साहित्य

कथाकार श्रेष्‍ठको ‘अपहरण’ कथासङ्ग्रह सार्वजनिक

इकागज |
साउन २७, २०७९ शुक्रबार २१:२५ बजे

काठमाडौँ- कथाकार भरतकुमार श्रेष्ठ ‘विवश’ द्वारा लिखित ‘अपहरण’ कथासङ्ग्रह सार्वजनिक भएको छ । शुक्रबार काठमाडौँमा दायित्व वाङ्‍मय प्रतिष्ठान, नेपालको आयोजना तथा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा उक्त कथा संग्रह सार्वजनिक भएको हो ।

कृति लोकार्पण गर्दै डा. ध्रुवचन्द्र गौतमले  कथाहरू औपन्यासिक आधारको रहेको बताएका छन् । 'कतिपय कथाहरूलाई तन्काएर लघु उपन्यास वा उपन्यास बनाउन सकिन्छ,' उनले भने,'  उहाँमा उपन्यास लेख्नसक्ने कला पनि यी कथाहरूमा देखिएको छ । यसकारण अब आउने कृति उपन्यास होओस् भन्ने म चाहन्छु ।`


प्रा.डा. रामप्रसाद ज्ञवाली र ज्ञानु अधिकारीले  ‘कथाहरू ग्रामीण परिवेशका, उच्च र निम्न वर्गका विभेद विरुद्धका र केही स्वदेश र केही विदेशी धरातल प्रतिविम्बित हुने खालका मझौला देखि लामो आकारसम्मका रहेको तर सबै कथाहरूमा जीवन र जगत बोलेको’ कुरा उल्लेख गरे ।

दायित्व वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व तथा कवि निराजन मौद्‌गल्यले कार्यक्रम सञ्चालन गरेका थिए । लेखक भरतकुमार श्रेष्ठ ‘विवश’ले आफू परिस्थिति वश बेलायतमा बस्नुपरे पनि मन सधैँ नेपालमै रहेकोले नेपाली भाषा साहित्यलाई सधैँ माया गरिरहने धारणा व्यक्त गरे ।

दायित्व वाङ्‍मय प्रतिष्ठानका महासचिव डा.लेखप्रसाद निरौला, विश्लेषक प्रा.डा. सुरेन्द्र के.सी., समाजसेवी श्री श्यामसुन्दर श्रेष्ठ र लेखककी माता मिसिरी श्रेष्ठले लेखकलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघद्वारा प्रदान गरिएको लघुकथा प्रतियोगिता बारेको द्वितीय पुरस्कार लेखक भरतकुमार श्रेष्ठ ‘विवश’लाई प्रदान गरिएको थियो ।

 

 


Author

थप समाचार
x