साहित्य

‘अनुसन्धान लेखन अभिमुखीकरण वेबिनार गोष्ठी’ सम्पन्‍न

इकागज |
असार ३१, २०७८ बिहीबार १९:३६ बजे

काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागले बिहीबार ‘अनुसन्धान लेखन अभिमुखीकरण वेबिनार गोष्ठी’ सम्पन्न गरेको छ । प्रष्ठिानबाट प्रकाशित विज्ञसमीक्षित शोधपत्रिका प्रज्ञाको सम्पादक एवं प्राडा रमेश भट्टराईले अनुसन्धान लेखन सम्बन्धि कार्यपत्रसमेत प्रस्तुत गर्दै अनुसन्धान आवश्यकता मात्रै नभई संस्कृति भएको बताए ।

साथै अनुसन्धानले कुनै पनि नयाँ कुरा उत्पादन गर्नुपर्छ । नेपालको शिक्षा प्रणालीलाई अनुसन्धानसँग जोड्न नसकेको समेत उनले सुनाए । ‘हाम्रा विश्व विद्यालय, शिक्षा प्रणालीमा प्राज्ञिक अनुसन्धानलाई पाठ्यक्रमसँग जोड्ने जुन विधि हो, त्यो विधिलाई हामीले कार्यान्वयन गर्न सकेनौँ , त्यसले गर्दा पढाइ एकातिर र अनुसन्धान अर्काेतिर गयो,’ उनले भने, ‘शिक्षण र सिकाइसँग अनुसन्धानलाई जोड्न सकेनौँ । हाम्रा एकेडेमीहरूमा पनि त्यो प्रणाली विकास गर्न सकेनौँ ।’ 


भट्टराईका अनुसार अनुसन्धान ज्ञान निर्माणको पद्धती हो र ज्ञान निर्माण प्रश्नबाटै हुन्छ । अहिलेसम्मको इतिहास हेर्दा पनि जहाँ प्रश्न गरिन्छ, त्यहाँ नयाँ विचार जन्मिने उनको धारणा थियो ।  उनले भने, ‘जुन बुद्धिजीविले सत्तालाई प्रश्न गर्दैन, उसले कहिल्यै अनुसन्धान गर्दैन । अनुसन्धान भनेको तथ्यहरुको संकलन होइन । अनुसन्धान सुचनाको संकलन, विश्लेषण, र व्याख्याको प्रक्रिया हो ।’ 

अनुसन्धानबाट नयाँ कुरा ननिस्किने सम्भावना भएमा अनुसन्धान नै गर्नु नपर्ने उनको ठम्याइ छ ।  कार्यक्रममा भट्टराईको कार्यपत्रमाथि संखुवासभाका लाखबहादुर पौडेल, बागलुङका झपेन्द्र बहादुर क्षेत्री, धरानबाट सुवास चन्द्र न्यौपाने, धनकुटाका मिनप्रसाद अधिकारी, दाङका महेन्द्र भण्डारी, दाङका खगेन्द्र घोडासैनी लगायतले प्रश्न गरेका थिए ।  

त्यस्तै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानका जर्नलमा प्रकाशित भएका अनुसन्धानमूलक लेखहरू विशेष अनुुसन्धानको पद्धती मान्यता र विधि अन्तर्गत लेखिउन् भनेर यो विमर्श सुरु गरेको बताए । वर्णविन्यास सम्बन्धि शैली पुस्तक र अनुसन्धानसम्बन्धि शैली पुस्तक प्रतिष्ठानले प्रकाशित गर्ने तयारीमा रहेको प्रतिष्ठानका सदस्यसचिव एवं दर्शनशास्त्र विभाग प्रमुख प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।  


Author

थप समाचार
x