जीवनशैली

संस्कार सिकाउँदै संस्कृत शिक्षा

इकागज |
माघ २२, २०७९ आइतवार २१:५५ बजे

फाइल फोटो

लेखनाथ - संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ । 

प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखराका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन सुरु भएको छ ।


पोखरमा चिसाखोला वेदविद्याश्रम, विन्ध्यावासिनी संस्कृत विद्यापीठ, संस्कृत क्याम्पस, संस्कृत मावि, केदारेश्वर विद्याश्रम, ढुङ्गेसाँगुस्थित वात्स्यायन गुरुकूल विद्याश्रम, लेखनाथको डाँडाको नाकस्थित गुरुकूल विद्याश्रमलगायतका स्थानमा संस्कृत शिक्षाको अध्यापन गराइन्छ । 

संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वर्द्धनका साथै संस्कृत भाषाभित्र सञ्चित रहँदै आएका मानवका लागि उपयोगी ज्ञान–विज्ञान हासिल गर्न यस्तो शिक्षा फलदायी हुने विश्वास गरिँदै आइएको छ । 

संस्कृत शिक्षाप्रतिको आकर्षण बढेसँगै पछिल्लो समय पोखराको लेकसाइडस्थित केदारेश्वर महादेवमणि सेवाश्रम समितिले श्रीकेदारेश्वर वैदिक गुरुकूल विद्याश्रम सञ्चालनमा ल्याएको छ । विसं २०७३ सालदेखि सञ्चालनमा आएको उक्त विद्याश्रममा ६९ जना विद्यार्थी अध्ययनरत छन् ।  

उक्त विद्यालयका प्राचार्य गणेश पौडेलका अनुसार विद्याश्रमले कक्षा ६ मा विद्यार्थी भर्ना लिई कक्षा १२ सम्म अध्यापन गराउने उद्देश्यले विद्याश्रम सञ्चालनमा ल्याइएको हो । हाल विद्याश्रममा ६ देखि ११ कक्षासम्म अध्यापन भइरहेको छ । गतवर्ष आठ जना विद्यार्थीले एसइई दिएकामा पाँच जना ए प्लस र २ जना बि प्लस र एक जनाले बि ग्रेड ल्याएर उत्तीर्ण भएको जानकारी पौडेलले दिए । 

पोखराको केदारेश्वरस्थित विद्याश्रममा आवासीयरूपमा नै विद्यार्थीलाई संस्कृत शिक्षा अध्यापन गराइँदै आइएको छ । विद्याश्रममा परम्परागततर्फ संस्कृत व्याकरण, वेद, कर्मकाण्ड र संस्कृत भाषा विषय र आधुनिकतर्फ अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक विषय अध्यापन गराइँदै आएको जानकारी प्राचार्य पौडेलले दिए । यसका साथै परम्परागततर्फ पुराण, रामायण, उपनिषद्, योग, ध्यान र सङ्गीतमा पनि अध्यापन गराइने बताइएको छ । 

केदारेश्वर वैदिक गुरुकूल विद्याश्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थी गणेश भण्डारीले आफ्नो सानैदेखिको रुचि संस्कृत शिक्षा भएकै कारण संस्कृत शिक्षा अध्ययन गरेको बताउए । संस्कृत शिक्षाले आफूलाई सन्तुष्टि प्रदान गरेको र आफ्नो अध्ययन पनि यसैमा अघि बढाउने भनाइ उनको छ । संस्कृत शिक्षाले बोलीमा स्पष्टता, उच्चारण गर्ने शैलीको विकास, शब्द चयनमा मिठास, उदार तथा देशभक्तिको भावना प्रदान गरेको अनुभव आफूसँग भएको विद्यार्थी भण्डारीको भनाइ छ । 

विद्याश्रमका शिक्षक माधव शर्माका अनुसार विद्यार्थीले प्रत्येक सोमबार केदारेश्वर मन्दिरमा साँझ महाआरती गर्ने गरेका छन् । समयानुकूलका शैक्षिक तथा प्राज्ञिक जनशक्ति उत्पादन गर्न संस्कृत शिक्षा फलदायी हुने भनाइ शर्माको छ । 

सरकारको स्वीकृति लिएर पढाइएको उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा छ । नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषता सम्पन्न राष्ट्र भएकाले विविध धर्म, संस्कृति, सभ्यता, इतिहास, कला, वास्तुकला, रहनसहन, रीतिरिवाज तथा सयौँ जातजातिका भाषा भाषिकाको अध्ययन, अनुसन्धान र संरक्षणमा सहयोग पुग्ने विश्वास शर्माको छ । 

विद्याश्रम सरोकारवालाबाट निकै राम्रो साथ र सहयोग पाउँदै आएको र आगामी दिनमा पनि संस्कृत शिक्षाको विकास र विस्तारमार्फत हाम्रा प्राच्य ऋषिमहर्षिहरूको तपस्याबाट सिर्जित ज्ञानराशिलाई आम जनसमक्ष पुर्‍याउनका लागि  यो शिक्षा फलदायी हुने उनले बताए । रासस


Author

थप समाचार
x