साहित्य

कालो ड्र्यागन : बाघखोर प्रज्ञा—७

लिलाराज खतिवडा |
मंसिर २७, २०७७ १६:५१ बजे

‘तपाईंले मलाई बुध्दको सम्यक जीवन त सिकाउनु भयो । तर प्रयोगात्मक भएर हेर्दा त्यसलाई म अनुसरण गर्न असमर्थ छु !’ केटाले ठाडै भन्यो ।

‘किन र ?’ मैले सोधेँ ।


ऊ बडा अनौठो अन्दाजमा सुरु भयो, ‘किनभने, आजको यो घोर कलियुगमा ध्यान कहाँ ? केको क्षमा ? केको करुणा ? आततायीहरूको त वध गर्नु नै धर्म होइन र ? त्यसैले हे गुरुदेव, बुध्दपछि मलाई अब कृष्णको ज्ञान चाहिएको छ !’ 

केटाका कुरा सुनेर मनमनै म अति प्रसन्न भएँ । बुध्दको सहाराले उसमा होस र प्रज्ञाको प्रार्दुभाव गरेपछि घोर कलियुगका कारण उसको अन्तस्करणले एक दिन निश्चय नै कृष्ण आयामको माग गर्न सक्ने सम्भावना प्रसस्तै थियो । 

र, हुँदाहुँदै त्यो दिन पनि आएरै छाड्यो । अब मैले टार्जन केटो अर्थात् रामलाई बुध्दायामबाट कृष्णायामतर्फ छलांग लगाउन सिकाउनु थियो । केटो जंगल परित्याग गरेर मानव बस्तीमा स्थापित भएकाले उसलाई अब टार्जन भनेर सम्बोधन गर्नु पनि बेकार लाग्दै थियो । ऊ अब राम नामले नै जानिने कुराले मलाई हर्षित तुल्यायो ।

उसको नाममा मर्यादा पुरुषोत्तम रामको सुवास आए तापनि ऊ मसँग गैर मर्यादापालक कृष्णका बारेमा प्रश्‍न गरिरहेको थियो । उता चरित्र हेर्दा लाग्थ्यो कि दशरथ पुत्र राम श्‍वेत थिए भने चमत्कारिक आवारा कृष्ण श्याम । रामको चरित्रमा सानो दाग पनि नामञ्जुर । उनी श्‍वेत भएका कारण उनको जेहनमा स्यानोभन्दा स्यानो दाग पनि प्रष्ट देखिने हुँदा रामले कडा अनुशासनमा जीवन पार गर्नु पर्यो । तर उता कृष्ण श्याम भएका कारण उनको जेहनमा जति दाग लागे पनि त्यसले केही फरक पार्नेवाला थिएन । कृष्ण हमेशा विरोधाभासी, स्वस्फूर्त र गैरअनुशाशित नजर आए । तर पनि उनी पूर्ण अवतार कहलाए । जबकि राम कहलाए, अंशावतार । कथाहरूका अनुसार राम केवल मानव थिए भने कृष्णलेचाहिँ मानवेत्तर आयाम चुम्न सफल भएका थिए ।

मैले केटालाई फटाफट भनेँ, ‘हुन त बुध्दको प्रज्ञा सिकेर पनि तिमीले त्यसलाई खासै पालना गरेनौ । तिमीले जंगलबाट शहर आउँदा भीख मागेर खाएनौ । बरु तिमीले खोसेर खायौ । आफ्नो आहार वा अन्य आवश्यक्ता पूर्ति गर्नका लागि तिमीले पसलहरूबाट बलजफ्ती सामान हासिल गर्यौ र मोटरसाइकलमा सवार एउटा मान्छेलाई तीर हानेर घायल तुल्याई उसको पैसा पनि तिमीले लुटेका थियौ । अनि तिमीले अज्ञात घरको भूमिगत पानी ट्यांकीबाट १० लाख रुपैयाँ पनि ऐँठ्याएका थियौ । यी सब बुध्दका उपदेश विरुध्दका कार्यहरू थिए । केही याद छ ? कि बिर्सियौ ?’ 

राम मुसुक्क हाँस्यो । अनि भन्यो, ‘कसरी बिर्सिन्थेँ म आफ्नो बिगत ? तर होसमा आउन र आफूलाई जान्न अवश्य बुध्द चाहिन्छन् । तथापि बुध्दलाई अंगीकार गरेर आजको यो विकृत, भ्रष्ट र अराजक दुनियाँमा बाँच्नका लागि अति कठिन हुन्छ । त्यसैले जागृत भएपछि आजको यस घोर कलियुगमा युध्द लड्नु नै उचित भएकाले अब मलाई सोहीअनुसारको प्रज्ञाको आवश्यकता पर्ने कुरा अवगत गराउन चाहन्छु ।’

ध्यानपूर्वक उसको जिरह सुनेर मैले केहीबेर मौन रहेर भनेँ, ‘कुरो मुनासिब हो, राम । जानेर मलाई औधी खुसी लागेको छ । अवश्य अब म तिमीलाई ध्यानबाट सिध्दितर्फ लैजाने छु । जुन कुरालाई बुध्दले नकार्नु भयो त्यही कुरालाई कृष्णले स्विकार गरिदिनु भयो । अर्थात यसलाई यसरी भनौँ, कि जहाँ बुध्द सकिन्छन् त्यहीँ कृष्ण पैदा हुन्छन् ।’ राम मेरा मुखारबृन्दबाट कृष्णायामका रहस्यमय कुराहरू सुनेर उत्साहित हुन थालेको थियो । छेवैमा बडा ज्ञानी भएर उसकी केटी अर्थात् सीता पनि उसैगरी ध्यानमग्‍न भएर बसेकी थिई । उनीहरूको समर्पण र ग्रहणशीलता उल्लेख गर्न लायक थियो ।
     
उनीहरूले आँखा बन्द गरेर मेरा कुरा सुन्‍न थालेपछि मैले भनेँ, ‘हिजोसम्म तिमीहरू आँखा बन्द गरेर ध्यान गर्ने गर्थ्यौ । तर आजबाट आँखा खोलेर ध्यान गर्नू । लौ, अब बिस्तारै आँखा खोल ।’

उनीहरूले आँखा खोलेपछि मैले पालैपालो उनीहरूका आँखामा हेर्दै अगाडि भनेँ, ‘बुझेनौ ? ध्यानी आँखा बन्द गरेर ध्यानमा प्रवेश गर्छ । तर सिध्द आँखा खोलेर ध्यानस्थ हुने गर्दछ । अब तिमी सूर्य त्राटकको समय बढाऊ र मध्यान्‍हको सूर्यमा पनि टक लगाउन थाल । ऐनामा निरन्तर आफ्नो चेहरा नियाल्ने गर । सेतो भित्तामा एउटा कालो बिन्दु अंकित गरेर त्यहाँ टक लगाउने गर । अनि कालो भित्तामा सेतो बिन्दु अंकित गरेर पनि टक लगाऊ । घना अन्धकारमा गएर खुला आँखाले घण्टौँ ध्यान गर्ने गर । तिमी त्यो श्याम आयामभित्र प्रवेश गर । तिमीभित्रको श्याम पनि जाग्‍नेछ । अनि तिमी सम्पूर्ण यौगिक आयाममा समाहित हुने छौ । तिमी अब आफूलाई अति शक्तिशाली तरंगहरूको पुञ्जका रूपमा जान्ने छौ । अब तिमी आरपार हुने छौ, पूरै पारदर्शी !’

