जीवनशैली

'पीडाको पहाड' बोकेर बाँचिरहेको किनारको बस्ती : बागमतीमा पानी घट्यो, दुःख घटेन

अतिन आचार्य |
असार ११, २०७९ १०:३६ बजे

काठमाडौँ- को सुन्छन् अब आर्तनाद जनता रोए कराए पनि
उस्तै हो गणतन्त्र, लोक अथवा जे ’तन्त्र’आए पनि 
नेपाली जनता सहीकन बसे साह्रै बिचल्ली हुँदा पनि

खोक्रो राष्ट्रियता शीर्षकको कवितामा बासुदेव पाण्डे लेख्छन् ।


जनता रोए कराएको कसले सुन्छ ? पाण्डेले भनेजस्तै जुन 'तन्त्र' आए पनि नागरिकको अवस्था फेरिएको छैन । सबै तन्त्रमा सास्ती भोग्ने नागरिक नै हुन् । महँगीले आकाश छुन लाग्दा पनि सरकार बेखबर छ । बहस मन्त्री फेर्ने कि नफेर्नेमा भइरहेको छ । नागरिकका समस्याप्रति कोही गम्भीर छैनन् । कतै बहस हुँदैन ।

तीनकुने पुलदेखि पाँच सय मिटर माथि सुकुम्बासी बस्ती छ । पारि पक्की सडक, वारि बाटामा पानी जमेको छ । 

काठमाडौँ महानगरपालिका वडा ३१ को गैह्रीगाउँ बागमती किनारामा ९३१ घरपरिवारको बसोबास  छ । किनारामा बसोबास गरिरहेका अधिकांश मानिसहरूले ज्यामी काम गर्छन्। दिनभर सुनसान रहने बस्तीमा साँझ परेपछि ढोका उघ्रिन्छन् । बत्ती बल्छन् । दैनिकी सहज बनाउन मजदुरी गर्न बाहिरी 'साइड' मा घरदेखि सडक बनाउनेसम्मका काममा उनीहरू जान्छन् ।

किनारका बस्तीमा महँगी छपक्कै छोएको छ ।

पूर्णबहादुर मगर बाटोकै छेउमा डेढ दशकदेखि बसिरहेका छन् । जहाँ उनको पसल छ । 

हिजोआज महँगी बढेपछि उपत्यका भित्र गर्ने उनको यात्रा छोट्टिएको छ । पसलका लागि सामान लिन पहिले-पहिले उनी न्युरोड र असन पुग्थे । अहिले भने उनको बसाइ पसलभित्रको सानो कोठामा सीमित बनेको छ । उनले साइकलमा सामान बिक्री गरी हिँड्नेहरूसँग खरिद गर्न थालेका छन् ।

सामानको भाउ बढ्दा गाडीको भाडा पनि उठ्दैन

'बजारमा सबै सामानको मूल्य बढेको छ,' ६२ वर्षीय मगरले भने,' सामान किन्न असन जान्थे । मूल्य बढेर गाडीको भाडा पनि नउठ्ने भएकाले जान छोडेको छु ।' 

इन्धनमा भएको मूल्यवृद्धिले उनलाई पनि छोएको छ । मगर थप्छन्,' १४ सय रुपैयाँमा पाइने ग्यास सिलिन्डरको मूल्य १८ सय पुगिसकेको छ । महँगीले गर्दा बजार टेक्न पाइएला जस्तो छैन ।'

तेह्रथुममा बाल्यकाल र तन्नेरी उमेर सुनसरीमा बिताएर काठमाडौँमा संघर्ष गर्न छिरेका थिए मगर । दुई दशकअघि घुम्न आएका उनलाई आफ्नो बाध्यताले काठमाडौँसँग पौठेजोरी खेल्ने बनायो ।

सुरुवाती दिनमा सिकर्मीको काम गरेको अनुभव उनीसँग छ । काम गर्ने शरीर थाक्यो । रोगले गाल्यो । पहिले जस्तो उनको शरीरमा तागत छैन । किनाराको बस्तीमा उनले पसल खोल्ने निर्णय गरे । दैनिक पाँच सय रुपैयाँको सामान बिक्री गर्ने गरेको उनले सुनाए ।

बस्तीका मानिसहरूको लुगा सिलाउँछु

'राजधानीमा पनि यस्तो बस्ती छ भनेर सुनाउन मन लाग्दैन,' जनयुद्धमा प्रहरीको जागिर छोडेर बसेका अर्जुन परियार भन्दै थिए । घर अगाडिको बाटोमा जमेको पानी देखाउँदै गाउँको बाटो राम्रो हुन्छ तर, यो ठाउँलाई मानवबस्ती भन्न पनि लाज हुने उनले सुनाए ।

प्रहरीमा अर्जुनले १४ वर्ष बिताए । सेवामा रहँदा जति पारिश्रमिक पाए त्यसपश्चात कुनै रकम पाएनन् । स्वेच्छाले जागिर छोडेका थिए । 'त्रिपुरेश्‍वरमा खटिएका बेला जागिर छोड्नु परेको थियो,' जनयुद्धको समय सम्झँदै भन्छन्,' सेवामा रहँदा पनि लुगा सिलाउने काम गर्थे ।' जीवनको सुनौलो समय प्रहरीमा बिताएका उनले अब उमेरका कठिन समय किनाराका बस्तीमा बिताइरहेका छन् । जहाँ भोक, रोग र महँगीको सामना गरिरहेका छन् ।

