साहित्य

नगरकोटीको 'कल्प-ग्रन्थ' वाग्लेबाट बोहनी

इकागज |
असार १३, २०७८ आइतबार १२:१४ बजे

काठमाडाैँ :  कुमार नगरकोटीको कथा संग्रह 'कल्प-ग्रन्थ'को वितरण सुरु भएको छ । प्रसिद्ध लेखक एवम् पत्रकार नारायण वाग्लेलाई उनको 'पूर्व-भुक्तान-प्रति' लेखक नगरकोटीद्वारा हस्तान्तरण गर्दै यसको वितरण सुरु भएको प्रकाशक बुक-हिलले जनाएको छ ।

गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी पाठकबाट 'पूर्व-भुक्तानी' लिई 'लिमिटेड एडिसन' मुद्रण भएको किताब कोभिड-१९ को संक्रमणले जनजीवनमा प्रभाव पारेपछि वितरण रोकिएको थियो ।


विभिन्न शैलीका प्रयोगात्मक ७० वटा कथा रहेको 'कल्प-ग्रन्थ'को आफ्नो प्रति हात पारेपछि नारायण वाग्लेले भने, 'मुद्रण र यसको प्रकाशन शैलीले अन्य लेखकलाई पनि लेखन र प्रयोगमा उत्साह थप्नेछ, यो एउटा मानक किताब बन्नेछ ।'सम्पूर्ण पाठकप्रति आभारसमेत व्यक्त गर्दै देश तथा विदेशमा रहेका सबै पाठकमा वितरण गरिसक्न एक साता लाग्ने प्रकाशन गृह 'बुक-हिल'ले जनाएको छ ।

 नगरकोटीको यो कथा संग्रहको  प्रिमियम संस्करण मात्र प्रकाशन हुने बताइएकाे  छ  ।  पुस्तक पढ्न चाहाने पाठकले पहिलेनै बुकिङ गर्नु पर्ने र यसका लागि २०२१ रुपैंया तिर्नुपर्ने थियो । 

संग्रहमा ६३ वटा विभिन्न बान्की र शैलीका कथा समेटिएको पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्कृन प्ले,  ट्रान्स क्रियटेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन् । 

प्रकाशक गृह 'बुक-हिल'ले यो पुस्तक ग्राहकले जति प्रिअर्डर गर्याे  त्यति ‘प्रति’ मात्र छापिने दाबी गरेकाे थियाे ।  प्रकाशकका अनुसार याे पुस्तक देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध हुनेछैन  । प्रकाशकले पुस्तक पुनः मुद्रण र प्रकाशन नहुने पनि दाबी गरेका छन् ।


Author

थप समाचार
x