साहित्य

नगरकोटी, सोल्ड आउट !

बिरही बाबु ढुंगेल |
पुस ४, २०७७ ८:४१ बजे

परिचित मित्रको मुखबाट मेरो कानमा एउटा कुरा पर्‍यो, ‘विरहीजी बजारमा अब छिट्टै एउटा पुस्तक प्रकाशित हुँदै छ, त्यसलाई किन्‍न बैंकमा गएर मूल्य डिपोजिट गर्नुभयो त ?’यति सुनेपछि मित्रसँग अरू केही कुरा पनि सोधनी गरिनँ । यो सहरको गल्लीमा हत्तपत्त म केही कुरा थाहा पाउँदिनँ । झट्टै कुरा थाहा पाउन एक लबटो मोबाइल, मोबाइलमा फेसबुक, अनि सामाजिक सञ्जाल, युट्युब अरू पनि के-के हुन्छन् अरे । त्यसका लागि मसँग यति कुरा बोक्न सक्ने मोबाइल छैन । 

यस जगत्‌मा कति तालुकदारहरूले अबको युग पुँजीवादको युग, पुँजीको युग भनेर जति ढोलक मादल बजाए पनि मेरो दुःखेसोको कुरा सुन्दा कतिलाई हाँसो उठ्न सक्छ । हाँस्‍नुस्, हाँस्‍नका लागि हजुरको सो मर्जी, मैले कति कुरा निकै ढिलो थाहा पाउँछु । अब त गर्दा-भन्दा पुस्तकको अनुहार नै नहेरीकन पुस्तक लिनका लागि पहिल्यै पुस्तकको मूल्य चाहिँ बैंक खातामा जम्मा गर्नुपर्ने दिन आइसकेछ । कुरो सुन्दा गल्लीमा मेरा गोडा हल्लिन लागे ।


ADVERTISEMENT

अर्को दिन फेरि अर्को मित्रबाट अर्को कुरा सुनेँ । पुस्तकको मूल्य त २१२० रुपैयाँ छ रे । अर्को दिन फेरि अर्को कुरा सुनेँ, पुस्तकको मूल्य अग्रिम डिपोजिट गर्नेले पायो, नत्र चिल्लाराम भयो । अरू पुस्तक जस्तो त्यो पुस्तक हैन रे । कुरा सुन्दा पनि साँच्चिकै पिर पर्‍यो हो मलाई त । यो कुरो साँच्चिकै हो कि उसै हावामा फैलिएको हल्ला हो ? हिजो बिहान भात पनि राम्रो रुचेन, बेलुका निद्रा पनि राम्रोसँग लागेन ।

यदि यस्तो हो भने त्यो पुस्तक मेरा लागि हैन । म जस्तै अरू थुप्रै पुस्तक प्रेमीहरूलाई पुस्तक पढ्नबाट वञ्चित गरेर ल्याइँदै छ त्यो पुस्तक । के अब हामी गरिब भएबापत पुस्तक पढ्न नपाइने समय आउन लागेको हो त ? त्यसो भए कसका लागि त यसरी ल्याइँदै गरेको पुस्तक ? पैसा हुनेहरूका लागि !

कोसँग छ त पैसा ? रक्सीको भट्टी खोल्नेहरूसँग पैसा होला, जग्गाको दलाल गर्नेहरूसँग पैसा होला, वेश्यावृत्तिको धन्दा चलाउनेहरूसँग पैसा होला । रातमा तरुनी नचाउने अखडाहरूसँग पैसा होला, घुस नखाई काम नगर्नेहरूसँग पैसा होला, ठूलाठूला व्यापारका धन्दा चलाउनेहरूसँग पैसा होला, कालो बजारी, भ्रष्टाचारी, तस्करी गर्नेहरूसँग पैसा होला । के तिनीहरूका लागि हो यो पुस्तक ?

यति कुरा याद गरिदेऊ लेखक, प्रकाशक महोदय हो ! हजुरहरूलाई ज्यू, हजुर भन्दै हात जोडेर नमस्कार गर्दै भन्छु- तिमीहरूको प्रकाशन गृह कुनै भट्टी पसल खोल्ने र तरुनी नचाउने अखडाहरूले चलाइदिएको छैन । मजस्ता सयौँ श्रमजीवी, दीनदुःखी पुस्तक प्रेमीहरूले मीठो खाने गाँस कटाएर, राम्रो लाउने रहर मेटाएर कति अभावमा परिवारलाई तड्पाएर तिमीहरूको प्रकाशनलाई खुराक पुर्याएका छौँ । किन यसो गरिरहेका छौँ त भन्दा हामी पुस्तकका रोगी भएका छौँ । पुस्तक नभई नहुने हामीलाई रोग लागेको छ ।

अरू रोगमा परिवार, आफन्त, नाता कुटुम्ब, साथीभाइबाट साथ सहयोग, सद्भाव पाइँदो रहेछ । यो रोगमा पाइँदो रहेनछ । अरू रोगको उपचार गर्न ऋण पाइँदो रहेछ । यो रोगको उपचारलाई पुस्तक किन्‍न ऋण पाइँदो रैनछ । हेर, म कसरी पुस्तकको रोगी भएको छु । अब एकछिन पुस्तक किन्‍नलाई अग्रिम डिपोजिटको कुरा यो लेखको अन्तिममा ल्याउने वाचा गर्दै ममा यो रोग कहिलेबाट देखा पर्‍यो, यो रोगले सबभन्दा बढी कहिले सतायो, कतिसम्म दुःख दियो, मेरो जिन्दगीलाई कतिसम्म तहसनहस पार्यो भन्‍ने विषयमा कहीँ कतै पनि फूलबुट्टा नभरीकन जस्ताको तस्तै साँच्चो साँच्चो कुरालाई अति छोटकरीमा छातीमा हात राखेर बताउँदै छु ।

अति गरिबी, चरम अन्याय-अत्याचारको ज्वाला खेपिरहेको परिवारमा आकस्मिक म विरही बाबुको जन्म भयो । जब मेरा पिताले आफ्नो दुख्याय जिन्दगीलाई जुन दिनबाट ३९ वसन्तलाई पार लगाएर ४० मा प्रवेश गराए । त्यसै दिन बिहान आफ्नो पाँचौँ सन्तानका रूपमा उनले मेरो अनुहारलाई नियाले । त्यस बखत पिताले मन मनमा प्रार्थना गरेका थिए रे, यो बालकले ठूलो भाग्य लिएर जन्मिएको होस् ।

जन्मिएपछि हुर्किने क्रम सुरु भयो । मभन्दा माथिका कुनै पनि सन्तान पोसिलो, स्वादिलो, सर्वोत्तम पिठोको लिटो खाएर हुर्किएका थिएनन् । आमाको दूध जति खाइयो, त्यही हो पोसिलो । त्यसपछि उही मकैको खस्रो सराउलो र एकादुई चामलको खट्टे खाएर म हुर्किएँ । त्यही चिज पनि आमाले मावलबाट ल्याउनुपर्थ्यो । पिताले अंश पाएको जमिनमा जति अन्‍न फल्थ्यो, त्योभन्दा बढी हजुरबालाई भरुवा बुझाउनु पर्थ्यो ।

एउटा स्वर्णिम युग समाउनुपर्ने बेलामा लेखक एकातिर, प्रकाशक अर्कोतिर, पाठक झन् अर्कोतिर भइरहेका छौँ । यो त्रिपक्षीय संगम मिलाउन कसरी सकिन्‍छ ? 

यस्तो अवस्थामा नयाँ लगाउने र मीठो खाने भन्‍ने कुराको विषयमा सपना पनि देखिँदैनथ्यो । अब शिक्षादीक्षाको कुरा झन् टाढा थियो र पनि यो परिवारले आफ्नो जेठो छोरो हरिप्रसादलाई स्कुल पठाउने हिम्मत गर्यो । जेठो छोराले तीन कक्षा पास गर्नेबित्तिक्कै थप शिक्षाका लागि आर्थिक अभावको कारण हिम्मतले त्यहीँ सिल्टिमुर खायो ।

म जन्मँदा मेरा दाजु तीन कक्षासम्मको पढाइलाई पार गरेर एक शिक्षित बाख्रा गोठालो भइसकेका थिए । यतिसम्म भए पनि म शिक्षित परिवारमा जन्म भएकामा गर्व लाग्छ । म बिस्तारै हुर्कंदै गएँ । बाल्यकालका सबै कुरा सम्झनामा आउँछन् । मेरो घर, मेरो परिवार, मेरो समाज, गरिबी र अभावको सारा कुरा ।

जब म आठ वर्षको भएँ, स्कुलतिरको बाटो देखाइयो । म स्कुल जान लागेँ । त्यहाँभन्दा पहिले नै कता जोगीकोमा गएर अक्षर लेख्‍न सिकेका मेरा पिताले मलाई क देखि हसम्म अक्षर लेख्‍नलाई कालोपाटीमा खरी घोटाइसकेका थिए । बाँकी तीन वटा अक्षर क्ष, त्र, ज्ञ लेख्‍न नजानेर बसिरहेको थिएँ । पिताले भने, ‘तँलाई तीनवटा अक्षर लेख्‍न मास्टरले सिकाउँछन् ।’ सोचेको थिएँ, मास्टरले फकाइफकाई सिकाउँछन् । सोचेजस्ता मास्टर कहाँ हुनु ?

