वार्ता

हेटौंडामा यसपालि पनि एमालेले जित्नेमा दुई मत छैन : अनन्त पौडेल

सरिता दाहाल |
बैशाख २७, २०७९ मगलवार १५:३७ बजे

हेटौंडा– यही वैशाख ३० गते हुने स्थानीयको मौन अवधि सुरु हुन केही दिन बाँकी रहेका बेला देशभर चुनावी सरगर्मी अझ तीव्र भएको छ । उम्मेदवारहरू चुनावी प्रतिबद्धता बोकेर मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडालाई पनि यो चटारोले छपक्कै छोपेको छ । 
१ लाख ४ हजार ५ सय १३ मतदाता रहेका हेटौंडा उपमहानगरमा यसपालि पनि त्रिपक्षीय भिडन्त हुने देखिन्छ । पाँच दलीय सत्ता गठबन्धन एकातिर छ भने अर्कातिर विगत तीन दशकदेखि जित्दै आएको एमाले छ । राप्रपाको पकड पनि यहाँ बलियो छ । 

एमालेले आफ्नो गढ दाबी गर्दै आएको हेटौंडामा विरासत धान्न चुनौती छ । हेटौंडामा २०४९, २०५४ र २०७४ गरी तीनै पटक एमाले विजयी भएको थियो । पाँच दलीय सत्तारूढ गठबन्धन एमालेको विरासत आफूले तोड्नेमा ढुक्क भएको बताउँछ । राप्रपा यी दुवैलाई चुनौती दिएर नतिजा आफ्नो पक्षमा पार्न तत्पर देखिएको छ । 
त्रिपक्षीय भिडन्तमा यसपालि सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार अर्थात् एकीकृत समाजवादीकी मीनाकुमारी लामा, एमालेका अनन्त पौडेल र राप्रपाका दीपकबहादुर सिंह मेयरका लागि चुनावी मैदानमा छन् । 


तर, एमालेका उम्मेदवार पौडल भने आफूहरुले चुनाव जित्नेमा दुई मत नभएको बताउछन् । ‘हामीसँग चुनाव जित्न धेरै आधार छ,’ पौडेलले भने, ‘यहाँका जनताले एमालेका तीनै वटा सरकारले गरेका काम देखेका छन्, त्यसका आधारमा हामीलाई सहजै चुनाव जिताउनेछन् ।’

आफ्नो दाबीमा उनले अगाडि भने, ‘‘हेटौंडामा हामीले गरेको कामले नै एमालेको चर्चा गर्छ, हामीले देखावटी र बनावटी एजेण्डा फिँजाउनु नै पर्दैन ।’ 
हेटौंडामा उपमहानगरमा आफ्नो जित सुनिश्चित भएको दाबी गर्ने तिनै पौडेलसँग केही दिन मात्र पर रहेको निर्वाचनको सन्दर्भमा इकागजकर्मी सरिता दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश । 

चुनावी अभियान कसरी चलाइरहनुभएको छ ?

तीव्र गतिमा चलिरहेको छ । उपमहानगरपालिकासँगै १९ वटा वडाहरूमा कम्तिमा एउटा चुनाव प्रचारप्रसार कार्यालय खोलिएको छ । धेरै जसो वडामा एकभन्दा बढी छन् । केही वडामा टोल टोलमै सम्पर्क तथा प्रचार–प्रसार कार्यालयहरू छन् । तिनै कार्यालहरूको समन्वयमा १६ बैशाखबाट मतदाताको घरघरमा पुगेर मत माग्न काम सुरु गरिएको छ । अहिले हामी व्यापक प्रचारप्रसार तथा मतदाता शिक्षाका लागि हिँडेका छौँ । समय थोरै मात्रै बाँकी भएको कारण घरदैलो भ्याइएन भने पनि प्रत्येक टोल र वडामा पुगेर सामुहिक भेटको कार्यक्रम गर्नेछौँ । 

तपाईं त संविधानसभा सदस्य भइसकेको मान्छे स्थानीय तहमा किन ओर्लनु भएको ?

