साहित्य

मेलम्चीघ्याङका पुर्ण गौतम र साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई जुगल सम्मान

इकागज |
फागुन २९, २०७९ सोमबार २१:५१ बजे

चौतारा - सिन्धुपाल्चोकको चौतारा बजारमा रहेको जुगल बोर्डिङ हाइस्कुलले जुगल शिक्षा सम्मानबाट पुर्ण गौतम र जुगल साहित्य सम्मानबाट चन्द्रप्रसाद न्यौपानेलाई सम्मानित गरेको  छ ।  सोमबार सम्पन्न स्कुलको ३३औं वार्षिकोत्सव समारोहमा उनीहरूलाइ सम्मान गरिएको स्कुलका सम्मान संय‍ोजक किशोर बुढाथोकीले बताए । 

गौतम  हेलम्बु गाँउपालिकास्थित मेलम्चीघ्याङ माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।  काभ्रेमा जन्मिएका गौतमले विकट मेलम्चीघ्याङ गाउँमा विद्यालय स्थापना गरि आवासीय सामुदायिक विद्यालयबाट उत्कृष्ट शिक्षा प्रदान गरिरहेका छन् । उक्त विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन उनले गरेका काम प्रशंसनीय छ । 


चन्द्रयुग महाकाव्यका रचयिता न्यौपानेका ४ दर्जन बढी साहित्यिक कृति प्रकाशित छन् । उनका सिर्जना विद्यालयका पाठ्यक्रममा समेत समावेश छन् भने उनको महाकाव्य चन्द्रयुग विश्वका ठुला पुस्तकहरुमध्येमा पर्छन् । 

कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधि सभा १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटा प्रमुख अतिथिको रुपमा आफूले उक्त स्कुलमा प्रारम्भिक बाल कक्षा पढेको अनुभव सुनाए । जुगल बोर्डिङमा तत्कालीन स्थापनाकर्ता र उनीहरूक‍ो योगदानको चर्चा गर्दै सापकोटाले स्कुलका विद्यार्थीले गरेका प्रस्तुतीकरणको पनि खुलेर प्रशंसा गरे । 

स्कुलमा ओलम्पिक गेमका स्वर्ण पदकधारी राष्ट्रिय तेक्वान्दो  खेलाडी दिपक विष्ट र चर्चित गायक रामकृष्ण ढकाललाई समेत सम्मान गरिएको स्कुलका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले बताए । गायक ढकालले आफ्ना कालजयी गीतहरू समेत कार्यक्रममा प्रस्तुत गर्दा दर्शकहरू मन्त्रमुग्ध बनेका थिए ।


Author

थप समाचार
x