साहित्य

विनोदविक्रम केसीलाई १५० बाट ६ हजारसम्म पुग्‍न किन दुई दशक लाग्यो ?

विमल आचार्य |
बैशाख ३१, २०७८ १६:३० बजे

वर्तमानमा नेपाली कविता कति बलियो छ, कवितामा सूक्ष्म हेराइ र तीक्ष्ण लेखाइ कस्तोसम्म हुन्छ, कविताले कसरी दिमाग खराब गर्दै मन सफा गरिदिन सक्छ, यी र यस्ता सवाल आउँदा एक जना कविको नाम अनायासै आइहाल्छ— विनोदविक्रम केसी । शब्दको चाङ मिलाउन जानिइयो भने तपाईंले अहिले पढिरहेको यही भाषा कतिसम्म धारिलो, स्वादिलो र रसिलो हुन सक्छ, जवाफ जान्न केसीका कविता पढे हुन्छ । उसो त अखबार र अनलाइनहरूमा घरीघरी आउने उनका निबन्धमा पनि कविताको रूप र सार खिचिएकै हुन्छ ।  कविता होस् वा निबन्ध, उनले कहीँ नछोड्ने वात्स्यायनको कागझैँ स्थायी अस्त्र के हो भने— रकमी राजनीतिप्रतिको रौद्र र चपाइएका अनुहारप्रति न्यायको स्वार्थ । 
उनीबाट ‘भोकको क्षेत्रफल’ कवितासंग्रह पैदा भएको पनि झन्नै दशक नै भयो । यसबीच उनले दर्जनौँ आगो कविता कोरलेका छन्, जस्तो कि— ‘जुलुस गइरहने मान्छे’, ‘लालबहादुर घरभित्रै छ’, ‘बलात्कृतको राष्ट्रिय गीत’, ‘कोलम्बसको बाटो छेक’, ‘सुनतस्कर छोटो मन्तव्य’, ‘मुटु कुल्चिजाने एक दिवसमाथि सनातन दुःखीको टिप्पणी’, ‘तेस्रो उखुशास्त्रीको खोजी’, ‘तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ’, ‘अन्ततः शासकले औकात देखाउँछ’, ‘शासकलाई दिव्य सुझाव’, आदि इत्यादि । हुनलाई उनका ‘छ पांग्रे ग्यास च्याम्बर’, ‘बाबाको लोकतान्त्रिक आँगन’, ‘नलीहाड फुकिरहेको डोजर’हरू पनि कविता नै हुन्, तर उनले–सम्पादकले निबन्ध भनेर छापिदिए । 
केसी काठमाडौँको दक्षिण दिशाबाट बस चढेर सहर ओहोरदोहोर गर्छन् । दिनमा उनी दुई घन्टासम्म बसमा बिताउँछन् । एक वर्षअघिसम्म उनी रंगीन पत्रिकाहरूमा सादा पत्रकार थिए । मित्रमण्डलीको सानो घेरामा रमाउनु, कलाका अनेक अवतारमा शयर गर्दै हेडफोनमार्फत संसार विचरण गर्नु अनि धुवाँ (र, धूलो) मा धुम्मिनु उनका अम्मल भनौँ वा स्वभाव हुन् । रतिभन्दा आत्मरतिमा बढी रमाउने जमानामा उनको चित्तकोशमा आत्मरति, आत्ममुग्धता र आत्मप्रचार जस्ता आत्मघातहरू भने गयल छन् । उनी सामाजिक सञ्जालमा अन्टसन्ट लेखेर, कमेन्ट गरेर, सेअर गरेर बसिरहँदैनन् । बरु यदाकदा स्ट्याट्स वा ट्वीट मात्र हुन सक्ने कुरालाई पनि कविता बनाइदिन्छन् र पारिश्रमिक बुझ्छन् । अखबारहरूमा डेढ दशकजति सम्पादन र अनुवाद गरेका उनी अब यही काम पुस्तकमा गरिरहेछन् । उनै गणतान्त्रिक औ मार्क्सवादी विक्रमसँग विमल आचार्यद्वारा र्‍यान्डम बातचित गरिएको छ । स्वीकार्नुस्, संवाद :

