अनियमितता

खरिदारले आफू र नाबालक छोराको खातामा सामाजिक सुरक्षा भत्ता राखेपछि...

इकागज |
असोज ५, २०७९ बुधवार १४:३९ बजे

काठमाडाैँ- सामाजिक सुरक्षा भत्ता आफू र आफ्नै नाबालक छोराको खातामा जम्मा गर्ने एक खरिदार भ्रष्टाचारको अभियोगमा परेका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिकाका खरिदार राजेन्द्रबहादुर भण्डारीले त्यसरी २० लाख ७८ हजार ६ रुपैयाँ हिनामिना गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छ । आयोगले उनीविरुद्ध बिगो, जरिवाना र कैदको माग गर्दै भ्रष्टाचार मुद्दा लगाएको हो । अदालतबाट प्रमाणित भएमा खरिदार भण्डारीले पेन्सन पनि पाउने छैनन् ।


आयोगका अनुसार, २०७४/०७५ देखि २०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नुपर्ने थियो । तर, भण्डारीले कार्यालयको नामबाट बैंकलाई पत्र आफैँ लेखी दस्तखत गरी बैंकहरूमा पत्राचार गरेका थिए । अभियुक्तले आफ्नो तथा आफ्नो नाबालक छोराको व्यक्तिगत खातामा सामाजिक सुरक्षा भत्ता अनियमित रूपले जम्मा गरेका थिए ।

त्यसरी जम्मा रकम भएको केही दिनपछि नै पटक–पटक निजले आफैँले भुक्तानी लिई खाईमासी गैरकानुनी लाभ लिने बदनियतपूर्ण काम गरेको दाबी आयोगकाे छ । आयोगका अनुसार, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई नेपाल सरकारबाट प्राप्त हुने सरकारी लाभबाट वञ्चित गरी आफ्नो व्यक्तिगत हितमा रकम खर्च गरी सरकारी रकम हिनामिना गरेको पुष्टि भएको भनाइ आयोगको छ ।


Author

थप समाचार
x