अनियमितता

तत्कालीन जिविस कालिकोटका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
साउन २४, २०७९ मंगलबार १५:४३ बजे

फाइल तस्वीर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राज बहादुर बम विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दैै अख्तियारले आज उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 


आर्थिक बर्ष २०७०/७१ मा सञ्चालन भएका उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति अन्तर्गतको कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि उनीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा बमले झुट्टा बिल बनाई रकम हिनामिना गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीसँग २ लाख ३४ हजार ११ रुपैयाँ बिगो दाबी गरिएको छ । 


Author

थप समाचार
x