साहित्य

प्रस्तावना : एक ‘स्किजोफ्रेनिक मोनोलग’

लिलाराज खतिवडा |
पुस ११, २०७७ १९:४३ बजे

इकागज डट कममा बिगत दुइ महिनादेखि हरेक शनिबार धारावाहिकरुपमा प्रकाशित भइरहेको ‘बाघखोर प्रज्ञा’ मेरो नयाँ उपन्यास हो । अघिल्लो हप्ता यसको आठौँ भाग प्रकाशित भयो । उपन्यास त्यसै बिन्दुमा मध्यान्तर भएको छ ।

गत शनिवारको ‘बाघखोर प्रज्ञा’ लेख्नुको ‘थृल’ कहाँ पुगेर भक्भकी उम्लियो भने, यता कथामा अघिल्लो दिन प्रमुख पात्र रामले सिंहदरवारमा आगो लगाइदियो भने अर्को दिन मुलुकका प्रधानमन्त्रीले संसद् विघटन गरिदिए । तत्व मीमांसा गर्दा, संसद विघटन हुनु भनेको सिंदरबारमा आगो लाग्‍नु होइन र ? हाहाहा ! तर यसबेलासम्म यो घटनालाई यस लेखकले एउटा नियमित आकस्मिकता भन्दा बढी ठानेको छैन । बढी ठानिहाल्नु र ?   


अब यसका नवौँ वा त्यसपछिका भागहरू प्रकाशित गरिने छैनन् । अहिलेसम्म नाम नजुराइएको यो उपन्यास पुस्तकको रुपमा सिधै बजारमा ल्याउने लक्ष्य छ । यदि कुनै प्रकाशकसँग लेखकको करार नामञ्जूर भए यसलाई ‘इबुक’का रुपमा भए पनि बजारमा ल्याइने छ ।  

किनभने, उपन्यासको मध्यान्तरपछि लेखकले आफ्नो कथाबस्तुलाई पुस्तक प्रकाशित नहुन्जेल गोप्य नराखे उसले खान्छ चाहिँ के ? यसै पनि यहाँ लेखकलाई ‘मेशिन’ वा ‘एलियन’ जो ठान्‍ने गरिन्छ । दिमागको काम गर्ने भएकाले उसको पेटको यहाँ कुनै ख्याल राखिँदैन । ख्याल राखिन्छ त केवल उसको दिमागी हालतको वा उसको आचरण, चालढाल वा ‘टेक्स्चर’का किस्साहरूको ।

त्यसो त यहाँ कुनै नयाँ सृजना रच्‍न थाल्दादेखि नै ‘प्लट’हरूलाई बिरालाले ‘केजाति’ लुकाएजस्तै गर्ने लेखकहरू पनि नभएका होइनन् । तर नलुकाएर पनि के गर्नू ? यहाँ जताततै चोरहरूको बिगबिगी छ । आफ्नो नवकथा जथाभावी उजागर गर्दै हिँड्दा अर्काले उछिट्याइदिने भयले धेरै जसो लेखकहरू ग्रस्त हुन्छन् । तर आफू त्यस कोटीमा बिल्कुलै परिएन । बरु त्यसको ठिक उल्टो !

नयाँ र लामालामा कथाहरू जथाभावी सुनाउँदै हिँडने आफ्नो पुरानै आदत थियो । वर्षौँ लगाएर लिपिबध्द गरे तापनि लेख्नु अघि मैले पृष्ठभूमि तयार हुँदै गरेका आफ्ना कथानक विभिन्‍न मानिसलाई सुनाएको छु । नयाँ कथा वा उपन्यासका खेस्राहरूलाई यदाकदा मैले सामाजिक सञ्‍जालमा पनि पोस्ट गरेको छु ।

मलाई ‘पाइरेसी’को डर छैन । मैले सुनाएका कथा वा उपकथाहरू कसैले मरमसला हालेर आफ्नो भड्डुमा उसिनोस् र बजारमा पस्कियोस् यसको मलाई कहिल्यै कुनै पर्वाह भएन । कारणहरू धेरै छन् । हाललाई मुख्य दुइ कारणहरूको प्रसंग यहाँ कोट्याउनु उचित ठानेँ ।  

एउटा कारण– मानिलिउँ, मैले कसैलाई आफ्नो नयाँ कथाबस्तु सुनाएँ । काकतालीले ऊ मेरो प्रतिस्पर्धी लेखक पनि हुनसक्छ । उसले मबाट एक दुइ राउण्ड चिया खाइसक्दा जे जति सुन्यो, ऊ त्यत्तिमा नै सिमित रहन्छ । तर यता मसँग भने मेरो सृजनाको गहिरो इनार कायमै हुन्छ । मानिलिउँ, त्यो उसले लेखेर छापुन्जेलमा म आफ्नो उक्त कथानकलाई दर्जनपटक परिस्कृत गरेर अझ धेरै चाखलाग्दा मोडहरूमा हुइँक्याइरहेको हुन्छु ।

किनभने, मेरा लागि अनौठो कुरा लेख्नु ठूलो कुरा होइन । लेखिसकेर त्यसलाई कैयौँ पटक समिक्षा गर्नु मेरो शौख र आदत पनि हो । भन्‍न खोजेको के हो भने, मैले जसलाई आफ्नो नयाँ कथा सुनाएँ, उसलाई मैले आफूले तयार गरेको एक गिलास चखिलो सर्वतपानी त पिलाएँ र सायद ऊ त्यतिमै मक्ख पनि पर्यो होला । तर जब मसँग सर्वतपानीको इनार नै छ भने, उसले लगेको एक गिलास पानीले मेरो खजानाको तौल कदापि कम हुँदैन । 

दोस्रो कारण– मेरा कथाबस्तुहरू नितान्त ‘स्किजोफ्रेनिक’ हुन्छन् । त्यो पनि ‘प्याथोलोजिकल्ली स्किजोफ्रेनिक’ । नेपाल देशमा अर्को कुनचाहिँ लेखक त्यस्तो चिकित्सकीय निदानको चपेटामा परेको छ ? भए खबर पाउँ । 

मेरा अप्रकाशित कथाबस्तु लगेर यदि कसैले त्यसलाई आफ्नो हस्ताक्षर बनाउँछ भने, उसले त्यसलाई ‘जस्टिफाइ’ गर्न सक्दैन । साहित्यकै ‘प्याथोलाजी टेष्ट’मा त्यस्ता चोरीचकारीबाट तयार पारिएका पुस्तक वा अन्य सामग्रीहरू स्वतः असफल हुन्छन् । चाहे उनीहरूले मेरा ‘प्लट’ चोरुन् वा अरु कसैका । 

यता नेपाली साहित्यको रजतपटमा टेकेर म के दाबी गर्न सक्छु भने, पछिल्लो सात वर्ष लगातार मैले जे जति लेखेँ, त्यस्तो बर्तमानमा कुनै अर्को लेखकले यहाँ उधिन्‍न सकेको छैन । मैले जुन परामनोवैज्ञानिक दृश्य र रहस्यमय सूचनाहरूलाई आफ्नै पाराले टंकण गरेँ, त्यस्तो यहाँ अर्को कुन लेखकले गरेको छ ? यो दंभ होइन नितान्त दावी हो । साहित्यमा दंभ होइन, दाबीले काम गर्छ । यसो भन्दैमा भविष्यको त म कुनै ठोकुवा गर्न सक्दिँन । 

अहिलेसम्मको नेपाली साहित्य र पत्रकारितामा सकेसम्म ‘अपडेट’ रहन रुचाउने पाठक पनि हुँ, म । त्यसैले नेपाली साहित्यमा मानसिक, अतिमानसिक, परामनोवैज्ञानिक वा ‘सुपर नेचुरल पावर’को प्रयोगबारे पनि म उत्तिकै ‘अपडेट’ रहने प्रयास गर्दछु । म नेपाली साहित्यमा ‘प्यारानोइया’ कम भेट्छु । तर उता फेरि नेपालको राजनीति ‘प्यारानोइड’ छ । अनि म नेपाली साहित्यमा ‘स्किजोफ्रेनिया’ पनि खोज्छु । तर म साहित्यभन्दा बढी नेपालको राजनीतिलाई ‘स्किजोफ्रेनिक’ फेला पार्छु । समग्र निदानमा नेपालको राजनीति ‘प्यारानोइड स्किजोफ्रेनिया’ले ग्रस्त छ ।   

महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखनमा म ‘स्किजोफ्रेनिया’को सुगन्ध भेट्छु । देवकोटा मेरा अति प्रिय लेखक हुन् । उनका साहित्य पढेर म बहुत रोएको छु । अझै पनि आँखा पगाल्नु पर्दा म उनका कृति दोहोर्याएरै पढिदिन्छु । मेरा बुबा देवकोटाका कविताका पारखी भएका कारण मैले नवजातकालमै महाकविका कविता बुबाले गाउने लोरीहरूमा सुनेकै पनि हुँ । शरिर छाड्नु अघिसम्म पनि बुबा बिहान तीनै बजेदेखि अनेक श्लोक, कविता र गीतहरू गाइरहनु हुन्थ्यो । जागृति, सादगी र अथक संघर्ष मेरा बुबाका अमूल्य सन्देश हुन् । कवि र किशान पनि भएर जीवनलाई थप सुगन्धित तुल्याउने मेरा बुबा नेपाली शिक्षक नभएको भए मैले यस्तो लेख्न कहाँ सक्थेँ ?

