साहित्य

सापकोटाको `चिसो बाफ´ चितवनबाट प्रि-लञ्च

इकागज |
चैत १५, २०७९ बुधबार १९:१९ बजे

भरतपुर। लेखक गोपी सापकोटाको नयाँ उपन्यास ‘चिसो बाफ’को प्रि-लञ्च गरिएको छ । नेपाली साहित्यमा प्रयोगधर्मी नाटककारका रुपमा स्थापित सापकोटाको यो दोस्रो उपन्यास हो ।

सम्पूर्ण किताब नारायणगढमा बुधबार गरिएको कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अतिथिहरूले एकैपटक पुस्तक प्रि-लञ्च गरेका हुन् । प्रि-लञ्चपछि लेखक सापकोटासँग पुस्तकका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा पाठकहरूले पुस्तकमा लेखकको हस्ताक्षर पनि गराएका थिए ।


पुस्तकका सन्दर्भमा बोल्दै कवि एवम् समीक्षक ईश्वर कँडेलले चिसो बाफ उपन्यासमा शारीरिक रूपमा अशक्त महिला र मानसिक रूपमा अस्वस्थ पुरूष पात्रलाई कथावस्तुमा उतारेर आख्यानकारले आख्यानमा प्रयोगधर्मितालाई जोडेको बताए । `उपन्यासमा लेखनको जादू छ, भाषा काव्यिक छ, पुस्तक पढ्दा पुराना हिन्दी सिनेमाको झझल्को आउँछ´, कँडेलले भने । साहित्यकार गोविन्दराज विनोदीले स्रष्टाको नवीन प्रयोग उपन्यासमा भेटिएको बताए । `नाटकमा काम गरेका गोपीले यो उपन्यासलाई नाटककै ढंगले सिर्जना गरेका छन् । उपन्यास पठनीय बनेको छ´, विनोदीले बताए ।

कार्यक्रममा स्रष्टाहरू धनराज गिरी, भूपिन, सूर्यप्रकाश कँडेललगायतले गोपी सापकोटाको लेखनकारिताका बारेमा आफ्ना धारणा राखेका थिए । उपन्यासकार सापकोटाका अनुसार `चिसो बाफ’ शारीरिक स्वास्थ्य बिग्रँदै गएकी एक युवती र मानसिक स्वास्थ्य बिग्रँदै गएको एक युवकबीचको प्रेम र सम्बन्धको कथा हो । `मानिसको मस्तिष्कको धागो कतै गुजमुजिएपछि अलमलिने जीवनको लय र त्यही धागो कतै चुँडिएपछि भत्कने जीवनको समन्वय 'चिसो बाफ'का विषय हुन्´, सापकोटाले भने - `कथानकमा कल्पनाशीलता र संरचनामा नवीन प्रयोग चिसो बाफका विशेषता हुन्, आख्यान पढ्ने पाठकलाई फरक स्वादको उपन्यास दिने कोसिस गरेको छु ।´ नाटक लेखनमा आफ्नै खाले प्रयोग गर्ने गरेका गोपीले यो उपन्यासमा विशेष प्रयोग गरेको बताए ।

सापकोटाको २०७७ सालमा कलम प्रकाशनबाट प्रकाशित उपन्यास ‘काँचो कागज’ ले राम्रो चर्चा पाएको थियो । दोस्रो उपन्यास चिसो बाफ पनि कलम प्रकाशनले नै प्रकाशन गरेको हो । कविता तथा नाटक लेखनबाट साहित्यमा प्रवेश गरेका सापकोटाको २०५२ सालमा प्रकाशित `एक अन्त्य एक सुरुवात´ कवितासङ्ग्रह पहिलो कृति हो । त्यसपछि `पूर्णविराम´ नाटकसङ्ग्रह २०५५, `कमिलाको सपना´ बालकथासङ्ग्रह २०५७, `खरानी´ नाटकसङ्ग्रह २०६०, `गुलाफको एस्ट्रेमा मृत्यु´ कवितासङ्ग्रह २०६३, `कालो आकृति´ नाटकसङ्ग्रह २०६४, `अ सुसाइड नोट´ अङ्ग्रेजी कवितासङ्ग्रह २०६७, `प्रेम कतिपय´ नाटक २०६९ गरी अहिलेसम्म दशवटा कृति प्रकाशित छन् । नवलपरासी जिल्लाको गैंडाकोट घर भएका सापकोटा बेलायतमा बसोबास गर्छन् । पुस्तकको विशेष विमोचन कार्यक्रम भने आगामी शनिबार काठमाडौंमा राखिएको छ ।


Author

थप समाचार
x