वार्ता

‘जित्नकै लागि उठेको हुँ’

सृजना खड्का |
बैशाख २५, २०७९ आइतबार १९:५६ बजे

रामेछाप, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी हुन्, खड्गबहादुर सुनुवार । नेकपा एमालेबाट पालिका अध्यक्षका रूपमा पाँच वर्ष बिताइसकेका उनले पुनः उम्मेदवारी दिएका छन् । पाँच वर्ष अनुभव बटुलेकाले पुनः निर्वाचित भएमा अहिलेभन्दा दोब्बर काम गर्न सकिने उनको विश्वास छ । मतदाताले आफूलाई देखाएको माया र विश्वासले फेरि एकपटक चुनावी मैदानमा होमिएको उनी बताउँछन् । स्थानीय निर्वाचनका लागि सुनुवारको अजेन्डा लगायतका विषयमा सृजना खड्काले गरेको कुराकानी ः

एक कार्यकाल बिताइसक्नुभएको छ ? फेरि पनि तपाईंको उम्मेदवारी केका लागि ?
गाउँको विकास गर्न, नेकपा एमालेको सूर्य चिह्न जिताउन । हामीले पाँच वर्षको अनुभव सँगालेका छौँ । त्यही अनुभवको आधारमा अझै धेरै काम गर्न बाँकी छ । ती काम पूरा गर्न पनि मैले पुनः उम्मेदवारी दिएको हुँ । यसपटकको मेरो उम्मेदवारी जनतालाई सेवा–सुविधा दिन र पर्यटनदेखि पूर्वाधारसम्मको विकास गर्नका लागि हो ।


अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धता कति पूरा गर्नु सफल हुनुभयो ?
पहिलो निर्वाचनमा जितेर आउँदा धेरै गाह्रो थियो । कर्मचारी थिएनन् । नयाँ संविधान थियो । नयाँ संघीय संरचना थियो । सबैलाई व्यवस्थित गरेर लैजान निकै कठिन थियो । बाटोघाटोको समस्या थियो । अन्य सेवा–सुविधा पनि खासै केही थिएनन् । ती समस्या सबै पार गर्दै धेरै काम अगाडि बढायौँ । पाँच सय किलोमिटरभन्दा बढी सडक निर्माण ग¥यौँ । अहिले घर–घरमा एम्बुलेन्स पुग्छ । पाँच वर्षअघि यस्तो अवस्था थिएन । सबै घरमा स्वच्छ खानेपानीको सुविधा पुगेको छ । चार हजार घरधुरीलाई खानेपानीको धारा पु¥याइसकेका छौँ । अब चार हजारलाई आगामी कार्यकालमा पु¥याउने छौँ । पहिलो कार्यकालमा अस्पतालदेखि वडा कार्यालय भवन निर्माणमा काम ग¥यौँ । पर्यटन विकासका लागि पनि धेरै काम ग¥यौँ । त्यही पाँच वर्षको अनुभव लिएर फेरि दोहोरिएको छु । हाम्रो लक्ष्य, सोच र भिजन राम्रो छ । यसका आधारमा पनि अब गाउँपालिकाभन्दा धेरै राम्रो काम गर्न सक्छौँ । यसकै आधारमा पार्टीले मलाई विश्वास गरेर दोहो¥याएर उम्मेदवार बनाएको हो । 