हो । हिजो म संविधानसभा सदस्य थिएँ । संविधान सभाको सदस्य हुँदा संविधानको धारा लेख्दा मैले जनताको घरघरको धारा सम्झिरहेको थिएँ । मैले प्रतिनिधित्व गरेको स्थानको ८ वटा टोलको नाममा पानी जोडिएको छ । टुटेपानी, कालापानी, सिक्पानी, उत्तरपानी आदी । त्यहाँ कहीँ पानीको व्यवस्था थिएन, अहिले सबै टोलमा पानी छ ।

म जहाँ पुगे पनि स्थानीय स्तरकै विकासमा चिन्तन गर्ने मान्छे हुँ । अब हेटौंडाको मेयर हुँदा खानेपानी बोर्डबाट पानी खाने उपभोक्तालाई १० हजार लिटर पानी निःशुल्क दिनेछु । आमाबुबा नभएको अति विपन्न बालबालिकालाई हामी उच्च शिक्षाको निशुल्क व्यवस्था गर्नेछौँ । घरघरमा सर्भेक्षण गरेर हामीले विपन्न बालबालिकाको पहिचान हुनेछ, कसैको सिफारिसको आधारमा हैन । पर्यटकीय सर्किट बनाइनेछ । जसमा हेटौंडा–मकवानपुरगढी–भिमफेदी–मनहरी गाउँपालिका जोडिनेछ ।

विकास जहाँ बसेर पनि गर्न सकिन्छ । संविधान सभाको सदस्यमा म संविधान बनाउन गएको थिएँ । त्यो संविधानको स्थानीय तहको कार्यान्वयन गर्ने क्रममा म स्थानीय तहको सरकारमा रहेर जिम्मेवारी निर्वाह गर्न आउन चाहेको हुँ ।

तपाईंका एजेण्डा के के छन् ? किन भोट दिने तपाईंलाई ?

मेरा एजेण्डा जनताका एजेण्डा हुन । जनताको दुःखलाई सुखमा परिणत गर्न, समस्याको सबै मिलेर सम्बोधन गर्न र स्थानीय जनताको अभिभावक स्थानीय स्तरमा नै छ भन्ने आभास दिलाउन मेरो उम्मेदवारी हो । मैले अर्थात् नेकपा एमालेले ५ वर्ष काम गर्नको लागि केही एजेण्डाहरू बनाएको छ ।

यहाँको पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, मानव विकास, समाजिक विकास र उपमहानगरपालिकाको आर्थिक विकासमा एमालेको उम्मेदवारी हो । विगत ४९ सालदेखि नेकपा एमालेले हेटौँडामा विजय हासिल गर्दै आइरहेको छ । अघिल्लो समयमा जनताको सामु हात हालिएका योजना पूरा गर्नको लागि मेरो उम्मेदवारी हो । विशेषगरी हेटौँडा प्रदेशको राजधानी पनि भएको छ । अब यसको स्तरोन्नतिका लागि काम गर्नु छ ।

हेटौंडा उपमहानगर जितिरहँदा हेटौंडाका जनताले स्वास्थ्य, शिक्षा र भौतिक विकासमा पछि परेका वडाहरूको संरचना निर्माणलगायत विकास गर्ने योजना छ । हेटौंडाको केही वडाहरू यस्ता छन्, जहाँ जान अहिले पनि अर्को पालिकाको बाटो भएर मात्रै पुगिन्छ । यस्ता ठाउँमा साँच्चै सफा, सुन्दर र विकासले कायापलट गरेको उपमहानगरपालिका हो भन्ने बनाउने उद्देश्य छ । 

पार्टीभित्रको आन्तरिक विवाद कसरी मिलाउनु हुन्छ ? केही वडाहरूमा बागी उम्मेदवार उठेका थिए नि ?

खासमा पार्टीभित्र विवाद थिएन, गठबन्धनको कारण अन्य ५ दलहरू भित्रभित्रै डढेर सकिएका छन्, हामीमा त्यस्तो छैन । हेटौंडाको ३ वटा वडामा ३ जनाले बागी उम्मेदवारी दर्ता गराएका थिए । उनीहरूलाई पार्टीले कारबाही गरिसकेको छ । एमाले त एउटा नीति र विधि बोकेर हिँडेको पार्टी हो, जथाभावी चल्दैन । हामीले विवाद भन्ने छैन ।

एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीकी मीनाकुमारी लामा गठबन्धनबाट तपाईंको प्रतिस्पर्धी भइरहँदा कस्तो लागेको छ ?

म त उत्साही छु । नेकपा एमालेले नै उहाँलाई जन्माएको हो, प्रशिक्षित गराएको हो । लामो समय हामी एउटै पार्टीमा संघर्ष ग¥यौँ । हाम्रो काखैमा हुर्केकी चेली हामीसँगै भिड्न आउनु भनेको पनि हाम्रो लागि उपलब्धि नै हो । यो अर्थमा पनि म उत्साही छु भनेको । हिजो एकै सिद्धान्त बोकेर एकै यात्रामा थियौँ, आज हामीलाई हराउनकै लागि आफ्नो पुरानो घर छाडेर अरुसँग मिल्न गएकाहरूसँग एमाले डराएको छैन । गठबन्धन हुँदैमा जित्ने निश्चित पनि हुँदैन । एमाले लामो समयदेखि हेटौँडाको ठूलो दलको रुपमा स्थापित छ । भोलि पनि रहिरहनेछ । समाजवादीका अध्यक्ष श्रीधर पोखरेल नै पार्टीसँग असन्तुष्टि भएर राजीनामा दिएको अवस्थामा हामी किन डराउनु ? उहाँहरूको अध्यक्ष नै अहिले एमालेमा प्रवेश गरिसक्नु भएको । पोखरेलजी अहिले हामीसँग सँगै दौडधुपमा हुनुहुन्छ । समाजवादीको लामा गठबन्धनबाट मेयरमा उम्मेदवारी दिइरहँदा यतिबेला हेटौँडामा एमालेलाई घाटा शून्य बराबर नै छ ।

पाँच वर्षपछिको हेटौंडा कस्तो होला, हेटौंडाको मेयर बन्ने मौका पाउनुभयो भयो ?

हेटौंडा अस्पताललाई रिफर सेन्टरको अवस्थाबाट उठाएर एमाले सरकारले साँच्चिको अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको थियो । फेरि रिफर सेन्टर बनाउन खोजिँदै छ । एमाले सरकारले गरेको काम उल्ट्याउने होडमा जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर ५ सय शय्याको अस्पताल, जहाँ ६० जनाभन्दा बढी विशेषज्ञको व्यवस्था हुँदै थियो ।

अहिले गठबन्धनको सरकारले प्रतिष्ठानबाट अलग गरेर चितवन लैजाने निर्णय गर्‍यो त्यो पनि अध्यादेश मार्फत । प्रतिष्ठानमा आगामी वर्ष एमबिबिएस पढाइ हुनेवाला थियो, अहिले बीएससी नर्सिङ र प्याथ्यालोजी पढाइ भैरहेको थियो । तर यसलाई जिल्लाबाटै सार्ने षड्यन्त्र भयो । शहरी स्वास्थ्य केन्द्रको विकास हामीले यसैगरी गरेका छौँ । नगरमा १९ वटा वडा छन्, २० वटा शहरी स्वास्थ्य केन्द्र छ । यी सबै स्वास्थ्यकर्मी सहितको स्वास्थ्यकेन्द्र छन् । हामीले धेरै कुरा घोषणा पत्रमा समेटेका छौँ । सबै त यहाँ बताएर सम्भव पनि छैन । हेटौंडामा पर्यटकीय क्षेत्रको विस्तार गर्ने, भ्रष्टाचारमुक्त नगर बनाउने, शिक्षा, स्वास्थ्य, खानेपानीमा हामीले धेरै कामहरू गर्न बाँकी छ । विगत ५ वर्ष एमालेले नै नेतृत्व गरेको हेटौंडा नगरमा भौतिक पूर्वाधारमा धेरै प्रगति भएको छ, अब ती प्रगतिहरूलाई संस्थागत गर्दै अन्य समाजिक क्षेत्रमा बढी कामहरू गर्न बाँकी छ ।
 


Author

थप समाचार
x