साहित्य

कथा ‘रिलोड’ हुन्छ : बाघखोर प्रज्ञा ३

लिलाराज खतिवडा |
कात्तिक ३०, २०७७ ७:१ बजे

कुनै बेला एउटा चलाख खरायोले घमन्डी सिंहलाई निकै रोचक जुक्तिको प्रयोग गर्दै इनारमा खसालेर मार्न सफल भएको थियो । त्यस घटनाको लगभग एक वर्षसम्म जंगलमा ‘को राजा?’ भन्‍ने एक किसिमको होड नै चलिरह्यो ।

घमन्डी सिंहलाई एउटा मामुली खरायोले निकै घतलाग्दो जुक्ति लगाएर मारेपछि केही दिन जंगलमा मसानघाटको जस्तो सन्‍नाटा छायो । सिंह मरेपछि जंगलमा आतंक हुँदैन भन्‍नु एक किसिमको भ्रम सावित भइसकेको थियो । सिंहको अवसानपछि जंगलमा अनेक छोटे राजाहरू मनसुनका भ्यागुता जसरी पैदा भए । जंगलमा भयानक अराजकताले बास गरिसकेको थियो । नियम, कानुन र सम्पूर्ण संविधान नै बासी भएर उधूम मच्चिएको थियो ।


अब जंगलका सारा जनावरहरू भन्‍न थाले,  ‘राजा भएकै राम्रो ।’ त्यो सिंह राजा हुँदा बरु हाइसन्चो थियो । कमसेकम हरेक बिहान एउटा सिकारको व्यवस्था गरिदिँदा त भइ नै हाल्थ्यो । अहिले त यहाँ स्याल, हुँडार, ब्वाँसाहरूकै अत्याचार बढेको छ । यी नालायकहरूको अत्याचार सहनुभन्दा त कुनै सिंह वा बाघलाई नै राजा मानेर बस्‍नु उचित हुन्छ भन्ने निर्णयमा जंगलका सर्वसाधारणहरू पुगिसकेका थिए ।  

यसपश्चात् जंगली जनावरहरूमाझ अनेक झडप भए । कैयौँ हारजित । अनि कैयौँ जितहार । केही मारिए । कोही घायल भए । कतिपय लुकेर बाँचे । जंगलमा एक किसिमको विश्वयुध्द नै भएजस्तो भान हुन थालेको थियो । जताततै चित्कार, सित्कार, रोग, भोक र शोकको तुँवालोले त्यो घना जंगललाई छपक्कै छोपेको थियो ।

अन्ततः एउटा मस्त भाले बाघलाई कसैले माथ खुवाउन सकेन । त्यस खास जंगलमा सिंहहरू मासिइसकेका थिए । त्यसैले ‘सेमिफाइनल’सम्म पुगेका चितुवा, हात्ति, गैँडा, भालु लगायतका प्रायः सबैलाई त्यस बलवान भाले बाघले भकाभक पछार्यो । पञ्जा र दाह्राले गहिरा चोटहरू उत्पन्‍न गरिदियो । सबै भागारेभाग भए ।

अनि ऊ कहलियो फेरि एक पटक जंगलको राजा !

हामी मान्छेहरूको भाषामा कहनु पर्दा उक्त बलवान बाघ एउटा चक्रवर्ती सम्राट हुन पुगेको थियो । कुनै बेला नेपालकै लिगलिगमा तीव्र गतिमा कुद्न सक्ने ‘एथलेट’ राजा कहलिन्थ्यो । कतै कुस्ती जितेर राजा हुने प्रचलन पनि थियो । कतै मान्छेका टाउका गिँडेर राजा हुन्थे । झुपडीमा जन्मिएकाहरू पनि आफ्नो तप, सिध्‍दी र अतिमानसिक शक्तिको प्रयोगले राजा वा चक्रवर्ती सम्राट कहलिएका दृष्टान्तहरू मनग्ये भेटिन्छन् । त्यसैले बलशाली उक्त भाले बाघ अरु जनावरलाई माथ खुवाएर जंगलको राजा भएन होला भन्‍न सकिने अवस्था पनि थिएन ।