यो वार्ता गर्ने भन्ने कुरा सुन्दा मलाई कस्तो कस्तो लाग्छ, म स्कुल पढ्दा, सबै कुराको स्रोत रेडियो नेपाल मात्र भएका बेला मैले हापुरेमा सरकार–माओवादी वार्ता भनेर यो वार्ता शब्द पहिलो पल्ट सुनेँ जस्तो लाग्छ... 
मेरो पनि सबै कुराको स्रोत रेडियो नेपालै थियो (र त, अहिले यो हालत छ ! ज्ञान र सूचनाको मेरो साँघुरो दायराको कुरा गरेको हुँ, किनभने स्रोतै रेडियो नेपाल थियो नि त !) वार्ता चाहिँ प्यालेस्टाइनी नेता यासिर अराफात र अरू को–को जातिको भन्ने बाक्लै सुनिन्थ्यो । उही स्रोत रेडियो नेपालबाट । अनि शिखर वार्ता भन्ने पनि कानमा खुब ठोकिन्थ्यो । 
तपाईंलाई कस्तो वार्ता बढ्ता मन पर्छ ?  
हेर्ने वार्ताबाटै कुरा सुरु गरम् । टेलिभिजन टक सोमा ‘टक’ मरिसक्यो, ‘सो’ मात्रै बाँकी छ । अझ केही वर्षयता ऋषि धमलाको ‘स्ल्यापस्टिक’ले टक सोलाई ‘डबल मजाक’ बनाइदिएको छ । अर्काे रमाइलो के छ भने धमलाका पनि अनुयायी हुँदा रहेछन् । हुँदा रहेछन् मात्र होइन, बढिरहेका रहेछन् । अनि, एक जना साइकोप्याथ छ नि, अर्णव गोस्वामी भन्ने घृणा–सरदार । उसका पनि नेपाली अवतार रहेछन् र गच्छेअनुसार गर्जन र डाको काँचको बाकसबाट निक्लिँदा रहेछन् । यस्ता वार्तामा मलाई उति अभिरुचि छैन । धेरै पछि मैले आनन्द मानेर हेरेको वार्ता बसन्त बस्नेत र खगेन्द्र संग्रौलाको थियो । शिलापत्रको ‘च्या खानुभो ?’ कार्यक्रमको । मलाई यस्तै वार्ता हेर्न, सुन्न र पढ्न मन लाग्छ । दुई जना स्वाँठले पाखुरा खैँचिरहेजस्तो लाग्ने खालका वार्ता मन पर्दैनन्; हेर्ने, सुन्ने, पढ्ने जुनसुकै माध्यममा भए पनि । 


ADVERTISEMENT

तपाईंलाई म यो वार्तामा के–के नसोधूँ त ?  
यो सवालहन्ता समयमा, प्रश्न मन नपराइने राजमा, एउटा कविले समेत यो–यो नसोध्नुस् भन्यो भने त्योभन्दा विशाल विडम्बना अर्काे कुन होला ? म यस अपराधमा संलग्न हुन अस्वीकार गर्छु । तपाईं जे पनि सोध्न सक्नुहुन्छ । 

तपाईं अहिले स्वयं थुनिनुभएको छ, ‘लालबहादुर घरभित्र छ’ । यो बेला कस्तो प्रश्नले घर गरिराख्या छ, तपाईंमा ? 
राजनीतिकर्मी कतिसम्म क्रूर हुन सक्छन् ? जनता कतिसम्म निरीह बनाइन सक्छ ? यही प्रश्नमा घोत्लिरहेको छु म । तर, म राजनीतिलाई गाली गरिराखेको छैन । राजनीति मेरा निम्ति एकदम सफा खेल हो । देशको शासक, ठूला राजनीतिकर्मी सबैले के भुलेका छन् भने जनता त्यति निरीह हुँदैन, जति उनीहरू सोच्छन् । इतिहास अलिअलि हेक्का गरे मात्र पनि पुग्थ्यो । कवि विमल निभाले अस्ति मात्रै मसँग भनेका थिए, ‘राजनीतिकर्मीले जे गरिराख्या छन्, त्यसको भत्र्सना गर्नलाई शब्द नै छैन ।’ यो देशको ठूलो कविलाई शब्दसंकट आइपरेको छ ! हामी कति संकटमा छौँ, यो त्यसको प्रमाण हो ।  

अन्ततः शासकले औकात देखाइरहेका बेला शासकलाई तपाईंको दिव्य सुझाव के छ त ?
सुझाव होइन, नसिहत छ । हामी तिमीलाई माफ गर्नेछैनौँ । हामी अक्सिजन नपाएर छटपटिइरहेका बेला तिमीले राजनीतिक पर्यावरणमा फैलाएको डरलाग्दो कार्बनडाइअक्साइडका निम्ति हामी तिमीलाई क्षमा गर्नेछैनौँ । हामी भोकले मरिरहेका बेला तिमीले आफ्नो सात पुस्ताको डकार सुनिश्चित गर्न जे जति धमिला उद्यम गरेका छौ, त्यसका निम्ति हामी तिमीलाई माफ गर्नेछैनौँ । 