राम र सीतालाई सिध्दिको पहिलो पाठ पढाएर मैले आफ्नो डायरीमा केही टिपोट गरेँ । भविष्यलाई सुनिश्‍चित गर्न छोटाछोटा कोडस्वरूप योजनाहरू टिपोट गर्नाले कुनै पनि कार्यको लक्ष्य भेदन निश्चित हुने गर्दछ । त्यसैले हमेशा एउटा स्यानो डायरी र कलम बोक्ने मेरो आदत छ ।

लीलाराजको योजनामा उनीहरूले शिवपुरीको फेदमा जंगलसहितको जमिन लिजमा लिएर केही बहुउपयोगी कटेज बनाएका थिए । उनीहरूको जंगल शिवपुरी राष्ट्रिय निकुञ्जसँग सटेको थियो । नितान्त फरक वास्तुको प्रयोग गरेर त्यहाँ अतिसिध्दिको अभ्यास गर्नलायक भूमिगत प्रयोगशाला पनि निर्माण गरिएको थियो । 

मैले केही जरुरी कुरा प्रष्ट्याउने  हेतुले भनेँ, ‘भोलिदेखि पूरै तीन हप्ताका लागि तिमीहरू यस स्थानमा बन्द हुनेछौ र सिध्दि प्राप्त गर्नका खातिर अथक साधना गर्ने छौ । तीन हप्ताको समयसारिणी म पछि बताउनेछु । बजार गएर थप जरुरी कुराहरू खरिद गरेर लिएर आऊ । त्यतिन्जेल म यहाँ केही तयारी गर्छु ।’

उनीहरू बजार गएपछि म स्फटिकद्वारा निर्मित एउटा पारदर्शी कटेजमा गएँ अनि हवनकुण्ड तेज गरेँ । हवनकुण्डमा इन्धनको रूपमा दाउरा नभएर ढुंगाहरू हालिएका थिए । यी ढुंगा पत्थर कोइला विपरीत सेता र पारदर्शी थिए । ठूल्ठूला ज्वाला ओकलेर ढुंगाहरू बल्न थाले । काला पत्थर कोइलाको जस्तो ठुँस्स नगन्हाएर यी ढुंगाहरू भने नितान्त फरक सुगन्ध फैल्याएर हुर्हुरी बलिरहेका थिए । अनि जति ठूलो ढुंगा, त्यति नै ठूलो ज्वाला ।

प्रकृतिमा अनेक तत्वहरू छन् । यहाँ बल्ने ढुंगाहरू पनि भेटिन्छन् । तर तिनलाई फेला पार्न सक्नु अनिवार्य ।

पालैपालो हरिया, नीला, राता रंगका बडा आकर्षित ज्वाला दन्किरहेका थिए । ज्वालामा म आँखा फराकिला तुल्याएर त्राटक गर्न थालेँ । आँखाहरू रापिला भएर आए । हल्का आँसुले दुबै आँखा रसाए पनि । रंगीन ज्वालाको मध्यमा अनौठा आकृतिहरू देखा परे । आकृतिहरू परिवर्तन भइरहे । मेरा आँखाहरू पथरिला हुन थाले । अनि आँसु सुकेर आँखा मेरा सुक्खा पनि हुन पुगे ।

यस्तो लाग्यो, 
रोदनमा आँसु खस्छ
थाहा छ
तर मेरा पुष्पहरू खस्छन् आँखाबाट
जब म रुन्छु ! 

रुनलाई अनुहार कुच्याइरहनु पर्छ र ?  

सिध्दिकक्ष अद्वितीय बनेको थियो । स्फटिकको पर्खाल लगाएको पन्ध्र फुट बाई बीस फुटको त्रिभुजाकार कक्ष थियो त्यो । कक्ष मास्तिर एउटा चिम्नी थियो । पर्खालमा चारवटा मझौला झ्यालहरू थिए । चिम्‍नी मुन्तिर पानीका मसिना फोहरा वर्षाइरहने एउटा स्यानो नालाजडित थियो । घाम लागेका बेला पानीका फोहरा वर्षिएपछि त्यस विशेष सिध्दिकक्षमा इन्द्रेणी लाग्‍न सुरु हुन्थ्यो । पिरामिड जस्तो एक किसिमले त्यो कक्ष स्फटिकको एउटा विशाल प्रिज्मजस्तो पनि देखिन्थ्यो । त्यसैले त्यसको नाम राखिएको थियो, प्रिज्मकुटी । पर्खालमा चारैतिर ठूल्ठूला आकारका विभिन्न शक्तिचक्रहरू बनाइएका थिए ।         

तेज ज्वालाबाट नजर उठाएर बिस्तारै म एउटा शक्तिचक्रमा दृष्टिपात गर्न थालेँ । केहीबेर त चक्र वरिपरि पनि ज्वालाका फिलिंगाहरू नाचिरहे । तर बिस्तारै ती स्यानास्याना हुँदै बिलाउन थाले । श्यामश्वेत चक्र प्रष्ट देखियो । चक्र बिस्तारै घुम्न थाल्यो । त्यो अझ चम्किलो पनि हुँदै गयो ।

झ्याप्पै आँखा बन्द गरेँ । भृकुटीको अँध्यारो पर्दामा चम्किलो प्रकाश सल्बलायो । अनि त्यहाँ शक्तिचक्रको बिम्ब सल्बलायो । अमिवा जसरी रंगीन र अति तेज प्रकाशका फिलिंगाहरू पनि चल्मलाए । आँखाका गेडीहरूलाई मास्तिर तानेर केहीबेर कसिरहेँ । कालो पर्दा, त्यसमा केही रंगीन प्रकाश, अनि त्यसमाथि शक्तिचक्रको आवर्तनलाई एकैछिन अन्तःचक्षुले नियालेर बिस्तारै आँखा खोलेँ । अनि पत्थरज्वाला दन्किरहेको विशेष हवनकुण्डमा मैले लगातार नजर स्थिर गरेँ । 

टन्टलापुर घाम लागेको थियो । स्फटिकका पारदर्शी पर्खाल छेडेर घामका किरणहरू इन्द्रधनुषी भइकन कक्षमा वर्षिएका थिए । माथिबाट पानीका पातला फोहराहरू पनि धुलिएर प्रकाशसँग मिसिँदा त्यहाँ सात रंग प्रकट हुन्थे । बाहिरबाट हेर्नेले मलाई सात रंग मिश्रित घनीभूत प्रकाशको फोहराभित्र देख्‍न सक्थ्यो । 

इन्द्रधनुषी प्रकाशका साथ पत्थरज्वालाको नीलो, रातो, हरियो प्रकाशका साथै न्यानो राप र मीठो सुगन्धले मलाई खलखली पसिना आउन थाल्यो । छालाका सारा पोरहरू खुल्दै गएको ताजगीपूर्ण आभास पनि मलाई हुन थाल्यो । भृकुटीमा ‘हाइभोल्टेज’ चिम जलिसकेको थियो । यस प्रकार भित्र अनि बाहिर म अति चहकिलो र सात रंग मिश्रित प्रकाशले नुहाइरहेको थिएँ । मेरो शरीरका सारा कोषिकाहरू आल्हादित हुन पुगेका थिए । विराट सच्चिानन्दले मलाई आरपार छेडेको थियो । म ब्रह्माण्डको विराट र अति शक्तिशाली केन्द्रसँग मजबुतीसाथ एकाकार हुन पुगेको थिएँ ।
लाग्यो, एकसाथ आकाशमार्ग हुँदै कैयौँ देवदूतहरू उपासनामा मलाई साथ दिन यस अति विशेष प्रिज्मकुटीमा अवतरण गरेका छन् । 

लगत्तै मलाई केही दिव्य तरंगले छेडेको आभास भयो र म आफसेआफ सूर्यतर्फ मुखातिव भएँ । मध्यान्ह भएको थियो । एउटा ‘मिस्टिक’लाई भने मध्याह्नमा मात्रै सूर्य उदाएको थियो । अनि म आँखा फराकिला पार्दै अपलक सूर्य त्राटक गर्न थालेँ । आँखाहरूमा पानी भरियो । मैले सूर्यमा आफ्ना आँखालाई स्थिर गरिदिएँ । आँखाको पानी बिस्तारै सुकेर गयो । अति चहकिलो सूर्यबाहेक अब मैले अरू सब अन्धकार देखेँ । अनि सूर्यलाई मैले एकदमै नजिक, आफ्नो भृकुटीको मध्यमा पाएँ । सूर्यको मध्यमा काला छायाँहरू सल्बलाइरहेका थिए ।

