साहित्य

कविता

मानवताको चिहानघारीमा बर्दीधारी महानायक

प्रतित्यसमुत्पाद |
साउन ९, २०७८ १४:१९ बजे

इतिहास बन्दै गर्छ
फेरि भत्कँदै पनि
इतिहासको शाश्वत सत्य
वीरताका स्वर्णिम गाथाहरूमा
बूढी आमाको दन्त्यकथाजस्तै विस्मृत थियो
एक युगको महानायक
सिंहदरबारभित्र शेरिँदै गर्दा
इतिहासको चित्कार
सायद
गुञ्जँदै थियो युगीनताका खण्डहरहरूमा
सति श्रापित मेरो इतिहास
आज पनि मेटिँदै छ सिंहदरबारभित्र...
सिंहदरबार साक्षी थियो,
राष्ट्रघाती सन्धिहरूमा
आफ्नी आमालाई बलात्कार गर्ने
सम्झौताका बुँदाहरू
शिलापत्रमा  खोपिँदा
सिंहदरबार मौन थियो

धिक्काथ्र्यो आफैँलाई 
शिलापत्रमा इतिहास खोप्ने
ज्यापु बाका ज्यावलहरू
छिना र  बसिलाहरू
आज कामै नलाग्ने भुत्ते भएका छन्,
इतिहास खोप्दा खोप्दा थकित
ज्यापु बाका हातहरू आज
विश्रान्तिमा सुस्ताइरहेछन्
हठात् आत्मश्लाघाको सुस्केरामा
इतिहास खोप्ने ज्यापु बाको हात
काँपिरहेको थियो,
इतिहास खोप्दै गर्दा
ज्यावल र छिनाहरू बहुलाउँदै
ज्यापु बाको छाती र हत्केलामा
बज्रिन थाले
र अन्तमा
शिलापत्रमा रक्तांकित इतिहास
बम्बैको वेश्यालयमा बेचियो
वेश्यालयमा सहिदकी छोरी लुटिँदै गर्दा
यता सिंहदरबारमा
भोज चल्छ, डिस्को जम्छ

युटोपियाको नक्सा कोरिन्छ
पहाडको कुनै कन्दरामा सहिदकी स्वास्नी
आत्महत्या गर्दै गर्दा
यता सिंहदरबारमा
सुरा–सुन्दरीको मादकतामा
क्रान्तिको जवानी चढ्छ

अश्लील अनुहारमा
राष्ट्रनायकको कृत्रिम आभा भरिन्छ 
दसैँको पूर्वसन्ध्यामा सहिदकी आमा
छोरो सम्झेर भक्कानिँदै गर्दा
कालरात्रिको महांकाल बनेर शासक
बूढी आमाको छातीमा बुर्कुसी मार्दछ

एक युगको अन्त हुन्छ
एक युगको घृणित अन्तमा
कल्की अवतारको कल्की जस्तै
कल्की युगको काल्पनिक महानायक
घोडा कुदाउन थाल्छ,
मानवताको चिहानघारीमा 
बर्दीधारी महानायक
अस्तित्वको आधारशिलाहरूमा बुर्कुसी मार्दा
यता
सिंहदरबारका भित्ताहरूबाट रगत उम्लन थाल्यो
खोपीहरूमा पीडित आत्माको चित्कार सुनिन थाल्यो
वीरताका छायाँहरू सल्बलाउन थाल्यो
राष्ट्रघाती हस्ताक्षरले भरिएका
सम्झौताका पानाहरूमा,
र अन्तमा,
देशमा भयंकर अँध्यारोले ढाक्यो
सिंहदरबारको धुरीबाट पाप कुर्लंदा
सिंहदरबारको धुरीबाट पाप कुर्लंदा


ADVERTISEMENT



Author

थप समाचार