यसपटकको विशेष चुनावी अजेन्डाहरू के–के छन् ?
यसपटक सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क गर्ने, आफ्नै अस्पताल वा स्वास्थ्य चौकीमा सुत्केरी गराउने व्यवस्था गर्ने, औषधि उपचारको व्यवस्था गर्ने, प्रत्येक वडामा हेलिप्याड बनाउने योजना छ । हाम्रो गाउँपालिकामा आठ हजारभन्दा बढी घरधुरी छन् । लगभग २५ हजार जनसंख्या छ । उनीहरू सबैलाई सेवा पु¥याउने, विद्युत्को महसुल निःशुल्क गर्ने जस्ता कार्यक्रम लिएर आउने छौँ । यो पाँच वर्षमा अन्य धेरै ठूला–ठूला आयोजनालाई निरन्तरता दिनेछौँ । सुरुदेखि नै हामीले कृषिलाई प्राथमिकतासाथ अगाडि बढाइरहेका छौँ । त्यसलाई थप व्यवस्थापन गर्नेछौँ । यो गाउँपालिका समृद्ध बनाउन शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, जलस्रोत, उद्योग सबैतिर ध्यान पु¥याउनेछौँ । प्राकृतिक स्रोत साधन उत्खनन गरेर त्यसलाई प्रयोगमा ल्याएर हामी समृद्ध बन्न सक्छौँ । यसपालि निर्वाचित हुनेमा हामी ढुक्क छौँ । पाँच वर्षमा गर्ने कामको प्रतिज्ञापत्र निकालिसकेका छौँ । त्यसैलाई टेकेर अझै थप काम गर्नेछौँ । 

तपाईंले जित्ने आधार के–के हुन् ?
हामीले पाँच वर्ष गरेको काम र अनुभवको आधारले हामीले जित्छौँ । पाँच वर्षमा हामी जनताहरूको माझमा बसेर निकै लोकप्रिय भयौँ । गाउँलेहरूले हामीलाई निकै विश्वास गरेका छन् । हामीले दिएको सेवामा उनीहरू सन्तुष्ट पनि छन् । यसपटक पनि हामीले नै जित्छौँ । हाम्रो जित पक्का छ । 

बूढाहरूले काम गरेनन् अब युवाहरूलाई पालो दिनुपर्छ भन्ने कुरा उठिरहेको छ । तपाईंका प्रतिस्पर्धी पनि युवा हुनुहुन्छ । आफ्ना प्रतिस्पर्धीलाई कसरी लिनुभएको छ ?
हामीसँग कसैको प्रतिस्पर्धा नै छैन । उनीहरू प्रतिस्पर्धा गर्ने खालका मान्छे नै छैनन् । गोकुलगंगा गाउँपालिकामा हामीले लामो समय राजनीति गरेको इतिहास छ । हामीसँग धेरै अनुभव छ । कुनै नयाँ मान्छे आउनेबित्तिकै जादुको छडीले उसलाई जिताउने होइन । वडाको सदस्य पनि नजितेको मान्छेले गाउँपालिका हाँक्न सक्दै सक्दैन । कतिपय देश र ठाउँमा हामीले यसका उदाहरण देखिसकेका छौँ । नयाँ मानिस पदमा पुगेर सोचे जस्तो काम गर्न सकेका छैनन् । हामीले यो गाउँपालिकामा निकै लामो समय जनप्रतिनिधि भएर काम गरिसकेका छौँ । हामी पपुलर छौँ । इमानदार छौँ । जनताको सेवामा समर्पित पनि छौँ । त्यसैले, प्रतिपक्षलाई हामीसँग दाँज्नै मिल्दैन । 

अहिले घरदैलोमा व्यस्त हुनुहुन्छ । स्थानीयको अपेक्षा के छ ? तपाईंलाई लिएर उहाँहरूको अपेक्षा के–के छन् ? 
चुनाव हुनुभन्दा पहिलादेखि नै ‘अर्को पटक पनि अध्यक्ष तपाईं नै बन्नुपर्छ’ भनेर धेरैले भनेका थिए । घरदैलोको क्रममा युवादेखि वृद्धवृद्धासम्मका माग अहिले पनि उही छ । उनीहरूको त्यही विश्वास र हौसलाले यसपटक पनि पार्टीले मलाई टिकट दिएको हो । 

आफ्ना मतदाताहरूलाई केही सन्देश छ ?
सातै चिह्न सूर्यमा छाप लगाएर निर्वाचित गराइदिनुहोला । मतदान भनेको मतको दान हो । यो दानमा कसैको डर, धाक, धम्की, प्रलोधनमा नफसी निर्धक्क भएर मतदान गर्नुहोला । पाँच वर्षसम्म निःशुल्क सेवा सुविधा दिने काम हामी गर्नेछौँ । हामी निर्वाचिन भएपछि जनताको माग, समस्यामा आधारित भएर तपाईंहरूको सेवा गर्नेछौँ ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x