हारेकाहरूबाटै उसले मन्त्रीमण्डल पनि बनाइभ्यायो । प्रधानमन्त्री, प्रधानसेनापति, प्रधानन्यायाधीशहरू समेत चयन गरिए ।

सपथ ग्रहण कार्यक्रमको समापनपछि जंगलमा जयजयकार सुरु भयो । त्यस बडेमानको पाटेबाघलाई चलनअनुसार मुकुट पहिर्याएपछि ऊ आफ्ना जनताहरुसमक्ष एउटा छोटोमिठो भाषण पनि दिन तम्सियो ।

भयंकर गर्जनसँगै आँखा हल्का बन्द गरेर अनि कहिले आधा पलक खोलेर राजाबाघले एउटा मन्द मुस्कान छर्दै आफ्नो भनाइ सुरु गर्यो ।

उसले पहिले आहारकै कुरा निकाल्दै भन्यो, ‘अब राजा भएपछि सिकारमा निस्किनु मुनासिब नहुने हुँदा हरेक दिन घाम उदाउनासाथ मलाई एउटा बलियो र जिवित सिकारको व्यवस्था गरिनु पर्छ । तयार ?’

मन्त्रिमण्डलका सदस्यलगायत त्यहाँ उपस्थित सबैले एकै स्वरमा भने, ‘तयार, महाराज !’

‘आजको सामूहिक भोज तयार ?’ महाराजबाट थप सोधनी भयो ।

सबैले उसैगरी भने, ‘तयार, महाराज !’

गर्जनले जंगल थर्काउँदै राजा बाघले अगाडि बोल्यो, ‘त्यसो भए शुभ काममा केको देरी ?’

‘महाराजको जय हो !’ भन्दै केही पदाधिकारी एकातिर अलप भए ।

अनि बियाँलो नगरी घिस्याउँदै केही खाइलाग्दा हरिण, कस्तुरी र मृग जस्ता जनावर ल्याएर राजालाई भेट गरे ।

हेर्दाहेर्दै राजाले सिकार सफाचट तुल्यायो ।

त्यहाँ उपस्थित सबै आआफ्नो सिकार उधिनेर आमाशयमा हुल्न थाले । अनि उनीहरूले राति अबेरसम्म जूनको उज्यालोमा मयूर नचाएर आनन्द लिइरहे । कोइली, मैनालगायत अन्य गीत गाउन खप्पिस पन्छीहरूका गीत सुनेर खुशियाली मनाइरहे ।

अन्य बाघ, चितुवा, हात्ति, गैँडा, भालु लगायत त्यहाँ उक्त जंगलका प्रायः सबै जनावरहरू उपस्थित थिए । आकाशमा उड्ने पन्छीहरूको आफ्नै फराकिलो राज्य भएकाले उनीहरू केवल रमिते बनेर भुर्रभुर्र यताउति उडिरहन्थे । पन्छीको राजा चिललाई भने विशेष अतिथिका रुपमा निम्तो गरिएको थियो । केही कोरली चिलहरू लिएर अलिक ठूलो आकारको एउटा भाले चिल मञ्‍चमा राजा बाघ र अन्य अतिथीहरूसँग बडो अदबकासाथ बसेर नाचगान हेरिरहेको थियो ।

दर्शक दीर्घामा एउटा घनघोर आश्‍चर्य पनि उपस्थित थियो । हात्तिहरूको झुण्डमा एउटा तेह्रचौध वर्षको केटो थियो । गैँडाको केटो नभएर मान्छेको केटो । परिचयका क्रममा एउटा हात्तिले त्यस सभामा बताएअनुसार कुनै निष्ठुरी आमाले एक वर्ष पनि नपुगेको एउटा नवजातलाई जंगलमा ल्याएर मिल्काएर गएकी थिई । केही ढोई हात्तिहरूले किल्कारी छाडेर रोइरहेको त्यस नवजातलाई फेला पारे । अनि आफ्नो बासस्थानमा लगेर सुत्केरी हात्तिको दूध पिलाएर हुर्काए । तबदेखि नै ऊ हात्ति समुदायमा छ । मान्छेको त्यो बच्चो छावाहरूसँगै खेल्छ । अनि उनीहरूसँगै आहार खोजेर खान्छ । त्यस केटालाई हलिउडको भाषामा भन्‍नुपर्दा ‘टार्जन’ !