उता मलाई मन परेका अर्का महान लेखक बालकृष्ण समका कृतिहरूमा मैले ‘स्किजोफ्रेनिया’का गुलाबी बादलहरू फेला पार्न सकिँन । उनको लेखन अति गहन, क्लिष्ठ, दार्शनिक र ब्याकरणप्रधान छ । एक हिसावले भन्‍नु पर्दा देवकोटा र समका साहित्यमा परस्पर विरोध भेट्न सकिन्छ । देवकोटा भावनामा अत्याधिक बग्छन् भने सम तथ्यपरकतालाई आफ्नो काव्यको मेरुदण्ड बनाउँछन् । नियमित आकस्मिकता जस्तो उनको महान कृति अत्यधिक ‘इन्साइक्लोपेडिक’ छ । 

त्यसैले दरबारमा हुर्किएका सम र सडकमा संघर्ष गरेका देवकोटाबीच कुनै तुलना हुन सक्दैन । उनीहरू आआफ्ना स्थानमा उत्तिकै महान छन् । बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यलाई जे जति दिए त्यति यहाँ अहिलेसम्म अरु कसैले दिन सकेको छैन । सम र देवकोटालाई झिकिदिने हो भने नेपाली साहित्यको तौल ह्वात्तै घट्न पुग्छ । तर त्यस्ता महान साहित्यकारका कृतिहरूलाई विश्‍वस्तरमा हामीले अझै लैजान सकेनौँ । स्मरण रहोस्, नेपाली साहित्यको आयामलाई महामानवतर्फ प्रायोगिक रुपमा उकाल्न सक्ने महान हस्थी हुन्, सम र देवकोटा ।

नेपाली साहित्यमा ‘स्किजोफ्रेनिक’ सुगन्ध दिन सक्ने अर्का महान साहित्यकार बिपी कोइराला हुन् । प्रधानमन्त्री समेत भएका कोइरालाको साहित्यमा फ्रायडको यौन मनोविज्ञान अलावा अन्य कैयन मानवीय संवेगका झन्झावात भेटिन्छन् । उनको शत्रु कथा नितान्त ‘प्यारानोइक’ छ । हिटलर र यहुदीमा त मैले कोइरालालाई उनान्सय प्रतिशत ‘स्किजोफ्रेनिक’ भेटेको छु ।  

उता निबन्धकारमा शंकर लामिछाने ‘स्किजोफ्रेनिक’ भेटिए । उनका कतिपय निबन्धहरू पनि ‘स्किजोफ्रेनिक’ लाग्छन् । तर लामिछाने ‘प्यारानोइड’ नभएर ‘डिप्रेसिभ’ नजर आउँछन् । रातरात भर जाग्ने निशाचरले लेखे जस्तै लाग्छन् लामिछानेका कालजयी निबन्धहरू । उनका निबन्धमा तत्वमीमांसा र आविश्कारहरू समेत फेला पार्न सकिन्छ । आफ्नो कालखण्डलाई लामिछानेले अत्यन्तै दर्दनाक रुपमा ब्याख्या गरेका छन् ।  

केही वर्षअघि दिवंगत हुनुभएका लेखक, प्राध्यापक तथा दार्शनिक दुर्गाप्रसाद भण्डारी, लेखक तथा कलाकार मनुजबाबु मिस्र, घनचक्करका लेखक सन्जीव उप्रेती र पल्पसा क्याफेका लेखक नारायण वाग्लेका रचनाहरूमा समेत ‘स्किजोफ्रेनिया’को राग भेट्न सकिन्छ । यद्यपि माथि उल्लेखित लक्ष्मीप्रसाद देवकोटा बाहेक अरु लेखकहरू ‘प्याथोलोजिकल स्किजोफ्रेनिक’ होइनन् । उनीहरू ‘नन प्याथोलोजिकल स्किजोफ्रनिक’ हुन् । 

भैरव अर्यालको आत्महत्या यदि आकस्मिक थिएन भने उनीचाहिँ ‘स्किजोफ्रेनिक’ नभएर ‘मर्विड डिजायर’को शिकार भएको अनुमान लगाउन सकिन्छ । तथापि यिनको ब्यक्तित्व अत्यन्तै रहस्यमय देखिन्छ । थप आश्चर्यको कुरा के हो भने, अर्यालका रचनामा विक्षिप्तता नभएर हास्यव्यंग्य छ । ‘स्किजोफ्रेनिक’ लेखकका सृजनाहरू विक्षिप्त हुन्छन् । विक्षिप्ततामा उम्लिए पनि त्यस्ता सृजना कालजयी हुने गर्दछन् । तर अर्यालका सन्दर्भमा प्रश्‍न उठ्छ– के उनले जिन्दगी र मृत्युलाई समेत केवल एक मजाक ठाने ? 
अब फेरि आफ्नै पृष्ठभूमिमा फर्किन्छु ।

पत्रकारिता गर्दागर्दै आजभन्दा एक्काइस वर्षअघि मलाई ‘प्यारानोइया’ निदान गरियो । त्यो अनौठो मानसिक रोगलाई सम्बन्धित औषधि सेवन गरेर उपचार गरेको दुइ वर्षमा यो निको हुनुको सट्टा झन् जटिल बन्दै गएको थियो । सन्  २००१ मा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सकहरूको एक टोलिले मलाई निदान गरे, ‘प्यारानोइड स्किजोफ्रेनिया’ ।

लामो समय ‘एलोपेथिक’ औषधि सेवन गरे पनि बिसेक नभएपछि म ज्यान फ्यालेर वैकल्पिक चिकित्सा पद्दतितर्फ हान्‍निएको थिएँ । त्यसैले भन्‍न कर लाग्छ कि म एक ‘प्याथोलोजिकल स्किजोफ्रनिक’ हुँ । ‘प्याथोलोजिकल स्किजोफ्रेनिक’ हुनु र ‘नन प्याथोलोजिकल स्किजोफ्रेनिक’ हुनुमा नितान्त फरक छ । पहिलोले जिन्दगीमा दोस्रोको दाँजोमा अत्याधिक दुःख पाउँछ । दोस्रो त प्रायः ‘एलाइट’ नै कहलाउँछ । चाहे त्यो ‘फेब्रिकेटेड’ नै किन नहोस् !

