जीवनशैली

राउटेको जनसंख्या १४४ पुग्यो

इकागज |
मंसिर ९, २०७८ बिहीबार १६:१२ बजे

सुर्खेत- फिरन्ते जीवन बिताउँदै आएका राउटेहरूको संख्या बढेको छ । पछिल्लो समय यो समुदायमा मृत्युदर बढी रहे पनि जनसंख्यामा पनि वृद्धि भएको देखिएको छ । जारी जनगणनामा उनीहरूको गणना भएको हो । 

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको यो समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जाति हो । यो समुदाय दुई महिनाअघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका ­१ वालुबासग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही वडाको घाटगाउँमा बसाइँ सरेको थियो । उक्त समय ४६ घरधुरी रहेका राउटेको संख्या १४१ थियो ।


एक सातायता राउटेहरू नगरको वडा नम्बर ३ काँरागाउँमा सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको हो । यो क्रममा राउटेको संख्या १४४ पुगेको छ । ७५ महिला र ६९ पुरुष गरी १४४ पुगेको गणक टोलीले बताएको छ । राउटे समुदायमा पुगेर गण टोलीले दुई दिन लगाएर गणना गरेको हो । राउटे बस्तीमा उनीहरूको विवरण संकलन गर्न दुई दिन लागेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले बताए ।  


Author

थप समाचार
x