उक्त नवराजा बाघका पाँच पुस्ताले क्रमशः त्यस घनघोर जंगलमा राज गरे । यो कथा भने पाँचौँ पुस्ताको राजा बाघको हो ।

ऊ अरुभन्दा अलिक बढी नै क्रुर थियो । जहाँ उसका अग्रजहरू चौबिस घण्टामा एकपटक मात्रै भोजन गर्ने गर्दथे भने ऊ चाहीँ चौबिस घण्टामा तीनचारवटा जनावर मारेर ज्यूनार गरिदिन्थ्यो । बिहान सबेरै एउटा जनावरले ‘ब्रेकफास्ट’स्वरुप उसको आँगनमा अनिवार्य उपस्थित हुनुपर्ने नियम पनि यथावतै थियो । जनावरहरू पालैपालो आफूलाई बली चढाउन राजाबाघको मुखमा पुग्‍ने गर्दथे ।

यसका अलावा महाराज स्वयं जंगलको सयरमा निस्किन्थे र साँझसम्म थप केही जनावर मारेर खाइदिन्थे वा केवल मनोरञ्‍जनका लागि सिकार गरेर जंगलमा त्यसै छाडेर आउँथे । अनि राजाबाघले चनासो छिनाएर मारेका ती जनावरहरूको मासु स्याल, हुँडार, ब्वाँसा र गिध्दहरू लुछिलुछि खान्थे ।

उता त्यो ‘टार्जन’ केटाका लागि चितुवा र अन्य जनावरहरूले कैयौँ दिन ‘रेकी’ गरिवरि ताक मिलाएर जंगल पारीको मानव बस्तिबाट एउटी सातआठ वर्षकी केटीलाई अपहरण गरेर ल्याइदिएका थिए । जंगली जनावरले लगेर केटीलाई मारेर खाएको अनुमान घर, परिवार र समाजले गरे ।

उता जंगलमा त्यो केटी अत्याधिक त्रासले गर्दा कैयौँ दिनसम्म अर्धमूर्छित जस्तै भई । ‘टार्जन’ केटाले केटीको खुब ख्याल राख्यो । अन्य जनावरले पनि औधी माया गरे । मिठामिठा फलफूलहरू खोजेर ल्याइदिए ।

बिस्तारै केटी त्यहाँ रत्तिन थाली । अनि युवकसँगको प्रेममा चुर्लुम्म भई । एक दिन भव्य समारोहका बीच राजाबाघको प्रमुख आतिथ्यमा उनीहरूको विवाह पनि गरिदिए । त्यस अनकन्टार जंगल राज्यका बुध्दिमान जनावरहरू चाहन्थे कि केटाको बिऊ नमासियोस् । र, ऊ मानव प्रजातिको भएर पनि आफ्नै आमाबाट परित्यक्त भएको हुँदा उसको हिफाजत गर्ने कुरामा पनि उनीहरू उत्तिकै सचेत थिए । जंगल राज्यमा अन्य जनावरहरूका लागि बनेका प्रायः कानुन त्यस ‘टार्जन’ केटालाई लागू हुँदैन थिए ।

उता हरेक दिन कुनै न कुनै जनावरले बाघको आँगनमा भोजन बनेर उपस्थित हुनुपर्ने नियम यथावत भएकाले र राजाबाघको अत्याचार अत्याधिक बढेकाले हरिण प्रजातिमा एउटा निकै मेधावी युवक कसरी बाघलाई सिध्याउन सकिन्छ भनेर अनेक जुक्ति खियाउने गर्दथ्यो ।  

एकदिन जब उसको परिवारको पनि पालो आयो बाबुचाहीँ जानका लागि तयार हुँदैगर्दा जवान हरिणले भन्यो, ‘म जान्छु, बुबा । आज म त्यस बाघलाई सदाका लागि सिध्याएर आउँछु ।’

‘सिध्याएर आउँछु ? हन, के भन्छ यो, लुरे ?’ आमा हरिणले चेतावनी दिँदै भनिन्, ‘हामीले कहिल्यै बाघ समुदायको कुभलो चिताउनु हुँदैन । उनीहरूको आहार बनिदिनु नै हामी हरिण प्रजातिको धर्म हो ।’