तर दोस्रो यहाँ कहलिन सक्छ– पागल ! यो नितान्त बेग्लै प्रसंग हो कि त्यस्तो पागलको सृजनाले यत्रतत्र गर्ने तहसनहसको वेग नाप्ने तराजु यता कुनै दोकानमा नहुन पनि सक्छ । 

अन्य उत्कृष्ट साहित्यकारका कृति पढेर प्रेरित हुनुका अलावा धाराप्रवाह लेख्‍ने उर्जा संग्रह गर्नका लागि म आफ्नो यायावर कालमा नयाँनयाँ कथा टाढाटाढाका अञ्‍जान ब्यक्तिहरूलाई समेत सुनाउँने गर्दथेँ । त्यसो त नविन कथा अनुसन्धान गर्न सुदूर भूमिहरूमा भट्किन पनि मलाई मन पर्थ्यो । म आफ्नै पात्रको ‘मुड क्रिएट’ गरेर अनेक स्थानमा घुम्थेँ । अनेक मान्छेहरूलाई भेट्थेँ । लामोलामो गफमा बत्तिन्थेँ । म आफ्नो नवपात्रलाई अवचेतनको रसातलमा भरपूर घुस्‍न दिन्थेँ र पात्र मुताविकको रसायन उमालेर अनेक जोखिमहरूमा आफूलाई होमिदिने गर्दथेँ ।

मुम्बईमा संघर्ष गर्दा मैले सबैभन्दा बढी त्यसो गरेँ । रहस्यमय आख्यानको उत्खनन् गरेर अञ्‍जान व्यक्तिहरूलाई सुनाएपछि उनीहरूको चेहरामा तत्काल देखा परेको प्रतिक्रिया पढ्न पनि म मन पराउँथे । यस्तो मैले कैयन वर्ष गरेँ । त्यसका लागि म भारतको पञ्‍जाब पारी पाकिस्तान बोर्डर छेउछाउमा पनि बरालिएँ । हिमाञ्‍चल प्रदेशको रिकांग पिओदेखि तामिलनाडूको कन्याकुमारीसम्म म नयाँनयाँ कथा खोज्‍न, सुँघ्‍न अनि अनुसन्धान गर्न बरालिएको छु । यता उडिसाका गाउँदेखि उता गुजरातको गान्धिधामसम्म म विभिन्‍न मानिससँग विभिन्‍न भेष र मुद्रामा गफिएँ ।

अमृतसरमा मैले कैयौँ रहस्यमय पात्रहरू भेटेँ । ‘मुम्बई अण्डरवल्र्ड डन’ दाउद इब्राहिम र उनको ‘डिकम्पनी’माथि अनुसन्धान गर्दा आफ्नो अवचेतनमा निश्‍चित रसायन उमाल्न मैले मुम्बई शहरका अनकण्टार गल्लीहरू पनि अत्यधिक चाहारेँ । मैले कैयौँ साथीहरू बनाएँ । अनेकानेक मानिसहरूसँग समय गुजारेँ । मुम्बईको डोंग्रीमा डनको इतिहास र उनीसँग सम्बन्धित मान्छेहरू खोज्‍नुको ‘थृल’ सबैभन्दा जोखिमपूर्ण र मजेदार थियो । रेलमा यात्रागर्दा फुरेका ‘प्लट’हरूलाई मैले सँगैको सिटमा बसेको अञ्‍जान सहयात्रीलाई समेत मनग्ये सुनाएको छु । 

नेपालीपोस्ट डट कममा प्रकाशित ‘नयाँ शाषक’ र ‘प्रुफ मिस्टेक’ लगायत पहिलोपोस्ट डट कममा प्रकाशित ‘दाउद इब्राहिमको तलाश’, ‘द किलर’, ‘डेथबोर्ड’, ‘धुँवा’, ‘वध’, ‘भोक’, ‘मर्डर स्टोरी’, ‘हिटलरको नाति’ र ‘गुलाबी बादल’जस्ता कथा लेख्नुअघि मैले दूरदराजका अनेक अञ्‍जान ब्यक्तिहरूलाई कैयौँ पटक सुनाएको थिएँ । गुप्तरूपमा अनुसन्धान गरेर आफ्ना अनिश्‍चित र अनिर्णित कथानकहरूमाथि विभिन्‍न तप्काका मानिसहरूसँग चर्चा र छलफल गर्दा कथालाई प्रशस्तै अक्सिजन र मलखाद प्राप्त हुन्छ । 

