जनआन्दोलन २०४६

समानताको अभ्यास हामीले चाहेको अवस्थामा छैन

लक्ष्मी कार्की |
चैत २७, २०७७ १६:५७ बजे

२०४६ सालको जनआन्दोलनमा चर्चित विद्यार्थी नेत्री हुन्, लक्ष्मी कार्की । पोखराको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुमा आबद्ध रहेर संघर्षमा होमिएकी नेत्री कार्की आन्दोलनका बेला प्रहरी दमनमा परेकी थिइन् । दमनमा उनी ‘मारिइन्’ भन्‍ने हल्ला मुलुकभर फैलिएको थियो । आन्दोलन सुरु हुनुभन्दा अघिको तयारी आमसभाबाट प्रहरीले पक्राउ गरेपछि बेहोस हुने गरी यातना दिएको थियो । जनआन्दोलनभर क्रान्तिकारी महिलाको प्रतीक बनेकी कार्की प्रजातन्त्र पुनःस्थापनापछि टुँडिखेलमा आयोजित आमसभामा आकर्षण र चासोको पात्र बनेकी थिइन् । उनको साहसलाई धेरैले तालीले स्वागत गरेका थिए । हाल राष्ट्रपति विद्यादेवी भण्डारीको महिला बालबालिका र आर्थिक विकासको क्षेत्र हेर्ने गरी विज्ञका रूपमा कार्यरत उनै कार्कीसँग जनआन्दोलन २०४६ को केन्द्रमा इकागजकर्मी विमल आचार्यले गरेको संवाद :- 

राजनीतिमा तपाईंको चासो कुन उमेरदेखि, के कारण भयो ? कसरी रस बस्यो राजनीतिमा ?


म १२-१३ वर्षको हुँदा राजनीतिमा आएँ । २०३५-०३६ सालको आन्दोलनमा भाग लिएँ । संगठित जीवन भने २०३८ मा अनेरास्ववियुको विद्यालय प्रारम्भिक कमिटीको सचिव र स्ववियुको पनि सचिवमा निर्वाचित भएर सुरु गरेको हो । त्यसै बेला अखिल नेपाल महिला संघको इलाका तयारी समिति र तत्कालीन नेकपा (माले) को विद्यालय स्तरको युवा लिगमा रहेर महिला क्षेत्र साथै पार्टीको पनि जिम्मेवारी लिएकी थिएँ । 

परिवारिक परिवेश कस्तो थियो ? 

मेरो बुवा भारतीय प्रहरीमा भएकाले मैले प्रावि तहको अध्ययन भारतमा गर्ने मौका पाएकी थिएँ । यसबेला म झाँसीकी रानी लक्ष्मी बाईको जीवनीबाट धेरै नै प्रभावित थिएँ । उनको र मेरो नाम पनि मिल्ने र पारिवारिक परिवेश पनि मिल्ने । अनि ममा पनि देश वा समाजका लागि केही गर्नुपर्छ भन्‍ने भावना जागेको थियो । पछि हामी नेपाल आयौँ । त्यसबेलाको हाम्रो परिवार गाउँको हुनेखाने वर्गमा गनिन्थ्यो । हजुरबुवा मालपोत कार्यालयको डिट्ठा हुनुहुन्थ्यो । त्यस परिवारमा मेरा अग्रज पढेलेखेका हुनुहुन्थ्यो । तर पनि आमामाथिको अत्याचार साथै पारिवारिक अन्याय थियो । त्यो देखेकी थिएँ । यससँगै सिंगो समाजमा नै अन्याय भएको देखेँ र यसकोे अन्त्य गर्नुपर्छ भन्‍ने लागिरहेको थियो । यसैबीच अनेरास्ववियु हुँदै नेकपा (माले) सम्मको सम्पर्क र तिनका उद्देश्यले मलाई मुक्तिको सही बाटो यही हो भन्‍ने लाग्यो । 
यसका साथै मेरो बुवा छुट्टीमा घर आएका बेला उहाँले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी महिला भएर पनि देशको शासन सञ्चालनको क्षमताको प्रशंसा गर्दै उनीबारे मलाई बताइराख्नु हुन्थ्यो । त्यसबाट पनि म प्रभावित थिएँ । 

पञ्‍चायती बन्द समाजमा स्वतन्त्रताको अभ्यास कसरी गर्नुहुन्थ्यो ?