कविता के हो भनेर त म सोध्दिनँ, तर कविता किन लेख्नुहुन्छ भनेर चाहिँ सोध्छु । कविता कनेर वा अभ्यास गरेर पनि लेख्न नसकिने विधा हो भन्छन् । कथा, निबन्ध, नाटक, उपन्यास लेख्नेहरू के सर्जक, खास सर्जक त कवि हो जस्तो लाग्छ । किन यस्तो लाग्छ ?
सबैभन्दा पहिले म केमा प्रस्ट छु, मान्छेले अभ्यास तथा प्रयत्नले गर्न नसक्ने कुनै काम छैन, दुनियाँमा । लेखन वा यस्तै प्रतिभा जन्मजात हुन्छ भन्नु घोर भाग्यवादी कुरा हो । जन्मजात केही पनि हुँदैन । छालाको रङ, देह–चिह्न वा कोठीलाई छोडेर । तपाईंलाई खास सर्जक त कवि हो जस्तो लाग्दो रहेछ । मलाई खास सर्जक त असारमा आली लगाउने किसान हो जस्तो लाग्छ । त्यो आलीको सुन्दरतालाई माथ गर्ने कुनै सिर्जना छैन, मेरा निम्ति । कथा, निबन्ध, नाटक, उपन्यास लेख्नेहरूभन्दा कवि कुनै पनि अर्थमा खास सर्जक होइन । यो चाहिँ केही नेपाली कविको अन्तर्राष्ट्रिय स्तरको अहंकारले बोल्ने कुरा भयो ।

कविता किन लेख्नुहुन्छ भन्ने प्रश्न...
प्रश्नको मसँग एउटै जवाफ छ– जीवनवादी आन्दोलनमा सरिक हुन । मेरा निम्ति कविता कुनै भव्य, दिव्य, अलौकिक चिज होइन, बस् न्याय, स्वतन्त्रता र समानताका आन्दोलनमा सहभागी हुने एउटा माध्यम हो । मभित्र एउटा विद्रोही छ र एउटा प्रेमी पनि छ । यी दुईलाई प्रकट हुन एउटा मञ्च चाहिन्छ । सायद म त्यही मञ्च बनाउन कविता लेख्छु । 

तपाईं यता–उताका सकेसम्म–भ्याएसम्म दुनियाँभरको कला चखुवा–खन्चुवा हुनुहुन्छ, तपाईंलाई नेपाली साहित्य, सरी नेपाली साहित्यकारको ठूलो दुःख के लाग्छ ? 
हामी नेपाली साहित्यकार अलि बढी आत्ममुग्ध छौँ । ‘विकेन्ड’मा कुनै रचना छापिँदा हामीलाई लाग्छ– ‘आज तीन करोड नेपालीले मेरो जिनिस पढे ।’ आफ्ना सीमा, दायरा, कमजोरीको बोध नहुनु सायद हाम्रो ठूलो दुःख हो । हामी त्यति राम्रो लेख्दैनौँ, जति राम्रो लेख्छौँ भन्ने हाम्रो दाबी रहन्छ । तपाईंको प्रश्नमा व्यंग्य समाहित छ भन्ने लागेर मैले यसो भनेँ । अभिधामा जाने हो भने लेखेर खान पुग्दैन शैलीको दुःखबारे मलाई केही भन्नु छैन । भरियालाई भारी बोकेर खान नपुग्ने देशमा कसैलाई लेखेर खान पुग्दैन भने नपुगोस् न त !  

साहित्यमा कला र विचार । यिनको मात्रा, अवस्थिति र संक्रमणबारे तपाईंले दुई शब्द व्यक्त गर्नैपर्छ ।   
यो सायद सबैभन्दा घिसीपिटी प्रश्न हो । जवाफ पनि घिसीपिटी नै आउने खतरा हुन्छ । तैपनि, भन्छु— मात्रा सकेसम्म बराबर । अवस्थिति— दायाँबायाँ । संक्रमण— कलाले विचार खाइदिने र विचारले कला खाइदिने शैलीको अवस्था नभए काइदा हुन्थ्यो होला ।   

तपाईंलाई के कुराले लेखाउँछ ? कविता होस् या निबन्ध । 
कहिले आक्रोशले लेखाउँछ, कहिले लेख्नैपर्छ भन्ने आवश्यकताले लेखाउँछ । अनि कहिलेकाहीँ, साथीभाइको आग्रहले पनि लेखाउँछ । 

तपाईंलाई अब पूर्वपत्रकार भन्ने कि फेरि पत्रकारितातिर फर्किने खतरा छ ? किन छोड्नुभयो, यत्रो वर्षदेखिको गिट्टी कुटाइ–भकारो सोहोर्‍याइ ? (कपी एडिटिङलाई भकारो सोहोर्ने भन्ने चलन पनि छ ।)
दाल–भात–रोटीको व्यवस्थाखातिर १२–१३ वर्ष म पत्रकारितामा रहेँ । केही मित्र र उनीहरूसँगको सम्बन्धका कारणले पनि रहेँ । चटक्कै छोडेको होइन, कोरोना भाइरसको चपेटामा परेर छोडेको हो । पत्रकारितातिर फर्किने खतरा सधैँ छ । किनभने, गिट्टी कुट्ने र भकारो सोहोर्ने पुरानो लत छ । लत भन्ने चिजै खतरनाक हुन्छ । र, ‘पश्चगामी’ हुन्छ ।   

तपार्ईंको लेखाइमा अक्सर आलोचना पनि अतिशयोक्तिपूर्ण हुन्छ । व्यंग्य, त्यो आफैँका उपर पनि ज्यानमारा टाइपको हुन्छ । तपाईंको लेखनमा पाठकलाई अँठ्याइराख्ने बेग्लै खालको शक्ति हुन्छ । रसिलो, कसिलो, छरितो, टेसिलो, धारिलो लेख्ने मन्त्र के हो ? 
तपाईंले प्रशंसाको पुल यसरी बाँधिदिनुभयो, मलाई आफ्नो तर्कको तुइन चुँडिएला भन्ने डर भो । मेरो लेखनमा पाठकलाई अँठ्याइराख्ने शक्ति हुन्छ कि हुँदैन, मलाई थाहा छैन । तर, मेरा सीमा र कमजोरीका कारण पाठकलाई मेरो घाँटी अठ्याउने अधिकार भने रहन्छ, यत्ति चाहिँ मलाई थाहा छ । कोरा नम्रतापूर्वक मैले यसो भनेको होइन, है ब्रदर ! तपाईंले भनेजस्तो केही–केही छनक दिने लेखेको रहेछु भने पनि मसँग त्यस्तो कुनै मन्त्र छैन । यसलाई पनि मेरो कोरा नम्रता नठानिदिनुहोला ।   

तपाईं बेला प्रकाशनमार्फत यस्तो बेला पुस्तककारितामा आउनुभयो जति बेला ‘पुस्तकको मृत्यु’ अघोषित भएजस्तो समय छ । हात्ती पढेर ठूलो भएको होइन वा बुद्धले कुन विश्वविद्यालयमा पढेका थिए वा बौद्धिकहरू कोट काट्ने मुसा हुन् भन्ने मन्तव्य विश्वविद्यालयहरूका कुलपतिको आसनबाट आइराख्या छ । सार्वभौम संसद्मै उहाँले कोभिडबारे नयाँ तथ्य ‘मैले भनेको’ भनेर विज्ञताको खिल्ली उडाउनुभएको छ तर यही बेला तपाईं पुस्तक–कर्ममा आउनुभयो । पठनको आवश्यकता र औचित्य अनि भविष्यमाथि प्रकाश पारिदिनुस् भनेँ भने ।  
खासमा यो सबै लेखक वन्दना ढकालको योजना–परियोजना–तानाबाना हो । माइग्रेनकी दीर्घपीडित वन्दनालाई लाग्यो होला, ‘यी केटाहरू (म, सङ्गीत, अन्जान, शैलज र खगेन्द्र गिरी) लाई एक ठाउँमा जुटाएर बेला प्रकाशन किन सुरु नगर्ने ? हद्द भए, माइग्रेनका केही किस्ता नथपिएलान् ।’ र, हामी यसरी जुट्यौँ । हाम्रो कुनै ठूलो महत्त्वाकाङ्क्षा छैन । बस्, दाल–भात–रोटी (र, हप्तामा एक दिन सके मटन, नसके चिकेन) नखलबलाईकन केही अर्थपूर्ण काम गर्न सकियोस् ! 
जहाँसम्म डा. ओलीबाट आउने कुराको सवाल छ, त्यसको कुरै गर्नु बेकार छ । जस्तो, कोरोनाकालमा तपाईंको सरकार पूरै असफल भएर मान्छे मरिरहेका छन् भनेर तपाईंले कदाचित प्रश्न गर्नुभयो भने उनीबाट ‘कार्ल मार्क्स पनि त मरेका थिए’ भन्ने कुरा आउने खतरा रहन्छ । पठनको आवश्यकता र औचित्य अनि भविष्यमाथि प्रकाश पार्ने— यस्तो भारीभरकम काम मबाट हुन सक्दैन । यत्ति चाहिँ भन्न सक्छु— किताब मर्दैन ।

