साहित्य

शरद-शृंखला

प्रकाश कोविद : जसले किताब छरेर आँसु बटुले

शरद प्रधान |
मंसिर २७, २०७७ १०:२६ बजे

६१ वर्षसम्म बाँचेका उनले सयौँ पुस्तक लेखे । जे लेख्थे, भाइरल हुन्थे । यस्तो समय थियो, साहित्यमा रुचि भएको तर उनलाई पढेर भावुक नभएको भावक भेटाउनै गाह्रो । प्रतिभाशाली र बहुरंगी कोविदको लेखनमार्गका स्पिडब्रेकरसहित : 
मोती दिएर आँसु बटुले हार भएन जीत, 
हाँगाबाट  झरेको  फूलले भुल्न सकेन प्रीत 

००

एक महिना पहिले होला, ‘रेडियो टुरिजम’मा लेखक एवं सिने निर्देशक प्रकाश सायमीलाई मैले सोधेँ, ‘कुन उपन्यासकार मन पर्छ ?' उनले अनायसै सोच्दै नसोचेको जवाफ दिए । जवाफमा प्रकाश ‘कोविद’को नाम सुनेपछि म फ्ल्यासब्याकमा पुगेँ । ठीक यसैबेला कोविद फेसबुकको चर्चित ग्रुप ‘बुकाहोलिक्स’मा किताबका रूपमा झुल्किए । धेरैको मानसपलटबाट विस्मृतिमा गएका प्रकाश ‘कोविद’ फेरि सुनिए, छाए ।


ADVERTISEMENT

साहित्य अनुरागी भाइ विकेश कबिनले कोविदबारे धेरै कुरा जान्‍ने जिज्ञासा राखे, मसँग । सायद नयाँ पुस्ता जस्ले सुबिन भट्टराई, चेतन भगत पढे, उनीहरूका निम्ति नितान्त नौलो नाम हुन सक्छ, प्रकाश ‘कोविद’ । तर ५० काटेका पुस्ताका पाठकहरूका निम्ति यो नाम कदापि नयाँ र नौलो भने होइन । कोविदका नाममा केही लेख्‍न म बसेँ ।

कुनै समय हिन्दीको रानु, गुलसन नन्दा, कर्णेल रञ्जितजस्ता लेखकहरूले नेपाली साधारण पाठकलाई तानिरहेको थिए ।  त्यही बेला प्रकाश ‘कोविद’, युधीर थापा, हरिश बम्जन, सुवास घिसिङहरूको उदय भयो । पारिजात, बीपी, गोठाले, इन्द्रबहादुर राई, विजय मल्लका उपन्यास बुझ्‍न गाह्रो हुने पाठकलाई वैकल्पिक पठन सामग्री दिन सफल भए, यिनीहरू । तीमध्ये पनि सबैभन्दा अग्रपंक्तिमा थिए, प्रकाश ‘कोविद’ । उनको लेखन कर्म त्यस बेला सुरु भयो, जुन बेला दार्जिलिङमा इन्द्रबहादुर राई, वीरविक्रम गुरुङ, विक्रम रूपासा, इन्द्र सुन्दास, शिवकुमार राई, ग्याब्रेल राणा, अच्छा राई ‘रसिक’, जगत क्षेत्रीहरू कथा-उपन्यास लेखनमा अग्रसर भइरहेका थिए ।

सन् १९५५ मा युथ फेडेरेसनले आयोजना गरेको साहित्यिक प्रतियोगितामा प्रकाश ‘कोविद’ निबन्धमा पहिलो भएका थिए । यही प्रतियोगितामा कवितामा अगमसिंह गिरी र कथामा वीरविक्रम गुरुङ प्रथम भएका थिए । प्रकाश ‘कोविद’ले हिन्दीमा कोविद परीक्षा उत्तीर्ण गरेकाले उनले यो उपनाम जोड्ने सौभाग्य पाए । उनीसँगै कोविद पास गर्ने साहित्यकार जगत क्षत्रीले चाहिँ यो उपाधि प्रयोग गरेनन् । न्वारनमा नरबहादुर राई नाम राखे पनि कोविद टोल छिमेकीमा भम्पु भनेर परिचित थिए । पछि साहित्यिक जगत्मा प्रकाश ‘कोविद’ भनेर सुपरिचित भए ।