विद्यालयमै संगठनको काम गर्दै जाँदा हामीले समय मिलाएर महिला मुक्ति अंक १, महिला मुक्ति अंक २, संसार बनाउने श्रमजीवी जनता हुन्, झिसमिसे, वेदना, याङ काईहुई, ल्यू हुलान, जेनी मार्क्सलगायतका क्रान्तिकारी महिलाको जीवनी जस्ता पुस्तकको अध्ययन गर्थ्यौं । जनवादी गीत सुन्थ्यौँ । सामाजिक घटनाक्रमबारे विश्लेषण गर्थ्यौं। यी सबै सन्दर्भहरूले जनताको शोषित, अन्यायपूर्ण, भेदभावयुक्त र अविकसित जीवन बदल्नुपर्छ भनी राजनीतिमा सक्रिय भई अगाडि बढ्दै आइयो ।

यहाँको क्याम्पस लाइफ कस्तो रह्यो ?

क्याम्पस भर्ना भएपछि त जीवनको मुख्य काम पनि र ध्येय पनि पार्टी र संगठन निर्माण तथा पञ्चायत विरोधी संघर्षमा सहभागिता र नेतृत्व गर्ने हुन गयो । त्यसक्रममा पृथ्वीनारायण क्याम्पसमा स्ववियुको एक कार्यकाल कोषाध्यक्ष र अर्को कार्यकाल सचिवका रूपमा नेतृत्व गरेँ । २०४२ सालमा तत्कालीन नेकपा मालेको सदस्य बनेँ । २०४४ बाट अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय महिला विभागको संस्थापक अध्यक्षका रूपमा काम गरेँ ।

यति धेरै सक्रिय रहनुभएको तपाईं मूलधारको नेतृत्व लिनेतिर कतासम्म लाग्नुभयो ? 

२०४६ मा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र २०४८ मा केन्द्रीय सचिवका रूपमा नेतृत्वमा रहेँ । प्रजातान्त्रिक राष्ट्रिय युवासंघको केन्द्रीय सचिवालय सदस्य पनि भएँ ।  २०४८ को आमनिर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट प्रतिस्पर्धा गरेँ, थोरै मतले पराजित भएँ । यी विभिन्न भूमिकामा रहँदा पनि मेरो उद्देश्य मुख्यतया महिला मुक्ति र समाजवाद प्राप्तिको पक्षमा संघर्ष गरिरहनु नै थियो । मेरो विश्वास के थियो भने समाजवादबिना जनताले पूर्ण अधिकार पाउँदैनन् ।

२०४६ सालको जनआन्दोलन भएको ३१ वर्ष नै पूरा भयो, त्यसमा तपाईंको सक्रियता सम्झौँ न । 

०४६ सालको आन्दोलन सम्झिँदा अहिले पनि म रोमाञ्चित हुन्छु । संयुक्त आन्दोलनको तयारी र खुला राजनीतिक संघर्षमा जानुपर्नेबारे २०४६ कात्तिकमा नै पार्टी नेता जीवराज आश्रितले मसँग कुरा गर्नुभएको थियो । आफूलाई खुला संघर्षका क्रममा आउने जुनसुकै कठिनाइ सामना गर्न तयारी गर्न भनिएको थियो । यता अनेरास्ववियुले पनि आन्दोलनको तयारी गरेको थियो । त्यही क्रममा २०४६ फागुन १ गते सात विद्यार्थी संगठनका तर्फबाट देशव्यापी विरोध सभाको आयोजना गरिएको थियो । हामीले पृथ्वीनारायण क्याम्पसको जय नेपाल चौरमा (क्याम्पसमा अखिलको कार्यक्रम बढी हुने प्रगतिशील चौर र नेविसंघको कार्यक्रम बढी हुने जय नेपाल चौर भन्‍ने थिए) कार्यक्रम राखेका थियौँ । राजा वीरेन्द्र पोखरा भ्रमणमा थिए । पृथ्वीनारायण क्याम्पसको हाम्रो आन्दोलन र प्रतिरोधको केन्द्र थियो र सरकारले दमनको तारो बनाएको थियो ।

त्यसमा तपाईंको पक्राउ-यातना र त्यो ऊर्जा कसरी सम्झिनुहुन्छ ?