‘म को हुँ’ उपन्यास पनि प्रकाशित हुनुपूर्व मैले धेरैलाई सुनाएको थिएँ । पहिलो पाण्डुलिपि त मैले केही पत्रकार साथीलाई इमेल गरेर पढ्न पनि दिएको थिएँ । ‘म को हुँ’ को कथाबस्तु प्रकाशित हुनुपूर्व नै छताछुल्ल थियो । अनाम नगर मित्रमण्डलीका केही पत्रकार मित्रलाई त उपन्यास प्रकाशित हुनुभन्दा धेरै अगाडि नै यसका केही ‘प्लट’ समेत कण्ठै थिए । पहिलो पाण्डुलिपि तयार गरेको दश वर्ष पछिमात्रै २०७२ सालमा ‘म को हुँ’ प्रकाशित भयो । 

उपन्यास छापिनुपूर्वको त्यो एक दशकमा अनामनगर तिर पुग्दा कलिगहरूले सोध्थे, ‘म को हुँ’ कहिले आउँछ ? 

उनीहरूको त्यो प्रश्‍नको जे जवाफ दिँदा पनि आफू लज्जित भएको महसूस मलाई हुन्थ्यो । तर अहिले भन्‍नुपर्दा उनीहरूले त्यसरी अनेक पटक लल्कारेकै कारण ‘म को हुँ’ बजारमा आउन सकेको थियो ।   

सार के हो भने, लेख्नुअघि आफ्नो कथा अरुलाई सुनाउँदा लेख्‍न अति सहज हुने गर्दछ । बहाब कतै रोकिँदैन । एकै बसाइमा पनि लामो कथाको ‘ड्राफ्ट’ तयार हुन सक्छ । अनि त्यसलाई थपघट वा काँटछाँट गर्नु त छँदैछ ।

लेख्नु पर्ने कथा अरुलाई सुनाउँदाका धेरै फाइदा छन् । अरुलाई अत्यधिक वर्णन गरिसकेपछि लेख्‍न बस्दा ‘थृल’ वेगिलो हुन्छ । ‘टेक्स्चर’ पनि ‘क्लियर’ हुन्छ । ‘कोहेरेन्स’ अर्थात सँगातिमा समेत कुनै बाधा उत्पन्‍न हुँदैन । सुन्‍नेले चाख लिएको थाहा पाएपछि कथा लेखेर सिद्याउने हौसला प्राप्त हुन्छ । र, कथा लेखिन्छ पनि । त्यस्तो कथा पढ्दा अरुलाई पनि स्वतः ‘थृल’ उत्पन्‍न हुन्छ । कुनै पनि कथा अनुसन्धान गर्दा र लेख्दा लेखकलाई ‘थृल’ भएन भने, त्यस्ता कथा पढ्दा पाठकहरूलाई पनि ‘थृल’ उत्पन्‍न हुँदैन । 

महामानव अर्थात ‘सुपरम्यान थिम’मा खासगरी युवाहरूलाई लक्षित प्रस्तुत उपन्यासको खाका मलाई निकै वर्ष अगाडि आफ्नै एउटा रहस्यमय सपनामा प्राप्त भएको हो । यस्तो एउटा उपन्यास नेपाली साहित्याकाशमा मलाई खट्किएकै पनि हो । तर तत्काल त्यसलाई मैले लेख्‍न सकिँन । किनभने त्यतिबेला म काठमाण्डौमा अथाह संघर्ष गरिहेको थिएँ । र, ‘स्किजोफ्रेनिया’ले ग्रस्त थिएँ । अर्कातर्फ बौत्ध्दिक कारखानाहरू दुषित बन्दै गएपछि लेखेर खासै जीविकोपार्जनमा टेवा पनि नपुग्‍ने स्थितीमा गुफा पसेर नयाँ ग्रन्थ लेख्नु निकै चुनौतिपूर्ण कार्य थियो । 

उसै पनि ‘म को हुँ’ र अन्य रहस्यमय कथा उत्खनन् गर्ने चक्करमा मैले आफ्नो लगायत त्यतिबेला मेरो नावालिग छोराका कैयौँ छाक ‘ब्रेकफास्ट’ र अन्य आवश्यक्ताहरू कटौति गर्नुपरेको थियो । आफू र आफ्नो सन्तानलाई कुपोषणग्रस्त तुल्याएर म यहाँ कसलाई पोष्नका खातिर अक्षर उधिनिरहेको छु भन्‍ने जहरिलो प्रश्‍नले मलाई अझै पनि लल्कार्छ । अनि यसको स्पष्ट जवाफ खोज्‍न म पुनः अक्षरहरू उधिन्‍नुको अर्को बिकल्पै देख्दिँन ।

