वार्ता

'काठमाडौँका कुनै डाँडामा विश्वकै ठूलो गणेश मूर्ति राखेर ध्यानकेन्द्र बनाउँछु भनेपछि ओलीले टिकट दिनुभयो'

पुष्पराज आचार्य |
बैशाख १८, २०७९ आइतबार १७:१२ बजे

काठमाडौँ महानगरमा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित काठमाडौँलाई विश्वको ध्यानकेन्द्र बनाउने बताउँछन् । २५ वर्षअघि काठमाडौँको मेयर रहेका उनी अहिले ६३ वर्षका पुगे, तर पनि काठमाडौँलाई बदल्ने अर्थात् उनकै शब्दमा सबै सुरतालको संगम भएको ‘भावधारा’ निर्माण गर्ने काम गर्न भने बाँकी छ । नयाँ पुस्ताले काठमाडौँको नेतृत्व गर्न सक्ने बनाएर कुनै परित्यक्त दुर्गम गाउँमा गएर त्यसको रूपान्तरण गर्ने सोच बनाएका उनी इकागजसँग यसरी गफिएका छन् । प्रस्तुत छ, स्थापितसँगको कुराकानीः 

काठमाडौँ महानगरको मेयरको उम्मेदवारी दर्ता गर्दा नै ‘गेम इज ओभर’ भन्नुहुन्थ्यो ? तर मतदानको दिन नजिक–नजिक आउँदा त खेल त निकै कडा प्रतिस्पर्धातिर गैरहेको छ नि ? 


म त यस्तो प्रतिस्पर्धामा रमाउने मानिस हुँ । म राम्रो नर्तक हुँ, म त ‘डान्सिङ मुड’ मा छु । मेरो टिम हेर्नुस्, सबै उज्याला, हँसिला छन् । म त कालभैरव गर्ने मान्छे । मैले केही बोल्यो भने बढी बोल्यो भन्छन् । म देखिएर बोल्ने हो । पृथ्वी गोलो छ भने गोलो भन्दिने हो । चेप्टो भन्नेले भन्दै गरुन् । मैले मनोनयनको दिन के भनेको हो भने म त प्रुभन (प्रमाणित) मान्छे, पार्टीले मलाई अघि सार्‍यो । मैले खेलकूदमा, हस्तकलामा, संरक्षणमा, बाटो, पार्क धेरै काम गरेको छु । ९७ ओटा भजन घर छन्, कतिले तपाईंको बारेमा हामी गीत गाउँछु भनेर आएका छन्, खेलकूदमा गुरुहरू छन्, युवा लक्षित कति धेरै काम गरेको छु । ती धेरै संगठित छन् । त्यसकारण, यसले काम गर्छ, नयाँ योजना ल्याएर कार्यान्वयन गर्छ भन्ने छ । 

अनि त्यत्ति मै ‘गेम इज ओभर’ हुन्छ त ? 

त्यतिमात्र होइन । नेपाली कांग्रेसको ठूलो पंक्ति निराश भएको छ । मैले सिर्जना सिंहको ठाउँमा अर्को व्यक्ति आएको भए त्यति ‘बोल्ड’ हिसाबले बोल्ने थिइँन । सिर्जना सिंह नै उम्मेदवार भएपछि मलाई त त्यहीँका कांग्रेसले फोन गरेर बधाई दिन थाले । फोन उठाएर भ्याई–नभ्याई भयो । उनीहरू त्यो घरले हामीलाई हैकम चलायो । हामी सबै कार्यकर्ताले काम गर्‍यौं, अन्तिममा त श्रीमतिलाई पो टिकट दियो भनेर उनीहरूले निराशा व्यक्त गरे ।

अब त हामी मेयरदेखि वडा अध्यक्ष, सदस्य सबैले जितेपछि हामीमा पनि पहिले माओवादीमा जस्तो दम्भ नआओस्, सर्वसत्तावादको सोच नपलाओस् भनेर मैले सबैलाई ध्यानमा लगाउने, अझै बढी जवाफदेही बनाउनेसम्म सोचिसकेको छु ।

अरु कति सक्षम महिला छन्, उनीहरूले किन पाएनन् भन्ने प्रश्न छ । हिजो म सँग काम गरेकाहरू कांग्रेसका वडा अध्यक्ष, सदस्यहरूले नै दाईलाई हामी भोट दिन्छौं भनिरहेका छन् । एकीकृत समाजवादी भनेर दर्ता गरेकाहरू हामी उम्मेदवार नै होइनौं भनेर हामीतिर आइरहेका छन् । माओवादीले उठाएका उम्मेदवार नै हामीकहाँ प्रवेश गरिसकेको अवस्था छ । अब हाम्रो सबै टिमले जित्ने पक्का भैसक्यो ।