परियार सुकुम्बासी बस्तीमा रहेका मानिसहरूको लुगा सिलाउने गर्छन् । पुराना लुगा सिलाएर मात्र दैनिक एक हजार कमाउने गरेका छन् । 

'लगाइसकेका र पुराना च्यातिएका लुगाहरू मात्र सिलाउन ल्याउने गर्छन्,' पेन्टमा आइरन लगाउँदै भन्छन्,' महँगी बढेकाले धागोको मूल्य बढिरहेको छ । २ सयमा पाइने धागोका बन्डलहरू चार सय पुगिसकेको छ ।'

आफ्नो भन्ने घरमात्र भएका मानवबस्तीमा आदिवासी, जनजाति, दलितहरूको बाहुल्य छ । आफ्नो भन्‍नलाई जग्गा धनीपुर्जा छैन । बस्तीमा आर्थिक अवस्था कमजोर भएका र दिनभर मजदुरी गर्नेहरूको संख्या बढी छ । बस्तीमा काम गर्न सक्ने युवायुवती, महिला र पुरुष देखिँदैनन् ।

 बाटोको अवस्था नेताहरू परबाट हेर्छन्

'यहाँका मानिसले काम नगरे चामल किनेर खान सक्दैनन्,' अहिले बढेको महँगीबारे सुनाउँदै अर्जुनले भने,' बस्तीका धेरै मानिसहरू वैदेशिक रोजगारीमा छन् ।' मजदुरी नगरे पानी पनि किनेर खान नसक्ने अवस्थाका मानिसहरू यहाँ बस्छन्।

अर्जुन खोटाङबाट आएर २०४६ सालदेखि बागमतीलाई अगाडि पारेर बस्न थालेका हुन् । बागमतीमा पानी बहाव घट्यो,बस्ती बढ्यो तर, बस्तीको दुःख हट्न सकेन । बस्ती बढ्यो बाटो साँघुरिदै गयो । बस्तीका घरको छाना हेर्दा हात समाएर बसेका मानिस जस्ता देखिन्छन् । घरका छानाहरू एक अर्का घरसँग जोडिएका छन् ।  

बस्तीका बाटामा फोहोर थुप्रिएका छन् । फोहोर नगर्ने भन्दा गर्नेको संख्या बढी छ । फोहोरकै कारण बस्तीमा विभिन्न सरुवा रोग फैलन सक्ने त्रास बढेको छ । हैजाले उपत्यकामा मात्र यतिखेर पाँच जना अस्पताल भर्ना भएका छन् । गरिब र अशिक्षित मानिसको बस्तीमा यस्तै देखिने उनलाई लागेको छ ।

'नेताहरू आउछन तर बाटोमा पानी जमेको देखेपछि परैबाट जाने गरेका छन्,' उनले आक्रोशित हुँदै भने,' हामी बोल्न नसक्ने मानिसहरूको लागि को हुन्छ र ?' नेताहरू हिलो बाटोबाट हिँड्नु पर्ने भए यो बाटो पहिले बनिसक्ने उनको भनाइ छ ।

एक जनाको कमाइले पुग्दैन

मेलम्चीबाट २० वर्षअघि काठमाडौँ छिरेका बस्तीमा सुर्जे तामाङको व्यथा पूर्ण र अर्जुनको जस्तै छ । एक जनाले काम गरेर चलिरहेको परिवार अब नचल्ने भएको  छ । उनको घरमा पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा महँगीको प्रभाव परिसकेको छ । उनीसँगै छोराछोरीले  पनि काम गर्न थालेको उनी सुनाउँछन् ।

'केही वर्षसम्म एक्लै काम गर्दा परिवार चल्थ्यो,' दुई दशक अघि काठमाडौँमा आउँदाको दिन सम्झँदै भन्छन्,' मजदुरी गरेर परिवारलाई भने जस्तै मजाले खाना लाउन पुर्‍याउन सक्थे । महँगी बढेर परिवार धान्न मुस्किल भएको छ ।' १० रूपैँयामा साबुन पाइने ४० रुपैयाँ पर्ने भइसकेको उनले बताए ।

उनी काठमाडौँ छिर्दा राजपरिवारको हत्याकाण्ड भएको थियो । काम खोज्न निस्कँदा सुनसान बनेको र बाटामा मानिसहरूको भीड लागेको सम्झना छ उनलाई । घरको आर्थिक अवस्था कमजोर चामल पनि नभएकाले सिन्धुपाल्चोक छोड्नुपरेको तितो अनुभव उनीसँग छ ।

'अहिले जस्तो त्यो समयमा महँगी बढेको थिएन, ' उनी सुनाउँछन्,' ८ रुपैयाँ किलो चामल पाइन्थ्यो । अहिले भने किलोको ५० रुपैयाँदेखि माथि छ ।' २० रुपैयाँमा पाइने जारको पानी ५० रुपैयाँमा पाइने उनले सुनाए ।



Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
ad
x