साहित्य

यःमरि बनाउँदै पुस्तक विमोचन

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १२:२ बजे

काठमाडौँ- काठमाडौं नेवारी संस्कृतिसँग सम्बन्धित चित्रपुस्तक ‘यःमरि’ बुधबार राजधानीमा फरक शैलीमा विमोचन भएको छ । सधैं अतिथिका साथमा पुस्तक लोकार्पण हुने चलनभन्दा भिन्न स्टेजमै प्रत्यक्ष यःमरिसमेत बनाएर देखाइएको थियो । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक÷चित्रकार कृषा ताम्राकारका साथमा  दि एलिट्स को–एड स्कुल स्वयम्भूका बालबालिकाले पुस्तक विमोचन गरे । सँगसँगै सेफ रविन श्रेष्ठले छेउमै यःमरि बनाउन  थाले । उद्घोषक लुनिभा तुलाधरले कार्यक्रम अगाडि बढाइरहिन् ।

यःमरिका लागि चाहिने सामग्री र बनाउने तरिका बताउँदै सेफ श्रेष्ठले यःमरि बनाइरहँदा दर्शकहरुले चासोपूर्वक हेरिरहेका थिए । कार्यक्रममा इलाइट्स को–एड स्कुलका ५ कक्षाकी विद्यार्थी शैना महर्जन, डेनियल कँडेल र ४ कक्षाकी रक्षा खनालले पुस्तकको पहिलो भाग वाचन गरेर सुनाए भने सोही स्कुल कक्षा ५ की विद्यार्थी सनिरा शाहीले पुस्तकमाथि समीक्षा गरिन् । चाकु र चामलको झगडा परेको भाग आफूलाई खुब मन परेको उनले बताइन् ।


लेखक ताम्राकारले यःमरिको इतिहास र किंवदन्तीलाई नयाँ शैलीमा प्रस्तुत गरेको      सुनाइन् । सन् २०१८ मै पुस्तकको तयारी गरिएको उनले बताइन् । किन र कसरी खाने भन्ने वैज्ञानिक कोणलाई पनि पुस्तकमा समेटिएको भन्दै उनले बालबालिका मात्रै नभई अभिभावकका लागि पनि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरिन् ।

कथालयकी सीईओ सुनिती अमात्यले विमोचन कार्यक्रमको नयाँ शैलीलाई उत्साहका रूपमा लिएको बताइन् । कथालयले बालसाहित्य मात्र नभई किशोर साहित्यसमेत प्रकाशन गरिरहेको जानकारी गराउँदै उनले अन्तर्राष्ट्रिय लेखकका नेपाली संस्करण प्रकाशन गर्दै आएको    बताइन् । १५ वर्षअगाडि स्थापना भएको कथालयले निरन्तर गुणस्तरीय, सचित्र, रंगीन बालपुस्तक प्रकाशन गरिरहेको उनको भनाइ थियो ।

यःमरि बनाउँदै यःमरि पुस्तक विमोचन गरिएको कार्यक्रम समापनपछि सहभागी अतिथिहरूलाई यःमरि खुवाएरै बिदाइ गरिएको थियो ।​यःमरि नेवारहरूले मंसिर पूर्णिमाका दिन मनाउने निकै पुरानो चाड हो । अमर, माया, मीनु तीन साथीको जिज्ञासा र हजुरबाले सुनाउनुभएको यःमरिको रोचक कथा यसमा समावेश छ । हास्य र चित्रको मिश्रण रहेको पुस्तकले यःमरि चाड कसरी सुरु भयो भन्ने किंवदन्तीबारे पनि जानकारी दिन्छ ।

माया र मीनु अमरको घरमा यःमरि खान जान्छन् । मिठो मानीमानी यःमरि खाइरहेका बेला मीनुले यसको काल्पनिक कथा सुनाउँछिन् । चाकुका टुक्रा चामलको थुप्रोमाथि झरेको, उनीहरूबीच झगडा परेको, त्यही क्रममा पग्लिएका चाकु चामलको पिठोको डल्लाभित्र पसेको कथा सुन्दा अरू साथी छक्क पर्छन् । अमर उनीहरूको जिज्ञासालाई शान्त बनाउन हजुरबासँग यःमरिको थप कथा सुनाउन आग्रह गर्छन् ।

हजुरबाले खानाको खोजीमा पनौती गाउँ पुगेको भिखारीको दुःखबाट कथा सुरु गर्नुहुन्छ । एउटा घरमा पुगेपछि भिखारीले थपीथपी यःमरि खान पाउँछ । कहिल्यै मुखमा नपरेको नयाँ परिकारको स्वाद लिन पाउँछ ऊ निकै खुसी हुन्छ । केहीबेरमा ऊ त कुबेरको रूपमा प्रकट हुन्छ र एउटा बिमिरो दिन्छ । बिमिरो त्यो घरका दम्पतीले के गर्लान् ? त्यही बिमिरो यःमरि पूर्णिमासँग कसरी जोडिएको छ ? पुस्तकले यःमरि चाडको सुरुवाती किंवदन्तीबारे धेरै कुरा भन्छ ।

यःमरि बनाउने तरिकाबारे पनि चित्रसहित प्रस्तुत गरिएकाले पुस्तक बालबालिका मात्र नभई अभिभावकका लागि समेत उपयोगी छ । यसअघि धेरै पुस्तकमा चित्र बनाएकी कृषा ताम्राकारको आफ्नै चित्रसहित यो पहिलो प्रकाशित पुस्तक हो । विभिन्न समुदायलाई जोड्ने कथामा काम गर्न उनी रुचाउँछिन् । क्युरेटोरियल कला र शिक्षा परियोजनामा आबद्ध उनले आर्टुडियोमार्फत युवाहरूलाई चित्रपुस्तक सिर्जनामा प्रोत्साहन गर्दै आएकी छन् । 


Author

थप समाचार
x