वार्ता

बुटवलमा एमालेको विरासत गुम्‍न दिन्‍नौँ

विक्रम खड्का |
बैशाख २४, २०७९ शनिवार ७:३ बजे

एमालेको बलियो विरासत भत्काउन सत्ता गठबन्धन मोर्चाबन्दी गरी मैदानमा उत्रिएपछि लुम्बिनी प्रदेशको मुकाम बुटवल उपमहानगरपालिकामा राजनीतिक गर्मी चुलिएको छ । एमाले आफ्नो आधार इलाका कायम राख्न खटिरहेको छ । लामो समयदेखि विभिन्न तहका निर्वाचनमा जित हात पार्दै आएको एमालेले यसपालि पनि जित निश्चित भएको दाबी गर्दै आएको छ । एमालेले गढ ठानेको बुटवल उपमहानगरपालिकाको मेयर पदमा एमालेले बाबुराम भट्टराईलाई चुनावी मैदानमा उतारेको छ । स्याङजाको विर्घामा जन्मिएका ६४ वर्षीय भट्टराई राजनीति र व्यवसायलाई सँगै अघि बढाएका नेता हुन् । गठबन्धन दलहरूको मोर्चाबाट जित्दै अघि बढ्ने अठोटका साथ चुनावी प्रचारमा व्यस्त रहेको भट्टराईसँग इकागजकर्मी विक्रम खड्काले गरेको कुराकानी :

मेयरमा चुनाव लड्दै हुनुहुन्छ, एजेण्डा के छन् ?
बुटवलको जुन ऐतिहासिकता, सांस्कृतिक महत्व र आर्थिक केन्द्र विस्तारको विराट सम्भावना छन् तिनलाई संरक्षण गर्ने, संवर्द्धन गर्ने, विस्तार गर्ने हो । अनि समस्या पहिचान गरी समाधानका उपाय अबलम्बन गरिहाल्ने र दिगो विकास लक्ष्यमा बुटवलका योजना केन्द्रित गरेर अगाडि बढ्ने नै हाम्रो पार्टीको मूल एजेण्डा हो । केन्द्रदेखि पालिकासम्म एमालेले के–के गर्ने, एमालेको नेतृत्वमा सरकार रहँदा तीनै तहमा के/कसरी काम गरियो भन्ने सबै फेहरिस्तसहित हामी चुनावी मैदानमा छौं । बुटवल यसक्षेत्रको आमा सहर हो र विराट सम्भावना बोकेको उज्यालो सहर हो । विकासका रोल मोडलका रूपमा सिङ्गो जिल्लालाई नेतृत्व सहर हो, बुटवल । यो हामी अर्थात् नेकपा एमालेका प्रतिनिधिहरूले गरेको सुझबुझपूर्ण र दिगो विकासको खाकाको नतिजा हो । कस्तो थियो बुटवल र कसरी गरिँदैछ दिगो तथा व्यवस्थित विकास भन्ने प्रष्ट भिजनका साथ काम गर्ने दृढ इच्छाशक्ति लिएका जनप्रतिनिधिको निरन्तरताका रूपमा हामी अगाडि सरेका छौं । मतदातामा हाम्रा हालसम्मका योजनाबद्ध काम र अबको बुटवल कस्तो बनाउने भन्ने प्रष्ट भिजन छ । 


बुटवललाई कस्तो बनाउने योजना छ ?
बुटवललाई कस्तो बनाउने भन्दा पनि बुटवलको पहिचान विस्तार गर्ने, तयार भएका समृद्धिका आधारलाई पनि विस्तार गर्ने, एउटा व्यवस्थित, सभ्यतायुक्त, सुन्दर सहरका रूपमा बुटवललाई विकास गर्न सकिन्छ भन्ने प्रष्ट भिजनका साथ हामी जुटेका छौं । बुटवलमा जति पनि विकास निर्माणका कार्यहरू भएका छन्, केही पूरा हुने क्रममै छन् । आवधिक योजना पूरा हुने र दीर्घकालीन योजना निरन्तर चलिरहेका छन् । सबैभन्दा पहिले बुटवलमा निर्माणाधीन आयोजनालाई अझ व्यवस्थित गर्दै पूर्णता दिने नै हाम्रो पहिलो काम हुनेछ । योजनाहरूको कार्यान्वयन के÷केसरी भइरहेको छ, नीतिगत समस्या के कस्ता छन् तिनको पहिचान गर्दै समाधानको उपाय निकाल्दै संविधानले स्थानीय तहलाई दिएको अधिकारमा रहेर निरन्तर खट्ने नै हाम्रो ध्येय हुनेछ । 

