साहित्य

अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि पाँच कृति चयन

इकागज |
असोज १६, २०७९ आइतवार २२:१ बजे

काठमाडौँ - हरेक वर्ष गैरआवासीय नेपाली लेखकद्वारा लेखिएको सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने दुई लाख रुपैयाँ राशिको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि पाँच उत्कृष्ट कृति मूल्यांकन समितिले सिफारिस गरेको छ ।

छनोटमा परेका पुस्तकमा चेतनाथ आचार्यको 'रूइबा' (उपन्यास), नगेन्द्र न्यौपानेको 'बर्मा र थाइल्यान्डभित्र नेपाल' (नियात्रासंग्रह), अजित उत्सवको 'आकाशगङ्‌गाको किनार' (कवितासंग्रह), दीपा मेवाहाङ राईको 'यादको सन्दुक' (कवितासंग्रह) र काङमाङ नरेश राईको 'तेप्लायु' (कवितासंग्रह) छन् ।


पुरस्कार व्यवस्थापन समितिको बैठकले उक्त सिफारिसलाई अनुमोदन गरी थप अध्ययन गरेर उल्लेखितमध्ये सर्वोत्कृष्ट कृतिलाई यस वर्षको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने जानकारी गराइएको छ ।

छनोटमा परेको आचार्यको 'रूइबा' मा तामाङ संस्कृतिको प्रभाव र महिलाको आजीवन कठिन संघर्षलाई उठाइएको छ । न्यौपानेको 'बर्मा र थाइल्यान्डभित्र नेपाल'मा वैचारिक निबन्धको झलक पाइने जनाइएको छ । यस्तै, काङमाङ नरेश राईको कविता 'तेप्लायु'मा सरल र कलात्मक कविता संगालो छ । दीपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक'मा जीवन, प्रेम र समाजसित जोडिएका स्मृतिजन्य सुकोमल भावलाई काव्यिक धरातलमा लेखिएको छ ।

उत्सवको ‘आकाशगङ्‌गाको किनार'का कवितामा युगौंदेखि नेपाली समाजमा उनिएर रहेका विभेद, तिरस्कार र अन्यायको विरोध तथा पहिचानको आवाज उठाइएको छ ।


Author

थप समाचार
x