अब त हामी मेयरदेखि वडा अध्यक्ष, सदस्य सबैले जितेपछि हामीमा पनि पहिले माओवादीमा जस्तो दम्भ नआओस्, सर्वसत्तावादको सोच नपलाओस् भनेर मैले सबैलाई ध्यानमा लगाउने, अझै बढी जवाफदेही बनाउनेसम्म सोचिसकेको छु । त्यकारण मैले ‘गेम इज ओभर’ भनेको हुँ । म राष्ट्रिय खेलकूद परिषदमा जाँदा पार्टी भन्ने थिएन, मन्डलेहरू थिए । दरबारको संरक्षणका व्यक्ति भन्थें । मैले त्यतिबेला भरतमोहन अधिकारीलाई भनेर ४८ करोड रुपैयाँ खेलकूद परिषदमा बजेट मिलाएर कोष बनाएँ । मैले एकै दिनमा ११०० जना प्रशिक्षक नियुक्त गरें– त्यो पार्टीगत आधारमा होइन । सबैलाई उनीहरूको योग्यताका आधारमा नियुक्त गरेको । त्यसको एक डेढ वर्षमा देशभरमा खेलाडीहरू जन्मिएँ । केशव स्थापितले देशभर खेलकूदमा युवाहरूलाई ल्यायो । उनीहरू संगठित भए र हाम्रो दलसँग निकट भए । कति त मेरा गाँजा अभियानका साथीहरू छन् । यस्ता धेरै संगठीत मतहरू छन् । त्यसकारण, मैले त्यतिबेला एक लाख २० हजार मत भनेको थिएँ । अहिले उभार आएको छ, त्यो संख्या त अब धेरै माथि पुगिसक्यो ।

महानगरको नेतृत्व गर्न भनेर नयाँ पुस्ता पनि आएका छन्, उनीहरूको पनि लोकप्रियता देखिन्छ । त्यसरी नजरअन्दाज गर्न मिल्छ र ? 

धेरै स्वतन्त्र साथीहरू आउनुभएको छ । त्यसमा मेरो कुनै द्वेष छैन । सत्कर्म गर्ने, मेरो पनि क्षमता–योग्यता छ भनेर देश बनाउनुपर्छ भनेर पैरवी गर्ने नयाँ पुस्तालाई म स्वागत गर्छु । म त अस्ति स्वतन्त्र मेयरका उम्मेदवारसँगै बसेर आफूलाई जस्टिफाई गरिरहनुपर्ने थिएन । म मा कुनै दम्भ छैन, म तपाईंहरूको समकक्षी हुँ भनेर सँगै बसेर अन्तर्क्रिया गरेको हुँ । 

भनेको यहाँको प्रतिस्पर्धाचाहिं कांग्रेसकै उम्मेदवार सिर्जना सिंहसँग हुन्छ ? 

प्रतिस्पर्धाको कुरै छैन । कांग्रेसको उम्मेदवार कहाँ छ देखिएकै छैन । अहिलेको यो सञ्चारको युगमा त अलिअलि देखिनुपर्ने हो । सबैभन्दा मूलपक्ष भनेको, प्रजातन्त्रमा प्रतिद्वन्द्वीता हो । हामी कम्युनिष्ट खराब हौं भने खराब हौ भनेर म सँग बहस गर्न तयार हुनुपर्‍यो । यो–यो दर्शनका आधारमा नेपाली कांग्रेस ठीक छ भन्ने दर्शन खै त ? हामीले पार्टीमा यस्ता–यस्ता राम्रा मान्छेलाई अघि बढायौं भनेर भन्न सक्नुपर्‍यो । कांग्रेसमा आम मानिसले समर्पण गरौं भन्ने भाव जगाउने आधार छैन । जेसुकै पद परिवारमै चाहिएको छ । महानगरपालिकामा जनताका लागि के काम गर्ने भन्ने नै छैन । यस्तो फुस्सा पाराले गणतन्त्र कसरी संस्थागत हुन्छ । हाम्रो कमीकमजोरीलाई इंगित गर्न आउनु पर्दैन ? युवा परिचालन गर्नु पर्दैन । राजधानीमा हुने प्रतिस्पर्धामा दर्शन, विचार, कार्यक्रमको सशक्तता त सुदूर गाउँसम्म सञ्चारमाध्यमबाट प्रवाहित हुन्छ । त्यसले राष्ट्रिय दृष्टिकोण निर्माण हुन्छ । दश वर्ष विश्वविद्यालयमा पढाएजति १० दिनमा हुने कुरामा पनि उनीहरू आउँदैनन् त म के गरुँ ?

