जनआन्दोलन २०४६

३१ वर्षअघि आजैको रोमाञ्‍चक रात मानसपटलमा छचल्किरहेको छ

हरि शर्मा |
चैत २६, २०७७ १५:१० बजे

तीस वर्षे पञ्‍चायती कालरात्रिको अन्त्य त्यति सहज थिएन । त्यसका लागि तत्कालीन राजनीतिक दल विशेषगरी नेपाली कांग्रेसका नेतात्रयको भूमिका महत्वपूर्ण थियो । ३१ वर्षअघि आजैको दिन पहिलो जनआन्दोलन उत्कर्षमा थियो । 

उपत्यकाका तीनै सहर र विशेष गरी कीर्तिपुर आन्दोलनको भूँमरीमा थिए । अझ पाटनलाई त पाटनबासीले पञ्चायती शासनमुक्त भएको घोषणा नै गरिसकेका थिए । त्यही दिनको राति मुलुकले प्रजातन्त्र पाएको अझै मानसपटलमा छचल्किरहेको छ । त्यतिबेला सारा राष्ट्र उथलपुथलको संघारमा थियो भन्न सकिन्छ । त्यसैबेला चैत २३ गते सरकारी कर्मचारीले समेत आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै कलम बन्द गरिसकेपछि प्रजातन्त्रको पक्षमा बल थपिएको थियो ।


नेपालको प्रजातान्त्रिक आन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन विशेष गरी छिमेकको महत्वपूर्ण पनि भूमिका हुन्छ भनेर नेपाली कांग्रेसले त्यहाँ आफ्नो राजनीतिक सम्पर्क बढाएको थियो । त्यही सम्पर्कलाई अघि बढाउन चक्रप्रसाद बास्तोला (चक्र’दा) दिल्ली जाने कुरा केही समयअघि नै तय भएको रहेछ । एक दिन त्रिचन्द्र कलेज नजिकै रहेको ब्याङ्लोर कफी हाउसमा चक्र’दासँग भेट भयो । अनि, मलाई एक्लै लगेर भन्नुभयो, ‘हरि ! आन्दोलनको समर्थन जुटाउन म दिल्ली जानुपर्ने भयो । गिरिजाबाबुले सम्पर्कहरू स्थापित गरिदिनुभएको छ । तिम्रो दिल्लीमा बस्‍ने व्यवस्था पनि छ भन्‍ने मलाई थाहा छ । मिल्छ भने आऊ न, त्यही भेटौँ ।’

उहाँले भनेको एक हप्तामा अढाइ महिनाकी छोरी र श्रीमती नेपालमै छाडेर म दिल्ली गएँ । अझ भनौँ, एक प्रकारले आन्दोलनमा होमिएँ । त्यहाँ हामीले खासगरी प्रवासी नेपालीलाई समन्वय गरेर दूतावास अघिल्तिर विभिन्न स्थानमा प्रदर्शन गर्ने भन्दा पनि राजनीतिक तहमा भेटघाट गरी नेपालको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धताका निम्ति काम गर्नु थियो । त्यहाँ बस्दा मैले नेपाली कांग्रेस र गिरिजाबाबुप्रति ठूलो सद्भाव र समर्थन अनुभव गरेँ । त्यही भएर होला, चक्र’दाललाई र मलाई त्यहाँ पठाइएको पनि ।

त्यही समयमा २०४५ सालमा सन् १९५० को व्यापार तथा पारवाहन सन्धि नवीकरण नभएको भन्दै भारतले नेपालका दुई नाकाबाहेक अन्य नाका बन्द गरिदिएको थियो । नाकाबन्दीपश्‍चात्, देशभर खाद्यान्न र पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामग्रीको व्यापक अभाव भएको थियो । यसैबीच २०४६ माघ ५ देखि ७ सम्म नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन भएको थियो । जसमा जनता पार्टीका अध्यक्ष चन्द्रशेखर (पछि प्रधानमन्त्री) लगायत विभिन्‍न भारतीय दलका नेता उपस्थित भई नेपालको प्रजातान्त्रिक आन्दोलनमा नैतिक समर्थन व्यक्त गरेका थिए । जसले गर्दा नेपालको आन्दोलनको मनोबल बढेको थियो ।

नेपाल र दिल्लीका राजनीतिक नेताबीच राम्रो सम्बन्ध थियो । एक-अर्काको सामाजिक र राजनीतिक परिवेशलाई राम्रोसँग बुझ्थे । आत्मीय भाव थियो । चन्द्रशेखरकै संयोजनमा नेपाल ऐक्यबद्धता समूह (राजनीतिक समूह) बनेको थियो । त्यसले भारतीय सरकारी पक्षसँग पनि कुराकानी गर्दै थियो । प्रजातन्त्र पुनर्वहालीको आन्दोलनको तर्फबाट चक्र’दाले समन्वय गर्नुहुन्थ्यो । र, म उहाँको एउटा सहयोगी मात्र थिएँ ।
 
