साहित्य

सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ सार्वजनिक

इकागज |
असार ७, २०७९ मगलवार ८:५२ बजे

काठमाडौँ- लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ,  अभिनेता खगेन्द्र लामिछाने, वरिष्ठ लोक गायिका  शर्मिला गुरुङ र लेखक सुरेश प्राञ्जलीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा लेखक प्राञ्जलीसँग अभिनेता लामिछानेले पुस्तक एवम् यसको भाषिका आदिका विषयमा आधारित रहेर अन्तर्संवादसमेत गरे । उक्त अवसरमा आप्रवासनविद् गणेश गुरुङले प्राञ्जलीको उपन्यासको विषय एवम् प्रभाव आदि विषयमा आफ्नो मन्तव्य राखेका थिए । नेपालको इतिहासको एउटा कालखण्डको एउटा भूगोलमा दुई विभिन्न जातिको बीचमा एकदम मार्मिक तवरले चित्रण गरिएको प्रेमकथालाई सूक्ष्म रुपमा चित्रण गरेको उनले बताए । साथै भाषिक सौन्दर्यका दृष्टिले पनि उपन्यास अति उपयोगी रहेको उनको भनाइ थियो ।  


‘उपन्यास पढें । पढ्दै गर्दा यसले साह्रै मन छोयो । सकिई त हाल्यो,’ उनले भने, ‘उपन्यास सकिइसक्दा पनि यति छिट्टै किन सकिए होला भन्ने भइरह्यो । एक किसिमको थकथकी लागिरह्यो ।’उपन्यास पढिसकेपछि यहाँका पात्रहरुको अवस्था अहिले केकस्तो होला, कहाँ होलान् भन्ने भान पनि परिरहेको उनले बताए । ‘उपन्यास पढ्दा यस्तो पनि लाग्यो, कताकता यो मेरै गाउँको कथा हो, त्यति मात्र होइन, मेरैबारेमा मलाई नै पात्र बनाएर लेखिएको हो कि भन्ने पनि भइरह्यो,’ उनले भने, ‘उपन्यास पढ्न सुरु गरेपछि छाड्न फिटिक्क मन लाग्दैन । पढिरहूँ लाग्छ । तानिरहन्छ ।’

लेखक एवम् अभिनेता खगेन्द्र लामिछानेले उपन्यास पढिरहँदा आफ्नै समाजका कथाव्यथा आफ्नै आँखाअगाडि आए जस्तो प्रतीत भएको बताए । ‘यो उपन्यास मलाई मेरै परिवेशको कथा, मेरै समाजको लाग्यो । आफ्नो गाउँको बारीको डिलमा बसेर तल्तिर, मास्तिर अनि पर्तिरका मान्छेहरुको जीवन हेरिरहे जस्तो पनि लाग्यो,’ उनले भने, ‘भाषिक दृष्टिले त मैले झनै अपनत्व महसुस गरें । साहै्र नोस्टाल्जिक भएँ ।’ तसर्थ पुस्तक पठनीय रहेको उनको भनाइ थियो  ।

पानीघट्टमा सुरेश प्राञ्जली भाषासँग मज्जाले खेलेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए । एउटा जोहरीले गरगहनामा जसरी काम गर्छ, त्यसरी नै सुरेशले भाषामा काम गरेको उनको भनाइ थियो  । ‘पहिलो पुस्तक राम्रो लेख्नेले दोस्रो पुस्तक राम्रो लेख्दैन भन्ने नेपालमा एउटा न्यारेटिभ जुन बनेको छ, जुन म मान्दिनँ । त्यो न्यारेटिभलाई सुरेशको नयाँ उपन्यासले भत्काउँछ भन्ने मलाई लाग्छ ।’  

कार्यक्रममा लेखक प्राञ्जलीले आफूले सानैदेखि गुरुङ एवम् रोधी संस्कृतिका विषयमा पढ्न मन लागेको र त्यसको अभाव महसुस भएकाले आफैंले उपन्यास लेख्ने जमर्काे गरेको बताए । साथै गुरुङ संस्कृतिलाई मूल धारको साहित्यमा ल्याउनुपर्छ भनेर पनि आफूले पानीघट्ट लेखेको उनको भनाइ छ । ‘रोधी संस्कृति, लाहुरे परम्परा आदि विषयमा लेखिएका पुस्तक एकदमै कम छन्,’ उनले भने, ‘त्यसैले पनि त्यो अभाव पूर्ति गर्न पानीघट्ट उपन्यास लेखेको हुँ ।’  पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

 


Author

थप समाचार
x