साहित्य

'एक कविका दर्जन कविता'मा सुनिए कवि प्रकाश चापागाईं

इकागज |
जेठ १४, २०८० आइतबार १५:९ बजे

भरतपुर ।प्रगतिशील कवि प्रकाश चापागाईंको एकल कविता वाचन कार्यक्रम गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा भरतपुरस्थित फोर सिजन पार्टी प्यालेसमा कवि चापागाईंले कविता सुनाएका हुन् । 

कार्यक्रममा कवि चापागाईंले ९ वटा कविता आफ्नै आवाजमा प्रस्तुत गरे । अतिथि वाचकका रूपमा निम्त्याइएका कविहरू नारायण पोखरेल, शिव त्रिपाठी र पुरुषोत्तम आचार्यले कवि चापागाईंका दुई-दुईवटा कविता प्रस्तुत गरे । सपना अर्याल रैलाको संगीतमा कवि चापागाईंले एउटा कवितालाई स्वर भरेका थिए । कवि चापागाईंले सबै कविता छन्दमा सुनाए । २०४६ सालको जनआन्दोलनमा सक्रिय कवि प्रहरीको गोली लागेर घाइते समेत भएका थिए । उनका कवितामा त्यतिबेलाको विद्रोह झल्किनुका साथै सबै कविता मर्मस्पर्शी थिए । चापागाईं प्रगतिवादी कविका रूपमा परिचित छन् ।


कार्यक्रममा भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवि भूपिन, कर्णबहादुर बानिया, उदय अधिकारीलगायतले कवि चापागाईंको कविता लेखन र व्यक्तित्वका बारेमा बोलेका थिए । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले कवि चापागाईँलाई उनका दाजु चेतकान्त चापागाईंको उत्तराधिकारी भएको बताए । `कवि चेतकान्त चापागाईं कोकिल छन्दमा कविता सुनाउनुहुन्थ्यो । दाइको काव्य चेत भाइमा पनि आएको छ । कवि प्रकाश चापागाईं दाजुका उत्तराधिकारी कवि हुनुहुन्छ´, रेग्मीले भने ।

अक्षर समूहका संस्थापक एवम् कवि भूपिनले अक्षर समूहले एकल कविता वाचन कार्यक्रममा मुलुकका प्रसिद्ध कविहरूलाई उभ्याएको स्मरण गर्दै अहिले प्रकाश चापागाईंलाई उभ्याउन पाउँदा अक्षर समूहको ओज बढेको बताए । `कविहरू सरुभक्त, दिनेश अधिकारी, तीर्थ श्रेष्ठलगायतको लहरमा कवि प्रकाश चापागाईं थपिनु नेपाली कवितामाथिको उपलब्धि पनि हो´, भूपिनले भने ।  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डाक्टर अशोक थापाले चितवनमा काम विशेषले आउँदा कवि प्रकाश चापागाईंको कविता सुन्न पाएको र कविता सुनेर आनन्द आएको प्रतिक्रिया दिए । चापागाईंका मर्मस्पर्शी भावका छन्द कविताले आफूलाई मोहित बनाएको पनि थापाले बताए ।

अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले पछिल्लोपटक संस्थाले कृति विमर्श कार्यक्रम धेरै गरेको भए पनि छन्द कविता सुन्ने स्रोताको चाहना बमोजिम यो कार्यक्रम आयोजना गरिएको बताए । सचिव लेखराम सापकोटाले सहजीकरण गरेको कार्यक्रममा करिब १०० जनाको उपस्थिति थियो ।


Author

थप समाचार
x