०००
त्यतिबेला नेपाललाई असजिलो पारेर भारतले सुरक्षा मामिलामा कुनै सम्झौता गर्दै बहुदलको विपक्षमा जान्छ कि भन्‍ने चासो सर्वत्र थियो । भारतीय कर्मचारीतन्त्रको कुरा सुन्दा पनि त्यस्तै लाग्थ्यो । तर, त्यो विषय स्पष्ट हुँदै गएपछि भारत सरकारसँग कुरा गर्न स्वयं चन्द्रशेखरजी अग्रसर हुनुभएको थियो । यसबाट स्पष्ट हुन्छ, उहाँको नेपालप्रतिको सद्‍भाव व र स्‍नेह ।

जनआन्दोलनमा समर्थन जुटाउन दिल्ली-वासको कथा । 

उहाँले त्यतिबेला भारतीय विदेश सचिव एस के सिंहको भ्रमणको पूर्वसन्ध्यामा अहिलेको परिस्थितिमा सन्धि-सम्झौताको करकापमा पारेर नेपाली जनताको प्रजातान्त्रिक अधिकारमा कुठाराघात गर्नु हुँदैन, यदि त्यसो भएमा यो सार्वभौम संसद्ले त्यसमा पुनरवलोकन गरी खारेज गर्न सक्नेछ भन्नुभएको थियो । उहाँको त्यो खबरदारी भारतीय संसद्को शून्य समयमा बोलेको भाषण सम्झिँदा म अझै रोमाञ्‍चित हुन्छु । दर्शक दीर्घामा चक्र‘दा र म थियौँ भने पत्रकारको लाइनमा त्यसबेला भारतमा पत्रकारिता गरिरहनु भएका युवराज घिमिरेजी हुनुहुन्थ्यो ।
 
हुन पनि २०४६ फागुन ७ बाट काठमाडौँलगायत मुलुकभर विशाल आन्दोलन सुरु भएको थियो । कांग्रेस नेता गणेशमान सिंहले आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सो आन्दोलनमा संयुक्त वाममोर्चा (नेकपा माले, नेकपा माक्सवादी, नेपाल मजदुर किसान पार्टीलगायत) र नेकपा मसाल लगायतका पार्टीहरूले संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति बनाएर आन्दोलनमा भाग लिएका थिए ।

आन्दोलन बढ्दै जाँदा आमनागरिक, वकिल, विद्यार्थी, शिक्षक, चिकित्सक, पत्रकार, कर्मचारीलगायत पेसाकर्मी तथा व्यवसायी सबै सहभागी भए । जनआन्दोलनमाथि व्यापक दमन सुरु भयो । भारतमा पनि त्यस दमनप्रति चासो उठिरहेको थियो ।  हामी भारतमा रहेकाले पनि भेटघाट गरिरहेका थियौँ । यसैबीच भारतीय पत्रकार भारत भुषणले आन्दोलन दमनको सन्दर्भमा कीर्तिपुरलगायतमा भन्‍नुभएको म सम्झन्छु, ‘नेपालमा आन्दोलनमा सशस्त्र दमन सुरु भयो । अब प्रजातन्त्र पुनर्बहाली हुन्छ ।’
 
हुन पनि जनआन्दोलन उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र झुक्न बाध्य भए । २०४६ चैत २४ मा जनआन्दोलनको दमनमा उत्रिएको मरीचमान सिंहको मन्त्रिमण्डल विघटन गरी राजाले लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनाए । एक दिन दिनभर जुलुस प्रदर्शन र साँझ दरबार मार्गमा राजा महेन्द्रको सालिकमा आन्दोलनकारीले धावा बोले । चन्दलाई प्रधानमन्त्री बनाएपछि आन्दोलनमा झन् घिउ थपिएझैँ भयो ।

भारतमा पनि जनआन्दोलनप्रति ऐक्यबद्धता बढ्दै गएको थियो । जनआन्दोलनमा दमन गर्ने राजा वीरेन्द्रमाथि राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय दबाब बढ्दै गयो । आन्दोलन थेग्‍न नसकेपछि राजाले आन्दोलनरत राजनीतिक दल नेपाली कांग्रेस र संयुक्त वाममोर्चालाई वार्तामा बोलाए ।
 