तपाईंले आफूलाई चाहिं देश चलाउने अनि कांग्रेसले उठाएको उम्मेदवारलाई चाहिं घर चलाउने भन्न पाइन्छ र ? 

मलाई उहाँको शैली ठीक लागेन । उहाँको चरित्र ठ्याक्कै हिसीला यमीको जस्तो छ, सबै नियन्त्रण गर्ने । प्रकाशमान सिंहलाई पनि नियन्त्रण गर्ने । त्यहाँ आउने सबैलाई बाबुचा भन्ने, आफूभन्दा वरिष्ठलाई पनि भाई भन्ने, त्यस्तो पनि हुन्छ । अस्ति मनोनयनपछि म त सरल मान्छे, सबैलाई नमस्कार गरें, तपाईं जित्नुस् है पनि भनें । मलाई त उहाँले अलि परैबाट ‘ओ ! केशव भाई’ भन्नुभयो । मलाई त भाई भन्नेले आफ्नो पार्टीभित्र के व्यवहार गर्छ होला । गणेशमान सिंहले ‘जनता सबै भेडा हुन्’ भनेको कुरा त्यो घरमा जरा गाडेर बसेको छ । हाम्रो पार्टी एमाले र केशव स्थापित त्यसको एन्टीथेसिस हौं । जनता कहिले भेडा हुन्छ ? उसको लागि काम गर्ने, उसलाई अनुमोदन गर्ने, सार्वभौम मान्छे कहिल्यै भेडा हुनसक्दैन । तर प्रकाशमानको परिवारमा भने ‘जनता सबै भेडा हुन्’ भन्ने चेतना कहिल्यै कम भएन । म त प्रमुख पार्टीको प्रतिस्पर्धी मलाई ‘ओ ! केशव भाई’ भन्ने ?’

सिर्जना सिंहले ‘सोसल कन्ट्रयाक्ट’ तोड्नु हुँदैन । 

अनि सभागृहमा सँगसँगै फोटो खिचाइरहेको देखिएको थियो, कसरी त्यस्तो द्वेष हुन्छ ?

म मा त कुनै द्वेष छैन । त्यसपछि मैले फोटो खिचिपाऊँ भने । उहाँलाई महिला भनेर दाहिनेतिर राखेर फोटो खिचें । तपाईं अलि हाँस्नुस्, हामी दुई जनामा जसले जिते पनि केही छैन । उमेरको हिसाबले, राजनीति, संस्कार र प्रतिवद्धताको हिसाबले म उहाँको ‘केशव भाई’ होइन । त्यो परिवारले काठमाडौँलाई नेतृत्व गर्न सक्दैन । 

तर राजनीतिमा विरासतले पनि काम गर्छ नि ? 

विरासत कै कुरा गर्ने हो भने मेरो पुस्ताको हजारौं वर्षको विरासत छ । काठमाडौं उपत्यका निर्माण गरेकै त हाम्रा पुर्खाले हो । आम नागरिकले सिर्जना सिंहको बारेमा कुरा गर्छन् । उहाँ त गोरखाबाट प्रकाशमान सिंहसँग विहा गरेर आएपछि काठमाडौँलाई सम्मान गरेर नेवार भाषा सिक्नुपर्ने हो, नेवारी भाषा पनि जानेको छैन । कहाँ इराकको मुस्लिम आएर यहाँ बसेर नेवारी बोल्छ भने सिर्जना सिंहको काठमाडौँसँग ब्लेन्डिङ भएकै छैन ।

काठमाडौँबासीले त गणेशमान सिंहको परिवार, राजनीतिक विरासतबाट संरक्षित हुन्छौं भन्ने सोच्लान् नि !