प्रकाश ‘कोविद’लाई धेरैले आफ्नैआफ्नै तरिकाले बुझे । कसैका लागि उनी उपन्यासकार थिए भने कसैका लागि चित्रकार, कसैका लागि काष्ठशिल्पी थिए । अनि कसैका लागि मूर्तिकार । बालकथा, नाटक, कविता, निबन्ध, कथा पनि उत्तिकै सहज रूपमा लेख्न सक्थे । यस्तो प्रतिभा थोरैमा हुन्छ । दार्जिलिङमा उनले बाँसको खपेटामा बनाएको चराचुरुंगीको कलात्मक चित्र यत्रतत्र भेटिन्थ्यो । यस्तो लाग्थ्यो, उनको चित्र नभएको कुनै घर छैन । प्रकाश ‘कोविद’को मुख्य विशेषता भनेकै सरलता । अनि आफ्नै वरिपरिको विषयवस्तुलाई सरस रूपमा प्रस्तुत गर्नु चाहिँ उनको खुबी ।

प्रकाश ‘कोविद’ले हिन्दीमा कोविद परीक्षा उत्तीर्ण गरेकाले यो उपनाम जोड्‍ने सौभाग्य पाए ।

१४ वर्षको उमेरमा सन् १९४६ मा ‘उदय’ पत्रिकामा ‘चित्रकार’ कथा छपाएपछि उनी लेखक भए भन्न सकिन्छ । उनको लेखन यात्रालाई दुई चरणमा विभक्त गर्न सकिन्छ । आफ्नो ६१ वर्षको जीवनकालमा प्रकाश ‘कोविद’ले करिब ५० वटा उपन्यास, ६ वटा कथासंग्रह, एउटा नाटक संग्रह, एउटा एकांकी नाटक संग्रह, बाल साहित्यका कैयौँ पुस्तक लेखे । संख्यात्मक रूपमा यति धेरै लेख्नु जति विशेष हो, सबैजसो पुस्तक लाकेप्रिय हुनु उस्तै खास । उनले केही अनुवाद साहित्य पनि प्रकाशित गरेका थिए । बैंसालु पत्रिकामा एउटा पाठकको प्रश्नको उत्तरमा उनी लेख्छन्- कोरा कल्पनाको आधारमा उपन्यास बन्न सक्दैन । यथार्थ उपन्यासको ‘ब्याक-बोन’ हो भने मांंसपिण्ड हो कल्पना । मेरा सबै उपन्यासमा केही न केही मात्रामा यथार्थ समावेश छ ।

उनका धेरै यथार्थ मुछिएका उपन्यास हुन्- नोयो, अर्को-जन्म, नीलो आकाश, अनुराधा, हार-जित, टिस्टा-रंगीत र सीमा । सुरुवाती चरणमा लेखिएका उनका कथा र उपन्यास हुन्- रेखा कथासंग्रह, नोयो, देवता, अर्को जन्म, संगम, टिस्टा-रंगीत, अनुराधा, हारजित, सीमा आदि । 
यो चरणको लेखनमा प्रकाश ‘कोविद’मा व्यावसायिकताभन्दा साहित्यिकता बढी पाइन्छ । कोविदले धेरै गोष्ठीहरूमा कथा लेखनमा पुरस्कार पनि पाए ।

त्यसबेला उनको संगत अंगमसिह गिरी, जगत क्षेत्री, अच्छा राई ‘रसिक’, वीरविक्रम गुरुङसँग भएको देखिन्छ । नोयो, देवता, अर्को जन्म, मेरो हजुर आदि कथावस्तु, लेखनशैली र वैचारिक हिसाबले निकै स्तरीय छ । तिब्बती शरणार्थीमाथि लेखिएको नोयो उनको उत्कृष्ट कृति मानिन्छ ।