जवान हरिणले बडो दृढ आवाजमा भन्यो, ‘यी सब भए अब पुराना कुरा, आमा । अहिले प्रजातान्त्रिक युग हो । निर्वाध बाँच्‍न पाउने युग हो ।’

सबै मिलेर सम्झाउँदा पनि उसले नमानेपछि बाबु हरिणले आशान्वित लवजमा भन्यो, ‘आखिर मर्नु त छँदैछ । एकपटक नयाँ पुस्ताको जुक्ति पनि हेरिहालौँ, न त । भनाइ पनि छ नि, मर्नुभन्दा बहुलाउनु निको !’

अनि जवान हरिण एकदिन जंगलको राजालाई परास्त गर्ने आफ्नो महान हिम्मत लिएर दरबारतर्फ हान्‍नियो ।

जाँदाजाँदै उसले आफ्नो बाल्यकालको साथी बाह्रसिंगालाई भेटेर भन्यो, ‘कि आज त्यो राजा बाघ सकिन्छ कि म । लौ, साथी सम्झाउनी बिर्साउनी यस्तै हो जिन्दगानी । कहिल्यै जानान्जान गल्ती भएको भए माफ पाउँ ।’

बाह्रसिंगालाई अंकमाल गरेर हरिण आफ्नो योजनाअनुसार राजा बाघसमक्ष अलिक ढिलो पेश भयो ।

‘किन ढिलो ?’ भनेर राजा बाघ गर्जिहाल्यो ।

जवाफमा बडा नम्र पाराले जवान हरिणले स्वस्ती गर्दै भन्यो, ‘ठिकै समयमा हिँडेको हुँ, महाराज । तर बाटामा हजुर जस्तै अर्को बाघले छेक्यो । पहिले त मैले उसलाई हजुर नै होला भन्ठानेँ । आज ज्यादा हिँड्नु पनि नपर्ने भयो भनेर दंग परेको त, ऊ अर्कै निस्कियो । अनि मलाई देखेर आहा मेरो ‘ब्रेकफास्ट’ भनिहाल्यो ।

मैले उसलाई आफ्नो यस्तै नम्र आवाजमा भनेँ, एकपटक महाराजको अनुमति लिएर मात्रै म तपाईंको आहार बन्‍न सक्छु ।

अनि उसले सोध्यो, को महाराज ?

मैले हजुरको नाउँ लिएँ ।

अनि उसले गर्जिँदै भन्यो, ‘यो जंगलको राजा म हुँ । यहाँ मलाई जित्ने अर्को कोही पनि छैन । तेरो राजा कहाँ छ लिएर आइज । अनि म यहाँ आएको । त्यही भएर ढिलो भएको हो, महाराज । यसमा अन्यथा भए माफ पाउँ । अब हजुर मेरो शरीरलाई लुछिलुछि खाएर आफ्नो भोक मेटाइबक्स्योस्, प्रभु !’

राजा बाघले भन्यो, ‘होइन ! तँलाई खाएँ भने मलाई फेरि त्यस् झ्याँक्नेको ठेगानामा कसले पुर्याउँछ ? बरु हिँड् अबेर नगरी । आज बिहानैदेखि देब्रे आँखो किन फुर्फुरायो भनेको त त्यस नक्कली राजासँग लाप्पा खेल्न पो रहेछ !’

हरिण अघि लाग्यो । अनि राजा बाघ लुरुलुरु हरिणका पछिपछि एक दिशामा लम्कियो । महाराजका आउरेभाउरेहरू पनि पछि लागे । जवान हरिण अघिअघि । त्यसपछि बुढो हुँदै गएको राजा बाघ । त्यसपछि मन्त्रिमण्डल, प्रधानसेनापति आदि । त्यो लावालस्कर हेर्न लायक नै थियो ।

‘अब कति टाढा छ ?’ केहीबेर लगातार हिँडेपछि राजा बाघले हरिणलाई सोध्यो ।

‘जति अहिले हामी हिँड्न भ्यायौँ, अब अरु त्यति नै होला, महाराज ।’ हरिणले सहस्र बतायो ।