राजासँग आन्दोलनकारी कांग्रेसका कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तथा वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीको प्रतिनिधिमण्डलले वार्ता गरेको थियो । यो संवादले संविधानबाट ‘दलविहीन’ हटाउने निष्कर्ष निकाल्यो । फलस्वरूप जनआन्दोलनको बलमा ३० वर्षे निर्दलीय पञ्चायती शासनले घुँडा टेक्यो । हामीले त्यो दिन आउन समय लाग्ला भन्दै गर्दा पत्रकार एवं साथी भारत भुषणको अघिल्लो विश्लेषणले हामी छक्क पर्‍यौँ । त्यसबेलाको समय सम्झँदा लगभग दुई महिनामा नै आन्दोलन टुंगिएलाझैँ लागेको थिएन ।
 
दिल्लीमा रहँदा चक्र’दा र म विभिन्‍न राजनीतिक नेतृत्व, सांसद सदस्य, नागरिक समाज, पेसागत समूह, पत्रकारलगायत भेट्ने र नेपाली प्रजातान्त्रिक आन्दोलनबारे बताउने काम गर्थ्यौं । सो भेटघाटमा राजनीतिक परिस्थितिको विश्लेषण गर्दै आन्दोलनप्रति समर्थन जुटाउने प्रयास गर्थ्यौँ । घिमिरे मात्र होइन, किशोर नेपाल पनि त्यहीँ हुनुहुन्थ्यो । त्यहाँ रहेका हामी आपसमा परिस्थिति विश्लेषण गर्थ्यौं । सहकार्य गर्दै जुट्थ्यौँ । 

हामी आपसमा परिस्थिति विश्लेषण गर्थ्यौ । सहकार्य गर्दै जुट्थ्यौँ । 

झापामा एक जना विद्यार्थी राम थापामाथि गोली हानेपछि चर्किएको आन्दोलने अर्कै रूप लिँदै गयो । काठमाडौँमा नागरिक आन्दोलन, साहित्यकार पत्रकार बुद्धिजीवीमाथि धरपकड सुरु भयो । देवेन्द्रराज पाण्डे, आनन्ददेव भट्टहरू पनि पक्राउ परेको खबर आउन थाल्यो । त्यतिबेला अहिलेको जस्तो सहज सम्पर्क सञ्जाल थिएन । तर पनि अनेकन् उपायबाट हामीले नेपालको खबर पाउने गरेका थियौँ । भारतीय राजनीतिक दल र जनताको विभिन्न तवरमा यहाँ भएका विषय प्रस्तुत गरेर साथ र समर्थनको प्रयास गर्थ्यौं ।

०००
अहिले फर्केर हेर्दा भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरले भारतीय संसद्को शून्य समयमा राखेको कुराले नेपाल-भारत सम्बन्धमा व्यक्त गरेको विचार नेपाल-भारत सम्बन्ध र आन्दोलनको ‘टर्निङ प्वाइन्ट’ थियो । त्यसअघि चन्द्रशेखरसहित अन्य नेताहरू चाक्सीबारीमा आएर गर्नुभएको भाषण पनि स्मरणीय छ । उहाँका साथमा सुब्रमण्यम स्वामी, कमल मुरारका, यम फारुकी, सुरजित सिंह, एम जे अकबर लगायतका भारतीय नेता पनि थिए । सो प्रतिनिधि मण्डल भारत फर्किएपछि नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा चक्र’दालाई भारत पठाउने निधो भएको हुनुपर्छ ।
 
चक्र’दालाई चन्द्रशेखरजीले दिल्लीमा नरेन्द्र निकेतनमा बस्ने व्यवस्था मिलाइदिनुभएको थियो । मेरो बसाइ चित्तरञ्‍जन पार्कमा थियो । तर पनि बिहान छ बजेदेखि राति १०/११ बजेसम्म म चक्रदासँगै रहन्थे । उहाँसँगको बसाइ र सम्पर्कमा नेपाली तथा भारतीय राजनीतिक नेतृत्व सामाजिक आन्दोलनबारे जान्‍ने-सिक्ने ठूलो मौका पाएँ । यसै सन्दर्भमा हामीले भारतका राजनीतिक शीर्ष नेताहरू राजीव गान्धी, चन्द्रशेखर, एम फारुकीदेखि अन्य नेतालाई बारम्बार भेट्ने मौका पायौँ ।


 तस्बिर : मीनरत्‍न बज्राचार्य ।

यसै सन्दर्भमा राजीव गान्धीले नेपाली नेतृत्व विशेष त गिरिजाप्रसाद कोइरालाप्रति देखाएको सम्मान र सद्‍भाव मेरो कानमा अझै गुन्जिरहन्छ । त्यस्तै एक भेटमा मैले उहाँलाई सोधेँ, ‘गिरिजाबाबुलाई तपाईं आदरसाथ बारम्बार सम्झिरहनुहुन्छ, यसको पछाडि के छ ?’

