साहित्य

इजोरिया : सशक्त लेखकका रूपमा सुबिनको पुनर्जन्म

प्रविण ढुंगेल |
भदौ २८, २०७९ मगलवार ७:४३ बजे

‘इजोरिया’ पुस्तकको पहिलो आवरण सामाजिक सञ्जालमा आएसँगै जिज्ञासा थियो- पुस्तक कस्तो होला ? के कस्ता पात्रहरूद्वारा कथनी कसरी अगाडि बढ्ला ?
‘समर लभ’, ‘साया’, ‘मनसुन’ र ‘प्रिय सुफी’मार्फत युवाहरूको ढुकढुकी बनेका सुबिन भट्टराई युवाहरूबीच ब्रान्ड नै बनेका छन् । जसको साक्षी बुक लन्चका दिन लाग्ने युवाहरूको अनि अन्य पाठकहरूको बाक्लै भीड हो ।

झन् पुस्तक निस्केको साल त उनी बेस्ट सेलर राइटरका रूपमा धेरै लिस्टमा अटाउँछन् जसरी अटाएका छन् पाठकहरू मन र मस्तिष्कमा । पुस्तकको सेटिङ र लोकेसन चयन गज्जपको गर्दै पाठकहरूलाई पढिरहेको बखत ती स्थानमा सयर गराउँछन्, मोहनी लाउँछन् र पात्रहरूका इमोसनलको बहावमा मज्जाले डुबाउँछन्, उतार्छन् र एउटा अमीट छाप छाड्छन् । अहिलेका युवा जमातको प्रेमका आरोह–अवरोहलाई सरल, सहज र मजेदार शैलीमा प्रस्तुत गर्ने आर्ट बहुत खुब लाग्छ उनको ।


उनको नवोदित कृति ‘इजोरिया’ नाम मात्रै प्रयोगात्मक हैन, उनका विगतका कृतित्वभन्दा एकदमै फरक लाग्यो । एउटै तौर–तरिकाको लेखे, नयाँ कुरा दिएनन्, सेम फर्मुला रिपिट रिसाइकिल गरे भन्‍नेहरूका लागि यो कृतिले उनी नयाँ प्रयोग नि गर्न सक्छन् है भन्‍ने देखाउँछ ।

पाठकका रूपमा मलाई उपन्यासले सुरुदेखि अन्त्यसम्मै बाँधेर राख्यो र साथसाथै जनकपुरको पावन भूमिमा मधेसको हावासँग कावा खाँदै पात्रहरूमा आफैँलाई ढाल्दै मजेदार सफर गरायो । रेल चढायो, खेत खलिहान र तराईका वस्तीहरूमा गामगमाइत गरायो, पन्सुरीको दोकानबाट मिठा पान खिलायो, वात्सल्यका दिनमा केही पर पुर्यायो, र अलिकता आफू उतैको भूमिमा जन्मेर यता हुर्के तापनि बाल्यकाल र युवाकाल केही उतै बिताएको भान गरायो ।

आफ्ना अघिल्ला कृतिभन्दा उनको कथन शैली, परिवेश चयन र पात्रहरूको प्रस्तुतीकरणमा केही नयाँपनको आभास गरेँ मैले । ठेट मधेसी भाषा प्रयोग, गामठामका आयामवियाम र मीठो वर्णनले झनै मोहित गरायो ।

उपन्यासको भाग एकमा मैले सुदृढ, नयाँ र फरक प्रयोग गर्न नहिच्काउने र आफ्नो कम्फर्ट जोनभन्दा बाहिर आएका सुबिनजीलाई पाएँ भने; भाग दुईमा युवाहरूमा क्रेज जमाएका ट्रेन्ड सेटर सुबिनजीलाई पाएँ । भाग तीनमा अलिअलि अर्को बुकका लागि सन्दर्भ पाइने आस पाएँ ।

उपन्यास मलाई रोमान्स उपन्यास, दर्शन संग्रह, सामाजिक चित्रण, अनेकन् इमोसन अनि अन्य सन्दर्भहरूका तालमेलमा सामञ्जस्य भएको ककटेल, मकटेल र ‘सक’टेल लाग्यो; एकदमै मीठो र यादमा बसिरहने । साँच्चै नढाँटी भन्दा पुस्तकको लाइन ‘जून त घरको एउटै आँगनमा झरेको थियो, खै किन किन कोठा सबै उज्यालो हुन सकेन’ कतै नमिलेको हो कि, बेमेल ननसेन्स हो कि जस्तो लाग्थ्यो तर; पढेपछि पूरापूर सेन्सवाला अनुभव भयो ।

उपन्यासमा मायाप्रेम, विद्रोह, बाबुछोरीबीचको तनाव र माथापच्चीसी, पवनीको उल्लास, जोस र जाँगर, अभिभावक हुनुको अर्थ, प्रेम र विवाह, प्रेम र यौन, मनोवैज्ञानिक सन्दर्भ सबै पाएँ । अभिभावक हुनाको आशय सन्ततिका लागि हिम्मत, प्रेम, समुचित हेरचाह र रक्षाका अलावा मीठो सम्बन्ध बनाउने भए पनि कहिलेकाहीँ बा वा आमाको गल्तीका कारण सम्बन्धको गाँठो जेलिन्छ भन्‍ने बुझेँ । मिसकम्युनिकेसन (अर्थहीन संवाद), सकारात्मक नाता र विश्वास नहुँदा आउने समस्या र दुरीको ज्ञान पाएँ । 

पात्र चयन पनि मजेदार लाग्यो– बा शंकर, आमा रमिला, छोरीहरू शिरीष र सिम्रिक (मुख्य भूमिका भएका दिदीबहिनी), ठाकुर, रामबली, कहावत चाचा, ठाकुरकी माई, बिसनलाल, प्रशान्त, अभियान, गजराज आदिमा आफ्नै समाजका पात्र र चिनेका नचिनेका अनुहारहरू सम्झेँ । कथानक कहीँ कतै हतारमा बगेजस्तो, कतै अनावश्यक लामो खिचिएको जस्तो र कतै ढिला कछुवा गतिमा हिँडेजस्तो भान हुन्छ कसैलाई । तर, मलाई चैँ मज्जैसँग तान्यो । पढिसक्न लेखकका अघिल्ला कृति भन्दा ट्याम नि लाग्यो । ओजपूर्ण र गम्भीर, गम्न पर्ने र बीच बीचमा रोकिदै मन परेका लाइन र ज्ञानका कुरा नोट गर्न परेकाले पनि ढिलो भयो पढ्न ।

पुस्तकको सेटिङ र लोकेसन चयन गज्जपको गर्दै पाठकहरूलाई पढिरहेको बखत ती स्थानमा सयर गराउँछन्, मोहनी लाउँछन् र पात्रहरूका इमोसनलको बहावमा मज्जाले डुबाउँछन्, उतार्छन् र एउटा अमीट छाप छाड्छन् ।

उपन्यासमा सबै थोकको बुफे डिनर पाएँ– रोमान्स चाहिए रोमान्स, अहिले कोलिन हुभरका फ्यानहरूलाई तान्‍ने अलिअलि हट रोमान्स, सोच्न बाध्य गराउने फेमिनिज्म, ग्रामीण समाजशास्त्र, साइकोलोजिकल कन्टेक्स्ट, कल्चरल ककटेल, मधेसको जनजीवन र चाडबाडको मीठो वर्णन, युवावस्थामा झाङ्गिने प्रेम र आकर्षण अनि अहिलेको जमाना देहरूपी मायाप्रेमका आयाम । 
उपन्यासमा मलाई अझ बदलिएको समयमा देखिएको, आभास हुने र भोगेको सुनेको पढेकोभन्दा फरक माया–प्रेम, विवाह, जीवन–जगत्‌, मान्छेका रङबारेको गहन दर्शन ।

मधेस आन्दोलनका कारण आफ्नो घर–जग्गा सस्तो भाउमा बेचेर मधेस छाड्न परेकाहरू, सुरक्षा फौज र आक्रोशमा डुबेका मधेसी युवाहरूको अवस्था, जनयुद्धमा अनेक सपना देखेर सामेल भएकाको कथा व्यथा केही च्याप्टरमा पाएँ । केटा र केटी हित्तचित्त मिलेका नजिकका साथी मात्रै रहिरहनै सक्दैनन् भन्‍नेहरूका लागि सिम्रिक र ठाकुर (रङ–रोगन नमिलेको भन्दै गिज्याइएका) को दोस्तीले दिल जित्यो । आमा हुनाको भाव, प्रभाव र स्वभाव पनि मज्जासँग इमोसनका साथ लेखेका छन् । छोरीको विद्रोह, बाबुसँगको टकराव, नियमित पौठेजोरी र त्यसको कारण थाहा हुँदा मुटु ढक्क हुन्छ । बलात्कार, पारिवारिक कलह र हिंसा अनि यौन शोषणका प्रसंग अनि न्यायको खोजीवाला पक्ष अझै बलियो हुनुपर्ने कि जस्तो नि लाग्यो केही बेर ।