यस्तैमा प्रधानसेनापतिले राजालाई बिन्ति बिसायो, ‘महाराज, हामी एकसाथ घटनास्थलमा पुग्‍नु मुनासिब नहोला । त्यसैले यो लुरे हरिणसँग मौसुफ एक्लै अगाडि बढिबक्स्यो् । हामी घटनास्थललाई घेरा हालेर अलिक वरै तैनाथ  हुन्छौँ ।’

राजा बाघले सकारात्मक मुन्टो हल्लाउँदै भन्यो, ‘तिम्रो राय मुनासिब छ, प्रधानसेनापति । त्यो दुश्मन बाघ हाम्रो यो विशाल जत्था देखेर भाग्‍न पनि सक्छ । त्यसैले केटा हो, तिमीहरू अलिक दूरी कायम गरेरै आउलास् । त्यसो त त्यस पाजीलाई म एक्लै पनि काफी छु । तर पनि भरअभर...!’

महाराजको आज्ञा शिरोपर गरियो ।

केहीबेर हिँडेपछि एउटा इनार देखा पर्यो । हरिण त्यस इनार छेउमा पुगेर टक्क अडियो ।

‘खोइ कहाँ छ त्यो ?’ राजा बाघ गुर्रायो ।

‘त्यो यहिँ छ, महाराज । त्यसले अघि मलाई आफू यसै इनारभित्र बसिरहेको हुनेछु भनेर भनेको थियो ।’

राजाबाघ त्यो फुच्चे हरिणलाई पुलुक्क हेरेर हल्का मुस्कुरायो । उसको मुस्कानमा अथाह कुटिलता थियो । 

अनि उसले इनारभित्र चियायो । त्यहाँ उसको अनुहार परावर्तित भयो ।

‘त्यही हो, महाराज ! हेरिबक्स्योस् त तल पानीमा पनि कस्तो शानसँग बसेको छ ?’ हरिणले उस्तै पारामा भन्यो ।

राजाबाघले मुन्टो हरिणतर्फ फनक्क घुमायो । राताराता आँखाले हरिणलाई हेर्दै भन्यो, ‘मलाई झुक्याउन खोज्छस्, काठा ? सिंह र खरायोको यो कथा त मैले तीन कक्षामै पढेको !’

‘त्यसो होइन, महाराज । तल इनारमा साँच्चै नै एउटा बाघ बसेको छ । कथामा काकताली मात्रै पर्न गएको हो ।’ यसो भनेर हरिण अलिक पछाडि सर्यो ।

ठिक त्यसै बेला एउटा बलियो बाह्रसिंगा नजाने कताबाट दगुर्दै त्यहाँ टप्कियो र भ्वाक्क बाघलाई पछाडिबाट हान्यो । बाघ ढुन्मुनाउँदै इनारमा झर्यो ।

बाह्रसिंगा यसै हरिणको साथी थियो । उनीहरूले निकै राम्रोसँग सल्लाह मिलाएका रहेछन् ।

बाघ इनारमा झरेर भर्याकभर्याक गर्न थालेपछि उनीहरू अबेर नगरी जंगलमा एकातिर अलप भए ।

केहीबेरमा राजाको लावालस्कर पनि त्यहाँ आइपुग्यो । तर धेरै ढिलो भइसकेको थियो । इनारभित्र त्यस राजाबाघले प्राण त्यागिसकेको थियो ।

भोलिपल्ट एउटा बृहत सभामा सत्ता हातमा लिएको प्रधानसेनापति गैँडाले त्यस जवान हरिण र उसको साथी बाह्रसिंगालाई अभिनन्दन गर्दै भन्यो, ‘राजा सिध्याउने हाम्रो यस खतरनाक षड्यन्त्रलाई सफल बनाउने हरिण र बाह्रसिंगा महोदयलाई आज यहाँ यसरी अभिनन्दन गर्न पाउँदा हामी अपार हर्षले विभोर भएका छौँ ! सबैको जय होस् ।’

अनि त्यस सभामा उपस्थित भाइभारदार र सम्पूर्ण जनावरहरूले परर ताली बजाए । उनीहरूको तालीको गडगडाहट जंगलमा निकै टाढाटाढासम्म फैलियो ।


Author

थप समाचार
ad
x