सूर्यबाट अथाह ऊर्जा लिएपछि बिस्तारै शवाशनमा पल्टिएर म पृथ्वीको गुरुत्वाकर्षण महसुस गर्दै आफूभित्रको चिदाकाशमा हराउन थालेँ । 

निकै बेरपछि राम र सीता टनाटन सामान लिएर आइपुगे । त्यसदिन साँझैबाट उनीहरूलाई मैले तीन हप्ताका लागि एउटा अभूतपूर्व सिध्दियात्रामा लैजानु थियो । एउटा यस्तो सिध्दियात्रा, जहाँ हुन्छ- चेतना विघटन । अनि फेरि हुन्छ त्यहाँ चेतनाको संगठन । पुरानो स्वेटरलाई तरिका पुर्र्याएर उधारेपछि त्यसबाट निस्किएको धागोबाट इच्छाएको अर्को स्वेटर बुन्‍न सक्नु पनि आफैँमा एक चमत्कार हो !

घाम अस्तायो । पशुपन्छी र वनस्पतिहरू समेत बास बस्‍ने तरखर गर्न थाले । तर यता प्रिज्मकुटीमा भने केही मनुवाहरू रातभर जाग्‍नका लागि अत्यावश्यक सरदाम जोहो गरिरहेका थिए । रामले केही बोरा इन्धनजन्य पत्थर ल्याएर हवनकुण्ड छेउमा राख्यो । उसले सालधूप, धूपीलगायत अन्य जडीबुटीबाट बनेका सुगन्धित धूपहरू पनि ल्यायो । 

मैले हवनकुण्ड अझै तेज गरेँ र केही धूप हालिदिएँ । अति सुगन्धित धुँवाले प्रिज्मकुटी पुलकित भयो । अनि त्यहाँ उपस्थित हामीलाई पनि त्यस ऊर्जावान् सुगन्धले लामो सास लिएर छाड्न कर लगायो । सारा चेतना प्रफुल्ल हुन पुग्यो ।

हवनकुण्डको गर्मीले पसिनापसिना भएपछि मैले स्नान गरेँ । हामीले आफैँ गाईको गोबर, गहुँत, रिठ्ठो, सिकाकाइ, तितेपाती, नीम, भांग र चन्दनमाटो मिसाएर विशेष साबुन र सेम्पु तयार गरेका थियौँ । नुहाउन जाँदा एउटा मान्छे थिएँ म, नुहाएर फर्किंदा आफूलाई बिल्कुलै भिन्‍न पाएँ । भरपूर ताजगी महसुस भयो ।

हेम्पको ट्राउजर र टिसर्ट लगाएर म हवनकुण्डमा गएर बसेँ । पत्थरअग्निको न्यानो रापले मलाई स्नेहसाथ अंकमाल गर्यो । मैले अग्नि अरु तेज गरेँ ।

राम र सीता पनि नुहाएर आए । उनीहरूले पनि हेम्पका लुगा लगाएका थिए । सीताले बेलुकाको खाना बनाएर ल्याएकी थिई- जौ र कोदोको रोटी, फलफूलको रस र केही सलाद ।
हामीले हल्का खाना खायौँ ।
मैले भनेँ, ‘भोलिदेखि हामी चौबिस घण्टामा केवल एकपटक बिहान १० बजे मात्रै खाना खान्छौँ । अरूबेला हामी जडीबुटीको चिया भने प्रशस्तै पिउँछौँ । हवनकुण्डमा बस्दा हुने ‘डिहाइड्रेसन’लाई जडीबुटी चियाले निमिट्यान्न पार्नेछ । आज अब लगातार दुई घण्टा हामी केही सिध्दिप्रज्ञाको उत्खनन गर्नेछौँ । तयार छौ ?’

उनीहरूले सकारात्मक जवाफ दिएपछि मैले एउटा ‘पेन्डोरा बक्स’ उघार्दै भनेँ, ‘अहं ब्रह्मास्मी ! यद्यपि म एक मानव हुँ । अहिले म ईश्वर र पशुहरूका बीचमा अस्तित्वरत छु । यहाँ पशुयोनीका सम्पूर्ण असरहरू काटेर म ईश्वरसँगको आफ्नो सम्बन्ध वा सम्पर्कलाई अरू प्रगाढ बनाउन सक्छु किनभने, म एक मानव, जन्मजात ब्रह्मस्वरूपमा विद्यमान छु । र म आज अतिमानव अर्थात् महामानव अर्थात् सुपरम्यान अर्थात् उबरमेख आयामतर्फ एक अभूतपूर्व छलांग लगाउँदैछु । किनभने म त्यो सम्भावनाले ओतप्रोत छु । यदि म एक मानव हुँ भने, म जन्मजात सर्वज्ञ छु । सर्वशक्तिमान छु । अनि म सर्वव्यापी पनि छु । म मानव हुँ त्यसैले म आफूमा अन्तर्निहित उपरोक्त खाजानाहरूलाई क्रमशः जगाउन सक्छु । यसप्रकार म मानवेत्तर भएर ईश्वरीय अति प्रकाशको धापिलो सगरमा विचरण गर्दै आफ्ना नैसर्गिक जिम्मेवारीहरू निभाउन सक्षम हुनेछु ।’ 
  
मैले उनीहरूलाई आफू पछिपछि उपरोक्त कुरा दोहोर्याएर भन्न लगाएँ । उनीहरूले बडा लयात्मक पारामा त्यसो गरे । सारा प्रिज्मकुटी पनि आल्हादित भयो । यसप्रकार महामानव आह्वानको मेरो अति महत्वाकांक्षी यस अनुष्ठानमा बिना कुनै अवरोध उनीहरू सम्मिलित हुन पुगे । अब उनीहरू मेरा आगामी अति मानसिक कुराहरूको आयामतर्फ सम्पूर्णतः समर्पित र ग्रहणशील भएर गुरुत्वाकर्षित हुन पुगेका थिए ।  

मैले अगाडि भनेँ, ‘मानव शरीर बलियो हुँदैमा महामानव भइँदैन । मानसिक शक्तिले मात्रै पनि केही लछारपाटो लगाउँदैन । मानवमा खजानास्वरूप अन्तर्निहित अति मानसिक शक्तिको विस्फोटले मात्रै महामानव पैदा हुन सक्छ । जरथुस्त्रको काँधमा चढेर महामानवको परिकल्पना गर्ने जर्मन दार्शनिक फ्रेडरिख नित्से पनि मानसिक शक्तिहरूमै सीमित भए । अंग्रेजीमा ‘सुपरम्यान’, ‘ओभरम्यान’ वा ‘मेटाह्युमन’ अनि जर्मन भाषामा ‘उबरमेख’को अवधारणालाई पश्‍चिममा उत्खनन् गर्ने श्रेय पनि उनै नित्सेलाई जान्छ । एडोल्फ हिटलर नित्सेको ‘उबरमेख’ अर्थात् ‘ओभरम्यान थ्योरी’बाट अत्यन्तै प्रभावित थिए । तर केवल मानसिक शक्तिबाट निर्देशित भएका कारण त्यसले भयानक विनाश गर्यो । 

यहुदी र कम्युनिस्टहरूको एउटा आततायीलाई निस्तेज तुल्याउन हिटलरले अनेक फन्डा लगाएर लाखौँको संख्यामा उनीहरूलाई मृत्युका कारखानाहरूमा ‘रिसाइकल’ गरेर अर्को आततायी लादिदियो । दोस्रो विश्‍वयुध्दताका भारतको पाण्डिचेरीबाट महायोगी श्री अरविन्दले दावि गरे, हिटलर केवल मानसिक छ । र उसको मानसिकता एभिल अर्थात् तुच्छ छ । मानसिक शक्तिले महामानव होइन हिटलर जस्तो शैतान मात्रै पैदा हुन्छ । त्यसैले हामीले मानवेत्तर हुनका लागि आफूभित्रको अति मानसिक अर्थात् ‘सुप्रामेन्टल’ आयाम खोतल्नु जरुरी छ ।’
 