विरोध कार्यक्रम थालिएको आधा घण्टामा नै ठूलो संख्यामा बर्दिधारी प्रहरी क्याम्पस प्रवेश गरे । पहिले नै सिभिल ड्रेसमा कार्यक्रमस्थलमा महेन्द्र पुलिस क्लबका खेलाडीलाई पनि प्रवेश गराइएको रहेछ । कार्यक्रमस्थलमा लाठी र अश्रुग्याससहित प्रहरीले आक्रमण गर्‍यो । पुलिस क्लबका खेलाडीहरूले नजिकैबाट कुटपिट गर्न थाले । हाम्रो पनि लडाकु टिमलाई कार्यक्रमको सुरक्षाका लागि खटाइएको थियो । एकछिन हामीले पनि प्रतिरोध गर्‍यौँ तर प्रहरीको शक्ति हामीमाथि हाबी भयो । 
पार्टीका तर्फबाट मलाई फागुन ७ पछिको आन्दोलनमा नेतृत्व गर्नुपर्ने भन्दै कार्यक्रममा नजान र गिरफ्तारी नदिन भनिएको थियो ।

क्याप्सन : २०४७ वैशाख ३ गते काठमाडौँको टुँडिखेलमा पहिलो पल्ट खुला रूपमा आयोजित नेकपा मालेको  आमसभामा सम्बोधन गर्दै लक्ष्मी कार्की ।

तर आफू संगठनको नेतृत्वमा रहेको मान्छे कार्यक्रममा नजाँदा साथीहरूमा मनोवैज्ञानिक प्रभाव पर्न सक्ने ठानेर कार्यक्रममा सामेल भएँ । प्रतिरोध गर्दै जाँदा छात्रावासनिर पुगेपछि मलाई प्रहरीको एक जत्थाले भेटायो । लाठीले हान्दै, कपाल लुछ्दै लछारपछार पार्ने बुटले हान्ने गर्न थाल्यो । कतिबेर यातना दियो, थाहा भएन, म बेहोस भएछु । पछि हामीलाई पञ्चायत प्रशिक्षण केन्द्र हुँदै जिल्ला प्रहरी कार्यालय पुर्‍याइयो । मेरो शरीर थिलथिलो भएको थियो । खुट्टामा चप्पल नभएको त्यहाँ थाह भयो । त्यो दिन क्याम्पसबाट १३८ जनालाई गिरफ्तार गरिएको थियो ।

गिरफ्तारीपछि के-के गरियो ? 

भोलिपल्ट क्षेत्रीय प्रहरी गुल्ममा लग्यो र पछि जेल लगियो । जेलमा पनि हामीले विभिन्न ढंगले आन्दोलन जारी राख्यौँ । ८ मार्चमा महिला सेलका बन्दीहरूबीच महिला दिवस मनायौँ । प्रहरीले जेलभित्रै पनि दमन गर्‍यो । मेरो बारेमा देशभर विभिन्न चर्चा भएछ । त्यस्ता चर्चाले आन्दोलनकारीमा आक्रोश थप्ने र पञ्‍चायती सत्तालाई अप्ठेरोमा पारेछ । दरबारले पठाएको भन्दै केही महिला जेलमा मलाई भेट्न आएका थिए । उनीहरू फर्केको केही दिनपछि मलाई नेपाल टेलिभिजनमा अन्तर्वार्ता दिन र आत्मसमर्पण गर्न भन्दै दबाब दिइएको थियो । आफ्नो कार्यालयमा झिकाएर बुबाकै सामु मलाई अञ्चालाधीशले धम्क्याएको थियो, प्रलोभन दिएको थियो । उनीहरूको केही षड्यन्त्र छ भन्‍ने लागेरै मैले अन्तर्वार्ता दिन अस्वीकार गरेँ, अञ्चलाधीशको धम्कीलाई पनि चुुनौती दिएँ । मेरो बुबालाई पनि स्याङ्जाबाट झिकाएर अञ्चालाधीशकहाँ जान बाध्य बनाइएको थियो । आन्दोलनको केही साताअघि नै बुबालाई काठमाडौँबाट पोखरा जाँदा दमौलीमा गिरफ्तार गरेर केही दिनपछि छाडेको थियो । बुबासँग संगठनका केही सामग्री र डकुमेन्ट्स पनि थिए । 