अरु प्राथमिकताका क्षेत्रहरू के–के छन् ?
स्थानीय सरकारका रूपमा बुटवल उपमहानगरपालिकालाई नागरिकको सेवा केन्द्रका रूपमा र हामी जनप्रतिनिधि भएपछि निरन्तर सेवकका रूपमा खट्ने प्रतिवद्धता गरेका छौं । त्यही आधारमा बुटवलका १९ वटै वडाको प्राथमिकता निर्धारण गरेर योजना बनाउने छौं । योजना कार्यान्वयन गर्ने उपयुक्त कार्यक्रम बनाउनेछौँ । बुटवलका सबै वडाको पाश्र्व चित्र र यसअघि गरिएका कामहरूको सूची समेत हामीले बनाएका छौं । त्यसमा चुनौती, पहलकदमी र अबको सम्भावनाका विषयलाई पनि हामीले अलग–अलग कोलममा समेटेर पार्टीमा रहेका विषय विज्ञहरूको परामर्शमा नयाँ कार्यक्रम पनि बनाएका छौं । समग्रमा संवैधानिक अधिकारको प्रयोग र कार्यान्वयन गर्दै जनताको अवस्था बदल्नेतर्फ नै हाम्रो पहिलो प्राथमिकता रहनेछ । खासमा बुटवलको शिक्षा, स्वास्थ्य, पर्यटन र वातावरण मैत्री दिगो विकासमा केन्द्रित भौतिक संरचना निर्माणमा ध्यान दिएर योजना तय गर्नेछौं । बुटवलको समृद्धिका आधारलाई कार्यान्वयन गर्ने र अरु नयाँ–नयाँ आधारको खोजी गर्ने विषयलाई प्राथमिकतामा राख्नेछौँ । बुटवलको विकासका लागि बुटवलमा रहनुभएका र बुटवललाई माया गर्ने सबैलाई समेटेर खुला हृदयका साथ काममा खट्नेछौँ ।

नेकपा (एकीकृत समाजवादी)मा जति जानुभएको छ, त्यसको तेब्बर माओवादीको साथीहरू हामीसँग हुनुहुन्छ । हामीलाई मतको हिसाबले फरक पर्दैन । हामी सजिलै चुनाव जित्छौँ ।

तपाईं स्वास्थ्य क्षेत्रको मान्छे पनि हो, केही खास योजना पनि बनाउनुभएको छ ?
स्वास्थ्य क्षेत्रमा हामीले पालिकास्तारबाट गर्न सक्ने काम त गर्छौं नै । त्यसका अतिरिक्त प्रदेश, संघीय तह र आवश्यकताअनुसार दातृ निकायको समेत सहकार्य, सहयोगमा स्वास्थ्यका सेवा प्रवाहलाई प्रभावकारी बनाउन लाग्नेछौँ । सामुदायिक स्वास्थ्य संस्थाहरूमा सुधार गर्ने, स्तरोन्नति गर्ने, दक्ष जनशक्तिको प्रबन्ध मिलाउने, उपकरणहरूको जोहो गर्ने, सुलभ, सहज र प्रभावकारी सेवा प्रवाहमा सबै सरोकारवालालाई जिम्मेवार बनाउनेतर्फ हामीले योजनाबद्ध काम गर्ने छौं । लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्ताल र बुटवल उपमहानगर मातहतमा रहेका अरु १२ वटा स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राहीले कुनै न कुनै रूपान्तरण भएको अनुभूति गर्नेगरी हामीले सुधारका काम थाल्नेछौँ ।

बुटवललाई कसरी अगाडि बढाउनुहुन्छ ?
बुद्धावलीको बुटवललाई बृहत् र महानगरीय अवधारणाका साथ हामीले अगाडि बढाउनेछौं । बुटवलले छिमेकमा तिलोत्तमा, सैनामैना, देवदह, फर्साटिकर जस्ता उपसहरहरू पनि जन्मायो र हुर्कायो । अब बुटवल पूर्वमा दाउन्ने र पश्चिममा धान खोलाको पहाड बीचमा रहेको तीनवटै जिल्लाको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्छ । जहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यम विकास, पर्यटन र हरेक दृष्टिले मुलुकको अब्बल सहर बनोस् भन्ने बृहत् उद्देश्यमा रहेर बुटवललाई विस्तार र विकास गर्नेछौं । 