कांग्रेसमा गणेशमान सिंहको नै संरक्षण भएन । प्रकाशमान सिंह नै म माथि घोर अन्याय भयो भन्छन् । अन्याय भएपछि निगाह खोजेर ल्याएको टिकटसँग केशव स्थापितलाई दाँज्न मिल्दैन । प्रकाशमान सिंहले बोलेको हेर्नुस् न, बाहिरबाट काठमाडौँमा धेरै मान्छे आए भन्छन् । म मेयर हुँदा उनी स्थानीय विकास मन्त्री थिए । मैले यो दिव्य भूमिमा सबै आउनुस् भन्दिएँ । मैले मन्त्रीलाई भनें, बरु राजधानी अन्यत्र सार । यस्तो कलासंस्कृति भएको सहरमा आउन, अवसर खोज्न र आफ्नो नवीनता योगदान गर्न सबैलाई हक छ । जनतामाथि आरोप लगाउने मानिसले कसरी नेतृत्व गर्छ ? जनता त भगवान हुन् , भगवान त आफैं अनुशासित हुन्छन् नि ।

तर गणेशमान सिंहको परिवारले त ‘तँ भेडो होस्, घाँस खान्छस्’ भनेपछि उनीहरूलाई गर्ने व्यवहार पनि त पशुकै जस्तो हुन्छ । उहाँहरूको व्याख्या र हाम्रो व्याख्या फरक छ । स्थापित भनेर हामीले मल्लकालमा पाएको पदवी हो । मेरो बाजेको पुस्तामा बनेका काठमाडौँमा भएका संरचनाको जग के छ, त्यहाँ प्रयोग भएका झ्याल, कला स्थापितको पनि कुन समुदायले बनाएको भन्न सक्छु । हामीले त्यतिबेला भक्तपुरका केही साथीलाई विशेष प्रशिक्षण दिएर कुमारीको झ्याल बनेको भनिन्छ । तलेजूको मुनि मूल जग कत्रो राखेको छ, त्यसको मुनि नौ किसिमको धातुको कत्रो कछुवा बनाएको छ भनेर मेरा काका र बाजेहरूले गरेको छलफलमा मैले भाग लिएको छु । काठमाडौँको सभ्यता, उत्थान, सामाजिक सम्मिलनमा प्रत्येक पाइलामा जोडिएर मिलेर बसेको मेरो विरासत छ ।

भाषा, जाति, संस्कृति, भाषा आन्दोलन, सांस्कृतिक जागरणको ‘मेल्टिङ पट’ भएर म बसेको छु । कांग्रेसको अहिलेको टिकट वितरणमा कांग्रेसकै यहाँका साथीहरूले ‘खत्तम मनू (मान्छे)’ भन्नुहुन्छ । मलाई अरु केही छैन, उहाँहरूको पनि सोच, दृष्टिकोण हेर्न मन छ । राजनीतिमा सहकार्य गर्न सकिन्छ । सिर्जना सिंहले अघि सारेका राम्रा कार्यक्रम छ भने म कार्यान्वयन गर्छु । त्यसकारण आफ्नो जे योग्यता छ, त्यो दाबी गर्नुपर्छ । उहाँहरूले ‘सोसल कन्ट्रयाक्ट’ तोड्नुभएन । सिर्जना सिंहले भाषा, संस्कृति, लिपी, यहाँको सांस्कृतिक वैभव, जातजातिबारे केही जानेको छैन, उहाँ अध्ययन केन्द्रमा जाँदा राम्रो हुन्छ । 

सर्वगुणसम्पन्न त को हुन्छ र, केशव स्थापितमाथि नै कति आरोप छन् अहिले ? ‘मी टू’ को आरोप पनि लागेको छ ? 

फलेको रुखमा त टोलभरीका बच्चाहरू आएर झटारो हान्छन्, ढुंगा हान्छन् । त्यो झटारो फलमा मात्र पर्छ र हाँगामा पर्छ । वृक्षको हाँगामा पनि आघात पर्छ । केशव स्थापित रूपी वृक्षको गुण के हो भने कसैले झटारो हानेको आवाज आयो भने फल झार्दिने । कम्तीमा उसले झटारो र ढुंगा छाडेर फल खाओस् भन्ने हो । मलाई के लाग्छ भने यो निर्वाचनको केन्द्रबिन्दूमा म छु । त्यसैले प्रहार सहनु परेको छ । एउटा महत्वपूर्ण कुरा याद गर्नुपर्छ । बुद्धले ज्ञान प्राप्त गर्ने अन्तिम चरणमा तत्कालीन समाजले यो त अर्कै भएको छ भनेर यसलाई भ्रष्ट पार्नुपर्छ भनेर बुद्धले पिउने पानीमा रक्सी मिसाए, तर बुद्धले त्यो चिनेर उक्त पानी पिएनन् । मैले पनि सचेत भएर चार वर्ष अघि नै रक्सी छोड्दिएँ । म ध्यानमा लागें ।

आज जसले उत्तेजनामा मलाई जे आरोपित गरिरहेका छन् । केही दिनपछि उहाँहरूलाई निद्रा लाग्न छोड्छ, हात काम्छ । यस्तो दुष्कर्म अनुहार र छालामा देखिन्छ ।

अहिले मेरो योग्यता, अनुभव, इमानदारिता, दर्शन, कार्यक्रम केहीमा पनि प्रतिवाद गर्न नसकेर केही दुई–चार जना महिला उफार्ने काम भएको छ । काठमाडौँ सानो छ, केशव स्थापित त तीसौं वर्षदेखि जनताको निगरानीमा भएको व्यक्ति हो । त्यसकारण, यी आरोप चुनावी स्टन्ट हुन् । आज जसले उत्तेजनामा मलाई जे आरोपित गरिरहेका छन् । केही दिनपछि उहाँहरूलाई निद्रा लाग्न छोड्छ, हात काम्छ । यस्तो दुष्कर्म अनुहार र छालामा देखिन्छ । आम मानिसहरूले प्रतिक्रिया दिदैंन, स्वायत्तता प्रयोग गर्दैन । मेजोरिटी जहिलेसुकै साइलेन्ट हुन्छ । यहाँ केही अभियन्ता छन्, तिनको रातोदिन खेती नै यही छ । 

यहाँलाई एमालेले काठमाडौँ महानगरको मेयरको टिकट दियो । बाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रीबाट विस्थापित भएको व्यक्ति एकाएक कसरी मेयरको टिकट पाउनुभयो ? पार्टी अध्यक्षलाई कसरी आश्वस्त पार्नुभयो ? 

केशव स्थापित त परिक्षित र प्रमाणित मान्छे हो नि ! हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मैले काठमाडौंकै मेयरको टिकट पाएँ भने विजयी हुन्छु र विजयी भएँ भने संसारको सबैभन्दा ठूलो गणेशको मूर्ति बनाउँछु भनेर भनेको छु । पहिले पनि बनाएको थिएँ, गणेशको १८ फिटको मूर्ति, पाल्पामा लगेर स्थापना गरें । धार्मिक हिसाबले गणेशको मूर्ति बनाएर स्थापना गर्ने कुरा गरेको होइन, नेपाललाई विश्वको ध्यान केन्द्र बनाउने हो । गणेशजी भनेको हाम्रो सिर्जना हो । ४२०० वर्षअघि मञ्जुश्री आएर काठमाडौँका तालतलैया काटेर पानी बाहिर पठाइसकेपछि साँखुदेखि गोलढुंगासम्म येँ (खड्ग) आकारको सहर बनाए ।

पानी बगेपछि सबैभन्दा उर्बर जमिन त्यही थियो, अन्यत्र त धाप थियो । मञ्जुश्रीले त्यो सहरमा उनले अष्टद्वार बनाए । त्यो समयका आदिवासी (अलि जंगली–जंगली नै थिए), तिनलाई अनुशासनमा कसरी राख्ने भन्ने सोचेर गणेशको मूर्ति बनाए । मान्छेको शरिर, हात्तीको टाउको भनेको के रहेछ भने कुनै पनि पूजा वा कर्म गर्नुअघि गणेशजीलाई हेर्नु भनियो । त्यो किन रहेछ भने उनलाई हेरेर ‘म पशु नै हुँ’ भनेर सोच्नका लागि भनियो । किनकी मानिसमा पनि पशुत्व जतिबेला पनि जागृत हुनसक्छ । हामी बाटोमा हिंडीरहेका बेला बाघ आयो, भनेपछि हामी बाघभन्दा छिटो दौडिन खोज्छौं नि । त्यो पनि पशुत्वको अंश हो । त्यसकारण मानिसमा रहेको त्यो जीनमा नियन्त्रण राख्नका लागि उसले म पशु (मूर्ख पशु) हुँ भनेर महुशुष गर्नुपर्‍यो ।

