‘अपाङ्गता भएका व्यक्तिलाई जिम्मेवार र सक्षम नागरिक बनाउनुपर्छ’
सांकेतिक फोटो
अपाङ्गता भएका व्यक्तिलाई पनि राज्यमा सकारात्मक योगदान पुर्याउन सक्नेगरी जिम्मेवार र सक्षम नागरिक बनाउनुपर्नेमा सरोकार भएकाहरू जोड दिएका छन् ।
अपाङ्गता सशक्तीकरण समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा आज ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा आयोजित ‘अपाङ्गता भएका महिलाका लागि सीप विकास परियोजनाअन्तर्गत रोजगार तथा इन्टनसिपसम्बन्धी छलफल’ कार्यक्रममा सहभागीले अपाङ्गता भएका व्यक्तिलाई पनि जिम्मेवार र सक्षम बनाउनुपर्नेमा जोड दिएका हुन् ।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई सीप र तालिम दिएर रोजगारी र उद्यमशीलताको विकास गर्नुपर्ने धारणा राखे ।
‘अपाङ्गता भएकालाई सशक्तीकरण गर्दै राज्यमा योगदान दिनसक्ने जिम्मेवार र सक्षम बनाइनुपर्छ । नगरको रोजगार शाखाबाट भएका विभिन्न कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई रोजगारीका लागि ‘सिड मनि’ शीर्षकमा दुई लाख दिने गरेका छौँ, यस वर्ष आपाङ्गता रोजगारीका लागि सात लाख बजेट छुट्याइएका छौँ’, उनले भने ।
अपाङ्गता भएकाको सशक्तीकरणका लागि नगरपालिकाले विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वय एवं सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख श्रेष्ठले बताए ।
अपाङ्गता सशक्तीकरण समाज नेपालमार्फत जनचेतनाको विकास, सीप विकास, रोजगारीको प्रवर्द्धनका साथै उद्यमशीलताको क्षेत्रमा प्रभावकारी कामको सुरुवात गरिएको बताउँदै उनले आगामी दिनमा पनि नगरपालिकाले सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे ।
महालक्ष्मी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन्द्रदेव सिंहले तालिमबाट सीप हासिल गरेका व्यक्ति तथा व्यक्तित्वलाई आफू रोजगारमा मात्रै सीमित नभई उद्यमशील बन्न समेत आग्रह गरे । ‘सरकारले पनि बेरोजगारलाई स्वरोजगार बनाउने नीति लिएको छ, सहुलियत ऋण र अनुदानको व्यवस्था गरेको छ, यसलाई सदुपयोग गरेर उद्यमशील बन्न आग्रह गर्दछु’, उनले भने ।
उनले शारीरिक अपाङ्गता भएका महिलामा क्षमता अभिवृद्धि गर्दै स्वरोजगार बनाउन गरिएको काम महत्वपूर्ण भएको बताए । उनले समाजलाई रूपान्तरण गर्ने उद्देश्यका साथ अगाडि बढेको अपाङ्गता सशक्तीकरण समाज नेपालको कामले राज्यको सामाजिक उत्तरदायित्वको भारमा सहजता ल्याउँदै अपाङ्गता भएकाको दैनिक जीवनयापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले आफूहरूले अपाङ्गतावरण गर्दा भोग्नु परेको कष्ट निकै दर्दनाक रहेको भन्दै अपाङ्गता भएका अबका पुस्ताले पीडा भोग्नु नपरोस् भनेर संस्थागत रूपमा रचनात्मक र सिर्जनात्मक कार्यमार्फत सीप र सिर्जनामा जोड्ने प्रयत्न गरिएको बताए ।
‘उद्यमशीलतालाई अपाङ्गतामैत्री बनाउने हाम्रो लक्ष्य हो, हामी बेरोजगार हुँदा ज्यादै अभाव, दबाब र प्रभावमा कठिनाइ भोग्नुपरेको अवस्था थियो, अपाङ्गता भएकाले भविष्यमा यस्तो कठिनाइ भोग्नु नपरोस्, योग्य र सक्षम नागरिकका रूपमा उनीहरूले आफूलाई स्थापित गर्न सक्नुहोस् भनेर सीप विकासमा लागेका हौँ’, उनले भने ।
संस्थाका महासचिव कृष्ण महर्जनले महालक्ष्मी नगरपालिकाभित्र अपाङ्गता भएका महिलालाई छ महिने सीप विकास तालिम र १८ जना किशोरीलाई डिजिटल साक्षरता तालिम सञ्चालन गरिएको जानकारी दिए ।
नगरपालिकाका रोजगार शाखा प्रमुख सहदेव केसीले ‘रोजगारी सिर्जना गरौँ, विकासलाई गति दिऔँ’ भन्ने नारासहित नगरपालिकाले लघुउद्यम विकास कार्यक्रमका लागि सहयोग गरिरहेको जानकारी दिए ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाभित्रका ४० जना अपाङ्गता भएका व्यक्तिको सहभागिता थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया