जीवनशैली

ठमेल फेरियो तर फेरिएन ४० वर्षदेखि रिक्सा हाँकिरहेका अर्जुनको जिन्दगी

अतिन आचार्य |
भदौ २०, २०८० बुधवार १२:२५ बजे

काठमाडौँ- आकाशमा सूर्यले पहेँलो लाली छर्दै थियो । ठमेलको चोक-चोकमा देखिने रेष्टुरेण्टको बत्तिको उज्यालोले गुल्जार बनाउँदै लगेको संकेत गरिरहेको थियो । त्यहीँ नरसिंह चोक अगाडि यात्री नपाएर निराश मुद्रामा थिए धादिङका अर्जुन रोक्का ।

'प्लिज कम सिट हियर,' उनी रिक्साको सिटमाथि बसेर विदेशीलाई बोलाउँदै थिए । बसिरहेको रिक्सातर्फ आइरहेको देखेर आग्रहसहितको स्वरमा उनले दुई विदेशीलाई बोलाए । ठमेलको नरसिंह चोकलाई स्वदेशी तथा विदेशी पर्यटकको आवतजावत भइरहने ठाउँको रुपमा लिइन्छ ।


उनको आँखाले यात्री खोजिरहेका थिए । तर उनलाई खोज्ने भेटिएका थिएनन् । विदेशी चढ्छन् कि भनेर आशामा उनी ठमेलको चोक-चोकमा रिक्सा बिसाउँदै हिँड्छन् ।

विदेशीलाई रिक्सामा यात्रा गराउँदा बार्गेनिङ गर्नुपर्दैन उनले । मंगलबार दिनभर रिक्सामा चढ्न कुनै पनि यात्रु नआएको अर्जुनले बताए। तर यात्रु हुँदा उनले ठाउँ सोध्छन् र विदेशीलाई जहाँसम्म जाने त्यहाँको मूल्य बताएपछि उनीहरू चढ्ने गरेका छन् ।

कतिपय विदेशी पर्यटकले उनले तोके भन्दा बढी मूल्य दिने गरेको छन् । श्रमको मूल्य उनीहरूले बुझेको जस्तो उनलाई लागेको छ ।

फुर्सदमा यात्री बोलाउँदै  

'यसरी रिक्सामा चढ्न भनेर बोलाएको पहिलो पटक भने होइन,' उनी विगतका दिन सम्झँदै भन्छन्,' यात्री नआउदा भने बोलाउनु पर्ने बाध्यता आइलाग्दो रहेछ ।'

कुनै समय उनले रिक्सा चलाएर आराम गर्ने फुर्सद पाउँदैन थिए । रिक्सामा चढ्ने मानिसको कमी हुँदैन थियो उनलाई । कहिले असन, इन्द्रचोक, वसन्तपुरर ठमेलमा विदेशीलाई घुमाउँदैमा उनको दिन बित्थ्यो ।

दुई खालको विदेशी पर्यटक उनको रिक्सामा चढ्ने गरेका छन् । वसन्तपुरको सम्पदा घुम्न जाने र ठमेल वरिपरि घुम्ने ।

ठमेलमा विदेशीको कमी भएकाले पनि हिजोआज रिक्सामा यात्रा गर्ने कमी हुन थालेको उनलाई लागेको छ । पर्यटकको सिजन नभएकाले ठमेलमा विदेशी देखिन छाडेको उनले महसुस गरेका छन् । उनले थोरैमा दैनिक ६ सय रुपैयाँ कमाउने गरेका छन् । यात्रु भेटिरहँदा भने उनले दैनिक १५ सय रुपैयाँसम्म कमाउने गरेका छन् ।

दिनभर कुदेका पाङग्रा वसन्तपुरमा बिसाउँछन्

अर्जुनको रिक्सामा नेपालीहरू पनि चढ्छन् । असन र इन्द्रचोकबाट सामान किन्न जाने र किनेर आउनेहरू उनका नेपाली यात्री हुन् ।

अर्जुनको दैनिकी वसन्तपुरको ग्यारेजबाट सुरु हुन्छ । ग्यारेजको ढोका खुलेसँगै यात्रीका लागि कुरेका रिक्सा सडकमा निस्कन्छन् । वसन्तपुरबाट निस्केको रिक्साका पाङग्रा इन्द्रचोक हुँदै ठमेलमा पुगेर बिसाउँछन् ।

ठमेल वरिपरि रिक्सामा चढेर यात्रा गरेको १५० देखि २ सय रुपैयाँ लिने गर्छन् । दूरी अनुसार रिक्सा चढेको पैसा लिने गरेको अर्जुन बताउँछन् । 

अर्जुन वसन्तपुरमै बस्छन् । कोठा भाडा तीन हजार छ । साथीसँग बसेकाले उनको भागमा १५ सय रुपैयाँ पर्ने गरेको छ ।

उनले रिक्सा चलाएरै जिविका चलाउन थालेको चार दशक बित्यो । ' चार दशकमा काठमाडौँका गल्ली र मानिस फेरिए तर,मेरो जीवन फेरिएन,' उनले दार्शनिकले झैँ आफ्ना कुरा राखे ।

