साहित्य

अब अङ्ग्रेजीमा पनि 'फातसुङ', नेपाल, भारत र युकेबाट एकसाथ सार्वजनिक

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १४:४३ बजे

काठमाडौं -  पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास 'फातसुङ'को अङ्ग्रेजी अनुवाद 'सङ अफ द सोयल' बजारमा आएको छ । लेखक एवम् प्रकाशक अजित बरालले गरेको अनुवाद नेपालमा फाइनप्रिन्ट, भारतमा रचना बुक्स र बेलायतमा बलेस्टियर प्रेसले प्रकाशन गरेका छन् ।

सन् २०१९ मा सर्वप्रथम नेपालीमा प्रकाशित 'फातुसङ' बङ्ला भाषामा प्रकाशित छ भने हिन्दीमा प्रकाशन हुने क्रममा छ । आफ्नो कृति अङ्ग्रेजीमा अनुवाद भएकोमा लेखक काविमोले प्रशन्नता व्यक्त गरेका छन् । ‘अनुवाद त्यो पुल हो, जसले एउटा भाषालाई अर्को भाषासँग जोड्छ । एउटा साहित्यलाई अर्को साहित्यसँग जोड्छ । र एउटा समाजलाई अर्को समाजसँग जोड्छ । फातसुङ अहिले त्यही पुलपछिको नयाँ यात्रामा छ ’उनले भनेका छन् ।


अनुवादक बरालले 'फातुसङ'को अनुवाद नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । भने, ‘अन्तर्राष्ट्रिय साहित्यलाई फाट्टफुट्ट भए पनि नेपालीमा अनुवाद गर्ने काम भएका छन् । तर नेपाली साहित्यको अङ्ग्रेजी वा अन्य भाषामा राम्रो अनुवाद भएकै छैन भने पनि हुन्छ । त्यसैले स्तरीय नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन हामी नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्ने प्रयासमा लागेका छौं । त्यही प्रयासको प्रतिफल हो सङ अफ द सोयल ।’

सशस्त्र माओवादी द्वन्द्वसँग धेरै समानता राख्ने राख्ने दार्जीलिङको पहिचानको सङ्घर्षको सुन्दर कथा र छुदेन काविमोको भाषिक मिठासले फातसुङको अनुवाद गर्न आफूलाई प्रेरित गरेको उनले बताए । 


Author

थप समाचार
x