गणेशका चार हातमध्ये एउटामा १७ दानाको माला हुन्छ । त्यो मालामा मूर्ख जीवले म आज शुद्ध, मानवीय कुरा मात्र गर्छु, म पवित्र कुरामात्र सुन्छु, यो छालाले पनि पवित्र कुराबाहेक स्पर्श गर्दिन भनेर एक–एक दानामा १७ थरी कुरा जपेर, ती दुर्गुण छोड्छु भनिन्छ । गणेशको अर्को हातमा मूला हुन्छ । त्यो मूला भनेको मार्क्सवादको सार पनि हो । मानवीयताको निरन्तरता र विश्वको समृद्धिका लागि जाने हो भने यो मूलालाई जमिनमा लगाऊ भन्छ । कुनै पनि बीउ जमिनमा आफू समाप्त भएर उसले जन्म दिन्छ । क्रान्ति गर्न म मर्न तयार छु र क्रान्तिकारी जन्माउँछु भन्छ नि ! बीउले जसरी म मर्छु भनेपछि धर्तीले स्पेस दिन्छ, घामले उर्जा दिन्छ, पानीले सिञ्चन गरेपछि त्यसले जरा गाड्छ र त्यसले हजारौं नयाँ मूला उत्पादन गर्छ । त्याग नगर्ने र बीउ जोगाउन खोज्ने अगाडि बढ्दैन । गणेशजीको अर्को हातमा बञ्चरो हुन्छ, त्यो भनेको जीवन संघर्षमय छ है भनेको हो । जीवन संघर्षमय छ, त्यो वञ्चरोले हाँसी–हाँसी प्रहार गर्नुपर्छ । त्यस्तै, गणेशजीको अर्को हातमा लड्डु हुन्छ । त्यो आमोद (प्रसन्नता) हो ।

गणेशकाे मूर्ति मार्क्सवादी दृष्टिकोणसँग जोडीएकाे छ ।

तपाईंले मलाई गाली गर्नुभयो, आरोप लगाउनुभयो । मेरो कर्म भनेको त्यही प्रसाद मुखमा राखेर बस्ने हो । गणेशजीमा हात्तीको जस्तो कान भनेको धेरै सुन भनेर बनाएको हो । त्यस्तै, गणेशजीको वहान हुन्छ– मुसा । मुसा भनेको खोतल्ने, अन्वेषण गर्ने खोज्ने हो । गणेशजीको जीउ ठूलो छ, सबैतिर स–सानो कुरामा ध्यान दिन, खोज्न गाह्रो छ । मुसाले गहिराइमा गएर अन्वेषण गरेर ल्याउँछ । त्यो अन्वेषणबाट धेरै कुरा बोध हुन्छ र काम गर्न सकिन्छ । यो सबै काम गर्न सक्यौ भने तिम्रो चैतन्यताको तेश्रो नेत्र खुल्छ र तिमीले शिरमा श्रीपेच लगाउन पाउँछ भन्छ । त्यसैले गण+इश जोडिएर बन्ने गणेश शब्दको ठूलो महत्व छ । गणलाई हामी सहर मानौं, त्यो गणको नेतृत्व गर्ने इश (मेयर) ले मात्र मुकुट लगाउन पाउँछ । मैले गणेश साधना गर्छु, त्यो कुनै धार्मिक हिसाबले होइन  । त्यसैले मैले अहिले मेयरमा दाबी गरेको उल्लेखित गुणहरू म मा भएकाले हो ।

त्यसकारण मैले मेरो पार्टी नेतृत्वलाई संसारको ठूलो गणेशको मूर्ति स्थापना गर्छु भनेर भनेको कुनै धार्मिक कार्यका लागि होइन, प्रायश्चित गर्न र ध्यान गर्नका लागि अध्यात्म केन्द्रका रूपमा त्यसलाई विकास गर्ने हो । त्यसरी प्रायश्चित गरेर, आफूलाई बुझेर जीवनका पक्ष अँगाल्न सकियो भने मानिसको जीवन फलदायी हुन्छ । त्यो ध्यानकेन्द्रमा हजारौं मानिसले ध्यान गर्छन्, त्यहाँ ध्यान गर्नेले वैभवशाली विश्व निर्माणको अभियान चलाउँछन्, हामी चाहेर वा नचाहेर पनि विश्व नेता हुन्छौं । आवधिक रूपमा बाँकी जीवन त्यसैका लागि समर्पण हुन्छ । 

काठमाडौँ उपत्यकासहितको बागमती प्रदेश नै बनाउने जिम्मा पाइसकेको व्यक्ति, त्यो ठाउँबाट किन काम गर्न सकिएन ? 

