साहित्य

चिनियाँ पत्रकारको नजरमा नेपाल

इकागज |
माघ ५, २०७८ बुधवार १५:१२ बजे

काठमाडौँ- सिन्ह्वा समाचार संस्थाका बरिष्ठ  एवं व्यवसायिक पत्रकारद्वारा लिखित गैर आख्यानमा आधारित पुस्तक 'मेन्ड अर एन्ड', नेपाली संस्करणमा चिनियाँ पत्रकारको नजरमा नेपाल नामबाट  सन् २०२२ जनवरीकाे स्रो हप्ताको शुरुवातबाट बजारमा आउने भएको छ ।

प्रखर लेखक चाउ शेङ्गपिङ्ग एक दशकदेखि नेपालमा बसेर काम गर्दै आएका छन् । नेपाल र चीनको राष्ट्रिय संचार माध्यममा आएका एक दर्जन भन्दा धेरै समालोचना सहित सन् २०२१ अप्रिलमा यो पुस्तक प्रकाशन भए देखि यता उनको यो पहिलो अंग्रेजी पुस्तकले राम्रो चर्चा बटुलेको उनले बताए ।


अकल्पनीय लोकप्रियताबाट उत्साहित हुँदै काठमाडौँमा कार्यरत यी पत्रकारले चीन तथा चिनियाँ नजरबाट आफ्नो देशलाई हेर्ने दृष्टिकोण थाहा पाउन् भन्ने उद्देश्यले नेपाली भाषामा पनि पुस्तक प्रकाशन गरेको उल्लेख गरे ।

यो रोचक पुस्तकको लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाल एकेडेमीका चान्सलर गंगा प्रसाद उप्रेती, काठमान्डौ स्कुल अफ ल का प्राध्यापक युवराज संग्रौलाले प्रस्तावना लेखेका छन् । यो नेपाली पुस्तकलाई सन् २०२१ डिसेम्बरमा जनता प्रकाशनले प्रकाशित गरेको हो भने यसको बिक्री मूल्य ३५० रुपैयाँ रहेको छ। 

नेपाली संस्करणको यो पुस्तकलाई राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन गरि पाँच अध्यायमा बाँडिएको छ। २४० पृष्ठ लामो यो पुस्तकमा ४३ वर्षीय लेखकले राष्ट्रिय र अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित भएका विभिन्न लेखहरुको माध्यमद्वारा आफ्नो नीजि अनुभव र अन्य घटनाहरुलाई सार्वजनिक गरेका छन् । यो पुस्तक तिनै लेख, विश्लेषण, अन्तर्वार्ता, समाचार र विचारहरुको संग्रह हो ।

लेखकले पुस्तकलाई अझै आकर्षक र अद्यावधिक गर्ने उद्देश्यले ८ पुराना लेखहरुलाई पछिल्ला नयाँ एवं ताजा लेखहरुद्वारा प्रतिस्थापन गरेका छन्। 

यी नयाँ लेखहरुले चीनको बिआरआइ र अमेरिकाको एमसीसी सम्झौता जस्ता जल्दाबल्दा र जरुरी मुद्दाहरूलाई सम्बोधन गरेका छन्। उनले नेपालको भू-राजनीतिक सम्बन्धलाई आफ्नो देश चीन,दक्षिणी छिमेकी इन्डिया र अमेरिका बीच राखेर विश्लेषण गर्ने प्रयास गरेको देखिन्छ ।

यस पुस्तकको पहिलो अध्याय "के नेपाल सानो छ?" भन्ने आलेखबाट शुरु हुन्छ जसमा लेखकले, नेपालले आफूलाई सानो अर्थात लघुताभाष महसुस गर्नु नहुने भन्दै यो बढी सुखी तथा स्वयंलाई महान देश भएको दाबी गर्ने धेरै देशहरू भन्दा कम भ्रष्ट रहेको पुस्तकमा उल्लेख छ ।

उनले नेपाललाई उदयमान चीन र भारतसँग सँगसँगै हिंड्न आग्रह गरेका छन् । लेखकको दृष्टिकोणमा नेपालले चीन र भारतको उदयबाट लाभ प्राप्त गर्ने उच्च सम्भावना राख्दछ भने आफूलाई एक जीवन्त पुलको रूपमा रुपान्तरण गर्न सक्ने उल्लेख गरेका छन् ।

राजनीति अध्यायमा लेखकले नेपालमा बढ्दो राजनीतिक अस्थिरता, असफलताका कारणहरु प्रति चासो व्यक्त गरेका छन् र नेपाली जनताको लामो समयदेखिको सामाजिक-आर्थिक विकास र संवृद्धी उपायहरू सुझाएका छन्।

नेपाली नेताहरुलाई ब्युँउझन तथा देशको सामाजिक-आर्थिक विकासमा केन्द्रित हुन सुझाव दिंदै लेखकले चिनियाँ सर्वोच्च नेता स्वर्गीय माओत्सेतुङको भनाइलाई साभार गर्दै भनेका छन्, "दस हजार वर्ष धेरै लामो छ, आजैदेखि काम गर, अहिल्यै देखि काम गर।"

यो पुस्तकले सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्गको ऐतिहासिक नेपाल भ्रमण लगत्तै चीन – नेपाल सम्बन्ध रणनैतिक साझेदारीको स्तरमा प्रवेश गरेपछिका विभिन्न पक्षहरुलाई पनि समेटेको छ। लेखकले यो भ्रमणबाट दुई देश बीच रहेको दौत्य तथा हार्दिक सम्बन्धमा नयाँ अध्याय थपेको विषयलाई निरीक्षण गरेका छन् ।

चीन अध्ययन केन्द्रका कार्यकारी अध्यक्ष सुन्दर भट्टराईले चाउ शेङ्गपिङ्गको यो पुस्तक "दुर्लभ" भएको विचार व्यक्त गर्दै आफ्नो स्तम्भमा "यथार्थ धरातल र पूर्वाग्रह रहित अनुभवमा आधारित अमूल्य सुझावहरुले भरिएको" उल्लेख गरेका छन्।

नेपाली राजनीति, भू-राजनीति र कुटनीति बाहेक लेखकले नेपालको अर्थतन्त्र, यसको असफलता र सफलताको सम्भावना बारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्। उनले नेपालमा बिआरआइ परियोजनाको महत्त्व तथा चिनियाँ रेलको सपनाका अगाडि खडा भएका विद्यमान चुनौतीहरूको पनि चर्चा गरेका छन् ।

आफ्नो प्रस्तावनामा विचार प्रस्तुत गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालका लागि बहुपक्षीय सल्लाह र सुझावहरु संकलित भएको पुस्तकको स्वरुपमा यो एक अमूल्य उपहार भएको उल्लेख गरेका छन्।

"यो पुस्तकलाई केवल चाउको मात्रै भन्दा पनि समग्र रूपमा चीनको सुझावको रूपमा हेरिनु पर्छ।" नेपाल सरकार, राजनीतिक दलहरू र नेपाली जनताले यस्ता रचनात्मक सुझावलाई ध्यान दिनुपर्ने कुरा  खनालले आफ्नो मन्तव्यमा उल्लेख गरेका छन्।


Author

थप समाचार
x