गर्नुभएको छ, कुनै पीडा होला कि ?
होइन, सन्तुष्ट छु । किनभने लोकतान्त्रिक राजनीतिमा जे जति गरेँ, त्यो इतिहासले मूल्यांकन गर्ला नै । त्यो राजनीतिक इतिहासमा पनि रहला नै । म आफू सन्तुष्ट छु । म सक्रिय राजनीतिबाट निष्क्रिय रहेर पनि खबरदारी त गर्न सक्छु नि । झन् निस्फिक्री हुँदै स्वतन्त्रतापूर्वक मेरो अन्तर्मनमा लागेको कुरा सहजै भन्न सक्छु । पार्टीबाट बाहिरिएपछि मलाई कुनै अंकुश रहँदैन ।
पार्टीभित्र यति धेरै अन्याय हुँदा पनि अन्याय भयो भनी बोल्ने मानिस मैले देखिनँ ।
पार्टीमा रहँदा त पार्टीको सीमा, दायरा र अंकुशलाई पनि ख्याल गर्नुपर्छ । मैले तत्कालै सन्यास लिँदा पार्टीका असल साथीहरू जसले टिकट पाउनु भएको छ, उहाँहरूमाथि अन्याय हुन्छ । उहाँहरू स्थानीय सरकारको नेतृत्वमा सहभागी हुन प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, उहाँहरूमाथि म अन्याय गर्दिनँ । त्यसो हुँदा वैशाख ३० गतेअघि म निर्णय लिन्नँ ।
पार्टीमा जसले सन्यास लिनुपर्ने हो भने उनीहरू चाहिँ झन् झन् सक्रिय हुँदै दलीय पद्धतिलाई समेत तिलाञ्जलि दिँदै गुटलाई हाबी गराउँदै छन्, तपाईं अझै १०–१५ वर्ष सक्रिय हुँदै तिनलाई पो सन्यास लिने वातावरण तयार गर्नुपर्नै होइन र ?
पार्टीभित्र जसरी गुट–उपगुटको राजनीति मौलाएको छ, त्यसलाई परास्त गर्न सजिलो छैन । पार्टीमा अराजनीतिक वा गैरराजनीतिक प्रवृत्ति मौलाएको छ । पार्टी सिद्धान्तबाट ‘गाइडेड’ भएन, पार्टीलाई अन्य कुराले ‘गाइडेड’ गर्न थाल्यो । अराजनीतिक चरित्र र प्रवृत्तिले पार्टीलाई निर्देशित गर्न थाल्यो । हेर्नोस् त, पार्टीभित्र यति धेरै अन्याय हुँदा पनि अन्याय भयो भनी बोल्ने मानिस मैले देखिनँ ।
पार्टीमा यति धेरै नेताको जमात छ, अन्याय भयो भनी बोलिदिने कोही देखिएन । हाम्रा नेता बीपीले भन्नुभएको छ कि पार्टीभित्र भएको अन्यायलाई टुलुटुलु हेरेर बस्ने कार्यकर्ता भनेका दास हुन् । मैले त्यो पढेको कुरा सम्झेँ । अनि पार्टीभित्र अन्याय भयो भनी बोलिदिने कोही न कोही रहेछ भन्ने सन्देश दिनकै खातिर मैले यो निर्णय लिएको हुँ ।
वृद्ध नेताहरूको सन्यास सवालमा चाहिँ तपाईंको भनाइ के हो ?
त्यस्ता नेताले सन्यास लिने विषयमा पनि हामीले आज मात्र होइन कि बारम्बार उठाउँदै आएका हौँ । हामीले यो सवालमा निष्कर्ष खोज्न तेह्रौं–चौधौँ महाधिवेशनमा प्रयास पनि गर्यौं । अझ गएको महाधिवेशन पनि शेखर कोइरालालाई उम्मेदवार बनाउँदै प्रयास गरिएकै हो । हामीले तिनको सन्यासको सन्दर्भमा आवाज उठाउँदै ठूलो जोखिम मोल्यौं । तर हामी हुन सकेनौं । महाधिवेशनबाट निर्वाचित नेतृत्व छ, चुनावी प्रक्रिया र प्रतिस्पर्धामा सहभागी हुँदै जितेका व्यक्तिका हकमा अन्यथा भन्न मिलेन ।
त्यसो हुँदा राजनीतिमा दृश्य बदल्न सकिँदैन । पार्टी राजनीतिमा जुन प्रवृत्ति र चरित्र हाबी भएको छ, यही शैलीबाट बदल्न सकिँदैन भन्ने मलाई लाग्यो । त्यसैले मैले सक्रिय राजनीतिबाट निष्क्रिय हुने निर्णय लिएको हुँ । म अरु क्षेत्रमा त सक्रिय भइहाल्छु नि ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया