साहित्य

सहरको कथा

एउटी कल गर्लको सपना

लिलाराज खतिवडा |
असोज २, २०७८ १५:४७ बजे

रुबिना भुजेल गाउँबाट ‘प्लस टु’ पढ्ने उद्देश्यले राजधानी आएकी थिई । तर समयचक्रले उसलाई अर्कै दुनियाँमा पुर्याइदियो । चकाचौँध र अति प्रकाशका बावजूद त्यो दुनियाँलाई मान्छेहरू अँध्यारो वा कालो नै परिभाषित गर्छन् ।

रुबिना मकवानपुरको एउटा हातमुख जोर्नै धौधौ पर्ने परिवारबाट आएकी । गाउँमै कलेज खुलिसकेको हुँदा अभिभावकले राजधानी जाने अनुमति दिइरहेका थिएनन् । ऊ झगडा गरेरै आई । बाटामा आउँदा एउटा गाउँले केटाले सहारा दियो । रातभर ‘धैरै पढेर ठूलो मान्छे भएको’ गुलियो कल्पनामा डुबेकी थिई, रुबिना ।  


तर राजधानी पुर्याएर गाउँले केटाले रुबिनाको कुमारित्व लुट्यो । सुन्धाराको एक सस्तो होटलमा राखेर उसले रुबिनालाई बारबार भोग्यो र एक दिन बेपत्ता भयो । होटलमा तिर्न बाँकि पाँच हजार सात सय रुपियाँ रुबिनासँग थिएन । होटलवालाले उसलाई बन्धक बनायो । यात्रा सोचेजस्तो सहज पक्कै थिएन । 

होटलमा अरु पनि युवती थिए । उनीहरूलाई देह व्यापार गराइन्थ्यो । रुबिना पनि उनीहरूसँग देह व्यापार गर्नेतर्फ ओर्हालो लाग्न बाध्य भई । अरु उपायै थिएन । शुरुशुरुमा यो काम गर्न उसलाई निकै गाह्रो भएको थियो । उसको यौनांग सुन्निएर संक्रमण पनि भएको थियो । पुराना युवतीहरूले दिएको औषधिले संक्रमण निको भयो । 

बिस्तारै ऊ धन्दामा बानी परी । दिनमा कम्तिमा चारपाँच जनासँग सुत्नु पथ्र्यो । कहिले त दशबाह्र जना पनि हुने । ऊ लाश जस्तो पल्टिदिन्थी । मान्छेहरू उसलाई सकेजति भोगेर जान्थे । 

केही महिना बिते । कलेज पढ्ने उसको इच्छा ज्यूँका त्यूँ मात्रै होइन अरु बढेको थियो । ऊ अनेक उपाय सोच्न थाली । 

उसले देह व्यापार गरेरै भए पनि किन कलेज नपढ्ने, भन्ठानी । आखिर ‘एसइइ’ उसले राम्रो नम्बरमा पास गरेकै थिई । प्रमाणपत्रहरू उसले बडा जतनसाथ राखेकी थिई । 

होटलको पैसा चुक्ता भइसकेपछि पनि ऊ देह व्यापार गरेर पैसा कमाइरहेकी थिई । तर काम गरेभन्दा उसको पारिश्रमिक अत्यन्तै न्यून थियो । अञ्जान पुरुषहरूसँग सुतेर मनग्ये पैसा कमिए पनि दलाल र होटलवालाले नै बढी पैसा कुम्ल्याउँथे । यो कुरा रुबिनालाई मन परिरहेको थिएन । एकदिन अन्य तीन जना युवतीहरूसँग मिलेर रुबिनाले सुन्धाराको त्यस होटलबाट भाग्ने योजना बनाई । 

रुबिनाले भनी, ‘अखिर पराइ मान्छेहरूसँग नै सुत्नु होइन ? अब हामी आफैँ कोठा लिएर बसौँ र आफ्नै तरिकाले त्यो काम गरौँ । हाम्रो छाला घोटेर कमाएको पैसा दलालहरूलाई किन खुवाउने ?’

बास्तवमै रुबिनाको यो अफर अरु तीनजना युवतीलाई निकै मन पर्यो र उनीहरू त्यहाँबाट भाग्न ताम्सिए । खासमा सबै कुनै न कुनै बाध्यताले देह ब्यापारमा तैनाथ थिए । तर सबैभन्दा प्रमुख बाध्यता त्यहाँ नजर आइरहेको थियो, मुलुकमा ब्याप्त चरम गरिबी र अनुचित शिक्षा । कारण वा कारक थियो, कुशल नेतृत्वको अभाव ।

यसै पनि मुलुकका नेताहरूले गर्ने राजनीति र सुन्धारा तिरका सस्ता लजहरूमा हुने देहब्यापारमा खास्सै तात्विक भिन्नता थिएन । नेपालको राजनीति ‘रेड लाइट एरिया’ जस्तै हुन पुगेको थियो । बरु देहव्यापारीहरू गलत काम पनि इमान्दारसाथ गर्लान् । तर यहाँ नेताहरू सही काम पनि गलत तरिकाले गर्छन् । यस अर्थमा, नेताहरू भन्दा गरिबी वा अन्य कारणले देह व्यापारमा ओर्लिन बाध्य भएका यी युवतीहरू इमान्दार लाग्छन् ।

फोनकै भरमा रुबिनाले एउटा डेरा खोजिसकेकी थिई । उनीहरूले केही जरुरी सामान पनि जोडे । कालिमाटी तरकारी बजारछेऊ उनीहरूले दुइवटा कोठा भाडामा लिए । 

रुबिनाका साथमा थिए, धनगढीकी पार्वती तामांग, पोखराकी सरु थापा र झापाकी एलिसा बिश्वकर्मा । अब उनीहरू मोवाइल फोनकै भरमा धन्दा गर्न थाले । उनीहरूका केही स्थायी ग्राहक पनि थिए । कतिले उनीहरूको नम्बर लिएका थिए । अनि कतिपय ग्राहकको नम्बर उनीहरूले बचत गरेका थिए । 

उनीहरूलाई ठूलाठूला पार्टीहरूमा पनि बोलाइन्थ्यो । जहाँ झिनो वस्त्रमा उनीहरू नृत्य गर्थे । सरकारी कार्यालयका मध्यराते भोजहरूमा पनि उनीहरूलाई निम्तो जान्थ्यो । भोज सकिएपछि उनीहरूको मोलमोलाई हुन्थ्यो र नशामा धुत्त भएकाहरू उनीहरूलाई मस्त भोग्थे । पहिलेपहिले नेपाली चेलीहरू बम्बईमा बेचिन्थे भने, अहिले सुन्धारामा बेचिन्छन् । पहिलेपहिले ‘रेड लाइट एरिया’ खोज्न बैंकक, बम्बई वा कलकत्ता जानुपथ्र्यो भने अहिले सुन्धारा, ठमेल वा गोंगबु गए पुग्छ । मुलुकमा विकास त भएकै हो ।  

एक महिना पनि बित्दा नबित्दै पार्वतीले कालिमाटीकै एउटा तरकारी पसलेसँग विहे गरी । पसले सप्तरीको थियो । जात नमिले पनि उनीहरूको मन मिलेको थियो ।
उता रुबिनाले कलेज ‘ज्वाइन’ गरी । बिहान बेलुका भने उसले आफ्नो ‘धन्दा’ जारी राखी । 

अब रुबिनाको जीवनमा केही चमत्कारिक घटना भए । एक वर्ष कलेज पढेपछि उसलाई एउटा मन्त्रिको छोराले प्रेम प्रस्ताव राख्यो । केही दिन त उसले वास्तै गरिन । तर हरेक रात नयाँनयाँ पुरुषसँग सुत्ने कर्लगर्ललाई यो प्रेमको प्रस्ताव निकै महंगो सावित हुन पुग्यो । केटाले उसको पिछा गर्न छाडेन । 

रुबिना अत्यन्त राम्री थिई । पातलो शरिर । लाम्चो र गोरो अनुहार । लामो कपाल । आकार मिलेका मझौला स्तन । बारुले कम्मर । अनि बिस्तारै बोल्ने उसको सुमधुर आवाज । 

केटाको नाम थियो, रजत कुँवर । ऊ स्नातक गरिरहेको थियो । ऊ मात्रै होइन रुबिनासँग झुम्मिन खोज्नेहरू त्यस कलेजमा निकै थिए । एक दिन रुबिना पग्लिएरै छाडी । ऊ रजतको प्रेम प्रस्तावको ढिटका अगाडि निकै नराम्रोसँग हार्न पुगी । रजत उसका सामुन्ने एक पागल प्रेमि सावित भइसकेको थियो । 

उनीहरू ‘डेटिंग’ जान थाले । धन्दामा आजकल रुबिनाले उति समय दिन सकिरहेकी थिइन । तर सरु र एलिसा खुरुखुरु आफ्नो काम गरिरहेका थिए भने तरकारी पसलकी साहुनी भएकी पार्वती गर्भवती । 

एक दिन रजत र रुबिना रात बस्दै नगरकोट गए । रजतले उसलाई रातभर चुम्यो । तर सम्भोग गरेन ।  उसले रुबिनाका कानमा सुस्तरी भन्यो, ‘योे सब विवाह पछि गर्दा जीवन आनन्दित हुन्छ ।’

पुरुषका कैयौँ यौनिक आदतहरूबाट राम्रैसँग जानकार रुबिना छक्क परी । यस्तोे मान्छेसँग ऊ जीवनमा पहिलो पटक रात बिताइरहेकी थिइ जो मौका पाउँदा पनि उसलाई बिथोलिरहेको थिएन । उल्टै अथाह प्रेम वर्षाइरहेको थियो । 

रुबिना आन्दविभोर हुन पुगी । रजतको यो अथाह प्रेमले ऊ निर्वाणमा पुगेसरह भएकी थिइ । यस्तो ऊ जिन्दगीमा पहिलोपटक अनुभूत गरिरहेकी थिई । तर कताकता उसलाई एउटा कुरामा ग्लानी भएर आयो । त्यो के भने, ऊ एउटी कर्लगर्ल । अनि रजत निस्कियो सच्चा प्रेमी । एक गहिरो असमञ्जसताले उसलाई लगातार आक्रमण गरिरहेको थियो । तर यी अप्ठ्यारा भावहरूलाई दबाएर रजतको अँगालोमा पूर्ण समर्पित भएकी थिई, रुबिना ।

कुनै पुरुषसँग उसले यसरी रात बिताएको छँदै थिएन । उसले रात बिताएका सबै पुरुषले उसलाई नंग्याएर भोगेका थिए । रुबिनाको भाषामा त्यहाँ हरेकपटक कि धन्दा हुन्थ्यो कि त बलात्कार ! प्रेम के हो उसलाई थाहा थिएन । रजतसँग भेट भएपछि अब बल्ल उसलाई वास्तविक प्रेमको स्वाद चाख्ने अवसर मिलेको थियो ।  
बिहान हुँदै गर्दा रजतले रुबिनालाई अँगालोमा कस्दै भन्यो, ‘म तिमीसँग विहे गर्न चाहन्छु !’ 

रुबिनाको छाति जोडले धड्कियो । मनमा बिगतका रिलहरू तिब्र रफतारमा घुमे । उसको दिमाग चकराउन थाल्यो । उसले सोची, म एक कर्लगर्ल ! कसरी यो देउता जस्तो मान्छेसँग बिहे गर्नु ? 

तर पनि उसले हिम्मत जुटाएर भनी, ‘म केही दिनमा जवाफ दिन्छु । बुबाआमालाई सोध्नु पर्छ ।’ घर छाडेदेखि बुबाआमाको खबरबाट बेखबर भए पनि रजतलाई आश्वस्त पार्न उसले त्यसो भनेकी थिई । 

रजत मुस्कुरायो र भन्यो, ‘तिम्रा बुबाआमालाई भेटेर म नै तिम्रो हात माग्ने छु । तर आज म तिम्रो मनको कुरा चाहिँ जसरी पनि जान्न चाहन्छु ।’ यस्तो सुनेर एकपटक त रुबिनालाई लाग्यो, कि सब बताइदिउँ । भनिदिउँ, कि म एक बेश्या हुँ र सयौँ जना मान्छेहरूसँग सुतिसकेकी छु !

तर उसले त्यसो गर्न सकिन । उसले ओठमा मुस्कान ल्याउने प्रयास गर्दै भनी, ‘यति छिट्टै किन विहेको कुरा ? विहे त आरामसँग गर्ने होइन र ?’ 

रजतले उसको कपाल खेलाउँदै भन्यो, ‘मेरा बुबाआमाले विहे गर्न निकै कर गरिरहनु भएको छ । घरमा एउटी तिमी जस्तै बुहारी चाहिएको छ ।’ 

रुबिना हाँसी र रजतलाई अँगालोमा कसी ।

बिहानको खाना खाएर उनीहरू सहर फर्किए र आआफ्नो संसारमा पुगे । 

रुबिना आफ्नो कोठामा घुसी । 

साथीहरू आइपुगेका थिएनन् । ऐनाअगाडि गएर उसले सारा लुगा फुकाली । अनि त्यहाँ आफूलाई नियाल्न थाली । 

आजकल उसलाई आफ्नै शरिरसँग घिन लाग्छ । जति नुहाए पनि मयल नगए जस्तो लाग्छ । सयौँ मान्छेहरूले उसलाई मैल्याएका छन् । साबुनपानीले त्यो मैलो नपखालिए जस्तो लाग्छ, उसलाई ।

रजतलाई के जवाफ दिने ? 

ऊ चकमन्न भई । उसलाई कुनै जवाफ सुझिरहेको थिएन । 

उता रजत घर पुग्यो र खुशी हुँदै आमालाई भन्यो, ‘बुहारी फेला परी आमा !’

आमाले भनिन्, ‘लु बधाई छ । खोइ फोटो देखा, मेरी हुनेवाली बुहारीको !’  

उसले मोवाइल झिकेर रुबिनाको फोटो देखायो । 

आमा औधि खुशी भइन् र भनिन्, ‘आहा कति राम्री ! कहिले भेटाउँछस् ?’

रजतले भन्यो, ‘अब छिट्टै !’

बाबु भखैरै मन्त्रि भएका थिए । उनी कार्यकर्ता र चाकडी बजाउन आएकाहरूसँगै ब्यस्त रहे ।

अर्को दिन बेलुका घरमा भोज थियो । 

रजतले रुबिनालाई फोन लगायो । 

रजतसँग प्रेममा परेपछि ऊ त्यति धन्दा गरिरहेकी थिइन । त्यसो त शुरुमा रजतलाई पनि उसले एउटा ग्राहक नै देखेकी थिई । तर कलेजमा ऊ सरीफ थिई । हुनै पर्यो । ऊ रजतलाई सुन्दै र बुझ्दै गई । बिस्तारै उसलाई रजत भगवान झैँ लागिरहेको थियो । तर आफू ? उसले श्रीमतीका रूपमा आफूलाई रजतका छेउमा राख्ने हिम्मत नै गर्न सकिरहेकी थिइन । 

रजतले फोनमा उसलाई एक ठाउँमा भेट्न बोलायो । 

साथीहरूलाई ग्राहकको फोन आयो भनेर ऊ ‘मेकअप’ गर्न थाली । 

उसको चालढाल देखेर साथीहरूले खित्का छाड्दै कटाक्ष गरे, ‘ग्राहकको फोन कि देवदासको ?’

उसले पनि उस्तै भावमा भनी, ‘केही दिनअघिसम्म त मलाई पनि ऊ ग्राहक जस्तै लागिरहेको थियो । तर अब देवदास लाग्न थालेको छ ।’
एलिशाले उत्साहित भएर भनी, ‘त्यसो भए, ल बधाई छ !’

सरुले सोधी, ‘कस्तो छ ऊ ? कलेजमा भेट भएको हो ?’ 

रुबिनाले शुष्क आवाजमा भनी, ‘ऊ धेरै राम्रो र महान छ । हाम्रो एउटै कलेज हो । मलाई बिहे गर्छु भन्छ । तर मैले निर्णय लिन सकिरहेकी छैन ।’
एलिशाले चाख मान्दै एकसाथ धेरैवटा प्रश्न सोधी, ‘धनी छ ? बाइकमा हिँड्छ ? आइफोन बोक्छ ? महंगो रेस्टुरेण्टमा लगेर खुवाउँछ ? फोटो देखा त तेरो देवदासको, हामी पनि दर्शन गरौँ !’

सुनेर सरु दिल खोलेर हाँसी ।

रुबिनाले गर्वसाथ भनी, ‘कारमा हिँड्छ । मन्त्रिको छोरो हो ।’

रुबिनाको यो जवाफले साथीहरू तिल्मिलाए । उनीहरूका आँखामा शंकाभाव पनि प्रकट भयो ।  

रुबिना केही पनि बोलिन । न त उसले उनीहरूलाई रजतको फोटो नै देखाई । फटाफट लुगा लगाई र बाहिर निस्की । 
साथीहरू ट्वाँ परे ।

टेकुमा रजत उसलाई नै कुरिरहेको थियो । उसले रुबिनालाई कारमा राख्यो र घर लिएर गयो । 

घरमा जनै पूर्णिमाको भोज चलिरहेको थियो । पाहुनाहरू आउने क्रम बढिरहेको थियो । केही मन्त्रि र उच्चपदस्थ अधिकारी पनि आएका थिए । मन्त्रि क्वार्टर सर्न बाँकि नै भएकाले रजतको बाबु अर्थात परराष्ट्र मन्त्रि बद्रीबहादुर कुँवर आफ्नै निवासमा थियो । 

रजतले पाहुनाहरूका बिचबाट रुबिनालाई बुबाआमा भएका स्थानमा लग्यो । त्यहाँ नजिकका आफन्त पनि थिए । 

रुबिनालाई उसले सबैसँग परिचय गरायो । रजतकी आमा, बहिनी, काकी र फुपूहरूलाई रुबिनाले पालैपालो नमस्ते गरी । 

बद्रीबहादुर अलिक पर केही पाहुनासँग गफमा ब्यस्त थियो । रजतले रुबिनालाई उतै लगेर आफ्नो बाबुसँग परिचय गराउने विचार गर्यो ।

‘उहाँ मेरो बुबा !’ उसले मुस्कुराउँदै भन्यो । 

‘नमस्ते !’ रुबिनाले जम्लाहात गरी ।

ठिक त्यसैबेला आमा त्यहाँ पुगिन् र प्रफुल्ल हुँदै भनिन्, ‘ए हजुर, सुनिस्यो त, मैले हिजो भनेकी थिएँ नि छोराले आफ्नी प्रेमिका ल्याउँदै छ भनेर । यीनै हुन् ! ओहो, कति राम्री रहिछन् मेरी हुनेवाला बुहारी !’

उता रुबिनाको भने अकस्मात सास रोकिएला जस्तो हुनपुग्यो । 

बद्रीबहादुर नियालेर रुबिनालाई हेरिरहेको थियो । अचानक, मन्त्रिज्यूको अनुहार कालो भएर आयो । उसलाई भाउन्न पनि हुुनपुग्यो । 

अनि उसले हडबढाउँदै भन्यो, ‘एक्स्क्युज मी, म केहीबेर मन्त्रिज्यूहरूलाई समय दिन्छु ।’ 

अनि ऊ त्यहाँबाट अलिक मान्छे झुरुप्प भएतिर लम्कियो । 

यता रुबिनालाई ऐँठन होला जस्तो भयो । 

उसले रजतलाई भनी, ‘पानी !’

रजतले उसलाई चीसो पानी खुवायो । 

रुबिनाले रजतलाई अलिक एकान्तमा लगेर भनी, ‘मलाई गाह्रो भइरहेको छ । अब म जान्छु ।’

‘अचानक यो के भयो तिमीलाई ?’ रजतले रुबिनाको निधारको पसिना पुछ्दै सोध्यो ।

उसले जवाफ दिई, ‘मलाई भीडभाडमा चक्कर लाग्छ !’

रजतले भन्यो, ‘त्यसो भए आऊ, म तिमीलाई मेरो बेडरुममा लैजान्छु ।’   

रुबिना मानिन । ऊ जान्छु भनेर ढिप्पी गर्न थाली । 

रजतले उसलाई कारमा चढायो र सडकमा बत्तियो । 

अकस्मात् रुबिनाका मुखबाट निस्किएको एउटा वाक्यले रजत छक्क पर्यो । छक्क मात्रै ? उसको त दिमाग नै खराब हुनपुग्यो । दुबै आँखिभौँ एकत्रित गर्दै उसले पलभर आँखा बन्द गर्यो । 

रुबिनाले भनेकी थिई, ‘म एक कर्लगर्ल हुँ र म तिमीसँग विहे गर्न असमर्थ छु ! कृपया मलाई माफ गरिदेऊ !’

रजतले घ्याच्च कार रोक्यो । रुबिना अगाडि हुत्तिइ । अनि सम्हालिएर बसी ।

रजतले रुबिनाका आँखामा गढेर हेर्दै भन्यो, ‘तिम्रो बिगत जे भए पनि मलाई तिमी स्विकार छ । म अरु जस्तो केटो होइन । आऊ अब बिगतलाई बिर्सिदेऊ र मसँग नयाँ जिन्दगीको शुरुवात गर ।’ 

ब्रेक दाबिरहेको रजतको खुट्टामा रुबिना घोप्टो परेर रुन थाली । रजतले उसलाई उठायो र अँगालोमा कस्यो । 

रुबिनाले बिस्तारै उसको अँगालोबाट आफूलाई मुक्त गरी र भनी, ‘तिमी मान्छे मात्रै नभएर भगवान हौ ! तर म तिम्रो लायक छैन । मलाई माफ गरिदेऊ, रजत !’
अनि ऊ बिस्तारै कारको ढोका खोलेर ओर्लिन थाली । रजतको मुखबाट निस्कियो, ‘रुबिना !’