बोल्दाबोल्दै म टक्क अडिएँ । एक सुरुप जडीबुटी चिया खाएँ । अनि अगाडि भनेँ, ‘श्री अरोविन्दले लेखे कि पूर्ण योग अर्थात् समग्र योगको सहायताले मानव ब्रह्माण्डमा कुनै तरहले अवस्थित अति मानसिक शक्तिसँग आफूभित्र विद्यमान अति मानसिक शक्तिलाई एकाकार गरेर प्रकाशवान् हुन सक्दछ । किनभने, मानवको इभोलुसन यहाँ सकिएको छैन । यो लगातार अगाडि हुत्तिरहेको छ । हामी प्रकाशबाट आयौँ । अबौँ वर्षको ‘इभोल्युसन’ले अहिले यो अस्तित्वमा छौँ । र अब अर्बौं वर्षको ‘इभोल्युसन’ले फेरि हामी प्रकाशमय हुनेछौँ । सिध्दिको अभ्यासमा हामी भविष्यका ती अर्बौ वर्षहरूलाई छोट्याइदिन्छौँ । र, आफैँभित्रको विशेष अग्निलाई अति तेज गरेपछि आफैँलाई जलाएर शेष तुल्याइदिन्छौँ !’             

वातावरणमा अदृश्य भएर घुमिरहेको ‘कस्मिक इन्साइक्लोपेडिया’सँग लगातार ‘कनेक्ट’ भएर म केही महत्वपूर्ण जानकारीहरू खिच्दै थिएँ र मेरा सामुन्ने रूपान्तरणका लागि बडा उत्सुक भएर बसेका केटा र केटीलाई सुनाउँदै थिएँ । मलाई पनि खूब आनन्द आइरहेको थियो । नवजातलाई दूध पिलाइरहेकी आमाको अपरिसिम अतिरेक जस्तै !

केहीबेरको मौनतालाई चिर्दै मैले भनेँ, ‘तथापि विनाश हमेशा नकारात्मक हुँदैन । कतिपय अवस्थामा विनाश नै सिर्जनाको जननी पनि हुन पुग्दछ । जीवनमा खराबीको पनि ठूलो महत्व हुने गर्दछ । खराबी बेगरको दुनियाँ पनि निरस हुने गर्दछ । दोस्रो विश्वयुध्दमा ध्वस्त भएका जापान र जर्मनीजस्ता देश आज विकासको चरम शिखरमा पुगेका छन् । तर महाभारतपछि पूर्वमा खासै उल्लेखनीय युध्द भएनन् । अनि भौतिकरूपमा पूर्व खासै फस्टाउन सकेन । कुनै पनि भूमिलाई फस्टाउन पहिले त्यस भूमिमा बेजोड विध्वंश हुनु जरुरी छ । रकेटलाई पनि माथि उछिट्ट्याउन पिँधमा भयानक विस्फोटन गराउनु जरुरी हुन्छ । त्यसैले जहाँ फूल हुन्छन् त्यहाँ काँडाहरू पनि हुन्छन् । काँडा हुनुले नै फूलको सुन्दरता र कोमलताको महत्व राखेको हुन्छ । त्यसैगरी कुरूपता भएको खण्डमा मात्रै सुन्दरताको महत्व हुन्छ । कुरूप मात्रै वा सुन्दरतामात्रै भएको खण्डमा जीवन नीरस हुन पुग्दछ । एउटा तीतो सत्य के हो भने, कृष्णपछि यहाँ कुनै महामानव पैदा हुन सकेन । उता पश्चिममा नित्सेको ‘सुपरम्यान थ्योरी’ले पनि खासै काम गरेन । त्यसले उता कि हिटलर जन्माइदियो कि हलिउडमा ‘सुपरम्यान’ सिनेमा बनाइदियो । अनि त्यसले पश्चिममा कैयौँ मान्छेहरूलाई ‘साइकोप्याथ’ वा ‘स्किजोफ्रेनिक’ पनि बनाइदियो । प्रयोगशालामा एलएसडी आविष्कार गर्न लगाइदियो । अनि मुख छाडेर ‘इमिनेम’जस्ता ‘र्यापर’हरू ‘सुपरम्यान’ गाउन थाले ।

दुनियाँमा महामानव बन्ने प्रयास त धेरैले गरेकै हुन् । तर उनीहरू या त केवल पहलमान भए या त दार्शनिक । कि उनीहरू स्किजोफ्रेनिक कहलिए कि त भए फोस्रा ‘मिलिएनियर’ । मान्छेहरू यहाँ धूर्त राजनीति गरेर कुनै मुलुकको प्रधानमन्त्री वा राष्ट्रपति त भए होलान् । तर कृष्णपछि त्यस्तो मानवेत्तर किमियाले ओतप्रोत अर्को कुनै माइकेलाल यहाँ पैदा हुन सकेन । सभ्यता समृध्द थियो । अनि बुध्द जन्मिए । त्यहाँ युध्दको जरुरत थिएन । त्यसैले बुध्द निर्वाणतर्फ गए । उनले शक्ति वा सिध्दि हासिल गर्न मनाही गरे । उनले ऊर्जालाई एकत्रित त गरे । तर शिथिल छाडिदिए । तर कृष्णले ऊर्जालाई एकत्रित गरेर बाहिर प्रक्षेपण गरिदिए । उनले त्यतिबेलाको एउटा सभ्यतालाई नै तहसनहस तुल्याइदिए । निश्चय नै मानवेत्तर आयाममा पुगेको महामानवले विश्वको एउटा कुनामा बसीबसी दुनियाँ तहसनहस गरिदिन सक्छ । जस्तो कि अब तिमीले गर्नेवाला छौ । कृष्णपछि पूर्वको इतिहासमा अब तिमी नै कहलाउने छौ, महामानव । सारा युध्दहरूको पटापेक्ष गर्ने अर्को एउटा अभूतपूर्व र अन्तिम युध्द लड्नका लागि तयार होऊ । तर याद राख, यदि तिमी सूर्यजस्तै चम्किन चाहन्छौ भने तिमीले सूर्य जसरी जल्न पनि सक्नु पर्छ !’ 
केटाले दृढ आवाजमा भन्यो, ‘बाहिरको अग्नि भन्दा मभित्रको अग्नि अति तेज र शक्तिशाली छ । त्यसैले म बाहिरको जस्तै भयंकर अग्निमा पनि पौडी खेल्न सक्छु र त्यसले मलाई जलाउन सक्ने छैन !’