मनमा महामानवको अति विराट कथा गर्भाधान गरेताका म काठमाण्डौमा सर्वहारा हुन पुगेको थिएँ र पशुपतिनाथ मन्दिरमा ‘सेल्टर’ लिएर बाँचेको थिएँ । म भण्डाराहरूमा भोजन गर्थेँ । भैरवहरूसँग पनि सुत्थेँ । पशुपति, देवपतनको सूर्यघाट अघोर आश्रम, रामायण भजन मण्डलीका सबै सदस्य साथै अन्य केही शुभचिन्तकको स्‍नेह र सहारा नपाएको भए सायद अहिले म यो सब लेखिरहेको हुने थिइँन ।

‘डेस्टिच्यूट’ हुँदा पनि काठमाण्डौमा मेरो बौद्धिक संघर्ष जारी थियो । म हमेशा सिक्ने मनशायले अखवारका कार्यालयहरूमा पुग्थेँ । तर मूलधारको पत्रकारिताको बोझले मेरा अन्तसका सृजनबान्किहरू प्रष्फुटित नभएर दबिन्थे । अध्ययन, अनुसन्धान र उत्खनन गर्न रुचाउने कलम कसरी रमाउन सक्थ्यो, कुनै भ्रष्टाचारी नेताको भाषण सारेर ? 

यसै प्रमुख कारणले गर्दा मैले पटकपटक कैयौँ अखवारको काम छाडेँ । अनि अञ्जान बस्तीहरूतर्फ बरालिएर एक घनघोर परिबज्रको अभ्यासमा आफूलाई होमिदिएँ । भ्रष्ट र बिकृत सत्ता वरिपरि माखो झैँ भन्किनु भन्दा बरु गौतम बुध्द, सयाजी ऊ बा खिन, ओशो, श्री अरोबिन्दो र अन्य महापुरुषहरूको प्रज्ञाकाशमा आफ्नो अस्तित्वलाई समर्पण गरिदिएँ । महाकस्सम, मैले कलेजको कक्षाकोठा वा अखवारका कार्यालयमा भन्दा त सडक र शून्यागार र आफ्ना ऐकान्तिक पलहरूमा नै बढी सिकेँ । अनि अति चाखलाग्दा मान्छेहरू मैले परिचित भन्दा पनि अञ्‍जान बस्तीहरूमा ज्यादा भेटेँ । 

तर त्यसो भन्दैमा दूरदराजका त्यस्ता चाखलाग्दा पात्र, स्थान र चिजबिजहरू उपर लेखिएका ‘फिचर प्रोसेसिंग’ हुने स्थान त अखवारका कार्यालय नै हुन्थे । ‘घुम्दैफिर्दे रुम्जाटार’ भने जस्तै जति जहाँ घुमे पनि म टुप्लुक्क काठमाण्डौ पुग्थेँ । तर काठमाण्डौले लेख्‍ने पेशामा जीवन समर्पण गरेको मलाई ठिकसँग खाना खुवाएन । हराएर फर्किएको संवाददातालाई सम्पादक र कलिगहरू समेत कड्के आँखा प्रहार गर्दथे ।

एकातिर मूलधारका अखवारमा क्रमशः मेरा रचनाहरूलाई अमूर्त भएको आरोप लगाएर कम प्रकाशित गर्न थालियो वा प्रकाशित नै गरिएन भने अर्कातिर जति नै टाढाबाट जति नै चाखलाग्दो स्टोरी पस्किए पनि अखवारहरूले मलाई ठिकसँग पारिश्रमिक दिएनन । यहाँ अखवारहरू स्वयं कसरी टिक्ने भन्‍ने ध्याउँन्‍नमै हुन्थे । र, हरेक दिन समाचारभन्दा बढी त्यहाँ जिन्दगीका रसिदहरू काटिन्थे । 

कुत्सित चालले छपक्कै भिजेका र धन्दावाल सामग्रीबाहेक अब त्यहाँ अन्य सामग्रीहरू ‘आउट अफ फ्रेम’को आरोप लागेर कूडादानीमा मिल्किन्थे । यस्तोमा ‘न्यूजरुम’ लत्याएर आध्यात्मिक खोजमा निस्किएको संवाददाताका सामग्री उनीहरूलाई भद्दा र विरोधाभासी लाग्‍नु स्वाभाविकै थियो । पछि मलाई अनौठो मानसिक रोग लागेपछि त अखवारहरूसँग मेरो सम्पर्क टुट्दै गयो ।

अनि पछि एक्कैचोटि सामाजिक सञ्‍जालको प्रयोग बढेसँगै फेरि भेट हुन पुगेको थियो । पश्‍चिमा मुलुकमा कुनै संवाददाता अचानक लामो समय हराउँदा अब उसले केही नयाँ ल्याउँछ भनेर सम्पादक खुशी हुन्छ, रे । तर यता आफ्नो मुलुकमा हराएर फर्किएको संवाददातालाई भने सम्पादकले नचिने जस्तो गरिदिन्छ ।  

नेपालको पत्रकारितामा मैले भोगेको अर्को चरम आश्‍चर्य के हो भने, मैले कैयौँ अखवारहरू धराशायी भएको देखको छु । मैले डुब्दै गरेका र उक्सिँदै गरेका दुबैखाले प्रकाशक देखेको छु । मोटाउँदै गएका सम्पादक र उनका स्वास्‍नी छोराछोरीहरू देखेको छु । अनि मैले यहाँ देखेको छु कैयौँ महिना तलब नपाएर सिन्को जस्तै सुकेका लेखक र तिनका स्वास्‍नी छोराछोरीहरू पनि ।

