साहित्य

कविता

कोलम्बसको बाटो छेक

विनोदविक्रम केसी |
कात्तिक १, २०७७ शनिबार ८:४५ बजे

अक्टोबर १२, १४९२ को त्यो भयानक दिन
एक हातमा हतियार र अर्काे हातमा ग्रन्थ बोकेर 
हिरा, मोती, सुन, चाँदी र मरमसलाको खोजीमा 
एक हूल बेचैन असभ्यहरु 
आइपुगे 
आफैंमा आनन्दित आदिवासीको भूमिमा 
नाइके कोलम्बसले दलबललाई भन्यो-
‘यो हो नयाँ संसार 
बर्बर, जंगलीहरुको संसार 
भिल्लहरुको देश’ 

कोलम्बस पुग्छ जहाँ-जहाँ 
बनाउँछ दुइटा संसार; 
नयाँ र पुरानो 


हजारौं वर्षदेखि बहिरहेको पुरानो हावा 
हजारौं वर्षदेखि ठडिइरहेको पुरानो पुर्ख्यौली खाँबो 
हजारौं वर्षदेखि बगिरहेको पुरानो नदी 
हजारौं वर्षदेखि बात मारिरहेको पुरानो जंगल 
हजारौं वर्षदेखि रहिरहेको पुरानो संसार 
हठात् नयाँ हुन पुग्छ 

दूरआकाशका अतिथि सम्झेर 
कोलम्बसको जमातलाई 
मनकारी आदिवासीले दिए
खानेकुरा र पानी
र, बाँडे प्रेम  

कृतघ्‍न घातीहरुले बदलामा 
लुट्न थाले सबथोक 
रुखहरु लुटिए 
बालिकाहरु लुटिए 

लुट र हत्याको चलिरह्यो शृंखला नृशंस...  
कोलम्बस मान्छेको शिकार गरेर कहिल्यै अघाउँदैन 

विद्वान्‌हरू सुझ्नु न बुझ्नु भनिदिन्छन्- 
‘भिल्लका देशमा फालिन्छन् मणि’
लोभ र मोहले प्रदूषित नभइसकेको चोखो संसारले त हो
मिल्काउन सक्ने मणि ! 
कञ्चन हृदयले न जान्दछ मोल 
न रहर गर्छ स्वामित्वको ! 

कोलम्बसले पाइरह्यो विद्वानहरुको साथ 
विज्ञान उसकै, धर्मशास्त्र उसकै, 
मानवशास्त्र उसकै, समाजशास्त्र उसकै, अर्थशास्त्र उसकै 
बस्, कविता छ एउटा, कोलम्बसलाई हत्यारा भन्ने 
कविता एक्लै त छ, कोलम्बसलाई लुटेरा भन्ने  

अब अचेल कोलम्बस 
भीड बाँधेर आउँदैन 

सात समुद्रपारि 
स्काइसक्रेपरको माथ्लो तलामा बसेर  
सिर्फ एउटा ल्यापटपका भरमा 
ऊ संसारभरि पुग्न सक्छ 
(नआएर पनि आउन सक्छ... 
कति मायावी छ !)  

कोलम्बस जुन मार्गबाट पनि आउन सक्छ
जलमार्ग, थलमार्ग, हवाईमार्ग, तरङ्गमार्ग 
मनमार्ग, मस्तिष्कमार्ग  

त्यो नयाँ चमचमाउँदो स्मार्टफोन भएर आउन सक्छ 
सिलिकन भ्यालीको दूत भएर आउन सक्छ  
हाइड्रोपावरमा लगानी भएर आउन सक्छ 
अथवा, टाउकोमा बरफ–पानी खन्याउने ट्रेन्ड भएर आउन सक्छ 

मलाई 
कोलम्बसविरुद्ध होहल्ला गर्न मन छ 
केही साथीभाइ पाए 
अझ टन्न जाँड खाएर उल्कै हल्ला गर्ने थिएँ 

सडक नाटक देखाएर 
त्यो हिंड्ने सडक ड्याम्मै छेकिदिने थिएँ 

अक्टोबर १२, २०२० को यो भयानक दिन 
मलाई फुरेको छ एउटा नारा 
जसको प्रस्तावित बोल छ-
‘कोलम्बसको बाटो छेक' ।


Author

विनोदविक्रम केसी

कवि @binodbikramkc को ‘भोकको क्षेत्रफल’ कविता संग्रहका प्रकाशित छ । उनी निबन्ध र अनुवादमा पनि उत्तिकै सिपालु छन्, जति सम्पादनमा ।


थप समाचार
x