अनियमितता

तालिम सञ्चालन गर्नुपर्ने रकम अनियमितता गर्ने ११ विरुद्ध अख्तियारमा मुद्दा

इकागज |
भदौ २६, २०७९ आइतबार १७:३१ बजे

काठमाडौं– चामुण्डा माध्यमिक विद्यालय दैलेखलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट विभिन्न तालिम सञ्चालनका लागि प्राप्त रकम अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको छ । तालिमका लागि आएको रकम अनियमितता गरेको आरोपमा त्यसमा संलग्न ११ जनाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित उक्त विद्यालयलाई आफैले सञ्चालन गर्नुपर्ने तालिम इलाईट इन्फ्रास्ट्क्चर एण्ड डिभलपमेन्ट कन्सल्टयान्ट प्रा.लि. काठमाडौंलाई दिएको भन्दै उजुरी दर्ता गरिएको हो । 


तालिम परिषद् प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेतका तत्कालीन का.मु. निर्देशक (कार्यालय प्रमुख) भीमकान्त लामिछाने र मोहनबहादुर कार्की, लेखा अधिकृत, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कन्सल्ट्यान्ट प्रा.लि.का संचालक गरी ११ जनामाथि सार्वजनिक सम्पत्ति हानि नोक्सानी र भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ । 

उजुरी उपर अनुसन्धान हुँदा उक्त परिषद्, कर्णाली प्रदेश, प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतले विना सूचना र प्रतिष्पर्धा आवश्यक पूर्वाधारसमेत अध्ययन नगरी तालिम संचालनको अनुमति दिएको खुलेको र मिलेमतोमा तालिम संचालन गर्न दिएको खुलेको छ । 

छोटो अवधिको सीपमूलक तालिम कार्यक्रम संचालन कार्यविधि २०७५ अनुसार प्रशिक्षार्थी छनौट प्रक्रिया र तालिमका सहभागीहरुको योग्यता  तोकिएकोमा सो पालना नगरी सिधै निजी संस्थाले प्रशिक्षार्थी छनोट गरेको देखिएको छ । 

निजी संस्थाका संचालकसमेतसँगको मिलेमतोमा सरकारी सम्पत्ति हानिनोक्सानी पुर्‍याउने नियतले सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको छ।  

 


Author

थप समाचार
x