मेरो चेतनाले तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलसँग टिमवर्क जमेन । उहाँले मलाई बुझ्नुभएन । मैले केही नयाँ कुरा ल्यायो कि त उहाँले मुख्यमन्त्री को ? तिमी कि म भन्ने । तिमी मेरो मातहतमा हो, मुख्यमन्त्रीले जे भन्यो त्यही गर्ने हो भन्न थाल्नुभयो । उहाँले त उहाँ नुवाकोट गए म पनि पछि लागेर आइदिओस् भन्ने चाहाने । म त दासत्वको विरुद्धको मान्छे । हाम्रो पार्टीले पनि आफ्नो सत्व रक्षा गर्नुपर्छ भनेर सिकाएको छ । प्रत्येक दिन उहाँले टोकसो गर्न थालेपछि मैले उहाँलाई फरक–फरक बाटो हिंडौ भनेकै हो । म प्रायश्चित गर्छु, म त्यहाँ जानु नै गलत थियो । म आफैं मुख्यमन्त्री भए त धेरै काम गर्थे ।

मुख्यमन्त्री मातहत नै थिएँ, उहाँले नै मुख्य मन्त्रीलाई ‘सर्भ’ गर्ने मान्छे (सर्भेन्ट) भन्नुभयो । पार्टीमा अन्तरविरोध हुन्छ, त्यो कुरा पार्टीमा छलफल गरेर छोड्न पाएको भए सहज हुन्थ्यो । तर कुरा नमिलेपछि उहाँले मलाई खुस्काइदिनुभयो । मलाई त अहिले पार्टीले काठमाडौँको मेयर बनाउने भएपछि दीप प्रज्ववलन गरेर डोरमणीजीलाई ‘धन्यवाद’ भनें । उहाँले स्याक गरेकै कारण मैले राजधानीको मेयरको टिकट पाएँ । यहाँ काम गरेर त विश्वलाई देखाउन सक्छु । डोरमणीजीको कृत्यका लागि उहाँलाई फेरि धन्यवाद भन्छु । 

भनेपछि केशव स्थापित अराजक व्यक्ति होइन ? 

केशव स्थापित पानीको झरना जस्तो व्यक्ति हो । शीतल झरना, पानी र अक्सिजनको संगम, सौन्दर्य अवर्णनीय हुन्छ नि झरनाको । त्यसमा वेग छ, त्यो वेगमा अक्सिजनसँग अन्तर्क्रिया भएको कारण झरनाको पानी मिठो हुन्छ । हेर्दा पनि श्वेत । त्यही पानी तलतिर बग्छ । त्यो पानीको गति कम हुन थाल्यो, जम्नुपर्‍यो भने धमिलो हुन्छ । त्यो जीवनदायी हुँदैन । मलाई कहिल्यै पनि रोकिएर, जमेर बस्न मन लागेन ।

डोरमणीजीलाई धन्यवाद भनेर दीप प्रज्वलन नै गरें ।

वेगले बग्ने, वेगमा बग्दा कहिलेकाहीं ढुंगामा ठोकिएपछि सेतो सर्फिङ हुन्छ । त्यो ज्वारभाटाले त उसको जीवनको अस्तित्व देखाउँछ । त्यसरी म पनि वेगले बगेर ढुंगामा ठोक्किन्छु, त्यसरी ठोक्किदाँ मलाई केशव अराजक छ भन्छन् । म अराजक होइन, मैले कसैलाई हानी गरेको छैन । म विपश्यना गर्छु, सम्भवी महामुद्राको अभ्यास गर्छु । ढुंगाहरूमा आर्ट गर्छु । केशव स्थापितले जीवनमा यति धेरै सिकेर, भोगेर आइसक्यो कि ऊ एक बुद्धमार्गी र अध्यात्ममा लागेको व्यक्ति हो ।

काठमाडौँको मेयरमै यहाँको लामो यात्रा भयो नि, पहिलोपटक मेयर हुँदा ४० वर्षभन्दा कम हुनुहुन्थ्यो, अब नयाँ पुस्तालाई दिनुपर्ने होइन ? 

मैंले त अहिले पनि उमेर गणना गर्दिनँ । म त कर्म र समर्पणको कुरा गर्छु । मान्छेको हाँसो र उत्साहको कुरा गर्छु । म बुझ्ने भएपछि मेरो दिदीहरूले यो दिनमा तिम्रो जन्मदिन भनेर मनाएको थाहा छ । मेरो २०१६ सालमा जन्म भएको भनेर त्यही अनुसार नागरिकता बनाइएको छ । त्यसअनुसार ६३ वर्ष भएँ भनेपछि पहिलोपटक मेयर भएको २५ वर्ष अगाडि हो । तर म अहिले पनि नियमित जीम जान्छु, ध्यान गर्छु । हट्टाकट्टा युवा नै छु म । 

