जीवनशैली

सिन्दुर जात्रासहित सेतो मच्छेन्द्रनाथको मूर्ति सारियो मन्दिरमा

इकागज |
चैत ३०, २०७८ बुधबार २१:४३ बजे

फाइल फोटो

काठमाडौँ - वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको पाँचौँ एवं अन्तिम दिन भव्य सिन्दुर जात्रासहित सेतो मच्छेन्द्रनाथको मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएको छ ।
 
पाँचौँ दिन आज रथबाट मूर्ति मन्दिरमा सारिएको सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ । 

रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँचदिने जात्रा आजैदेखि अन्त्य भएको समितिका संयोजक, काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष तथा सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्यले राससलाई जानकारी दिए । 


प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्‍याइन्छ । जात्राको चौथो दिन मङ्गलबार लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । 
   
शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौँथो दिन अन्त्य गरिन्छ । पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुने विधिअनुसार आजैदेखि जात्रा समापन भएको हो ।


Author

थप समाचार
x