एक जना सीताराम उप्रेतीबाहेक सबै मास्टर विद्यार्थीलाई ठटाएरै ठीक पार्नुपर्छ भन्‍ने मिलेमतोका रहेछन् । र, पनि मैले पढेँ । अक्षर लेख्न सिकेँ । म पनि दाजुसरह नै कक्षा तीन पुगेँ । तीन कक्षासम्मको पढाइलाई सम्झँदा कुनै पनि पाठमा म त्यस्तो खास कुनै प्रेरणादायी कुरा पाउँदैनथेँ ।

हातमा भएको पुस्तक यो मुला कत्रो न चिज हो र झैँ लाग्थ्यो । त्यसलाई म टोक्थेँ । टोकेर त्यसको छेउ साह्रै विरूप भइसकेको हुन्थ्यो । एक दिन मास्टरले देखेर मुत्नी गरी गाला पड्काए । हकारेर कराए । यस्तो विद्याको खानीलाई यसरी टोक्ने हो ? आफूलाई पत्यारै लाग्दैनथ्यो । यतिखेरसम्म सम्झनामा आउने पढाइ भनेको एउटा कालुको कथा र गाईको कविता मात्रै थियो । यति जाबोलाई कति विद्याको खानी भन्‍नु !

त्यसपछिको समयमा माथ्लाघर काका शिवप्रसादबाट केही नौलानौला पुस्तक प्राप्त भए । स्कुलका भन्दा भिन्‍नै पुस्तक जति पढ्यो उति पढौँ पढौँ लाग्‍ने । जुन पाना पढ्यो, त्यही पानाले बुध्दि दिने ‘बुध्दिचनाक’ त्यस्तै अरू पुस्तक पनि साह्रै रमाइला । त्यसपछि मेरो दिमागमा पुस्तक पढ्ने रोगको लक्षण देखापर्‍यो ।

रोगको लक्षण बढ्दै गएर पुस्तक संकलन गर्ने तीव्र इच्छा बढ्दै गयो । पुस्तक जहाँ पाइन्छन्, जसरी पाइन्छन् संकलन गर्न लागेँ । संकलन भएका पुस्तक ‘झिसमिसे’, ‘बिहानी’, ‘संकल्प’जस्ता पुस्तकमा लेखिएका कति कुराहरूले पुस्तकको अझ ठूलो संसार खोज्दै जाऊ भनेर सिकाए जस्तो लाग्यो । पुस्तक पढ्ने रोगलाई झन् ठूलो मलजल पुग्यो । म रोगी बन्दै गएँ ।

ओठमाथि बाक्लै गरी जुँगाको रेखी पलाएपछि देशको राजधानी काठमाडौँमा भित्रिएँ । मसँगै मभित्र अनेक कुराहरूको रहर र सपना पनि भित्रिएका थिए । छोटकरीमा भन्‍नुपर्दा अलिकति शान्ति र सुख पाउने सपना । यति सपना बोकेर काठमाडौँको गल्लीमा म भरिया, कुल्ली, ज्यामी, मजदुरका रूपमा भर्ना भएँ । अनेक दुःख झेलेँ र पनि थोरै थोरै पैसा जम्मा गरेर पुस्तक किन्‍न लागेँ । दुईचार महिनामा घर फर्कंदा अरू साथीहरूको झोलामा तेल, मसला, चिनीको पोको हुन्थ्यो । मेरो झोलामा पुस्तकको पोको । पटकपटक काठमाडौँ आउजाउ गर्दा पनि मैले घरमा अलिकति पौरख देखाउन सकिनँ । पुस्तक किनेर ल्याएँ भनेर पुस्तक चिनाउन पनि सकिनँ ।

के अब हामी गरिब भएबापत पुस्तक पढ्न नपाइने समय आउन लागेको हो ?

काठमाडौँको बसाइमा निजी कोठा नभएको अलपत्र जिन्दगीमा कति पुस्तकले सुरक्षा पाउन सकेनन् । यो समयसम्म त म आफू पनि लेख-रचना लेख्‍ने भइसकेको थिएँ । काम ज्यामी मजदुरी जे भए पनि मेरो मनले चाहिँ लेखक, पत्रकार, बुध्दिजीवी मान्छेहरूसँग मित्रता गाँस्‍न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यस्ता मान्छे पनि भेटेँ जसले मेरा लेखलाई पत्रपत्रिकामा छाप्‍ने काम गरे । लेख छापिएका पत्रिका र किनेका पुस्तकहरूलाई सुरक्षा दिन भीमसेनगोलामा डेरा गरी बस्‍ने आदरणीय दाइ वासुदेव पराजुलीको डेरामा एउटा कार्टुन राखेको थिएँ । त्यही कार्टुनमा लगेर राख्थेँ । त्यहाँ त फेरि अर्को मान्छेले पनि मेरै जसरी किताब राख्‍ने गरेका रहेछन् । तिनैले झुक्याएर मेरो कार्टुनलाई पनि आफ्नै कार्टुन भनेर लगेछन् । अहिले पनि यो कुरा मनमा खट्किरहन्छ । अञ्जान छु, त्यहाँ मेरा कति किताब थिए, कति पत्रिका थिए । पुस्तकको रोगीलाई त यस्ता कुराले झन् रोग बल्झाँउदो रहेछ ।

उता काठमाडौँमा किताब त्यसरी हराए, यता घरमा भएका पुस्तकलाई पुलिस पसेर कुदाए । देश द्वन्द्वकालीन अवस्थामा थियो । २०५५ सालको किलो सेरा टु नाम गरेको सरकारको अप्रेसनले गाउँभर सारा ठाउँमा आतंक फैलाएको थियो । सक्कली माओवादी कहाँ थिए कहाँ ? बिचरा सरकारलाई जसरी पनि माओवादी चाहिएको रहेछ, अब कसलाई माओवादी बनाउनु त भन्दा हाम्रो गाउँमा आएर सरकारले मैलाई माओवादी बनायो ।

सरकारको दिमागले भन्यो- यत्रो औधि पुस्तक पढ्ने मान्छे माओवादी नभए के हुन्छ त ? सरकारी मामाहरूले पाता फर्काउन लगे । हिरासतमा अरू रोगीहरूका लागि त अस्पतालामा लगेर रोगको जाँचबुझ हुन्थ्यो । पुस्तकको रोगीलाई जाँचबुझ गर्ने अस्पताल त हिरासत पो रहेछ । म पुस्तकको रोगी थिएँ ।

सरकारी मामाहरूले पत्ता लगाउनुपर्ने रोग चाहिँ माओवादी रोग थियो । मलाई माओवादी रोग छ कि छैन भनेर जाँच्‍न उधुमको काइदा रचे । डाक्टर मामाहरूले कहिले पाइप ल्याएर ठटाउँछन्, कहिले लौरो ल्याएर बर्साउँछन् । कहिले के ल्याएर गोद्छन्, कहिले पानीको ड्रममा डुबाएर जाँच्छन्, कहिले गोलीले उडाइदिन्‍छु भन्‍छन्, कहिले खाल्डोमा दबाइदिन्‍छु भन्‍छन् । कस्तो मुला रोग लागेछ मलाई । यही पुस्तककै रोगले त यत्रो बिघ्‍न गोदाई खानु परेको हो नि । कति दर्दनाक यातनामय दिन बिते हिरासतमा ।

जति यातना दिए पनि ममा माओवादी रोग थिएन । पुस्तक पढ्ने रोग मात्रै थियो । यातनाका सयौँ नीलडाम खेपेँ । दस दिनपछि एउटा नेपाली कागजमा लामो तमसुक तयार भयो । खै के लेखिएको थियो त्यो तमसुकमा ? सायद अबदेखि पुस्तक पढ्न पाइनेछैन भनेर पो लेखिएको थियो कि ! यदि यस्तो लेखिएको थियो भने पनि त्यो तमसुक मैले फालिदिएँ । मनमा पुस्तक पढ्ने अठोट बोकेरै हिरासतबाट छुटेँ ।

घरमा पुग्दा आमाले आँखाभरि आँसु बनाएर भन्‍नुभयो, ‘कान्छा, तँ अबदेखि कहिल्यै पनि यसरी किताब नपढ् ल ।’ पिताजीले पनि त्यसै भन्‍नुभयो । बाउ-आमाका हजार अर्तीलाई माने पनि ‘पुस्तक नपढ्’ भन्‍ने अर्तीलाई मान्‍न सकिनँ । पछिसम्म पनि बेलाबेलामा मलाई सोध्नुहुन्थ्यो, ‘अब त पुस्तक पढ्न छाडिस् नि हैन त ?’ उहाँहरूलाई विश्वस्त पार्न भन्थेँ, ‘केको पढ्थेँ र अब ? अब त ज्यान गए पनि पढ्दिनँ । भएका पुस्तक सबै पुलिसले लगिगयो के पढ्नु ?’ तर आफू भने ज्याला मजदुरीको बीचमा पनि पुस्तक किन्‍नलाई निकै ठाउँ चहार्थें । आफैंलाई अचम्म लाग्छ, कस्तो खराब रोग लागेछ मलाई ।

एक दिन बागबजारमा हिँड्दै गर्दा ‘ढुंगेलजी ढुंगेलजी’ भनेर बोलाएको स्वर मेरो कानमा आइपुग्यो । फर्केर हेरेको पुस्तक पसलबाट गुणप्रसाद आचार्यको स्वर रहेछ । गुणप्रसाद त बुटवलको चाँदमारीमा हुनुहुन्थ्यो, यहाँ कसरी आइपुग्नुभयो ? फर्केर कुराकानी गरेँ, उहाँले भन्‍नुभयो, ‘ल ढुंगेलजी तपाईं पुस्तक किन्‍न बुटवल पुग्‍नुहुन्थ्यो अब तपाईंका लागि पसल नै यता सारेँ ।’ एकछिन हाँसो चल्यो ।

आजको दिनसम्म आइपुग्दा आफ्नै जिन्दगी आफूलाई आलुबारीमा राखेको बुुख्याँचा जस्तो हेरिरहूँ लाग्ने रोचक लाग्छ । जिन्दगीका कति पाइलाहरूलाई कोही बेला यसो सम्झने गर्छु । मलाई पनि उमेरमा कतै पिरती लगाऊँ जस्तो लागेको थियो । यसो सम्झन्थेँ, पिरती लाउँदा प्रियसीले कतै ललिपप खान खोज्लिन्, यत्रो कुरा धान्‍न सक्ने मसँग के औकात छ र !

त्यसको सट्टामा पनि पुस्तक नै किनेँ । एकचोटि एक जना साथीले मलाई सुटपाइन्टको कपडा उपहारमा दिनु भो । त्यो कपडा क्रिम कलरको अलि बढी सेतो थियो । धुलोमा धसिने म मजदुरलाई त्यो के काम ? खोकी लाग्दा हर्रो छैन, मासुमा हाल्ने जाइफल भने जस्तो । त्यसलाई तात्तातै हातमा बोकेर एक जना दाइकोमा लगेर बेचेँ ।

उनले पनि मन नपरी नपरी आठ सयमा किने । त्यो पैसाले पनि पुस्तक नै किनेँ । अर्को समयमा अर्को एक जना मित्रले ‘ल ढुंगेलजी मेरो तर्फबाट यति चिया खानुस्’ भनेर अलिकति पैसा दिएका थिए । सि चिन फिङको पुस्तक किन्‍न नसकेर रन्थनिएर बसेको थिएँ । केको चिया खानु ? चिया भन्‍नेबितिक्कै ‘पानीको रासन’ भन्‍ने कविताको सम्झना आयो । सायद हो चि मिन्ह ले लेखेको हो जस्तो लाग्छ ।

काम मेरो ज्यामी-मजदुरी जे भए पनि मनले चाहिँ लेखक, पत्रकार, बुध्दिजीवीहरूसँग मित्रता गाँस्‍न पाए हुन्थ्यो भन्थ्योे । 

पुस्तकको रासन कम भएको बेलामा केको पानीको रासन खानु भनेर पुस्तक किनेँ । झोलामा पुस्तक बोकेर खुसी हुँदै माइतीघर आइपुगेको थिएँ । बाटोमा एक जना साथीलाई भेटेँ । उहाँका आँखा पनि के कामले मेरो जुत्तामा पर्नुपरेको हो, परेको पर्यै भयो । जुत्ताको सोल उक्किएर ल्याफ्रकल्याफ्रक गर्दो रहेछ । पुस्तक भनेपछि म कति सारो बेसुर भएछु । उहाँले भन्‍नुभयो, ‘के हो विरहीजी, जुत्ता त हाँस्‍न लागेछ त !’ मैले ङिच्च गर्दै लाज पचाएँ ।

पुस्तकका लागि अनगन्ती ठक्कर भोगेको छु । यस्ता दिन नि झेल्दै आएको छु । कुनै पुस्तक मन परेको हुन्छ, किनिहाल्न पैसा हुँदैन । किन्‍ने इच्छा मनमा राखेर बस्छु बिस्तारै पैसा जम्मा गर्छु । आफूले हेरेको पुस्तकको मूल्य पूरा भएपछि किन्‍न भनेर जान्छु समय निक्कै बितिसकेको हुन्छ, त्यतिखेरसम्म कि त पुस्तक नै बजारमा सक्किइसकेको हुन्छ, कि त त्यसको अर्को संस्करण निस्किएर मूल्यै बढिसकेको हुन्छ ।

जीवनमा दस हजारभन्दा बढी राशिको पुस्तक जम्मा गर्ने सपना बोकेको छु । तर अहिलेसम्म दस हजार रुपैयाँ बराबरको पुस्तक एकै चोटि किन्‍न सकेको छैन बल्लबल्ल दुःखले एक, दुइटा पुस्तक किन्छु । कोठामा पुगेपछि श्रीमतीले चाहिँ झट्टै नदेखिदिए हुन्थ्यो भनेर डराउँछु । देखेमा उनले रातो आँखा पल्टाउँछिन् । राता आँखा त के, मेरो छातीमा हथौडाले नै हाने पनि मैले सञ्‍जै मान्‍नुपर्ला जस्तो लाग्छ । मैले किनेको किताबमा मेरो श्रीमतीले खुसी हुनुपर्ने कारण नै के छ र ! न मैले किनेका किताबलाई स्याउ सम्झेर टोक्न मिल्ने, न मैले लेखेका कपीहरूलाई दूध सम्झेर पिउन मिल्ने ?

जिन्दगीमा धेरै खाले काम गरेँ । अझै कति गर्नुपर्ने हो । मेरो जिन्दगीमा अहिलेसम्म असफलताभन्दा केही हाता लागेको छैन । मान्छेहरू निकै चिनेँ । निकै मान्छेहरूलाई भेटेँ । मान्छेलाई कुनै कुरामा सफलता प्राप्त गर्न कुनै अर्को मान्छेको महत्वपूर्ण हात हुँदो रहेछ । एक जना कविको गीतले भने जस्तो (सायद शरद पौडेल) 
हामी साना छौँ, हामी लुला छौँ । 
हाम्रो आफ्नो दल छैन, पाखुरीमा बल छैन 
ए दाजु ! ए दिदी !
देऊ न हाम्लाई समाउन तिम्रा पाखुरी ।

मैले पनि कसैका पाखुरी समाउन खोजेँ । ती पाखुरी सायद कतै छन् होला । अब कतै देखिएलान् । कतै भेटिएलान् । यो छुट्टै कुरा भयो । तर यहाँ पुस्तककै रोगले मन डढेर खरानी भाको छ । बूढापाका मान्छेहरूको एउटा अर्तीलाई जीवनमा याद नगरेको हैन, उनीहरू भन्‍ने गर्थे, ‘बाबु जुन आगोले पोल्छ त्यही आगोमा घाउ सेकाएर निको पार्नुपर्छ ।’

पुस्तक पढ्ने रोगलाई पुस्तक लेखेरै निको पार्न नखोजेको कहाँ हो र ? कतिलाई पाण्डुलिपि देखाएँ, कतिले राम्रो मानेका छन् । राम्रो मानेकाहरूबाट आशावादी छु । तर मान्छे यस्ता पनि हुँदा रहेछन् । कतिकोमा पाण्डुलिपि लिएर जाँदा कुकुरको गु ल्याए जस्तो व्यवहार पनि गरे ।

संसारमा असल र खराब मानिस जुनसुकै वर्ग र क्षेत्रमा हुन्छन् । दुःखेसो यति मात्र हो । पुस्तकको संसार सजाउन लागेका मान्छेहरू अति संवेदनशील बन्‍नु जरुरी छ । कसैको पाण्डुलिपि आउनेबित्तिक्कै छापी दिइहाल्नुपर्छ भन्‍ने हैन । उदाउँदो प्रतिभाको हृदय भाँचिनु पनि हुँदैन नि । के थाहा ? अहिलेको त्यो प्रतिभावान् मान्छे साउदी अरबमा भेडा चराउँदै होला, कतारमा पसिना बगाउँदै होला, गलैँचामा तान बुन्दै होला, गार्मेन्टमा कपडा सिउँदै होला, ज्याला-मजदुरीमा रुँदै होला, न उसैको हृदयभित्र सजिएको सिर्जनाले विश्व साहित्यको चुचुरो समाउने छ कि !

जिन्दगीको रुन्चे कुनालाई लेख्दै जाँदा लामो हुन सक्छ । अब छोटकरीमा सक्न लाग्छु । मेरो जिन्दगी त्यस्तै छ, जस्तो आजभन्दा २२, २४ वर्ष पहिले थियो । स्वरूपमा केही बदलियो होला । हुन त धेरैले मलाई सुखी मान्छे देख्छन् । तर भोगाइ पहिलाकै जस्तो छ । त्यतिखेरको ज्याला मजदुरी एक खालको थियो । आज अर्कै खाले छ । पीडा उही छ, व्यथा उही छ । कुनै दिन दिनभरि इँटा बालुवा बोक्थेँ । थकाइले जति गाँजे पनि बेलुका केही लेख्थेँ ।

याद आउँछ मलाई । एउटा कालोकालो अग्लो ठिटोको । त्यो ठिटो पक्कै उमेरले मेरो दाजु थियो । पहिलो भेटमा नै ऊ मबाट प्रभावित भयो । आफूलाई विश्व नाम बताउने त्यस ठिटाले मेरा निकै कविता र लेख लिएर गयो । छापेका पत्रिका पनि ल्याएर पसलमा छाडिदिने गथ्र्याे । कति लेखहरू पसलबाट दालमोठ पोको परेर गए । कति कविता भीमसेनगोलाकहाँ वासु दाइकोबाट हराए । कहाँ छापिए, के छापिए ? आज पनि उही गति छ ।

अलि सस्तोमा नेपाली टाइप गरिदिने मान्छे को होला भनेर गल्लीगल्ली चहार्छु । कहिले आफ्ना साथीभाइ भतिजहरूलाई दुःख दिन्छु । लौन एउटा इमेल गरिदिनु पर्‍यो मलाई आपत् पर्‍यो भन्छु । यस मामिलामा मेरा प्रिय मित्र वासुदेव तिमल्सिनालाई धेरै दुःख दिएको छु । साथीहरूको सहयोगले मेरा लेख कतै अनलाइन पत्रपत्रिकामा छापिन्छन् । छापिएको दिनमा कुनै साथीको फोन आउँछ । ‘विरहीजी तपाईंको लेख पढेँ नि राम्रो लाग्यो ।’

आफूले त कहाँ हेर्नु, कुन अनलाइनमा छापियो, कुन अनलाइनमा ! ए हो र ल धन्यवाद भन्छु । यत्तिमै खुसी हुन्छु । एउटा ल्यापटप किन्‍नलाई विगत दस वर्षदेखि बल गरेँ । अब त नकिनी छाड्दिनँ भनेर एउटा खाममा दुई सय, तीन सय गरेर एघार हजार त जम्मा भएको थियो । त्यही पनि कोरोना मौलाएर लकडाउन भयो । दालभात नै मुस्किल भएपछि केको ल्यापटप ?

मेरो कोठाको अरू गरिबी देखाउन रहर छैन मलाई तर पुस्तकको कुरा देखाउन जरुर भयो यहाँ । पुस्तक राख्नका लागि मसँग कुनै भाँडो भएन । कार्टुनमा राख्यो कुनै बेला कुन पुस्तकको याद आउँछ, घरी एउटा कार्टुन खोल्यो, घरी अर्को कार्टुन खोल्यो । कार्टुन खोल्दाको हैरान चल्यो । ए गाँठे ! अब त एउटा दराज किन्छु भनेर हिम्मत बोकेँ ।

बल्लबल्ल हिम्मत बोकेको चार वर्षपछि पुराना फर्निचर बिक्री पसलमा गएर एउटा जंगबहादुरको पालाको जस्तो दराज किनेँ । त्यही पनि श्रीमतीले भित्र चाहिँ ल्यायौ भने सलाई कोरेर सल्काइदिन्छु भन्‍न लागिन् । अनेक विन्ती गरेर भित्र हुलेँ । दराजको दयनीय अवस्थालाई नेपाली कागज टाँसेर झिल्के पारें । आजको मितिसम्म पनि दराज त्यही छ । त्यो दराजले मात्रै मेरा किताब केको बोक्न सक्थ्यो र फेरि समस्या उही कार्टुनको भयो । यसो सोचेँ । भएन अब यसरी अब एउटा खाट बनाउनुपर्‍यो त्यो पनि अर्कै औतारको । माथि सुत्न मिल्ने तल किताब राख्‍ने । यति कुरा पूरा गर्न पनि तीन वर्ष लाग्यो ।

मित्र रमेश दाहालले सहुलियत मूल्यमा खाट तयार पारिदिनु भयो । ग्रिल कारखानामा तयार भएर उभिएको मेरो खाट देख्दा दुनियाँ हाँस्न लागे । खाटका दुईतिर खुट्टाले दराज बोकेको छ । उचाइमा चार फिट छ । रमेशजी भन्‍नुहुन्थ्यो । ‘लौ न विरहीजी, यो खाट छिट्टै लान पर्‍यो यहाँ दिनमा बीस जना मान्छेले यस्तो के बनाएको भनेर हैरान पारिसके ।’ अहिले म त्यही खाटमा सुत्छु । दराजको भाग पर्दाले लुकाएको छु । किताब खोज्नुपर्दा खाटमुनि छिर्छु । गतिलो मोबाइल बोकेको पाहुना कोही आउँदा साह्रै पिर लाग्छ । कतै फोटो खिचेर फेसबुकतिर पो पठाइदिने हो कि !

न मैले किनेका किताबलाई स्याउ सम्झेर टोक्न मिल्ने, न मैले लेखेका कपीहरूलाई दूध सम्झेर पिउन मिल्ने ? 

हे संसार ! अब अलिकति कुरो बुझिदे । पुस्तकप्रति मैले यत्रो त्याग गरेपछि पुस्तकको मामिलामा चित्त नबुझेको कुरा ओकल्ने अधिकार मलाई छ कि छैन ? को हुन् ती लेखक ? जसको पुस्तक किन्‍न अग्रिम बैंक डिपोजिट गर्नुपर्ने ? तिनलाई म मेरा आदरणीय प्रिय लेखक कुमार नगरकोटीको एउटा लेख ‘कार्ल माक्र्स, सोल्ड आउट !’ पढ्ने सल्लाह दिन्छु ।

त्यस लेखमा नगरकोटीज्यूले लेख्नुभएको छ, ‘नाट्यशालामा कार्ल माक्र्सलाई देखाइँदै थियो । जसलाई हेर्न गरिबहरू वञ्चित भए ।' के हामी गरिबहरू त्यसैगरी वञ्चित हुनुपर्ने हो ? के पुस्तक भन्‍ने चिज ठेकेदारलाई सिलबन्दी टेन्डर आह्वान गरे जस्तो हो ? के म ‘नगरकोटी, सोल्ड आउट !’ भनेर चिच्याऊँ ?

मैले सुनेको हल्ला, हल्ला मात्र भइदियोस् । यथार्थमा यस्तो कहिल्यै नहोस् । यदि हो भने लेखक महोदयलाई फेरि हात जोडेर भन्छु- तिमी कस्ता खालका लेखक हौ, कुन मखमलमा बसेर लेख्छौ ? यदि तिमी हामीजस्ता श्रमजीवी पुस्तकप्रेमी रोगीहरूका पनि लेखक हौ भने आफ्ना पाठकहरूको अनुहार हेरिदेऊ ।

जो कारखानामा मजदुरी गरिरहेका छन् । देश-विदेशमा पसिना बगाइरहेका छन् । दुःखले स्कुल-कलेज पढिरहेका छन् । थोरै आम्दानीमा हाडछाला घोटिरहेका छन् । आम्दानीको स्रोत जहाँको तहीँ छ । र पनि पुस्तकको चर्को मूल्यको सिकार तिनै पाठक भइरहेका छन् । एकफेर ठन्डा दिमागले सोच ।

नेपाली साहित्यमा पुस्तकको संसार खुम्चँदै गइरहेको छ । यतिखेर हाम्रो साहित्यले सामाजिक न्यायको भावना बोकेर विकासोन्मुख समाजको सिर्जनातिर डोर्याएर एउटा स्वर्णिम युग समाउनुपर्ने बेलामा लेखक एकातिर, प्रकाशक अर्कोतिर, पाठक झन् अर्कोतिर भइरहेका छौँ । यो त्रिपक्षीय संगम मिलाउन कसरी सकिन्छ ? यसको निम्ति छुट्टै बहसको विषय छ । बरु त्यतातिर सोच, त्यो तिम्रो पुस्तक किन्‍ने अग्रिम बैंक डिपोजिटलाई रद्द गर ।



Author

थप समाचार