 

आफ्नो कार्यालयमा झिकाएर बुबाकै सामु मलाई अञ्‍चालाधीशले धम्क्याएको थियो, प्रलोभन दिएको थियो । उनीहरूको केही षड्यन्त्र छ भन्ने लागेरै मैले अन्तर्वार्ता दिन अस्वीकार गरेँ, अञ्चलाधीशको धम्कीलाई पनि चुनौती दिएँ ।

त्यसअघि जेलमा नेपाल महिला संगठनको तत्कालीन सभापतिसहित केही महिलाको टोली मलाई प्रलोभन दिन भनी आएको थियो । मैले उनीहरूका अगाडि आफ्नो अडान कायम राख्दै प्रतिरोध जारी राखेँ । दलहरूमाथिको प्रतिबन्ध हटेपछि २०४६ चैत २७ गते म जेलबाट छुटेँ । यसरी हेर्दा २०४६ को आन्दोलन मेरो जीवनको एउटा महत्वपूर्ण क्षणका रूपमा सम्झिन्छु । प्रजातन्त्रका लागि, कम्युनिस्ट पार्टीमा सक्रिय भएको हुनाले हाम्रो लक्ष्यका रूपमा रहेको समाजवाद प्राप्तिका लागि गरेको सानो योगदानका रूपमा ती दिन सम्झँदा गर्व लाग्छ । 

आन्दोलनमा चरम यातना खाँदै स्वतन्त्रता खातिर त्यत्रो योगदान गर्नुभयो, पछि किन मञ्चको नेपथ्यतिरै रहनुभयो नि ? 

म २०५४ सालसम्म त पार्टीमा सक्रिय नै थिएँ । कास्की जिल्ला कमिटीको सदस्यका रूपमा काम गर्दैै पारिवारिक जिम्मेवारी पनि वहन गर्दै थिएँ । त्यसपछि भने मैले चाहँदा चाहँदै पनि राजनीतिलाई निरन्तरता दिन सकिनँ । राजनीतिको चरित्र पनि बदलियो, पार्टीको कार्यशैली र कार्यकर्ता नीति पनि फेरियो । पारिवारिक जिम्मेवारी पनि थपिँदै गयो । दुवैका कारण म सक्रिय राजनीतिबाट बाहिरिएँ । त्यसबीचमा पनि महिला सशक्तीकरण र अधिकार प्राप्तिका पक्षमा भने आफ्नो ठाउँबाट भूमिका खेलिरहेको थिएँ । 

राजनीतिमा महिला सहभागितालाई लिएर तपाईंको टिप्पणी के छ ? 

 महिलाहरूलाई विवाह र बालबच्चा भएसँगै राजनीति र घरपरिवारको काममा सन्तुलन मिलाउन समस्या पर्दा पनि पछि परेका हुन्छन् । यति हुँदाहुँदै पनि राजनीतिमा २०६२/०६३ को परिवर्तनपछि उल्लेख्य सहभागिता देखिएको छ । राष्ट्र प्रमुख जस्तो पदमा महिला हुनुहुन्छ र अन्य पदमा पनि महिलाको उपस्थिति बढ्दो छ । याे खुसीको कुरा हाे तर, सुधार गर्नुपर्ने पक्ष धेरै छन् । पितृसत्तात्मक सोचका कारण परिवारले महिलालाई राजनीतिमा सक्रिय हुन अवरोध गर्छ । पार्टीभित्रको पितृसत्तात्मक चिन्तनले पनि महिला पछि पारिएका छन् । आन्दोलन कालमा संगठन बनाउन, आन्दोलनमा सहभागी बनाउन पार्टीले महिला कार्यकर्तालाई प्रेरित गर्‍यो, नेतृत्वमा जान प्रोत्साहित गर्‍यो, प्रशिक्षित पनि गर्‍यो । तर उनीहरूलाई समस्या परेका बेला संरक्षणको नीति लिइएन । राजनीतिमा निरन्तरता दिन चाहने कार्यकताहरूलाई समेत उनीहरूको व्यवस्थापन गर्नेतिर सहजीकरण गरिएन । त्यसले गर्दा पनि महिला कार्यकर्ता पछि परे । 

