साहित्य

वासु शशीका प्रतिनिधि कविता 'पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ' सार्वजनिक

इकागज |
जेठ २८, २०७९ शनिबार १२:३९ बजे

काठमाडौँ- प्रसिद्ध कवि वासु शशीका प्रतिनिधि कविताहरूको सङ्ग्रह  'पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ' सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा प्रसिद्ध कवि एवम् गीतकार कालीप्रसाद रिजाल, यादव खरेल, गायक-सङ्गीतकार गणेश रसिक, वासु शशीकी पत्नी जुलुम वैध, कवि मोमिला र समालोचक राजकुमार बानियाले कृतिको लोकार्पण गरेका हुन् ।

'वासु शशी मानवतावादी कवि हुन् र कवितामै जीवन व्यतीत गरे ।" लोकार्पित कृतिमाथि बोल्दै कालीप्रसाद रिजालले भने, 'कवितामा बाँच्ने थोरै कविहरूमध्ये वासु शशी एक हुनुहुन्थ्यो । ​वासु शशीको कथा 'लोभीपापी'मा पहिलो हास्यव्यङ्ग्य चलचित्र निर्माण र निर्देशन गरेका यादव खरेलले उनको सरल जीवन र काव्यिक बहुआयामको चर्चा गरे ।' कविता लेखेर पाउने जति चर्चा नपाए पनि उनी आफ्नो समयका सर्वाधिक शक्तिशाली कवि हुन् ', खरेलले भने ।


त्यस्तै, गणेश रसिकले वासु शशीका गीतको चर्चा गरे । 'गीतकारले लेखेका गीतमा केवल तुकबन्धी मात्रै हुन्छ, कविका गीतमा विम्ब-प्रतीकलाई उचित प्रयोग गरिएको हुन्छ, जुन वासु शशीका गीतमा पाइन्छ ।' ​कृतिगत समीक्षा गर्दै कवि मोमिलाले भनिन्, 'मानवीयता, राजानीतिक र सामयिक व्यङ्ग्य, प्रेम र जीवन-जगतका मसिना विषयलाई कविता बनाएका शशीका कविताले अबको पुस्तालाई काव्यिक चेत प्रदान गर्नेछन् ।'

त्यसै गरी, कृतिका सम्पादक राजकुमार बानियाले वासु शशी लेखनाथ, देवकोटा, सम, भूपि, रिमालहरूको लहरका कवि भएको र नयाँ पुस्ताले उनका कविता पढ्न नपाएकोमा आफूले यो कृति ल्याउन प्रयास गरेको बताए ।​वासु शशी स्मृति परिषदले आयोजना गरेको कार्यक्रममा परिषदका सचिव कवि प्रधुम्न जोशीले यो कृतिबाट शशीलाई नयाँ पुस्ताले अध्ययन गर्ने अवसर प्राप्त गर्ने बताए ।

शशीका ८ वटा कृतिबाट समालोचक राजकुमार बानियाले चयन गरेका ११८ वटा कविताहरू यस सङ्ग्रहमा समावेश गरिएका छन् । पुस्तकलाई बुकहिलले क्लासिक सेरिज अन्तर्गत 'हार्डकभर'मा सार्वजनिक गरेको हो । २६४ पृष्ठको किताबको मूल्य ५५५ रहेको छ ।


Author

थप समाचार
x