वार्ता

ठूलो मतान्तरले विजयी हुनेमा म विश्वस्त छु

कमल धिताल |
बैशाख २१, २०७९ बुधवार १५:३५ बजे

मूलधारका राजनीतिक दललाई चुनौति दिने शैलीमा २०७४ को स्थानीय निर्वाचनमा प्रस्तुत भएको थियो, साझा–विवेकशील पार्टी । काठमाडौँ महानगरमै विजय हासिल गर्छ कि भन्ने आभास दिलाएको थियो र वैकल्पिक शक्तिको रुपमा मानिसले लिएका थिए । यसपालि पनि उक्त पार्टीले काठमाडौँ महानगरमा समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाएको छ, वैकल्पिक राजनीतिको किल्ला गाड्ने उद्‍घोषसहित । ‘इमान ‘भर्सेस’ बेइमान रोज्दाखेरी उहाँहरूले इमानलाई नै रोज्‍नुहुन्छ’ बाँस्कोटा भन्छिन्, ‘तराजुमै राखेर मूल्यांकन गर्नुहुन्छ ।’ काठमाडौँ महानगर प्रत्यासी बाँस्कोटासँग इकागजकर्मी कमल धितालले गरेको कुराकानी ।

काठमाडौँको मेयरमा तपाईंको उम्मेदवारी के–का लागि ?
सबैभन्दा पहिला देशको केन्द्रमा पर्छ काठमाडौँ । यो सहरको फोहोर सफा गर्नुछ र राजनीतिमा लागेको फोहोर पनि महानगरलाई मोडेल बनाएर सफा गर्नुछ । साथै यहीँबाट वैकल्पिक राजनीतिको किल्ला गाडेर देशव्यापी रूपमा सक्षम मान्छे क्षमतावान मान्छे र इमानदार व्यक्तिहरू पदमा पुग्यो भने साँच्चिकै ‘सर्भिस डेलिभरी’ कसरी हुन्छ भन्ने कुरा देखाउन सकिन्छ ।


मानिसले होइन सिस्टमले कसरी काम गर्छ भन्ने देखाउन सकिन्छ भनेर नमूना महानगर बनाउनु छ । अस्तव्यस्त काठमाडौँलाई व्यवस्थित महानगर बनाउनु छ । भत्किएका सम्पदाहरूको संरक्षण गरेर यसलाई पुनर्जागरण गर्नुछ । भ्रष्टाचाररहित समाज निर्माण गर्नुछ, यसैका लागि काठमाडौँको मेयरमा मेरो उम्मेदवारी हो । 

तपाईंले उठानुभएको मुख्य अजेण्डा के–के हुन् ?
हाम्रो मूलतः सात अजेण्डा छन् । जसमा भ्रष्टाचार नियन्त्रण गरी सुशासनमा आधारित सेवा प्रवाह भनेका छौँ । सुलभ व्यवस्थित विद्युतीय यातायात । नेवा: कला संस्कृतिको पुनर्जागरण । खुला क्षेत्र संरक्षण र विस्तार । नदी–नाला सफाई र पुनर्स्थापना । सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षा । छोटकरीमा भन्नुपर्दा यी सात मुख्य अजेण्डा रहेका छन् । व्याख्यात्मक रूपमा भन्नुपर्दा यसमा हामीले के–के गर्छौ भनेर ‘क्याटोगराइज’ गरेका छौँ। 

२०७४ मा विवेकशील उम्मेदवारप्रति आकर्षक माहौल थियो, यसपटक त्यस्तो देखिँदैन नि ?

जसरी माहौल बनेको छ त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु । हाल काठमाडौँ महानगरमा चर्चाका उम्मेद्वारमध्ये म पनि एक हुँ । भनेको केही उम्मेदवारहरूको चर्चा भइराखेको छ त्यसमा म पनि हो भनिसके पछाडि यसले सकारात्मक रूपमा चर्चा बटुलेको छ । साथै यसको मानक के हो भन्ने कुरा पनि छ कुन कुरालाई आधार बनाएर माहोल बनेन भन्ने र के चिजलाई आधार बनाएर माहोल बन्यो भन्ने ? मेयरले ‘डिस्कसन’ तथा ‘डिबेट’मा म पुगेको छु ।

त्यस्तै गरेर सामाजिक सञ्जाल नेशनल टिभीलगायतको बहसको केन्द्रविन्दुमा नै छु । सँगसँगै विवेकशील साझाले प्रमुख पदमा दुवैमा महिला अघि सारेको छ । त्यहीँबाटै नै माहोल बन्दै गएको छ । जसरी अन्य दलले महिलालाई अघि सारेका छन्, त्यसमा पनि सायद विवेकशीलले साझाले गरेको निर्णयलाई पच्छाएर गर्नुभयो भने पछाडि माहौल त बनाएको नै जस्तो लाग्छ । यसले सकारात्मक माहौल सिर्जना गरेको छ । यद्यपि सबैले हेर्ने र मूल्यांकन गर्ने दृष्टिकोण फरक फरक हुन्छ ।

हाल पार्टीका उम्मेदवारहरूलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएको जस्तो देखिन्छ नि ?

हालको परिस्थितिमा मलाई कसैबाट पनि चुनौती दिएको जस्तो लाग्दैन किनभने सबैको आ–आफ्नो सम्भावना हुने गर्छ। मेयरको उम्मेदवार भनेको उम्मेदवार भएको दिनबाट नै नागरिकप्रति, महानगरप्रति जवाफदेही हुनुपर्छ । तपाईं बहस छल्नुहुन्छ, सार्वजनिक फोरम सेयर गर्न चाहानुहुन्‍न भने भोलि तपाईं मेयर भएर विदेशी निकाय, कर्मचारीतन्त्र, नेताहरूसित तपाईं कसरी ‘डिल’ गर्नुहुन्छ ? यदि तपाईं पब्लिक फोरम फेस गर्नुहुन्न भने ? त्यस्तै कोभिड पछाडि चासोमा रहेको अर्को कुरा भने ‘मेन्टल हेल्थ’सँग ‘रिलेटेड इस्यू’ हो । तपाईं ‘मेन्टल हेल्थ’को कुरा गर्नुहन्छ त्यसको वकालत गरेको भन्नुहुन्छ भने तपाईंले बोलेको शब्दहरू तपाईंले प्रयोग गर्ने भाषाहरू, संवेदनशील हुनुपर्छ कि पर्दैन ? हामीले समाजको कुनै वर्ग समुदायमा लक्षित गरेर असंवेदनशील शब्दहरू प्रयोग गर्न मिल्छ कि मिल्दैन ? यसबारेमा पनि हामी संवेदनशील हुनुपर्छ जस्तो लाग्छ ।

जसरी सामाजिक सञ्जाल लगायतका विभिन्न ठाउँहरूमा आइरहेको टिकाटिप्पणी र व्यक्तिगत रूपमा उम्मेदवारहरूले दिएको र प्रस्तुत गरेको भाषण तथा अभिव्यक्तिहरू हेर्दा यसप्रति संवेदनशील भइनरहेको र नागरिकप्रति जवाफदेही नभइराखेको स्थिति छ । यसमा जो अलि संवेदनशील र जवाफदेही छन् ऊ आफैंमा दह्रो उम्मेदवार हो जस्तो लाग्छ । यसमा मैले आफूले आफूलाई बलियो उम्मेदवारको रूपमा पनि प्रस्तुत गरिरहेको छु । साँच्चै भन्नुहुन्छ भने मेरो प्रतिस्पर्धा अरू कोहीसँग नि छैन म आफैसँग हो । किनभने दौडमा निस्किसकेपछि जितको लक्ष्य राखेर हिँड्ने हो । मैले जित प्राप्त गर्न मैले गर्नुपर्ने कामहरू के–के हुन् त जसले मलाई भोलि अव्वल बनाउँछ । यस्तै मैले गर्ने कार्यले भोलि भन्दा पर्सी कसरी बलियो बनाउँछ यसका लागि र मेरो लागि हरेक दिन नयाँ प्रतिस्पर्धा म मात्र हो जस्तो लाग्छ । 

तपाईंको बुबा कांग्रेसबाट गृह राज्य मन्त्री हुनुहुन्थ्यो, विवेकशील साझा भन्दा कांग्रेसमै सजिलो हुन्थ्यो होला नि ?