त्यो विद्रोहको तीन दशक भइसक्यो, हामी हिँडेको प्रजातन्त्र-लोकतन्त्र-गणतन्त्रको यो बाटो कस्तो लागिरहेछ ? कागजी उपलब्धिको लामै सूचीबीच जनस्तरमा आएको सकारात्मक परिवर्तनको सूची लामै छ कि सानो मात्र ? 

कतिपय उस्तै मद्दामा अल्झिरहेको देखिए पनि हामी धेरै क्षेत्रमा अघि बढेका पनि छौँ । राजनीतिक क्षेत्रका धेरैजसो मुद्दा समाधान भएका छन् । राजनीतिक स्वतन्त्रताको उपभोग गर्ने नागरिकहरूको अधिकार सुनिश्चित भएको छ । नयाँ संविधान आएसँगै समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले महिला लगायतका पछि पारिएका समुदायको राजनीति र राज्यका अरु निकायमा सहभागिताको स्तर बढेको छ । आर्थिक सशक्तीकरणका क्षेत्रमा पनि धेरै काम भएका छन् । यसैले ३० वर्ष पहिलेको जस्तो अवस्था अहिले छ भन्न मिल्दैन । हामी अघि बढिरहेकै छौँ । यो कुरा साँचो हो कि व्यवहारमा समानताको अभ्यास हामीले चाहेको अवस्थामा हुन सकेको छैन । महिलाकै क्षेत्रमा बोक्सी, छाउपडी, दाइजो, लैंगिक हिंसा, बालविवाह लगायतका विभेदका समस्या बाँकी नै छन् । छुवाछूतजस्ता सामाजिक विभेदका परम्परा हटेका छैनन् । गरिबी छ । यस्ता समस्याले सिर्जना गर्ने चुनौतीविरुद्ध लडिरहनु नै पर्छ । समयक्रमसँगै यी समस्या पनि न्यून हुँदै समाधान हुनेछन् ।

लोकतन्त्र भनेको हाम्रो आचरण-चरित्रको कुरा पनि होला, शासकदेखि नागरिकसम्म यो कस्तो पाउनुहुन्छ ?

लोकतन्त्र संविधान र शासन प्रणालीमा मात्र व्यक्त भएर हुँदैन । यो शासकहरू, तिनलाई चुन्ने र नियन्त्रण गर्ने राजनीतिक दल र नागरिक समाजका आचरणमा पनि अभिव्यक्त हुन्छ । तिनको आचरण र व्यवहारले लोकतन्त्रलाई समाजको मूल्य प्रणालीका रूपमा विकास गर्न भूमिका खेल्छ । नेपालको हकमा लोकतन्त्रको अभ्यासमा खासगरी परिवारको तहमा, समाजमा पनि समस्या छन् । राजनीतिक दलमा अझै पनि आवश्यकताअनुरूप अभ्यास भएको जस्तो लाग्दैन । त्यस्तै समस्या नागरिक समाजमा पनि छ । यसमा पितृसत्ताको प्रभाव र वर्गका प्रभावले पनि काम गरेको होला । मानिसहरूले क्रमशः सिक्ने र अभ्यास गर्ने कुरा पनि हो यो । म क्रमशः सुधार हुने कुरामा आशावादी छु ।


Author

थप समाचार
ad
x