संगमलाई गिरिन्द्रनाथ चट्टोपाध्यायले बंगला भाषामा अनुवाद गरेका थिए । उनको ‘दुई फूल एक भूल’ उपन्यासमा तुलसी घिमिरेले अनुमतिबिनै ‘बाँसुरी’ सिनेमा बनाएपछि उनी केही समय मानसिक तनावमा परेका थिए । उनले यसो भनेका पनि छन् । ‘अर्को जन्म’मा पनि सिनेमा बनेको छ । उनको कथा संग्रहहरूमा चोट, रेखा, हाम्रो कान्छा, डाकबंगला निकै चर्चित छन् । नोबेल पुरस्कार विजेता पल एस बर्क दार्जिलिङको तिब्बती शरणार्थी शिविर अवलोकन गर्न आउँदा उनलाई भेटेर त्यहीबाट प्रभावित भएर नोयो उपन्यास लेखेको, कथाकार निर्मल ‘याद’ले लेखेका छन् ।

सन् १९५५ मा युथ फेडेरेसनले आयोजना गरेको साहित्यिक गोष्ठी प्रतियोगितामा प्रकाश ‘कोविद’ निबन्धमा, अगमसिंह गिरी कवितामा र वीरविक्रम गुरुङ कथामा प्रथम भएका थिए ।

मूर्धन्य समालोचक गुमानसिंह चामलिङ यो उपन्यासलाई उच्चकोटिको साहित्यिक कृतिका रूपमा स्वीकार्छन् । साहित्य अकादमी पुरस्कार पनि प्राप्त चामलिङको समालोचना कृति ‘मौलो’मा यसको बृहत् चर्चा छ । दोस्रो चरणमा आइपुग्दा प्रकाश कोविद निकै परिवारिक बोझले थिचिएका थिए । ६ जना सन्तान, एउटा शिक्षकको कमाइ, अनि श्रीमती । परिवार पाल्न धौधौ परेपछि उनले साहित्य र ललितकलालाई व्यावसायिकता दिन थाले ।

पैसाको अभावमा हप्तै दिनमा पनि उपन्यास लेख्‍न थाले । चुरोट र रक्सीले पनि निकै खाए पैसा । यस्तो परिस्थितिमा उच्चतम साहित्य सिर्जना गर्न प्राय: सम्भव हुन्छ । पुस्तक एकमुष्ट रकममा बिक्री गरेकाले उनी पुस्तक बिक्रीबापत पाइने रोयल्टीबाट वञ्चित पनि भए । प्रकाशकहरू मोटाए पनि कोविद कहिल्यै मोटाउन सकेनन् । कोविदको दोस्रो चरणको उपन्यासहरूमा दोबाटो, विवश, चालिस दिन, अर्पण आदिलाई लिन सकिन्छ ।

बाल साहित्यमा पनि निपुण थिए, कोविद । उनले लेखेका बालसाहित्यहरू दार्जिलिङका कैँयन् प्राथमिक विद्यालयमा पढाइन्थ्यो । उनी बाल साहित्यमा पाएको तालिमबारे लेख्छन्, ‘मैले बालकथा लेखन तालिम राष्ट्रिय क्रिश्चियन काउन्सिलको तत्वावधानमा अमेरिकी प्रोफेसरहरूबाट पाएको हुँ । यसको तालिम उट्टीकमण, नीलगिरी हिल्स बाल कथामा भएको थियो । यो तालिम प्राप्त गर्न भारतमा २१ वटा प्रान्तबाट एक एक जना वरिष्ठ बालकथाका लेखक चुनिएका थिए । नेपाल र दार्जिलिङको तर्फबाट मलाई मनोनीत गरेका थिए । सायद यसैको प्रभाव पनि होला ।’