तर ऊ पछाडि नहेरी भीडमा मिसिन पुगी । रजत पनि कारबाट ओर्लियो र भीडमा रुबिनालाई पछ्याउन थाल्यो । तर सहरको घना भीडमा रुबिना अलप भइसकेकी थिई । 

रजत चुपचाप एउटा क्याफेमा छिर्यो र रक्सी खान थाल्यो । राति अबेर मात्रै ऊ घर पुग्यो । घर पुगेर ऊ जुत्ता लगाइलगाइ ओछयानमा ढल्यो । 

उता आमाबुबा कुराकानीमा ब्यस्त थिए । दुबैजनाले हल्का ‘ड्रिंक’ गरेका थिए । तर यस्तो लाग्थ्यो, मन्त्रिज्यू अलिक बढी नै मातेका छन् । 
‘हुँदैन त्यो केटी !’ बद्रीबहादुरले शख्त स्वरमा भन्यो ।

‘किन हुँदैन ? त्यति राम्री छे । त्यहीँमाथि छोराले आफैँ खोजेको !’ आमाको प्रतिवाद आयो ।

‘हुँदैन भनेपछि हुँदैन !’

‘किन हुँदैन ? तपाईंले चिन्नुहुन्छ र त्यसलाई ? कि उसका बाबुआमालाई तपाईं चिन्नुहुन्छ ?’ 

‘बेश्या हो त्यो !’

‘अलिक मुख सम्हालेर बोल्नुस् । रुबिना हाम्रो छोराकी प्रेमिका र हाम्री हुनेवाली बुहारी हो !’
‘घण्टा प्रेमिका ? एउटी कर्लगर्ल हो त्यो केटी !’

‘तपाईंलाई कसरी थाहा भयो ?’ 

‘किनभने, म सुतेको छु त्यस् केटीसँग !’

‘के रे ?’ मन्त्राणीले करेन्ट लागे जसरी प्रश्न गरिन् ।

अब बद्रीबहादुर चुप भयो । हैट, नबोल्नु पर्ने कुरा उसले बोलिपठायो । तर अब ढिलो भइसकेको थियो । कम पिए पनि आज उसलाई अलिक ज्यादै रक्सी लागिरहेको थियो ।

‘तपाईं बेश्यागामी हो ? यस्तो थाहा पाएको भए, मन्त्रि त के राजा भए पनि म तपाईंसँग बस्दिँन थिएँ !’ मन्त्राणीले रुँदै भनिन् । 

बद्रीबहादुरले सम्हालिएर भन्यो, ‘राजनीति यस्तो पेशा हो जहाँ ‘थ्री एम’ अर्थात मनी, मशल र माफियाकै जगजगी हुने गर्दछ । यी तीन कुरालाई नकार्दा माथि चढ्न नै कठिन हुन्छ । त्यसैले मैले गरेँ, सब थोक गरेँ । त्यसै आइपुगिन्छ यहाँसम्म ?’

मन्त्राणी घोप्टो परेर रुन थालिन् ।

भोलिपल्ट सबेरै रजत घरबाट बाहिर निस्कियो । बारबार ऊ रुबिनालाई फोन लगाइरहेको थियो । तर रुबिनाको फोन ‘स्विच अफ’ थियो । 

घाम छिप्पिएपछि रजत कलेज पुग्यो । तर कलेजमा पनि रुबिनाको अत्तोपत्तो थिएन । ऊ क्यान्टिनमा बसेर ‘चेन स्मोकिंग’ गर्न थाल्यो । 

मन्त्राणीले एउटा ‘प्याथोलोजी ल्याव’मा गएर आफ्नो रगत परीक्षण गराइन् । केही बेरमा नै रिपोर्ट आयो, एचआइभी पोजेटिभ !

रिपोर्ट पढेपछि उनी बेहोश भएर ढलिन् । त्यहाँ रहेका चिकित्साकर्मीले उनलाई सम्हाल्न थाले ।

उता रुबिनाले सिमकार्ड भाँची । कालिमाटीको कोठा र धन्दावाल संगत पनि परित्याग गरी । अनि ऊ आफ्नो घर जाने बस चढी ।
उसले मनमनै दृढ निश्चय लिई, अब गाउँकै कलेज पढ्छु !

(लिलाराज खतिवडाको प्रकाशोन्मुख कथासंग्रह ‘नयाँ शासक’बाट ।)

 

   
 


Author

थप समाचार
ad
x