२०४७ यता मुलुकमा भ्रष्टाचार, चोरिचकारी, लुटपाट र माफियागिरी अत्यधिक मौलाएसँगै चौथो अंग पनि त्यस्ता बिकृत्तिहरूबाट अछूतो रहन सकेन । फलस्वरुप विकासको सट्टा नेपाली पत्रकारिता किक्रिक्क पर्दै गयो । बौध्दिक कारखानामा अत्यधिक ठगहरू घुसे । केही कलम किनेर शक्तिको चलखेलमा सामेल हुने होडमा यहाँ पाकेटमारहरू पनि अखवार निकाल्ने धन्दामा लागे । यस्ता कारणले पनि मलाई मैदान छाडेर परिबज्रको घनघोर अरण्यमा भट्किन बाध्य तुल्याएको थियो ।

तथापि कसैलाई दोष नदिने हेतुले भन्‍नु पर्दा पत्रकारिताको मूलधारमा रम्‍न नसक्नुका पछाडि मेरो आफ्नै समस्या थियो । त्यो थियो– मेरो अत्यधिक कल्पनाशिलता । स्वैरकल्पनाको गुलाबी सगरमा विचरण गर्ने मान्छेबाट तपाईं कसरी कुनै दल विशेषको कार्यसमितीको बैठकको समाचार अपेक्षा गर्नुहुन्छ ? यथार्थ ओकल्नु पर्दा, भेटेजति सामग्री पढ्न रुचाउने म जस्तो ‘भोरासियस रिडर’लाई जिन्दगीमा सबैभन्दा अल्छी लागेको थियो, कुनै राजनीतिक दलको ‘मेनुफेस्टो’ पढ्न । थप भन्नुपर्दा म थिएँ, एक ‘डे ड्रिमर’ अर्थात दिवास्वप्‍नबाज । 

राजनीतिक समाचार संकलन र लेखन कार्यमा मलाई निकै भिँझो नै लाग्थ्यो । कुनै काइते नेताको अन्तर्वाता लिनुभन्दा टुँडिखेलतिर बरालिएर सडकका रोचक पात्रहरूसँग घण्टौ बिताएर फिचर लेख्‍न मलाई मन पर्थ्यो । तर पनि भात खानका लागि केके समेत लेखिएन ? यो नितान्त बेग्लै कुरा हो कि कतै ‘बाइलाइन’ आए । कतै आएनन् ।  

खासमा काठमाण्डौमा पत्रकारिता गर्दा मलाई बारबार एक किसिमको किरकिरा अनुभव पनि हुन्थ्यो । लेखेर डेस्कमा बुझाएको समाचार वा फिचर अर्को दिन प्राविधिक कारण वा उपसम्पादक वा प्रुफरिडरको लापर्बाही वा अल्पज्ञानका कारणले अनेक त्रूटी लिएर प्रकाशित हुँदा मन खिन्‍न हुन्थ्यो ।

अझ त्यस्ता सामग्रीमा आफ्नो ‘बाइलाइन’ भएको खण्डमा त झन् झूर लाग्थ्यो । आफ्नो लेखाईमा मुद्राराक्षस कुन लेखकले मन पराउँदो हो ? भन्‍नु उसो होइन, आज प्रविधिको चरमोत्कर्षमा आइपुग्दा पनि नेपाली पत्रकारिताको उक्त रोग कायमै छ । अहिले त झन् सिकिस्त पो हुन पुगेको छ । 

तपाईं माफिया र चोरहरूका हातमा कलम बुझाउनु हुन्छ भने यस्तै परिणाम आइलाग्छन् । विकास होइन त्यहाँ केवल विनाश हुन्छ । अहिले मुलुकमा जे बिकृत्तिहरू चलिरहेका छन् ती सब जगजाहेर छन् । आफ्नो अनुहारमा भन्किरहेका माखा धपाउन छाडेर जब बग्रेल्ती आपराधिक मान्छे कलमको दुरुपयोग गर्छन् तब त्यहाँ जिन्दगीहरू ‘सेफ्टी ट्यांकी’मा ‘फ्लश’ हुन पुग्छन् । हो, नेपाली पत्रकारिता र साहित्यको अहिले टिठलाग्दो हालत छ । यसको यथार्थ यस्तै अधोगामी र अति कठोर पनि छ ।  

२०४७ पछि प्राविधिक रुपले बिजुलीको गतिमा विकास भएको नेपाली पत्रकारिता आजका दिनसम्म आइपुग्दा पनि त्रूटीरहित हुन सकेको छैन । भाषाको मानक स्थापित हुन सकेको छैन । भाषामा एकरूपता छैन । मुद्राराक्षसको मात्रै कुरा होइन, यहाँ त अनुसूचीहरू नै गलत छापिन्छन् । र, गलत बुझिन्छन् । त्रूटीहरू र तिनको पुनरुक्तिक अट्टहासलाई पहिचानमा लिएर भूलसुधार गर्दै अझै सचेत भएर अघि बढ्ने अभ्यास यहाँ छैन । तिब्र अभ्यासले विकास नै हुनुपर्नेमा हाम्रो मुलुकका बौध्दिक कारखानाहरू आज किन विवादास्पद र फितला छन् ? किन उनीहरूका सामग्रीहरू हिजोआज भुत्ते र तम्तमाइला हुनपुगे ? 