मेरो बुबा कांग्रेसको नेता हुनुहुन्थ्यो, २०५२/५३ मा उहाँ गृह राज्यमन्त्री पनि हुनभएको हो । यद्यपि हाल उहाँ कांग्रेसको सक्रिय राजनीतिबाट भने विश्राम लिनुभएको छ । बुबाको राजनीतिमा कहिले पनि प्रवेश गरिनँ र २०७४ मा विवेकशील साझा पार्टी रोजेर यसमै काम गरिरहेको छु । बुबाले जहिलेसम्म राजनीतिमा रहनुभयो उहाँले कहिले पनि परिवार तथा गुटगत भागबण्डा गर्नुभएन र इमानको राजनीति गर्नुभयो । मैले उहाँबाट सिकेको भनेको राजनीति सेवा हो, यो पेसा होइन राजनीति गर्दा इमानको राजनीति गर्नुपर्छ । क्षमताको राजनीति गर्नुपर्छ कसैको नजिक वा टाढा रहेर राजनीति गर्नुहुँदैन ।

साथै उहाँले राजनीति गर्दै गर्दा परिवारका कुनैपनि सदस्यलाई राजनीतिमा आऊ वा कांग्रेसबाट राजनीति गर्न सजिलो हुन्छ किनभने यसमा मेरो ‘लिगेसी’ छ जस्ता कुरा गर्नु भएन । मैले शिक्षा दीक्षा राम्रो दिन्छु र आफूले के निर्णय गर्दा ठीक हुन्छ र त्यही निर्णय गर्नु भन्नुभएको हो । मैले बुबा म विवेकशील साझाबाट प्रवेश गरे भन्दा आफूलाई मन लागेको गर्नु तर जुन काममा लागिन्छ, त्यसमा इमानदार भएर शतप्रतिशत मन दिनु भन्नुभएको थियो । मैले त्यसलाई नै मूल मन्त्र बनाएर मैले विवेकशील साझाबाट राजनीति सुरु गरे । साथै मैले कहिले पनि कांग्रेसलाई विकल्पमा राखिँन यद्यपि मैले उक्त दलमा गएको भए बुबामार्फत केही सजिलो हुन्थ्यो होला । तर मैले रोजेको यो अप्ठ्यारो बाटो नै सहज लागेको छ ।

हाल उम्मेदवारहरू व्यक्तिगत लान्छना लगाउने प्रकारका अभिव्यक्ति दिँदै आएका छन् नि ?

एक प्रकारको प्रतिस्पर्धी भयो भन्दैमा कसैलाई पनि होच्याउने वा असर गर्ने प्रकारका अभिव्यक्ति दिनु हुँदैन भन्ने म मान्यता राख्छु । असंवेदनशील अभिव्यक्ति दिएर अरूलाई होच्याएर आफू ठूलो हुन सकिँदैन । सबैलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ । विदेशमा ‘मेयरल डिवेट’ हुने गर्छ हामी तर्कमा कुरा गर्ने हो । यसरी कसैलाई जातीय, लैंगिक, पारिवारिक पृष्ठभूमि क्षेत्रीय कुरा गरेर अभिव्यक्ति दिनु हुँदैन ।

तपाईंले अरूलाई लाञ्छना लाउँदै गर्दा त्यसबाट तपाईंको पनि चरित्र पनि देखिन्छ । अर्को व्यक्तिलाई सानो बनाएर होच्याएर आफू कहिल्यै ठूलो हुन सकिँदैन । अरूको नकारात्मक कुरा भन्नै पर्दैन, किनभने मभित्र कत्ति धेरै सकारात्मक कुरा छन् त्यसलाई कसरी बाहिर ल्याउने भन्ने सोच राख्नुपर्छ । हाम्रो समाजका कतिपय मानिसहरू अरूको नकारात्मक कुरा गर्दा बढी खुसी हुने छन् यस्ता मान्छेबाट सधै सजग भएर काम गर्नुपर्छ । हाल ‘सोसल मिडिया’को जमाना छ भाइरल हुन पनि त्यस्ता अभिव्यक्तिको सहारा लिएका हुन्छन् । त्यसलै म त्यसप्रकारको अभिव्यक्ति दिन पनि रूचाउन्न र मप्रति आएका अभिव्यक्तिलाई खण्डन जहाँ गर्नुपर्ने हो त्यही गर्छु । 

विवेकशील साझामा आएको विवादका कारण यो पार्टी पनि पुराना जस्तै भयो भन्नेहरू पनि छन् नि ?