अदृश्य तरंगले केटाको आज्ञाचक्रलाई मेरो आज्ञाचक्रसँग गाँसेको थियो । त्यसैले ऊ मेरा कुराहरूसँग समानान्तर बग्न सक्षम भइरहेको थियो ।

मैले एउटा ब्रेक लिएँ । 

प्रिज्म कुटीबाहिर पुगेर एकछिन टहलिएँ । रातको पहिलो प्रहर निकै मनमोहक र ऊर्जामय लाग्दै थियो । पूर्णिमाको रात । जूनको चाँदीमय प्रकाशले वातावरण अत्यन्तै पुलकित लाग्थ्यो । अर्कातिर आकाशमा टहटह जुन र ताराहरूको उपस्थितिले परमात्मा जताततै सक्रिय भएको आभास पनि त्यहाँ भयो । मनतातो एक प्याला जडीबुटी चिया पिएँ । यसपाली दिमागमा ‘टिनिक्क’ लाग्यो, पनि । चिया अलिक कडै थियो र अनावश्यक निद्रा काट्न अत्यन्तै उपयोगी । 

फ्रेस भएर आउँदै गरेको रामलाई मैले मन्द आवाजमा भनेँ, ‘अब चमेरा र लाटोकोसेराहरूलाई डाक । उनीहरू अन्य विशिष्ट आत्मा बोलाउने हाम्रा खास माध्यम हुन् ।’ 

त्यसपछि केटाले आकाशतिर हेरेर अनौठो पाराले सुसेल्यो । उसले केहीबेर सुसेली रह्यो । अनि उसले चारैतिर घुमेर पनि सुसेली रह्यो । केहीबेरमै त्यहाँ कैयौँ चमेराहरू फन्का लगाउन थाले । केही लाटोकोसेरा पनि भ्याटभ्याट गर्दै नजाने कहाँबाट त्यहाँ टप्किए । केटाले दाहिने हात सोझ्यायो । एउटा लाटोकोसेरो उसको हातमा आएर बस्यो । आँखाका डिल राताराता भएको अति सुन्दर त्यो लाटोकोसेरोलाई केहीबेर सुम्सुम्याएर केटाले भुर्र एकातिर उडाइदियो । केटीले केही सिद्रा माछा लिएर आई । अनि उसले चमेरा र लाटोकोसेराहरूलाई चारो छरिदिई । चमेरा र लाटोकोसेराहरूले मीठो मानेर सिद्रा माछा खाए । अनि रमाएर उड्न थाले ।

हेर्दाहेर्दै त्यहाँ अत्यधिक चमेरा र लाटोकोसेराहरू आउन थाले । केटो फुत्तै भण्डार कक्षमा गयो र दुई बोरा सिद्रा माछा ल्याएर वरिपरि छरिदियो । चमेराहरू ह्वार्रै भेला भए र चारो खान थाले । केटीले पनि एक बोरा सिद्रा ल्याई र एकातिर छरी । त्यहाँ कैयौँ लाटोकोसेराहरू टप्किए र भोजन ज्यूनार गर्न थाले । 

प्रिज्मकुटीमा पुगेर मैले हवनकुण्डमा पारदर्शी पत्थरहरूको इन्धन थपेँ । रंगीन ज्वालाहरू तेज भए । मैले केही पनि धूप हालेँ । सुगन्धले वातावरण पुलकित भयो । 

बाहिर प्रिज्मकुटी वरिपरि चमेरा र लाटोकोसेराहरू फन्को लगाउन थाले । 

मैले केटालाई एउटा धुपौरोमा केही ताता कोइला राखेर एउटा धूपको प्याकेट थमाउँदै बाहिर लगेर राख्‍न लगाएँ । धूपौरोमा धूप हाल्दै ऊ बाहिर गयो । पशुपन्छी र बनस्पतिहरूसमेत धूपको सुगन्धले औधि प्रसन्न हुन्छन् भन्‍ने मलाई थाहा थियो ।

केहीबेरमा फर्किएर रामले भन्यो, ‘बाहिर केही चितुवाहरू पनि आएका छन् !’

‘भेरी नाइस् ! चितुवाहरूलाई कुटीको द्वारमा आएर बस्न लगाऊ !’ मैले भनेँ ।

केटाले द्वारतिर हेरेर ‘हेक्स’ भन्दै एउटा अनौठो आवाज निकाल्यो । द्वारमा केही चितुवा देखा परे । केटाले एउटालाई आफ्नो समिपमा बोलायो । चितुवा खुरुखुरु ऊ भएछेऊमा आयो । केटाले उसको घाँटिमुन्तिर सुम्सुम्यायो । आधा आँखा बन्द गरेर चितुवा बडो प्रफुल्लित हुन पुग्यो । केटाले चितुवालाई द्वारमा फिर्ता पठाइदियो । 

अनि अलिक ठूलो आवाजमा भन्यो, ‘राम्रो सुरक्षा गर्लास् है केटा हो । आजको हाम्रो यो रात विशेष रात हो ।’

मैले भनेँ, ‘अब लिलाराजलाई पनि बोलाउने बेला भयो । उसले मध्यरात भएपछि खबर गर्नू भनेको थियो । अब म तिमीहरूले समाधान गर्न नसकेको एउटा अन्सुल्झा समिकरण बोल्छु । अनि लिलाराज यहाँ टप्किने छ । किनभने ऊ कुनै पनि अन्सुल्झा समिकरण देख्‍नै सक्दैन । समाधानार्थ अवतार लिइहाल्छ । के तिमीहरूले थाहा पायौ कि पुरुषका स्तन किन हुन्छन् ?’

केटाले आफ्नो छातिमा नियाल्दै भन्यो, ‘मलाई साँच्चै नै थाहा छैन कि मेरा यी ससाना स्तन किन छन् ? किनभने, मैले जीवनभर कुनै बच्चालाई स्तनपान त गराउनु पर्ने छैन !’ 

केटी हल्का लजाइ । उक्त विषयमा उनीहरूले पहिल्यै निकैपटक बहस गरेका थिए । खासमा एकदिन एकान्तमा केटाले केटीका पुष्ट हुँदै गएका स्तन प्रेमपूर्वक चलाउँदै सोधेको थियो, ‘मेरोचाहिँ किन सानो ?’ 

त्यतिबेला केटी निरुत्तर भएकी थिई ।  

बोल्दाबोल्दै म एकछिन टक्क अडिएँ । सास रोकेर स्थिर भइराखेँ । 

अनि केही सम्झिए जसरी मैले शब्द ओकलेँ, ‘मानवसहित कुनै पनि स्तनधारी जीवको भालेलाई पनि ईश्वर वा प्रकृतिकातर्फबाट स्तन प्राप्त छ । अविकसित होलान् पुरुषका ती स्तन । तर किन छन् त ? प्रयोजन के हो तिनको ?’

केटीले आफ्ना स्तन भावी सन्तानको भोजन हो भनेर राम्रोसँग बुझेकी थिई । अनि यो कुरा निकै अगाडि उसले केटालाई पनि बुझाएकी थिई । तर केटा मान्छेका स्तन किन हुन्छन् ? यो भने उनीहरूको जानकारीभन्दा माथिको कुरो यियो । त्यसैले यो उनीहरूको प्रमुख अन्सुल्झा समिकरण थियो, जिन्दगीको ।

अचानक !
नजाने कहाँबाट त्यहाँ लिलाराज पनि टप्किन पुग्यो । अनि हवनकुण्डको एक छेउमा बस्दै भन्यो, ‘यहाँ त न्यानो रहेछ । बाहिर त पुरै तुषारो परिरहेको छ ।’ 

राम र सीताले लिलाराजलाई जम्लाहात गरे । 

मैले उसलाई ‘हेल्लो’ भनेँ । अनि सोधेँ, ‘कुन रुटबाट आयौ ?’

‘आकाशमार्गबाट आएँ !’ लिलाराजले दाहिने हात हल्का उठाएर ‘हाइ’ भन्दै जवाफ दियो । 

‘यात्रा कस्तो रह्यो ?’ मैले सोधेँ ।

केटीले जौको कुकिजका साथमा जडीबुटी चियाले लिलाराजलाई स्वागत गरी ।

‘यात्रा एकदम ‘इथरिक’ याने आकाशिय थियो । खूब मजा आयो ! अँ, त्यो अन्सुल्झा समिकरणलाई म एक वाक्यमा यसरी समाधान गरिदिन्छु जो तिमीले केहीबेरअघि मलाई टेलिपेथी गर्दै सोधेका थियौ । पुरुषको स्तन किन हुन्छ भने, प्रकृतिले हमेशा पुरुषलाई सचेत राख्न चाहन्छ कि ऊ केवल पुरुष नभएर स्त्री पनि हो । किनभने ऊ केवल पुरुषबाट नभएर स्त्रीबाट पनि निर्मित हो । त्यसैले उसमा पुरुष र स्त्री दुबैको गुण र धर्म हुने गर्दछ । यहाँ हरेक पुरुष स्त्रैण हुन्छ । यहाँसम्म कि पुरुषलाई रजस्वाला समेत हुने गर्दछ । तर पुरुषको रजस्वाला शारिरिक नभएर मानसिक हुने गर्दछ !’ लिलाराजले आफ्नो रहस्यमय लवजमा समिकरण हल गरिदियो ।

ध्यानपूर्वक जवाफ सुनेर केटा र केटीले मुखामुख गरे । केटो हल्का मुस्कुरायो । केटीले पनि उसलाई उसैगरी साथ दिई ।

लिलाराजले फटाफट चिया र कुकिज खायो । थप एक गिलास चिया माग्यो । केटीले अंखोराबाट हरियो रंगको त्यो तागतिलो जडीबुटी चिया थपिदिई र यथास्थानमा बसी ।

चियाको कडकपनाको प्रशंसा गरेर केटीलाई धन्यवाद दिएपछि लिलाराजले केटालाई सोध्यो, ‘त्यसो भए अब युध्द लडेरै छाड्ने ?’ 