तर, कुल मिलाएर समग्रमा भन्‍नुपर्दा उपन्यास मलाई सबै थोक मिलेर पकाएको मीठो खिचडीझैँ पनि लाग्यो । अर्को कुरा, उपन्यासमा केटा र केटीको सम्बन्ध यौनको परिधिबाहिर स्वच्छ, सहज र सरल बन्‍न सक्छ भन्‍ने नि मज्जाले देखाउनु भएको छ । आलोचनात्मक रूपमा हेर्दा केही त्रुटिहरू छ उपन्यासमा तर मलाई पाठकका रूपमा भन्‍नुपर्दा उनको अघिल्लो भन्दा एकदमै पृथक् लाग्यो यो उपन्यास । 

पुस्तकमा बाआमाको घृणा र गाली अनि कुटपिटमा पनि प्रेम अप्राप्य र अव्यक्त रूपमा रहेको हुन्छ भन्‍ने देखाएको छ । सन्तान र अभिभावकका बीच उब्जने तिक्तता र तनावको पनि प्रतिविम्ब पाएँ मैले । सुबिनजीले कोभिड कालपछि प्रकाशनमा ल्याउनुभएको यो उपन्यासले एक किसिमले साहित्य वृत्तमा सशक्त लेखकका रूपमा उनको पुनर्जन्म भएको भान गरायो मलाई ।

समग्रमा भन्‍नुपर्दा मलाई ‘इजोरिया’ यस्तो लाग्यो :
इजोरिया गुमेको वात्सल्यको कथा हो । 
इजोरिया लुटिएको अस्मिताको कथा हो ।
इजोरिया मधेसको माटोको कथा हो । 
इजोरिया आशा–भरोसा र निराशाको कथा हो । 
इजोरिया अस्तित्व लडाइँको कथा हो । 
इजोरिया स्वतन्त्रताको कथा हो । 
इजोरिया छोरीको विद्रोहको कथा हो । 
इजोरिया आमाको मौनताको कथा हो । 
इजोरिया बाबुको निर्दयी निर्मोही कुटपिटको कथा हो । 
इजोरिया त्याग र बलिदानको कथा हो । 
इजोरिया भविष्य निर्माणको कथा हो । 
इजोरिया तीता–मीठा सपनाको कथा हो । 
इजोरिया जीवन–जगत्‌को कथा हो । 
इजोरिया भोगाइको कथा हो । 
इजोरिया टुट्ने–फुट्ने–जुट्ने प्रेमको कथा हो । 
इजोरिया मारिएका–मासिएका रहरको कथा हो । 
इजोरिया स्मृतिको कथा हो । 
इजोरिया अमिट वात्सल्यका यादको कथा हो । 
इजोरिया मधेसी माटो–बाटो–घाटको कथा हो ।
इजोरिया स्वच्छन्द उडानको कथा हो । 
इजोरिया न्याय प्राप्तिका लागि गरिएको प्रयासको कथा हो । 
इजोरिया परिवर्तन र परावर्तनको कथा हो । 
इजोरिया दबिएका आवाजको कथा हो । 
इजोरिया अटल हिम्मतको कथा हो । 
इजोरिया साहित्यिक र प्रयोगधर्मी कलाको मेलोडी भएको कथा हो ।
अत: उपन्यासको नाम किन ‘इजोरिया’ रह्यो भन्‍ने थाहा पाउन चैँ पुस्तक नै पढिदिनुहोला है त । मज्जासँग पुस्तकको अन्तसम्म पुग्दा नाम किन ‘इजोरिया’ रहेछ भन्‍ने बुझ्नुहुनेछ ।   

कृति : इजोरिया (उपन्यास)
लेखक : सुबिन भट्टराई 
प्रकाशन : फाइनप्रिन्ट 
मूल्य : ६४८
पृष्ठ : ४८४


Author

प्रविण ढुंगेल

ढुंगेल हाल त्रिविमा पत्रकारिता तथा आम सञ्चारमा स्नातकोत्तर अध्ययनरत छन् ।


थप समाचार
x