विचारको विमति जहाँ पनि हुन्छ । हाल मेयरका प्रतिस्पर्धाहरूमा हेर्नुभयो भने एकले अर्कालाई आरोप लगाउने होच्याउने यस्तो किसिमको व्यक्तिहरू पनि हुन्छन् । आफ्नो विचार सही र अरूको विचार गलत भन्ने हुन्छ र ? विचारको विमतिले राजनीतिक दल निखारिँदै अघि बढ्ने प्रक्रिया हो । यो प्रक्रियाले राजनीतिक दललाई संगठनात्मक रूपमा अघि बढाउन सहयोग गर्छ । धेरै छलफल हुँदा यसले निचोड निकाल्छ । विचारको विमति हाम्रो दलमा भयो होला तर काम गर्नलाई आफूले लिएको जिम्मेवारी पूरा गर्न विवेकशील साझाले त कहिले पनि रोकेको छैन ।

हाम्रो पार्टीमा पो विचारको विमति भयो रे अन्य पार्टीले के कारणले काम गर्नुभएन ? त्यही भएर अन्य दल जस्तो हामी भ्रष्टाचारमा लिप्त भइसकेका छैनौँ। सेवा दिने ठाउँमा पुगेका छैनौं तर पनि हामी काम गर्छौ भनेर निरन्तर यो लडाईमा लागिराखेका छौं । पुरानो सिन्डिकेट तोड्न लागिरहेका छौं त्यो क्रममा काहिँ काहिँ हाम्रो विचारको विमति हुनु सामान्य कुरा हो । विवेकशील साझा सिक्दैछ, अघि बढ्दै छ र निखारिँदै छ भन्ने प्रक्रियाको रूपमा बुझेको छु । 

काठमाडौँका मतदाताले तपाईंलाई मत किन दिने ?

काठमाडौँका जनताले परिवर्तन चाहनुभएको छ जुन परिवर्तनको संकेत उहाँहरूले २०७४ को स्थानीय र संघीय चुनावमा दिइसक्नु भएको छ । अब काठमाडौँको जनताहरूका बीचमा इमान रोज्ने कि बेइमानलाई रोज्ने । जो मन्छे पदमा हुनुहुन्छ उहाँहरूले विभिन्न सपनाहरू बाँड्नु भयो ।

यो काम गर्छु त्यो काम गर्छु भनी घोषणा गर्नु भयो तर काम गर्नु भएन । अब त्यसलाई तराजुमा राखेर मूल्यांकन गर्ने कि नगर्ने ? इमान ‘भर्सेस’ बेइमान रोज्दा खेरी उहाँहरूले इमानलाई नै रोज्‍नुहुन्छ । अर्कोमा तपाईंले निष्ठावान व्यक्तिलाई रोज्ने कि भ्रष्ट दलको नेताहरूलाई रोज्ने भन्ने हो । विगतमा काठमाडौँले धेरै नै दुःख पाइसक्यो अब उहाँहरूले काठमाडौँलाई दुःख दिन चाहनुहुन्न ।

यसकारण पनि उहाँहरूले भ्रष्ट दलका नेताहरूलाई रोज्नुहुन्न । यसकारण किन मलाई भोट भन्दा हाम्रो न कुनै ‘लिगेसी’ छ न सधै एकै प्रकारका र एकै ढर्राका नेता उत्पादन गर्ने पार्टी छ । यसैले अब काठमाडौँ परिवर्तन गर्न पनि उहाँहरूले समीक्षा बाँस्कोटालाई मत दिनुपर्छ । विवेकशील साझाले काठमाडौँको फोहोर र फोहोरी राजनीति सफा गर्ने अभियानमा लागिरहेको छ । भ्रष्टाचार रहित समाज निर्माण गर्ने सङ्कल्प लिएर अघि बढिरहेको छ ।

हालका तपाईंले चुनेका नेताहरू आफैँ असंवेदनशील स्टेटमेन्ट दिनुहुन्छ महिलाले तिनलाई कसरी विश्वास गर्ने ? उहाँहरूले सुरक्षित महानगर निर्माण गर्न सक्नु हुन्छ ? यसकारण यो सबै कुरा नागरिकहरूले मूल्यांकन गरेर बस्नु भएको छ । यसकारण सबैको प्रतिनिधि स्वरूप काठमाडौँ महानगरले यसपालि वैकल्पिक राजनीतिको केन्द्र र महानगरको पनि एउटा नमूना केन्द्रको रूपमा मलाई मतदान गर्नुहुन्छ । 

राजनीतिक दलहरूले राजनीतिमात्र बुझेको व्यक्तिहरूलाई उठाउने गरेका छन् यसले उनीहरूले राजनीति पाटो राम्रोसँग निभाउँदा डेलिभरीमा समस्या देखिएको हो ? राजनीतिमात्र बुझेर पनि नहुने रहेछ नि होइन र ?