केटाले हल्का मुस्कान छरेर प्रश्नवाचक भावमा बतायो, ‘आमाले नवजातमै मलाई त्यसै जंगलमा मिल्काएकी थिइन् त ? फेरि दुनियाँका तमाम युध्दहरूलाई निस्तेज तुल्याउन यहाँ एउटा निर्णायक युध्द लड्नु अति जरुरी भएको कुरा पनि त हजुरले नै औँल्याउनु भएको होइन र ?’ 

लिलाराज केही बोलेन । केवल उसलाई सुनिरह्यो ।

अनि सन्नाटा चिर्दै गंभीर भएर केटाले थप्यो, ‘अब आफ्नो अतिमानसिक सिध्दि जगाएर विश्व एकिकरण गरिदिन्छु । यहाँ म कुनै पनि आततायीलाई बाँकि राख्ने छैन । सारा सीमारेखाहरू मेटाइदिने छु । निर्दोष प्राणीमात्रको उत्थानका लागि म आफ्नो जिन्दगीलाई अब युध्दका हर दाऊमा लगाइदिन्छु !’ 

सुनेर लिलाराजले भन्यो, ‘तथास्तु ! तर याद राख, जित्यौ भने तिमीलाई कुनै ब्याख्याको जरुरत पर्ने छैन । यदि हार्यौ भने ब्याख्या गर्न त्यहाँ तिमी हुने छैनौ ।’

‘रामको शब्दकोशमा हार लेखिएको छैन, लिलाराज !’ मैले प्वाक्क मुख खोलेँ, ‘जस्तै भयंकर रावणलाई वध गर्न पनि एउटै राम काफि हुने गर्छ । हाम्रो यो राम अब अग्निसमाधि लिएर पारदर्शी हुँदैछ । त्यसपछि दुनियाँमा ऊ कहलिने छ, फेरि एकपटक महामानव । अनि उसले विश्वविजय गर्ने छ । उसले युध्दहरूको यो घिनलाग्दो धारावाहिक खेल सकिदिने छ । पहिलो र दोस्रो विश्वयुध्दपश्चात तेस्रोको क्रमभंग गर्दै अब उसले दुनियाँमा सारा आततायीहरूलाई वध गरेपछि घोषणा गर्ने छ – प्रथम विश्व शान्ति ! तेस्रो विश्व युध्द होइन, अब प्रथम विश्व शान्ति ! अर्थात, द ‘फस्ट वल्र्ड पीस’ !’  

लिलाराजले आफ्नै पारामा भन्यो, ‘तथास्तु ! तर एउटा कुरा हमेशा याद राखेस्- विजयसँग त जो कोही रमाउँने गर्छ । तर जो हारलाई पनि जित ठानेर अगाडि बढ्छ खासमा त्यो नै विजयी कहलिन्छ । ईश्वरको नजरमा यहाँ के हार ? अनि के जित ? ईश्वरले त केवल तिम्रो प्रयासको रफ्तार र इमान्दारितालाई मुल्यांकन गर्ने गर्दछन् ।’                      

मैले भावशून्य मुद्रामा भनेँ, ‘हार र जित एउटै स्केलका दुई अलग बिन्दु हुन् । तर अलग लागे तापनि ती दुई बिन्दुहरू अन्योन्याश्रित छन् ।’ 

लिलाराजले पनि भावशून्य मुद्रामै भन्यो, ‘असली योध्दा त त्यो हो, जो युध्द जितिसकेर युध्दमा जान्छ । जबकी भाग्यमा हार लेखेकाहरू पहिले युध्दमा जान्छन् र युध्द जित्‍ने धृष्टता गर्छन् । अनि नराम्रो पराजय व्यहोरेर हमेशाका लागि धूलिसात हुन पुग्छन् ।’

अब मैले पनि भनिदिएँ, ‘भाग्य र साधना । भाग्य एक्लैले केही हुँदैन । यदि साधना गरिएन भने त्यो भाग्यमा खिया नै पर्न जान्छ । तरवार खेलाउनेले हरेक दिन आफ्नो तरवारमा धार लगाउनु अति जरुरी हुन्छ ।’

लिलाराज केवल मुस्कुरायो । उसको अतिरेकमय मुस्कानले प्रिज्मकुटीको आभामण्डलमा सुगन्ध छाए झैँ लाग्यो । अनि सबै मुस्कुराए ।

राम र सीता लगातार हाम्रा मूर्तअमूर्त संवादहरू सुनिरहेका थिए । बाहिर द्वारमा चितुवाहरू पनि ध्यानमग्न देखिन्थे । प्रिज्मकुटी वरिपरि चमेरा र लाटोकोसेराहरू फन्को लगाइरहेका थिए । छेउछाउमा अन्य कैयन जनावर र पशुपन्छीसमेत भेला भएका थिए ।  

अकस्मात् ! 
केटाका पछाडि स्याँ... गर्दै केही सल्बलायो । त्यहाँ बडेमानको एउटा अजिंगर देखा परेको थियो । केटाले अजिंगरलाई सुम्सुम्यायो । जिब्रो बाहिर निकाल्दै अनि भित्र हाल्दै अजिंगर टुलुटुलु त्यहाँ उपस्थित सबैलाई पालैपालो हेर्न थाल्यो ।  

‘के हो यसको नाम ?’ मैले केटालाई सोधेँ ।

केटाले भन्यो, ‘टाइराजियम हो यसको नाम । यसलाई मान्छे हुने रहर छ । त्यसैले केही दिनअघि म यहाँ आएको थाहा पाउनासाथ मलाई भेट्न आयो । अनि फर्किनै मानेन । मलाई उसले एउटा नाम राखिदिनु भनेर ढिप्पी गरेकाले मैले उसको नाम टाइराजियम राखिदिएँ । आएदेखि नै ऊ हामीसँगै छ ।’ 

‘लौ, केटाले अर्को एउटा अप्ठ्यारो समीकरण पनि पेस गर्यो । टाइराजियमलाई अब मान्छे बनाउने कसरी ?’ मैले माहोल तताउने हिसाबमा भनेँ ।

‘म बनाउँछु !’ लिलाराजले बडा ओजपूर्ण र करुणा मिश्रित आवाजमा भन्यो, ‘तर रामले चाहिँ टाइराजियम बन्नुपर्छ । याने अब अजिंगर मान्छे बन्छ । अनि मान्छे चाहिँ अजिंगर । के छ विचार ? गरिदिउँ त तिमीहरूको काया सट्टापट्टा ? तर यो छोटो समयका लागि केवल एक प्रयोगका रूपमा हुने छ । राम, तिमीले त अब एउटा कालो ड्र्यागनमा रूपान्तरित हुनु पर्नेछ ।’

केटो मुस्कुरायो । ऊ निकै खुसी पनि देखियो । अनि उत्साहित हुँदै सोध्यो, ‘के यो काम आजै सम्भव हुन्छ ?’