आफूलाई आफैँ ‘नम्बर वान’ दावी गर्ने अखबारहरूमा समेत आजकल सर्वाधिक मुद्राराक्षस भेटिन्छन् । तर यसलाई मुद्राराक्षस भन्‍नु गलत हुन्छ । मुद्राराक्षस भनेको अञ्‍जानमा भएको त्रूटी हो । नचाहँदा नचाहँदै हुनपुगेको त्रूटी पो मुद्राराक्षस हो । तर यहाँ त जानाजान वा चरम लापर्बाहीकै कारण बढी त्रूटीहरू दोहोरिरहेका छन् । उनीहरूकै पुराना अंकहरूको दाँजोमा स्थापित अखवारका हिजोआज निस्किने सामग्रीहरू निकै झूर लाग्छन् ।

किन र कसरी खस्किन पुगे इतिहास निर्माण गरेका ती पुराना अखवारहरू ? यस प्रश्‍नको जवाफ तिनै अखवारमा जागिर खाने कलमबाजहरूले दिने जमर्को गरुन् । क्रमिक रुपमा विकसित हुँदै जानु पर्नेमा नेपाली पत्रकारिताचाहिँ किन अधोगतिमा लाग्यो भनेर पनि उनीहरूले आत्मालोचना गरुन् । आज यो पेशा किन हुन पुगेको छ, फगत धमिलो पानीमा माछा मार्ने काम भनेर पनि उनीहरूले बाक्लो मसीले अक्षरहरू छापून् । सचेत गर्ने गराउने धन्दामा कतै अचेत हुने बुटीको झोल त मिसिएको छैन भनेर पनि उनीहरूले मन्थन गरुन् ।

पेशाको दुरावस्थाले म जस्तो सर्वहारा लेखकलाई भने सदा केही नयाँ लेख्‍न नै प्रेरित गरिरह्यो । २०४६ सालपछि कोरोना महामारी दुनियाँमा सल्किए यता हाल मलाई सबैभन्दा बढी समय आफ्नो घरमा बस्‍ने सुअवसर प्राप्त भएको छ । नयाँ स्वैरकल्पनामा कहाँनिर बिजुली चम्कियो भने, जहाँ अहिले मेरो घर छ, त्यहाँ सत्तरीअसी वर्ष पहिले घनघोर जंगल थियो । बाघ लगायत अन्य जंगली जीवजन्तु र चराचुरुंगीहरूको राज थियो ।

हालको मेरो घर छेउछाउ त्यतिबेला गाउँलेका भैँसी गोठहरूमा पाडापाडीको शिकार गर्न आउने बाघलाई पासोमा पार्न खोरहरू बनाइएका थिए । त्यहाँ गाउँलेहरूले केही बाघलाई थुन्‍न सफल पनि भएका थिए । त्यही भएर यस स्थानको पुरानो नाम बाघखोर हो ।

निद्रा र सपनामाथि खूब अनुसन्धान गर्ने मेरो आदतमा यसपटक अचानक केही ‘जंगली प्रज्ञा’ समेत टप्किए । यहाँ अहिले पुराना ती बृक्षहरूका स्थानमा कंक्रिटका जंगलहरू घना भएर मौलाएका छन् । ‘मेटाफोरिकल’ अन्दाजमा भन्‍नुपर्दा त्यतिबेलाका सारा जंगली जनावरहरू कालान्तरमा आएर अहिले यहाँ मान्छेमा कायाकल्प हुन पुगेका छन् । फलस्वरूप यहाँ कोही बाघ भए ।

कोही हात्ती हुन पुगे । अनि कोही यहाँ चितुवा, भालु, ब्वाँसा, हुँडार, गिध्द र कागसमेत भइभ्याए । तथापि यो केवल हो, एक कायाकल्प । नत्र खुलस्त रुपमा लेख्नुपर्दा, अहिले पनि यहाँ जंगली जनावरहरूको उत्तिकै बिगबिगी छ । अनि स्यालहरू मासिए पनि बेलाबेला अझै यहाँ न्याउरीमुसाहरू कुखुरा चोर्न आउने गर्छन् ।

यसर्थ अनेक कारणहरूले पछिल्लोपल्ट अतिमानव अर्थात ‘सुपरम्यान थिम’लाई लिएर ‘बाघखोर प्रज्ञा सेरिज’मा आधा लेखिसकेको मेरो यो नयाँ उपन्यास वर्तमान नेपाली साहित्य जगतलाई एक चुनौति पनि हो । चुनौति मञ्जूर ?
 


Author

थप समाचार
ad
x