साहित्य

नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा

इकागज |
मंसिर १५, २०७९ बिहिवार १०:२१ बजे

काठमाडौं - दुई दशकयताको नेपाली साहित्यमा अत्यधिक चर्चित उपन्यास ‘पल्पसा क्याफे’ नाटकका रुपमा पनि काठमाडौंका दर्शकहरूमाझ प्रदर्शित भइसकेको छ । अब भने त्यहि नाटकलाई पब्लिकेशन नेपालयले पाठकसामु पुस्तकका रुपमा प्रस्तुत गरेको छ । बुधबार थापागाउँस्थित मण्डला थिएटरमा उक्त नाट्य रुपान्तरित पुस्तकको विमोचन सम्पन्न भएको छ । उपन्यासलाई नाटकका रुपमा सुरज सुवेदीले रुपान्तरण गरेका हुन् ।

सो अवसरमा उपन्यासलाई नाटकका रुपमा पुनरलेखनको अनुभव सुनाउँदै सुरज सुवेदीले भने- 'मैले उपन्यासको कथावस्तुमै रहँदारहँदै पनि आफ्नो कल्पनाशीलतालाई प्रयोग गरेको छु; कतिपय पात्रको भूमिकालाई 'रिभर्स' समेत गरेको छु ।' उनले थप प्रष्ट्याए-'झण्डै दुईदशक अघिको कथालाई वर्तमान परिवेशमा ल्याउँदा; अझ भनौं एउटा उपन्यासलाई नाटकमा रुपान्तरण गर्दा यो पुस्तक उपन्यास जस्तै भने छैन ।' नाट्य लेखक सुरजले उपन्यासलाई नाट्य रुपान्तरण गर्दा मूल लेखक नारायण वाग्लेले आफूलाई पूर्ण स्वतन्त्रता दिएको पनि उल्लेख गरेका थिए ।


नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ले २०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । त्यसको अंग्रेजी अनुवादलाई पब्लिकेशन नेपालय र भारतबाट पनि ‘र्‍याण्डम हाउस’ ले १२ वर्षअघि प्रकाशन गरेको थियो । यो क्रमलाई पछ्याउँदै उक्त उपन्यासको कोरियन, फ्रेन्च र सिंहली भाषाका अनुवाद पुस्तकहरू पनि प्रकाशित भइसकेका छन् ।

यसै क्रममा गत वर्ष लेखक सुरज सुवेदीले यस पुस्तकलाई नाटकका रुपमा रुपान्तरण गरेका थिए । सुरजले गरेको रुपान्तरणमा आधारित दुई घन्टाभन्दा लामो नाटकलाई विमल सुवेदीले निर्देशन गरेका थिए ।

थिएटर भिलेजको आयोजनामा यो नाटकलाई मण्डला थिएटरमा प्रस्तुत गरिएको थियो । त्यसै क्रमलाई निरन्तरता दिँदै मण्डला थिएटरमै यस पुस्तकको विमोचन आयोजना गरिएको हो । थिएटरमा हाल नाटक महोत्सव चलिरहेको छ ।

‘यो नाटकभरि उपन्यासकै झल्को आइरहन्छ,’ सुरजले गरेको रुपान्तरणबारे लेखक एवं पत्रकार वसन्त बस्नेतको टिप्पणी छ, ‘तर, नयाँ पटकथामा उनिएका यसका दृश्य र संवादहरूले नयाँ स्वाद बोकेको छ ।’

लेखकका अनुसार उपन्यासमा त्यसका नायक दृश्य र नायिका पल्पसा प्रमुख पात्र थिए भने नाटकले उनीहरूलाई पर्खेर बसेकी हजुरआमाको कोणबाट कथा भनेको छ । उपन्यासलाई नाटकमा रुपान्तरण गर्ने कार्य कोभिड महामारीका बेला चलेको बन्दाबन्दीकै चरणमा सम्पन्न भएको जानकारी पनि लेखक सुवेदी दिन्छन् ।

यो पुस्तकको आवरण तयार पार्दा ‘पल्पसा क्याफे’ उपन्यासको पहिलो संस्करणकै झलक दिन खोजिएको छ भने नाटकमा पल्पसा भएर अभिनय गर्ने नायिका श्रृष्टी श्रेष्ठलाई नै मोडलका रुपमा प्रयोग गरिएको छ ।

‘पल्पसा क्याफे’ पब्लिकेशन नेपालयको पहिलो प्रकाशित पुस्तक थियो भने ११२ पृष्ठको यो नाट्य रुपान्तरण पनि यस पब्लिकेशनबाट प्रकाशित पहिलो नाट्य पुस्तिका बन्नपुगेको छ ।

दुई सय ९५ रुपैयाँ मूल्य राखिएको यो कृति मुलुकभर सबैजसो प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ ।​ईबुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुनेछ ।


Author

थप समाचार
x