लिलाराजले भन्यो, ‘यहाँ जे असम्भव छ त्यो नै अवश्यंभावी छ ! अर्थात्, इम्पोसिबल इज पोसिबल !’

कुरा सुनेर म रोमाञ्‍चित हुन पुगेँ । त्यसो त एउटा ‘मिस्टिक’को कारखानामा गरिने कुराहरूले बेलाबेला शरीरमा काँढा उम्रिनु स्वाभाविक । 

मैले उत्साहित हुँदै भनेँ, ‘शुभ काममा के को देरी ?’

त्यसपछि लिलाराजले एउटा अनौठो मन्त्र पढ्यो, ‘हेराँ भेराँ खोरांग्नाम् भुँख्यो हो ह्रांग !’ 

०००००
राम जुरुक्कै उठ्यो र द्वारतर्फ हान्‍नियो । यता अजिंगरले टाउको ठाडो पार्यो । ऊ त लगभग पुच्छरै टेकेर खडा हुन पुगेको थियो । 

लिलाराजले मन्त्र पढिसकेर गोजीबाट केही अक्षता झिकेर अजिंगरलाई हान्यो । चमत्कारिक पारामा त्यसरी अक्षता हान्दा अजिंगर वरिपरि धुँवा उठ्यो र अजिंगरलाई ढाक्यो । बिस्तारै धुँवा छिमलियो । अनि त्यस् जादुमय वातावरणमा प्रकट भयो, जुँगाका रेखी बस्दै गरेको एउटा नवयुवक । युवक सिकुटे र अग्लो थियो । उसका हातका औँलाहरू लामालामा थिए । उसको कपाल पनि लामो र कर्ली परेको थियो । गाजल लगाए जस्ता थिए, उसका गहिरा र अति सम्मोहक आँखाहरू । 

देखेर सीता र म आश्‍चर्यले चकित हुन पुग्यौँ । लिलाराजको अनुहार भने नागको जस्तो फुल्न पुगेको थियो । लाग्थ्यो, उसले निकैबेरदेखि सास रोकेको हो । केहीबेरमा उसको अनुहार क्रमशः समान्य भएर आयो ।

‘अनि रामचाहिँ खोइ त ?’ मेरो मुखबाट फुत्कियो । 

‘म यहाँ छु !’ द्वारतर्फबाट उसको आवाज आयो । तर त्यहाँ राम नभएर एउटा बडेमानको अजिंगर नागबेली चालमा हामी भएतर्फ आइरहेको थियो । 

लौ, अचम्म !

लगातार कुकुरहरू भुकेको आवाजले अकस्मात जाग्न पुगेँ, म । मनको पर्दामा एउटा लामो स्वप्नकथा परावर्तन हुँदै गर्दा बाहिर एकतमासले भुकिरहेका कुकुरहरूको कर्कश आवाज निश्चय नै झिँजो लागिरहेको थियो । कुकुरहरू निकै अत्तालिएर भुकिरहेका थिए । 

फूर्तिसाथ उठेँ, म । अनि टर्च बोकेर ढोकातिर हान्‍निएँ । बाहिर अझै उसैगरी कुकुरहरू भुकिरहेका थिए । मैले ढोका उघारेर कुकुरहरू भुकिरहेको दिशातर्फ टर्चको उज्यालो फ्याँकें । अनि त्यहाँको दृश्य देखेर म हैरान हुन पुगेँ । सम्पूर्ण आँत नै चिसो भएर आयो । 

एउटा बडेमानको अजिंगरलाई घेरेर कुकुरहरू जोडजोडले भुकिरहेका थिए । त्यहीँ वरिपरि कैयौँ चमेराहरू भ्याटभ्याट गर्दै उडिरहेका थिए । टर्चको उज्यालोमा मैले केही लाटोकोसेराहरू पनि देख्‍न पुगेँ । एउटा लठ्ठी टिपेर मैले कुकुरहरूलाई भगाएँ । मलाई देखेर कुकुरहरूले अलिक भुकाइ कम पनि गरे । अजिंगर भने मतिरै घस्रिन थाल्यो । मैले उसलाई बाटो छाडिदिएँ । 

नागबेली चालमा अजिंगर सरासर मेरो कोठाभित्र पस्यो । म हेरेको हेर्यै हुन पुगेँ । मलाई भने तत्काल एउटा आइडिया फुर्यो । मैले ढोकाको चुकुल बाहिरबाट लगाइदिएँ । अनि वन कार्यालयमा फोन लगाएँ ।

मैले केही छिमेकीलाई मैले डाकेँ र सारा घटना अवगत गराएँ । हामीले झ्यालबाट चियाएर भित्र हेयौँ । भित्र मेरो ओच्छ्यानछेउमा गुडुल्किएर बसिरहेको थियो बडेमानको एउटा अजिंगर । ऊ आफ्नो जिब्रो तीव्र गतिमा भित्रबाहिर गरिरहेको थियो । र, बेलाबेला स्याँ... गरेर सुसाउने पनि गर्थ्यो । 

मैले तत्काल आफ्नो ताजा स्वैरकल्पना याद गरेँ । बाघखोर प्रज्ञा लेख्‍न सुरु गरेयता मलाई त्यसै पनि केयौँ ‘डेजा भू’हरूले लखेटिरहेका थिए । बेलाबेला अनेक पात्रसँगका आकस्मिक जम्काभेटहरूमा ‘डेजा भू’हरू नराम्रोसँग टकराउँथे । अनि त्यो बेजोड टकराहटले निस्किएका झिल्काहरू अनुच्छेदमा परिणत हुने गर्दथे । 

कस्तो अचम्म ? सपना र बिपनामा एउटा समानान्तर संगाती पकडमा आइरहेको थियो । मनमा प्रश्न उठ्यो, के सपनाले विपना प्रभावित हुन सक्छ ? अनि के विपनाले पनि सपना प्रभावित हुन सक्छ ? सपनामा बसेर हेर्दा किन विपनाचाहिँ सपना झैँ लाग्छ ? अनि विपनाबाट हेर्दा त सपना केवल सपना ! सपना वास्तविक हो कि वास्तविक जीवन सपना ? कुन चाहिँ यथार्थ हो ? सपना कि विपना ? कि दुबै भ्रम हो ? कि हो दुवै सत्य ? अनि कहाँ सकिन्छ सपना र विपनाको भेद ? अनि कहाँ सुरु हुन्छ विपना र सपनाबीचको पारदर्शी पर्दाको फेर ?   

बिहान भएपछि वन कार्यालयका कर्मचारीहरू आएर मेरो बेडरुम कब्जा गरेर बसिरहेको अजंगको अजिंगरलाई उध्दार गरेर लगे । सुनझोडा जंगलको किनारमा वन कार्यालयले अन्य केही ठूलासाना अजिंगरलाई थुनेर राखेको थियो । जंगलका बयस्क अजिंगरहरू सिकारी र तस्करको चपेटामा पर्ने कारणले वन कार्यालय मातहतमा ती लोपोन्मुख जीवहरू त्यसरी संरक्षण गरिएका थिए । वन कार्यालयका कर्मचारीहरूले मेरो बेडरुम कब्जा गर्ने अजिंगरलाई पनि सुनझोडाको अजिँगर संरक्षण गृहमा नै लैजाने बताएका थिए ।

गाउँलेहरू झुरूपप भेला भएका थिए । अजिंगर लगिएपछि सबै आआफ्नो बाटो लागे । चमेरा र लाटोकोसेराहरू भने उज्यालो हुनुपूर्व नै आआफ्नो दुनियाँमा अलप भइसकेका थिए ।

म सरासर लेखनकक्षमा गएँ र ल्यापटप खोलेर ‘बाघखोर प्रज्ञा — ७’ उत्खनन गर्न थालेँ । मलाई यस्तो लाग्यो कि त्यो अजिंगर यतै कतै छ । त्यसलाई कतै लगिएकै छैन । अनि त्यसले कतिबेला जिब्रो निकाल्दै गर्ने हो, स्याँ...! 