मेरा निम्ति कविता कुनै भव्य, दिव्य, अलौकिक चिज होइन, बस् न्याय, स्वतन्त्रता र समानताका आन्दोलनमा सहभागी हुने एउटा माध्यम हो । 

तपाईं अरुन्धती रोयको ‘द डक्टर एन्ड द सेन्ट’को अनुवाद बजारमा ल्याउँदै हुनुहुन्छ । यसको विज्ञापनमा तपाईं अनुवाद–गर्भदेखि पुस्तक पैदा हुँदासम्मका चरण सुनाउन सक्नुहुन्छ । अरिंगालयुगमा अरुन्धतीहरू यहाँ किन चाहिया छ ?
(नरेश ज्ञवाली र मैले अनुवाद गरेको ‘ती व्रिद्रोही, ती महात्मा’ पढेपछि तपाईंले महात्मा गान्धीबारे बनाएका छवि–विम्बहरूको भूगोलमा स–सानो भुइँचालो जाला कि जस्तो लागिरहेको छ ।)  प्रथमतः भनिहालूँ, अरिंगालयुगमा अरुन्धतीहरू नै चाहिया छ । नेपालमा स–सानो, जेजत्रो प्रतिरोधी जमात छ, तिनका निम्ति अरुन्धती ठूलो भरोसा हुन सक्छिन् । ‘द डाक्टर एन्ड द सेन्ट’मा अरुन्धतीले मुख्यतः महात्मा गान्धी र बीआर अम्बेडकरको तुलना गरेकी छिन् । यस किताबमा गान्धीलाई महात्मा गान्धी बनाउने परियोजना के थियो, अम्बेडकरलाई किन र कसरी इतिहासले अन्याय गर्‍यो आदि प्रश्नका उत्तर पाइनेछन् । नेपालको दलित आन्दोलन र दलित विमर्शलाई यस किताबको अनुवादले थोरै भए पनि सघाउनेछ भन्ने आशा गरेका छौँ । यसको अनुवादमा हामी अनुवादकद्वयलाई अनुवादकद्वय उज्ज्वल प्रसाई र खगेन्द्र गिरीले ठूलो सहयोग गरेका छन् । विज्ञापन पर्याप्त भयो होला, ब्रदर । 

तपाईंले पत्रपत्रिकाका लागि पनि धेरै अनुवाद गर्नुभयो । तपाईंको अनुवाद अनुभूति–अनुभव कस्तो छ ? अनुवादसम्बन्धी तपाईंको सिद्धान्त के हो ?  
मलाई अनुवादमा ल्याउने अभय श्रेष्ठ र राजेन्द्र महर्जन हुन् । कविता, कथा, न्युज फिचरदेखि एनजीओ रिपोर्टसम्मको अनुवाद गरियो । अनुवाद सिद्धान्तहरूबारे मलाई ज्ञान छैन । तर, अनुवादमा मेरो मौलिक सिद्धान्त चाहिँ छ । त्यो हो :
— मूल लेखकको ‘टेक्स्ट’लाई रेसम मान्नू । 
— रेसमलाई नेपालीमा ल्याउँदा रेसम नै ल्याउन खोज्नू । 
— सकिएन भने खद्दरसम्म बनाउनू । 
— तर, रेसमलाई खाक्सी चाहिँ नबनाउनू ।    

जहाँसम्म डा. ओलीबाट आउने कुराको सवाल छ, त्यसको कुरै गर्नु बेकार छ । जस्तो, कोरोनाकालमा तपाईंको सरकार पूरै असफल भएर मान्छे मरिरहेका छन् भनेर तपाईंले कदाचित प्रश्न गर्नुभयो भने उनीबाट ‘कार्ल मार्क्स पनि त मरेका थिए’ भन्ने कुरा आउने खतरा रहन्छ ।