उहाँले भन्नुभयो, ‘मेरी आमा इमरजेन्सीपश्‍चात् निर्वाचनमा हार्दा राजनीतिक रूपमा एक्लो हुनुहुन्थ्यो, उहाँसँग भेट्न आउने मानिस पातलिएका थिए । गिरिजाबाबु त्यस्तो मानिस हुनुहुन्थ्यो । जो निरन्तर मेरी आमालाई भेट्न आउनुहुन्थ्यो, सम्मान गर्नुहुन्थ्यो । मैले उहाँलाई हाम्रो दुःखको समयमा देखेको छु । तसर्थ उहाँ हाम्रो परिवारको असल मित्र हुनुहुन्छ ।’
 
गान्धीले थप्दै भन्‍नुभयो, ‘राजनीतिको उतारचढावलाई गिरिजावाबु सहजै बुझ्न सक्नुहुन्छ । किनभने उहाँ आफू पनि विभिन्न राजनीतिक संकटहरूबाट गुज्रिनुभएको एक नेता हुनुहुन्छ ।’ यो भनाइपछि म गिरिजाबाबुसँग नजिकमा रहेर काम गर्ने मौका पाउँदा सोधेको पनि थिएँ । उहाँले ‘म दिल्लीमा रहँदा श्रीमती गान्धीलाई भेट्न गइरहन्थेँ, धेरै मानिस हुँदैन थिए । लामो गफिन्थ्यौँ, त्यो कुरा राजीवले पनि ख्याल गरेका रहेछन्’ भन्‍नुभएको म सम्झन्छु ।
 
दिल्लीका ती दिन फर्केर हेर्दा त्यसबेला दूतावासमा कार्यरत प्रदीप खतिवडा दाइलाई सम्झन चाहन्छु । ०४६ मा उहाँ दिल्ली प्रथम सचिव हुनुहुन्थ्यो । पछि ६२/६३ मा उपप्रमख पनि हुनुभयो । बाह्रखम्बा अगाडि प्रदर्शन हुन्थ्यो । कहिलेकाहीँ आन्दोलनकारीका तर्फबाट मागपत्र बुझाउँदा प्रदीप दाइ मागपत्र बुझ्‍न आउनुहुन्थ्यो । हामीलाई उहाँले इसारै इसारामा कहीँ चिया खान भेटौँ भन्‍नुहुन्थ्यो । हामी चिया पिएर गफिन्थ्यौँ । त्यसबेला गोविन्द रेग्मी र कौशलराज रेग्मी पनि जहरलाल नेहरु विश्‍वविद्यालयमा पढ्दै हुनुहुन्थ्यो । नेपाली राजनीतिका गणेश शाह, घनश्याम भूषाल, मोहनचन्द्र अधिकारी लगायतका वामपन्थी नेताहरू पनि दिल्लीमा सक्रिय हुनुहुन्थ्यो ।
 
प्रजातन्त्रको पुनःस्थापनामा धेरैले भारतको नाकाबन्दीको प्रत्यक्ष असर छ भन्‍ने गर्छन् । तथापि नाकाबन्दीपछि जुन प्रकारको सद्‍भाव र सम्बन्धको विस्तार भयो, त्यसमा दुवैतर्फको नेतृत्वको लोकतन्त्रप्रतिको आग्रह प्रतिबद्धता प्रस्ट हुन्छ । नेपाली जनताको अथक संघर्ष र अन्तर्राष्ट्रिय सद्‍भाव, अन्तर्राष्ट्रिय प्रजातन्त्रको लहरका कारण ०४६ चत २६ को राति प्रजातन्त्र पुनःस्थापना भएको थियो । 

तथापि त्यसपछिका ३० वर्ष नेपाली प्रजातान्त्रिक आन्दोलनको यात्रा त्यति सहज देखिएन । नेपालले फेरि नयाँ संविधानसँगै अर्को नाकाबन्दी व्यहोर्नु पर्‍यो । यो दुई नाकाबन्दीलाई बीचमा राखी नेपाली लोकतान्त्रिक आन्दोलन र यसको अन्तर्राष्ट्रिय सम्बन्धलाई विवेचना गर्नुपर्ने देख्छु ।  
(राजनीतिशास्त्री शर्मासँग चन्द्रशेखर अधिकारीले गरेको कुराकानीमा आधारित


Author

हरि शर्मा

शर्मा राजनीतिशास्त्री तथा अध्येता हुन् ।


थप समाचार
ad
x