लाइटर झोँसेर सिगारको गहिरो कश लिएँ । तर यसपालि सिगारले पहिलेजस्तो ‘किक’ हानेन । लगत्तै मैले बोतलबाट एक प्याला लालीगुँरास वाइन खन्याएँ । अनि आदतअनुसार एकै झट्कामा सिनित्त पारेँ । फेरि सिगारको गहिरोगहिरो कश लगाउँन थालेँ । यसपालि चाहिँ केही होला कि जस्तो भएर आयो । दिमाग क्रमशः उल्टिन थालेपछि मैले फटाफट किबोर्ड ठोकेँ । अनि ताजा ‘ट्रान्स’का कैयौँ प्लटहरूलाई म सम्झीसम्झी ‘माइक्रोसफ्ट वर्ड’भित्र कोच्‍न थालेँ ।

अनवरत अभ्यासले पोख्त बनाउँछ भनेजस्तै आजकल मलाई लेख्दालेख्दै ‘ट्रान्स’ हुन थालेको थियो । अब मलाई रामको अति मानसिक प्रयोगशालाको एक चक्कर लगाउन मन लाग्यो । एस्ट्रेमा सिगार निभाएर मैले एउटा चन्दन अगरबत्ती जलाएँ । वातावरण र मनलाई समेत तत्काल ताजा बनाउने हुँदा अगरबत्ती जलाउनु मेरो नयाँ सौख बन्न पुगेको थियो ।   

रामको त्यो विशेष प्रयोगशाला एउटा रिसोर्टका रूपमा निर्मित थियो । र, लिलाराजले त्यसको नाम राखिदिएको थियो, ‘द लास्ट रिसोर्ट’ । अनि उसको ‘स्लोगान’ थियो, ‘रिभर्स टु द नेचर एण्ड गेट नर्चर्ड’ !

उनीहरूको अनुष्ठानको सत्रौँ दिन चलिरहेको थियो । निश्‍चय नै हाम्रो र उनीहरूको समयबीचमा अनन्त गुणा फरक थियो ।

यसबीच राम र सीता सिध्दिको एउटा चरम प्रयोगमा ढलिसकेका थिए । उनीहरूमा अथाह ‘मेटामोर्फोसिस’ संगठित भएको प्रष्ट देखिँदै थियो । उनीहरूको बायोकेमिस्ट्री, रूपाकृति र चालढालमा समेत व्यापक परिवर्तन आएको थियो । 

उनीहरू खाली पेटमा अनेक श्रम गर्थे । कम खान्थे । कम सुत्थे । मध्यान्‍हमा पनि सूर्यमा टक लगाउँथे । बढी समय हवनकुण्डमा बिताउने गर्थे । अनेक किसिमका त्राटक गर्ने गर्थे । उनीहरू परकाया प्रवेशको अभ्यास पनि गर्ने गर्थे । 
    
मध्यरातमा लास्ट रिसोर्ट भने झलमल्ल उज्यालोले नुहाइरहेको थियो । राम, सीता र लिलाराज प्रिज्मकुटीभित्र अनेक रहस्यमय प्रयोगहरू गरिरहेका थिए । लिलाराजले पत्थरअग्‍नि तेज गर्‍यो र भन्यो, ‘अब तिमीले अग्‍नि समाधि लिनुपर्छ । किनभने, तिमीभित्रको अग्‍निले जलेर अहिले तिमी वाफिएका छौ । अब बाहिरको अग्‍निले पनि जलेर तिमीले शेष हुनु पर्नेछ । अनि तिमी कहलिनेछौ, अग्‍नीमानव ! र दुनियाँ कब्जा गर्ने त्यो नै तिम्रो अति विशेष कुँजी पनि हुने छ !’

रामले भन्यो, ‘म तयार छु, गुरुदेव !’

त्यसपछि मैले ज्वाला निकै तेज गरेँ र केही धूप पनि हालिदिएँ । वातावरणमा धुँवासँगै एउटा गज्जबको सुगन्ध फैलियो । 

लुगा खोल्न लगाएर रामलाई अग्‍नि समाधिका लागि तयार हुन आदेश दिएँ । रामले फटाफट लुगा खोल्यो । उसको लिंग मास्तिर सिकुडिएर निकै स्यानो देखिन्थ्यो । र, त्यो त्वचाकोषमा गुम्फित पनि थियो ।

मैले छेवैको ढ्यांग्रो बजाउँदै केही मन्त्र पढेँ, ‘ढंग ... ढंग ... ढंग ... ! ह्रों ह्रांग ह्वांग ह्रिंग ह्रूम स्ससस...! ’ 

रामले बिस्तारै अग्निकुण्डमा फाल हाल्यो ! हेर्दाहेर्दै हुर्हुरी दन्किरहेको ज्वालाभित्र ऊ समाहित हुन पुग्यो । ज्वालाभित्र उसको रूपाकृति अलिअलि मात्रै देखिँदै थियो । ऊ ज्वालाहरूले सम्पूर्णतः नुहाउन पुग्यो । स्थिति निकै भयंकर लागिरहेको थियो । 

मैले ढ्यांग्रो झन्झन् जोडले बजाएँ । अनि जोडजोडले मन्त्रहरू पनि दोहोर्याएँ । राम रंगीन ज्वालाहरूले नुहाइरहेको थियो । मध्य ज्वालामा ऊ पल्याँटी कसेर गहिरो ध्यानमा निमग्‍न थियो । 

यो क्रम निकैबेर चलिरह्यो । छेवैमा सीता भने मुटु दह्रो पारेर त्यो सब हेरेर बसेकी थिई । 

इन्धन थप्‍न छाडेपछि ज्वालाहरू क्रमशः शान्त भए । रामको सारा रूपाकृति कालो हुन पुगेको थियो । देखेर लिलाराज अति प्रसन्‍न भयो । 

लिलाराजले मौनता चिर्दै भन्यो, ‘अहिले तिमी श्याम अर्थात् कृष्ण चेतनामा पुगेका छौ । अब तिमीलाई कुनै दागले केही लछारपाटो लगाउँदैन । अब तिमीलाई कसैले मैल्याउन पनि सक्ने छैन । अर्को कुरा, अब तिमीले मानवले जस्तो भोजन गर्नु पर्ने छैन । अब तिमीले खाने छौ, केवल आगाका ताता लप्का । अब तिमी एक ड्र्यागन हौ । कालो ड्र्यागन । ल, तिमीलाई बधाइ छ !’

श्याम आयाममा भर्खरै प्रवेश गरेको केटाले गदगद हुँदै भन्यो, ‘धन्यवाद, गुरुदेव !’ 

उसको आवाजमा ‘युरोनियम’ मिसिएको पो हो कि जस्तो पनि लाग्यो । उसको आवाज पहिलेभन्दा निकै नै भारी सुनिँदै थियो । र, त्यसरी बोल्दा उसको मुखबाट तातो वाफ पनि निस्किरहेको थियो । 

लिलाराजले भन्यो, ‘अब तिमी आगो ओकल्न सक्षम भएका छौ । एकपटक ‘हा...’ गर त !’

केटाले ‘हा...’ गर्यो !

उसको मुखबाट ह्वार्रै आगाका लप्काहरू निस्किए । कस्तो अचम्म !

मैले केटालाई भित्तातर्फ देखाउँदै भनेँ, ‘भित्ताको शक्तिचक्रमा एकछिन त्राटक गर त ! तिम्रो एउटा सिध्दि जाँचेर हेरौँ ।’

केटाले शक्तिचक्रमा गहिरो त्राटक गर्यो । एकैछिनमा शक्तिचक्रबाट पुत्पुत धुँवा आउन थाल्यो । नियालेर हेर्दा उसका आँखा हुर्हुरी बलिरहे जस्तै देखिन्थे ।
०००
 


Author

थप समाचार
ad
x