बुटवलको मुख्य समस्या सुकुम्बासी समस्या हो, यसलाई कसरी हल गर्ने ?
नेपालमा सुकुम्बासीका नाममा धेरै नै खेतीपाती भएजस्तो लाग्छ । तर, नेकपा एमालेले केन्द्रमा ऋषिराम लुम्सालीदेखि यसअघि देवी ज्ञवालीको नेतृत्वमा आइपुग्दा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्ने कामको योजना बनाएर अगाडि बढ्यो । तर, विडम्बना अहिलेको यो गठबन्धनको सरकार बनेपछि पहिलो काम स्वरूप भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिदियो । आयोग नै खारेज गरिदिएपछि बुटवलमा अगाडि बढेका २० औं हजारको संख्यामा रहेका फाइलहरू पनि स्वतः प्रभावित भए । लालपूर्जा दिन ठिक्क पारिएका र अनलाइनमा समेत भरिएका करीब २० हजार फाइलहरू त्यसै रोकिए । बुटवलले अघि बढाएको योजनाबद्ध काममा अवरोध सिर्जना गरियो । तर, अब हामीले यस्तो हुन दिनेछैनौँ । बुटवलमा अब हामी निर्वाचित भएपछि संकलित लगतको आवश्यकता आधारमा अध्ययन गर्नेछौँ । जग्गा नापजाँचका काम अगाडि बढाउने छौं । समस्या बाँकी रहेका ठाउँमा तत्कालै विज्ञहरूलाई खटाएर समाधानको प्रभावकारी पहलकदमी लिनेछौं ।

गठबन्धनले तपाईंलाई कत्तिको असर पार्ला ?विज्ञहरुलाई
सचेत मतदाता, सक्षम मतदाता र विकासप्रेमी सभ्य मतदाताले बनावटी कुरा, झुट कुरा र लुट्ने ध्येयले बनाइने गठजोडका कुरामा कत्ति विश्वास गर्नुहुन्न मैले विश्वास गरेको छु । गठबन्धनले बुटवलसहित यस क्षेत्रका कुनै पनि पालिकालाई कुनै पनि असर पार्दैन । तत्कालीन नेकपा भइसकेपछि नेकपा एमाले र माओवादी एक बन्यो । नेकपा विभाजन भएर एमाले र माओवादी भएपछि जति माओवादी साथीहरू हुनुहुन्थ्यो, त्यसको ८० प्रतिशत साथीहरू एमालेमा नै हुनुहुन्छ । पहिले बस्दा ६० प्रतिशत बस्नुभएको थियो । अरू २० प्रतिशत अहिलेसम्म प्रवेश गरी थपिनुभएको छ । यसबीचमा कैयौं टोलटोलमा नयाँ नयाँ मानिसहरू एमालेमा समाहित भएर लाग्नुभएको छ । पार्टी फुट्यो नेकपा एकीकृत समाजवादी भयो भन्नुहोला । समाजवादीमा जति जानुभएको छ, त्यसको दोब्बर तेब्बर माओवादीको साथीहरू हामीसँग हुनुहुन्छ । त्यसैले हामीलाई मतको हिसाबले फरक पर्दैन । अर्को कुरा के छ भने माओवादी मजबुत हुँदा खेरी २०७४ मा राष्ट्रिय जनमुक्ति, कांग्रेस र माओवादीको गठबन्धन थियो । त्यो गठबन्धनलाई पनि हामीले एक्लै जितेको हो । यतिखेर जनमुक्तिका साथीहरूलाई केही सदस्य दिएर हामीले पनि गठबन्धनको रूपमा अगाडि बढेका छौं । उहाँहरूको भोट पनि थपिँदा हाम्रो अझै राम्रो हुन्छ । हामी त्यसै मजबुत छौं, त्यसमा जनमुक्ति थपिँदा हामीलाई सुनमा सुगन्ध हुन्छ । त्यसैले यहाँ हामी डराउनुपर्ने कुरा केही पनि छैन ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x