साहित्य

श्रवण मुकारुङको कविता ‘भानुभक्त’

श्रवण मुकारुङ |
असार २९, २०७८ मंगलबार १२:४ बजे

पहिलो जुनी,-

वि.सं. १८७१ असार २९ मा आए भानुभक्त


र गए,-

वि.सं. १९२५ असोज ६ सँगै

दोस्रो जुनी,-

भए आदिकवि

कतै चिम्सा आँखा

कतै लामो नाक

कतै गोरो वर्ण

कतै कालो वर्ण

कतै पूर्ण कद

कतै अर्ध कद

कतै रथयात्रा

कतै अबीरजात्रा

तेस्रो जुनी,-

भए माछा

नदीको लहरमा कविता लेख्दा-लेख्दै

एकदिन अचानक

खायो गोहीले

बयालीस लाख जुनी,-

भए किम्बुको रुख

शरद ऋतुको आँखैअघि

खायो रेशम कीराले

चौरासी लाख जुनीपछि

आज फेरि,-

जन्मिए भानुभक्त मानिस भएर

मानिसको जीवनको कुनै भर छैन

र हिँडे भानु,-

अमरावती कान्तिपुरी नगरी

हतारमा बिर्सेछन् बिर्केटोपी

बाहुला सुर्केको कमिज

खासाको जिन्स पेन्टमुनि गोल्डस्टार सुज

झोलामा टावेल, गन्जी, कट्टु

एसएलसीको सर्टिफिकेट

र श्री प्रकाश कोविदको उपन्यास

खल्तीमा नागरिकता, पासपोर्ट, रु. सात सय पचास

र आमाको सादा तस्बिर

बालाजु, बसपार्क, धरहरा

घण्टाघर र रानीपोखरी

घुमे कविजी दिनभर

गुनकेशरी फुलिरहेछ गमलामा

रित्तै दौडिरहेछन् चपला-अवला

जब ढल्क्यो घाम

गमे कविजी कता जाम ?

कविले कविको मर्का बुझ्छ

सम्झे उनले चित्तधर

खल्तीमा छ रु. सात सय पचास

लच्छिनकी रहिछिन् घरबूढी

दिइन् स्नेहले दालभात

ढल्किए कविजी चुरोट तान्दै

सम्झे उनले चुँदी रम्घा...

झर्‍यो आँसु दुई कानमा

ताने सिरक र छोपे मुख

किनकि,-

भोलि त उड्नु छ मलेसिया

लेख्नु छ रामायण ।

(मुकारुङको कविता संग्रह ‘बिसे नगर्चीको बयान’बाट)

 


Author

थप समाचार
x