प्रकाश ‘कोविद’को अर्को बलियो पाटो हो, चित्रकला । नवौं कक्षा पढ्दा बनाइएको चित्र बिक्री भएपछि कोविदको चित्रकारिताले व्यवसायिकताको बाटो लियो । एक दिन दार्जिलिङको चौरास्तामा प्रकाशले चित्र बनाइरहेको देख्छन्, जुनियर स्टेटम्यानका सम्पादक तथा प्रसिध्द चित्रकार डेसमन ड्योङले । उनकै आग्रह र खर्चमा कोविद कलकत्ता जान्छन्, चित्रकला सिक्न । तर, पारिवारिक कारणले त्यो कार्य पूरा हुन सक्दैन ।

डेसमन ड्योङले पछिल्लो समय नेपालमा नै बसेर चित्रकला र लेखनलाई निरन्तरता दिए । होटेल सांग्रिला र मल्लको डिजाइन डेसमन ड्योङले नै गरे र उनको निधन पनि काठमाडौंमा नै भयो । कोविद तैल चित्र बनाउनमा निपुण । हिमाल, पहाड, चिया बगान उनको चित्रको विषय हुन्थ्यो । निकै मेहनत गरेर बनाउँथे चित्र अनि उनकी पत्नी र छोराछोरीहरू सधैँ सहयोग गर्थे यो कार्यमा । दार्जिलिङमा चित्रकलामा उनका समकालीन थिए- लैनसिंह बाङ्गदेल, गोरे डकलस, भोटु प्रधान । उनी काठमाडौं आउँदा लैनसिंह बाङ्गदेलले वास्ता नगरेको समय-समयमा गुनासो गर्थे । वार्षिक रूपमा विभिन्न ठाउँमा चित्रकला प्रदर्शनी गर्नु र बिक्री गर्नु उनको मुख्य काम थियो ।

मोती दिएर आँसु बटुले

हार भएन जीत, 

हाँगाबाट  झरेको  फूलले

भुल्न सकेन प्रीत 

नानालाई समर्पणमा लेखिएको उक्त पंक्ति प्रकाश कोविदको सबै उपन्यासमा पढ्न पाइन्छ । यो उनले नौ वर्ष लामो प्रेमपछि बिछोड भएकी प्रेमिकालाई समर्पण गरिएको हो । ती प्रेमिकाले उनलाई साहित्य र कलामा लाग्न ठूलो प्रोत्साहन गरेकी थिइन् । प्रसिध्द गायक कुमार सुब्बा उनको आफ्नै साला हो जसले भिनाजुको घरमा बसेर आफ्नो अध्ययन पूरा गरे अनि संगीतमा लाग्ने प्रेरणा पाए । अर्का प्रसिध्द गायक संगीतकार अशोक राई नाताले उनको भाइ पर्छन् । उनीहरूले साहित्यिक र सांगीतिक यात्रा सँगसँगै अगाडि बढाएका थिए । 

प्रकाश ‘कोविद’ले उपन्यास र कथा धेरै प्रकाशकबाट छापेका छन् । ती सबैको प्रतिलिपि अधिकार किनेर दार्जिलिङको विष्ट पब्लिकेसन हाउसले पुन: प्रकाशन गरेको छ । उनको जन्म १४ फेब्रुअरी १९३२ मा भएको थियो भने मृत्यु ११ नोभेम्बर १९९२ मा । यो लेख तयार पार्न ‘बैंसालु’ प्रकाश ‘कोविद’ श्रध्दाञ्जलि विशेषांकको वर्ष १९, पूर्णांक ६, सन् १९९३ धेरै पढेको थिएँ, मैले । आभार र धन्यवाद ।

शरद-शृङ्खला
- इकुराका कु
प्रतिभाशाली पक्षी अस्थिर राजको दार्जीलिङ-नेपाल उडान
कार्थक : कोलाहलमा एक्लो मान्छे



Author

थप समाचार