काठमाडौँको मेयर भन्यो कि जतिबेला पनि केशव स्थापित नै चाहिने, अब मेयरमै ह्याट्रिक गर्ने ? 
म आफूलाई विज्ञ र अरुभन्दा श्रेष्ठ मान्छे भन्दिनँ । म आम मान्छे हुँ । तर मैले कोरेको बाटो कहाँ पुग्छ भनेर म देख्छु । कसैले मृदंग, कसैले झ्याली बनाउला; कसैले पियानो बजाउला, कसैले हार्मोनियम वा ड्रम बजाउला, कसैले सारङ्गी रेट्ला । ती अलग–अलग अभ्यास हुन्छन् । मेरो गुण भनेको ती सबैलाई एक ठाउँमा ल्याउने हो । एउटा डन्ठी लिएर ‘म्युजिक एरेन्जर’ले डन्ठी घुमाएपछि सामूहिक गान हुन्छ ।

त्यहाँ भित्र संगीतको श्रृंखला आउँछ र त्यहाँ जीवन आउँछ । त्यस्तो भावधारा निर्माण गर्ने कौशल म राख्छु । महानगरको विकास र संरक्षण भनेको पनि त्यस्तै कुरा हो । सबै दिव्यतालाई एक ठाउँमा राखेर त्यसबाट उर्जा निर्माण गर्ने हो । म अहिले पनि सामूहिक घोषणा गर्छु – मैले एउटा भावधारा निर्माण गरेपछि, मेरो आवश्यता छैन, म आफूले आफैंलाई निषेध गर्छु । 

महानगरको नेतृत्व लिने अर्को पुस्ता तयार गरेपछि पहिलोबाहेक अरु पद नलिने केशव स्थापितको बाँकी जीवन कस्तो हुन्छ  ? 

मेरो मनका हजार सपना छन् । त्यसलाई साकार गर्न म सम्भवत बाजुरा जिल्ला वा कुनै परित्यक्त ठाउँमा गएर त्यो थिलथिलो ठाउँमा गएर त्यसको रूपान्तरणमा काम गर्छु । मैले धेरै अभियान चलाएको छु, त्यो अभियान सफल भयो भने मेरो निजी आम्दानी नै अर्बौं हुन्छ । मैले नेतृत्व हस्तान्तरण गर्न पाएपछि मेरो यहाँ आवश्यकता समाप्त हुन्छ । त्यसकारण मैले अघि भनेको जीवनको भावधारा एक ठाउँमा नल्याउन्जेल त जानी नजानी काम गर्नैपर्‍यो नि ! मैले सोचेको ‘सिम्फोनी’ सिर्जना गरेर देश बनाउन सकिन्छ ।

मैले तिब्बतीहरूबाट, हिमालमा बसोबार गर्ने साथीहरूबाट, मधेशबाट, देशका विभिन्न मागबाट सिकेको छु । ती सबैथरी मानिसहरू काठमाडौँमा आएर बसोबास गरेका छन् । ती सबैको सीपलाई काठमाडौँ महानगरमा ल्याएर म भावधारा निर्माण गर्छु । उदाहरणका लागि, हिमाली क्षेत्रका मानिसहरूले ‘ॐ मणि मद्मे हुँ’ (कमलको फूलजस्तो हुन पाउँं) भनेर ढुंगामा खोप्छन् । त्यो सन्देश लेखिएको ढुंगामा बुद्धको आकृति खोप्छन् । त्यसले एकछिन अगाडि खेर गएको ढुंगा बुद्धको आकृति र सन्देशले त्यो ढुंगाको मूल्य निर्माण हुन्छ । त्यस्तै, मधेशमा म कैयन् दलित बस्तीमा गएको छु । भिजेको चिउरामा नुन राखेर एउटा खुर्सानी र प्याजको टुक्रा टोकेर पनि उसले जीवनको कथा हाल्छ । आतिथ्य स्वागत सरकारमा उनीहरू अनुहारमा हाँसो लिएर तयार हुन्छन् । उनीहरू श्रममा विश्वास गर्छन्, हाँसोको कुरा गर्छन् । अब देशले उनीहरूको जीवनको उत्थान गर्नुपर्छ ।

त्यसकारण यो राजधानी शहरमा अर्थात् देशभरका मानिस बसोबास गर्ने ठाउँमा भिल्को बाल्न सकियो भने देशभर बत्ती बल्ने वातावरण हुन्छ । मेरो नियति, मेरो जीवनको उद्देश्य नै त्यही हो । म विचार सुन्छु, संश्लेषण गर्छु । कसैले मलाई गाली गर्छ भने भावभूत भएर लिन्छु । कोही मलाई सच्याउन केही दिन चाहिरहेको छ भन्ने सोचेर लिन्छु । वास्तवमा, त्यति विनयशीलताले मात्र नेता बन्न पाउँछ । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x