यसअघि काठमाडौँ बनाउँछु भनेर आउनु भएकाहरूले राजनीतिक कस्तो बुझ्नुभयो भने आफ्ना कार्यकर्ता पोस्ने । पार्टी तथा नेताले जे निर्देशन दिन्छ त्यो मात्र पालना गर्ने र अनि जसरी हुन्छ आफ्नो भोट बढाउने । अगाडि हेर्नुभयो कोभिडको बेलामा आफू होटलमा गएर बस्ने, नागरिक दुःख पाएको बारेमा चुइक्क नबोल्ने । खुला क्षेत्र विस्तारका लागि नागरिक आफैँ उठ्नुपर्ने, सम्पदा संरक्षणका लागि आफू केही काम नगर्ने, नागरिक आफै आएर सम्पदा संरक्षण आवाज उठाउनुपर्ने । यदि उहाँहरूले बुझेको राजनीति त्यो हो भने मैले त्यो राजनीति बुझेको छैन र मलाई बुझ्नु पनि छैन् ।

किनभने मैले राजनीति गर्ने भनेको जनतालाई दिने सेवा सुविधा चुस्त दुरुस्त बनाउने हो । सुरक्षित महानगरमा महिला अपाङ्गता, वृद्ध–वृद्धाहरूलाई सुरक्षित महानगर बनाउने भन्ने मेरो अजेण्डा हो । विवेकशील साझाले ५० ओटा सार्वजनिक शौचालय निर्माण गर्छौँ र यसलाई अपाङ्गता मैत्री हुनेछ । उहाँहरूले गफको राजनीति गर्न यस्ता अजेण्डा उठाउने नेता पोस्ने कार्यकर्ता पोस्ने, सेटिङ मिलाउने, कमिसनमा लिप्त हुने यसप्रकारको राजनीति बुझ्नुभयो तर म यस्तो राजनीति बुझ्न पनि चाहन्न । मैलै बुझेको राजनीति भनेको सर्भिस कसरी राम्रोसँग डेलिभरी गर्न सकिन्छ भन्ने  हो र हामी त्यही राजनीति गर्नलाई आएको हो त्यही नै गर्छौ महानगरमा पनि । 

तपाईंको पार्टी अध्यक्षले ल्याउनुभएको ‘विचारभन्दा माथि देश’को अवधारणालाई दक्षिणपन्थी धार धार्मिक राजनीति गर्न लागेको भन्ने आरोप छ नि ?

हामीले २०७४ मा जुन प्रतिबद्धता पत्र ल्याएका थियौं, त्यसमा कतै पनि अलमलिएका छैनौं । त्यसमा संघीयता खारेजी, स्थानीय तहको पुनर्संरचना गर्ने र सुदृढीकरण गर्ने, धर्मको सन्दर्भमा जनमत संग्रहमा जाने भनिएको छ । जनमत संग्रह गर्ने भनेको कुनै पनि धर्मलाई पाखा लगाउने वा नराम्रो गर्ने भन्ने कुरै होइन । जनमत संग्रह गर्न हामीलाई दुईतिहाइ मत चाहिन्छ ।

नागरिकले नै त्यति मत दिएर त्यहाँ पुर्‍याउनुहुन्छ भने मात्रै यो हुने सम्भावनाको कुरा भयो । यहाँ कस्तो ‘न्यारेसन बिल्डअप’ भइदियो भन्दा यो भनेको चाहिँ एउटा निश्चित धर्मलाई ‘टार्गेट’ गरेको भन्ने तर यो कदापि होइन । नेपालमा सबै धर्मलाई समान रूपमा हेर्ने हो कुनै एउटा धर्म वा सम्पदाका मात्र होइन सबै धर्मलाई समेटर जाने खालको महानगर र देशको परिकल्पना हो । विचार भन्दामाथि देशमा पनि यो विषयहरूलाई कही पनि गलत तरिकाले उठाइएको छैन । 

तपाईंले पनि अन्यले जस्तै यति मतले जित्छु भन्ने कुनै हिसाव गर्नुभएको छ कि ?

म क्यालकुलेटर लिएर हिँड्दिनँ किनभने मैले क्यालकुलेटर बोकेर हिँडे भने नागरिकप्रति अन्याय गरेको हुन्छ। किनभने उहाँहरूले मलाई त्योभन्दा बढी मतले जिताउने सोच बनाउनु भएको हुनसक्छ अनि मैले ठ्याक्कै एउटा नम्बर भनेँ भने त्यो उहाँहरूमाथिको अन्याय हुनेछ । यसकारण यो पटक काठमाडौँमा सबैभन्दा धेरै मत ल्याएर जित्ने म नै हुनेछु ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x