ठमेल र वसन्तपुर यात्रा गर्दा उनले भवन फेरिएको देखे । नयाँलाई पुरानाले विस्थापित गर्दै लगे । अर्जुनले देख्दै आएको ठमेलमा झन धेरै कुराहरू फेरिएका छन् । लाइभ म्युजिक, नयाँ-नयाँ पब, बार, र क्लब खुलेका छन् । सुविधासहितका होटल तथा रेष्टुरेण्ट थपिएका छन् । त्यहीँ फेरिएको ठमेलमा उनको जीवन वरिपरि घुमिरहेको छ ।

ठूला-ठूला गगनचुम्बी भवनमा होटल बने । तिनै भवनको तलबाट उनको रिक्साको पाङग्रा गुडिरहन्छ । फेरिएको ठमेलले न उनलाई छोयो न त रिक्साको पाङ्ग्रालाई नै । पाङग्रासँगै उनको जीवन घुमिरहेको छ ।

३५ वर्षसम्म उनले अरुकै रिक्सामा यात्री बोके । दैनिक १ सय ५० रुपैयाँ भाडा बुझाउँथे साहुलाई । पाँच वर्ष भयो उनले आफैँ रिक्सा किनेको । अर्जुनले ६० हजार रुपैयाँ ऋण गरेर किनेको रिक्साको ऋण तिरिसकेको बताए ।

काठमाडौँ छिर्दा अहिले जस्तो विदेश जाने चलन थिएन

उनी काठमाडौँ छिर्दा अहिलेको जस्तो वैदेशिक रोजगारमा चलन थिएन । बेलायत,हङकङ र सिंगापुर लाहुरमा जाने मानिसका बारेमा थिए उनले ।

‘दुई दशकअघि देखि मात्र नेपालीहरू काम गर्न विदेश जान थालेको उनको बुझाइ छ,’ उनी सुनाउँछन्,’ अहिले जस्तो विदेश जाने माहोल थियो भने खाडी मुलुक पुगिन्थ्यो होला । तर छिटो जन्मिएछ ।'

उनी रिक्सा चालक बन्दा अहिलेको जस्तो काठमाडौँ थिएन । मानिसको उपस्थिति न्यून र सवारीसाधन पनि थोरै थिए ।  सवारीसाधन पनि पातला थिए । सडकमा रिक्सा चलाउन पनि सहज हुन्थ्यो । उ बेलाको सडकमा सामान र मानिसलाई ओसारपसार गर्न पनि सहज हुने गरेको उनको अनुभव छ ।

उनको रिक्साले व्यापारीको सामान त्रिपुरेश्वर, टेकु, न्युरोड, खिच्चापोखरी,भोटेबहाल, वसन्तपुर, इन्द्रचोक र असनमा रिक्साले भारी पुर्‍याउँथ्यो । होलसेलबाट सामान बोक्नु अर्जुनको विगत थियो । रिटेल पसलमा पनि सामान पुर्‍याउँथे उनले । अहिले भने उनले मान्छे मात्र बोक्ने गरेका छन् । सामान बोक्नु भन्दा मानिस बोक्दा बढी बार्गेनिङ गर्नुपरेको तीतो अनुभव उनीसँग छ ।

गल्छी गाउँपालिका ८ का अर्जुनका चार सन्तान छन् । एक छोरीको विवाह भइसकेको र कान्छी छोरी श्रीमतीसँगै बस्छन् । दुई छोरा भने उनका ड्राइभर छन् । एक छोरा काठमाडौँमै टयाक्सी कुदाउँछन । अर्को छोरा भने सामान बोक्ने ठूलो गाडी चलाउँछन् ।

‘शरीरमा बल भएसम्म रिक्साको सहाराले बाँच्छु

उनले विद्यालय शिक्षा आर्जन गरेनन् । लेखिएका कुराहरू सामान्य कनेर पढ्न सक्छन् उनी । छोराछोरीलाई पनि पढाउन नसकेकोमा उनलाई गुनासो छ । ‘आफूले नपढे पनि सन्तानलाई पढाउने चाहना थियो । चाहना सबै अधुरो रह्यो,’ रिक्सामाथिको हेण्डल समाउँदै अर्जुनले भने,’ कसैले पनि कक्षा १० सम्मको पढाइ पूरा गर्न सकेनन् ।‘

उमेरले झन्डै छ दशक नजिक पुग्दा पनि रिक्साको पाङग्राले साथ नछोड्ला भन्ने उनलाई लागेको छ । ‘ शरीरमा बल भएसम्म रिक्साको सहारामा बाँच्छु होला,’  उनी आत्मविश्वासी सुनिन्छन्,' समय-समयमा श्रीमतीलाई भेट्न गइरहन्छु ।‘

अर्जुनको गाउँमा ५ देखि १० रोपनी खेती छ । वर्षको ६ महिना उनले धादिङ्ममै बिताउने गरेका छन् । हातमा देखाउँदै उनले भने,’ गाउँमा भएको खेतीमा ठेउला भइन्जेलसम्म काम गर्नुपर्छ । भर्खरै खेतमा धान लगाएर आएको छु ।‘


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x