साहित्य

असार १५ - ५ तिया १५

वसन्त लोहनी |
असार १५, २०७८ मंगलबार १६:४५ बजे

मुलुक एकीकरणको हौसला

बुलन्दीको शिखरमा पुर्‍याउने


लोभ्याउने हरियाली फाँटहरू

र, वरिपरिको सुरम्य वन

निलेर बनेको 'कङ्क्रिट जङ्गल'

काठमाडौँ उपत्यका

यो हो हाम्रो काठमाडौँ

 

यहाँ बस्ने विद्वानले व्याख्या गर्न सक्छन्

आजको दिनलाई

अर्थात् असारको १५ लाई

अन्तर्राष्ट्रिय मञ्चमा कार्यपत्र प्रस्तुत  गरेका छन् कृषिवालालाई

तर यो दिनको मर्मलाई

कति प्रत्याभूति गर्न  सक्छन्?

कति महसुस गरेका छन् ?

सहरले हाँकेको यस मुलुकमा

सहरले कति बुझ्छ यो कुरा

यो प्रश्न अनुत्तरित मात्र होइन

कहालीलाग्दो हुँदै गएको छ

नपत्याए सोध

अहिले बनेको यो सुकुलगुण्डा अर्थतन्त्रलाई

अझ चित्त नबुझे , सोध

प्रत्येक दिन नेपाल भित्रिने

ती कफनहरूलाई

 

सरकार हाँक्नेहरूले

माटोको आवाज सुनेको भए

त्यो भाखा बुझेको भए

हाम्रो आफ्नै माटोमा पैसा फल्थ्यो

हाम्रो तागत कति बलियो हुन्थ्यो

यसरी सबै चिज आयातित हुँदैनथ्यो

आयातित पद्धतिसँगै

आयातित विषादीयुक्त तरकारी

खानुपर्ने थिएन

जे हुन्थ्यो

हाम्रो आफ्नो हुन्थ्यो

कम बेसी - दुखसुख हामी साटेर बाच्थ्यौ

रम्थ्यौ - रमाउँथ्यौ आफ्नै माटोसँगै

 

अझै सम्झाएको छ असारको १५ ले

माटोको सामिप्यता प्राप्त गरेको दिन

रोपाइँको दिन, हिलो छ्यापाछ्याप

अनि दही चिउरा खाने दिन

नाच्ने गाउने, खुसीयालीको दिन

सिङ्गो मुलुक चलायमान हुन्छ

उत्सवको दोहोरीमा

वर्ष दिन खाने, मुलुक पाल्ने यो दिन

माटोको सुगन्धबाट आल्हादित भएको दिन

गाउँको प्रत्येक झोपडीबाट

उब्जेका खुसीका लहरहरू

लखतरान परेको बादल

भिजेको धरा

प्रकृतिले कलिलो पारिदिएकी नेपाली माटोसँग

सहवास गर्ने आजको दिन

लयबद्ध भएका कर्मवीर नेपाली हातहरूले

रोपेको प्रत्येक धानको बिउले

पालेको यो मुलुक

त्यति मात्र होइन,

बढी भएको धान विदेशमा बेचेर

नुन तेल किन्ने हामी नेपाली

आजको दिनमा आइपुग्दा

वर्षको ३३ अर्वको चामल किन्छौ

विकास र समृद्धिको बकम्फुसे गफको अनवरत उत्पादनमा

आत्म निर्भरता खिइँदै गएर

अर्थ-राजनीति अन्तै गयो

हामी स्वाभिमानी नेपालीको

 

मुलुक पाल्ने असारको १५ मा

अब सरकारले कर्मचारी पाल्न नसक्ने भो

तर नास्तामा सुनको बिस्कुट

यही नै खाइरहेका छन्

जीवनजल नपाएर क्वारेनटिनमा एउटा गरिब नेपालीको मृत्यु हुँदा

उता सर्वहारा प्रधानमन्त्रीको ५ करोडको गाडी अर्डर हुन्छ

सर्वहारा राष्ट्रपति १५ करोडको गाडी चढ्छिन्

यसरी हिजोको असार १५

आज ५ तिया १५ बनेको छ

यो अर्थ-राजनीतिक विसङ्गतिमा पनि

अझै बाचेको छ असार १५

मुलुकको जीवन जल साँचेर

अदम्य आस्था यसैमा बोकेर

भोलिको दिनको पर्खाइमा

जब कृषिबाट उद्योग खुल्छ

उद्योगबाट रोजगारी

रोजगारीबाट आम्दानी बढ्छ

अनि मात्र हुन्छ मुलुकको समृद्धि


Author

थप समाचार
x