नेपाली वाङमय झुर, अवैध, अपाठ्य भाषान्तरको भारीले थिचिएको पनि छ । राम्रा अनुवादक को लाग्छ, तपाईंलाई ?  
तपाईंले औँल्याउनुभएको भाषान्तरको के कुरा गर्नु ? ती अनुवाद होइनन्, ‘खानुवाद’ हुन् । अर्थात्, तिनले मूल लेखकको लेखनको विशिष्टतादेखि कृतिको मर्म, भाषा सबै खाइदिन्छन् । साथमा, अनुवादकले धेरथोर ज्याला खान्छ, प्रकाशकले टन्न नाफा खान्छ । अनि, त्यस्ता अनुवादका किताबले पाठकको अनुवादप्रतिको सम्मान खाइदिन्छन् । मलाई राम्रा लाग्ने अनुवादक हुन्— खगेन्द्र संग्रौला, वसन्त थापा, दिनेश काफ्ले, बलराम अधिकारी, अभय श्रेष्ठ, प्रवीण अधिकारी, खगेन्द्र गिरी, विकास बस्नेत, राजेन्द्र महर्जन, उज्ज्वल प्रसाई, आन्विका गिरी आदि । यसमा आफ्नै साथीहरूको नाम धेरै लिएछ नभन्नुहोला । छन् तिनै, हुन् तिनै । अनि नलिनु कसरी ?  

तपाईंलाई मन परेका देशी–विदेशी (प्रतिक्रियावादी, विस्तारवादी, साम्राज्यवादीसमेत) लेखक को हुन् ? 
यस प्रश्नमा न तपाईंको सिर्जनशीलता झल्किन्छ, न उत्तरमा मेरो सिर्जनशीलता झल्किनेछ । नाजिम हिक्मेतदेखि नवीन प्यासीसम्म, मोपासाँदेखि श्याम शाहसम्म, तारिक अलीदेखि उज्ज्वल प्रसाईसम्म, नेओमी क्लाइनदेखि कैलाश राईसम्म...आवश्यकता र अभिरुचिअनुसार मैले अलि–अलि पढेको छु । 

अब अन्त्यमा, ‘तेस्रो उखुशास्त्रीको खोजी’ कविता लेख्नुभयो । उखु किसान एक जनाको यहीँ सर्वाेच्च न्यायालय र सिंहदरबारको सामुन्नेमा ज्यान गयो । खासमा अभिमानी ओली सत्ताले स्वाभिमानी पौरखी किसानको ज्यान लियो । उनले भीख मागेका थिएनन्, भोट मागेका थिएनन्, ऋण, अनुदान, छुट, कमिसन, घुस केही मागेका थिएनन्, सिर्फ आफ्नो पसिनाको पैसो मागेका थिए । किसानले ज्यान गुमाए, पार्थिव शरीरमाथि कविता लेखेर कविले पैसा कमाए, मिडियाले भ्युज कमाएर भाइरल कमाए । पसिनाको पारिश्रमिक उठाउन आएका किसानमाथि कविता लेखेर आफूले पारिश्रमिक पाउँदा तपाईंलाई के लाग्यो ? पारिश्रमिकसम्बन्धी तपाईंका अन्य अनुभव पनि सुनौँ ।         
तपाईंको प्रश्नको आक्रामक तर निर्दोष, अबोध र मानवीय मुद्राले चकित बनायो, ब्रदर । मैले पहिलो पारिश्रमिक ‘मधुपर्क’बाट पाएको थिएँ, रु. एक सय पचास । ५३–५४ सालतिर होला । हालसम्म मैले एउटै कविताको सबैभन्दा बढी पारिश्रमिक पाएको ‘शिलापत्र’बाट हो, दुई महिनाअघि छ हजार रुपैयाँ पाएको थिएँ । विनोद चौधरी फोर्ब्सको खर्बपति–सूचीबाट अलिकति खस्दा दुःख मनाउ गर्नेहरू छन्, तर विनोदविक्रम केसीलाई १५० बाट ६ हजारसम्म पुग्न किन दुई दशकभन्दा बढी लाग्यो भनेर कहिल्यै कोहीबाट, कतैबाट खोजीनिती भएन । उखु किसानभन्दा खासै गतिलो हालतमा म पनि छैन । उखु किसानसरह नै पीडित हुँ । त्यसैले त उनीहरूको पीडाले छोइएर कविता लेखेँ । त्यसबापत धेरथोर पारिश्रमिक बुझेँ । यसमा मैले ग्लानिबोध गर्नुपर्ने कुनै कारण छ र ? 



Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार