साहित्य

८४ वर्षे तन्‍नेरीको हिमाल चढ्ने इच्छा !

लिलाराज खतिवडा |
माघ १, २०७७ बिहीबार १६:५ बजे

उनको घर छेवैको पसलअगाडि प्रायः दिनभरि कयौँ युवा क्यारेमबोर्ड खेलेर समयलाई स्ट्राइक गरिरहेका भेटिन्छन् । तर उर्लाबारी—२ स्थित मंगलबारे बजारका ८४ वर्षीय लीलानाथ गौतम गाईको गोबर सोहोरिरहेका हुन्छन् । घरको सुसेधन्दा गरेर उब्रिएको समयमा विभिन्न पुस्तक पढिरहेका हुन्छन् । 

गत वर्ष उमेर ८४ पुगेको खुसीयालीमा शिक्षाप्रेमी गौतम बाले स्थानीय सुनपकुवा माध्यमिक विद्यालयमा निम्न आय भएका परिवारका बालबच्चाको छात्रवृत्तिस्वरूप २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिए । परमार्थ गरेर उनले आफ्नो ८४ पूजा गरे । जसलाई पुगिसरी आएको छ, उसलाई दानदक्षिणा दिनुको कुनै अर्थ हुँदैन । तर जरुरत मन्दलाई आफ्नो गच्छेअनुसार सरसहयोग गर्नु नै उचित दान हो भन्ने धारणा छ, गौतम बाको । 


समाजमा शिक्षाको भरपूर प्रकाश फैलिएको हेर्न रुचाउने गौतम बाले तेह्रथुमस्थित आफ्नो जन्मस्थानको ९ रोपनी जग्गासमेत फुटबल खेलमैदान निर्माण गर्न दान दिए । खेलकुदमा पनि उनको उत्तिकै लगाव र प्रेम छ । उनी हर तरहले स्वस्थ छन् । बिहान चारै बजे उठ्छन् । नित्यकर्म सकेर गाईलाई खोले पकाउँछन् । गोबर सोहोर्छन् । दुई गिलास मनतातो पानी पिएर नातिनीलाई स्कुल पुर्याइदिन्छन् । अनि तीन वर्ष कान्छी श्रीमती चन्द्रलक्ष्मीलाई घरधन्दामा सघाउन थाल्छन् ।

‘काम मेरो बाध्यता होइन, रहर हो । म स्वस्थ रहन शारीरिक श्रम गर्न रुचाउँछु । तर आजकाल त श्रम यहाँ शरम हुन पुगेको छ ।’ यस संवाददाताको आमन्त्रण स्वीकार गरेर स्थानीय किसानचौकको ड्रिम्स होटलमा कफी खान आएका गौतम बाले उत्साहित हुँदै बताए । मंगलबारेका जुझारु युवा लियो बुढाथोकीलाई केही दिनअघि मैले एउटा अनुरोध गरेँ, ‘मलाई यस स्थानका केही बुज्रुकसँग भेट गराऊ । बृहत् कुराकानी गरेर म क्रमशः उनीहरूको प्रोफाइल लेख्नेछु ।’

हमेशा नयाँनयाँ आइडिया क्ल्यास गर्न रुचाउने लियोले केही दिन ढिला जरुर गर्यो । तर पर्खाइको फल मीठो हुन्छ भने झैँ उसले एक बिहान यस्ता अग्रजसँग मेरो भेट गरायो जसका स्वस्थ र तन्नेरी कुराहरू सुनेर जो कोहीलाई उत्प्रेरणा जाग्न सक्छ । गौतम बासँग भेट गराएकामा मैले लियोलाई धन्यवाद दिएँ । अग्र्यानिक खेती अभियन्ता लियो बूढापाकाको प्रोफाइल लेख्ने मेरो उक्त प्रस्तावप्रति यति खुुसी भयो कि अत्यन्त उसले मलाई ड्रिम्स होटलको बिल सेटल गर्न समेत दिएन ।
केहीबेर वार्मअप गफ गरेपछि गौतम बालाई सोधिएको थियो, ‘चिया कि कफी ?’ 

आफ्ना नाति पुस्ताका युवाको न्यानो अफर स्वीकार गर्दै उनले भने, ‘ब्ल्याक कफी ।’ म नियालेर गौतम बालाई हेरिरहेको थिएँ । चुस्त शरीर जहाँ कुनै अनावश्यक मासु थुप्रिएको छैन । क्लिनसेभ्ड चमकदार मुहार । लाग्यो, ८४ वर्षको उमेरमा पनि सामान्य युवाले जसरी जीवनयापन गर्न सक्नु आजको युगमा केवल एक मजाक नभएर चमत्कार हो ।

बिहान चारै बजे उठ्छन् । गाईलाई खोले पकाउँछन् । गोबर सोहोर्छन् । दुई गिलास मनतातो पानी पिएर नातिनीलाई स्कुल पुर्याइदिन्छन् । अनि तीन वर्ष कान्छी श्रीमती चन्द्रलक्ष्मीसँगै धरधन्दामा लाग्छन् । स्वस्थ छन् ।

स्वस्थ र सम्यक भोजन, सकारात्मक सोच, पैदल यात्रा, शारीरिक श्रम, मस्त निद्रा । सुखी रहन अरू के चहियो दैनिक जीवनमा ? 
सायद एक मुठी प्रेम !

जो तेह्रथुमको मोराहांगमा जन्मिएर मोरङको मंगलबारेमा २०२८ सालदेखि बसोबास गर्दै आएका गौतम बासँग मौजुद छ । अनि उनका वरपर त्यसको तरंग फैलिएको समेत सहजै महसुस गर्न सकिन्छ । गौतम बालाई कुनै कुराको कमी छैन । चार छोरा र दुई छोरी आआफ्नो घरजम गरेर दूरदराजमा बसोबास गर्छन् । १६ जना नातिनातिना र तीनजना पनातिनीहरू पनि भइसके । तर पनि घरमा उनी चन्द्रलक्ष्मी बज्यैसँग पुरानै प्रेमलाई अझ गाढा तुल्याएर ऊर्जामय जिन्दगी बाँचिरहेका छन् । 

‘१२ छोरा १३ नाति बूढाको धोक्रो काँधैमाथि किन नि ?’ गौतम बालाई सोधियो ।
मुहारको ब्रान्डझैँ लाग्ने मुस्कानसहित उनले बताए, ‘सन्तानले त डाँडाकाँडा ढाकेकै राम्रो हो । सन्तानले घर बस्ने होइन । सन्तान टाढाटाढा जानु समयको माग पनि हो । यसलाई स्वीकार गर्नुपर्छ । सन्तानले टाढाटाढा गएर प्रगति गरेकैमा मलाई खुसी, आनन्द र सन्तुष्टि प्राप्त हुन्छ ।’

जेठा छोरा जयन्तराज आफ्नै व्यवसाय गरेर धरान बस्छन् । माइला खगेन्द्रराज कल्याणपुरमा प्रधानाध्यापक छन् । साहिँला नवरत्न विराटनगरको कृषि सामग्री कम्पनीमा कर्मचारी छन् । र, कान्छा हिमालय जोर्डनमा छन् । दुई छोरीहरू काठमाडौंमा घरजम गरेर बसेका छन् ।

स्थानीय बलबहादुर निरौला, मानबहादुर डाँगी, डम्बरबहादुर चौहान, सूर्यप्रसाद गौतम, गुमानसिंह अधिकारी, धनबहादुर श्रेष्ठ र गौतम बालगायत अन्य स्थानीय समाजसेवीहरूको तत्वावधानमा सुनपकुवा विद्यालयलाई नजिकैको सुनपकुवा भन्ने स्थानबाट मंगलबारेको बजार लाग्ने स्थानमा सारियो । शुभदल राई, नेत्रप्रसाद कोइराला, नेत्रप्रसाद भट्टराई, अम्बिकाप्रसाद गौतम र शम्भु तामाङजस्ता शिक्षकहरूसँगको सहकार्यमा मंगलबारे बजारमा सुनपकुवा माध्यमिक विद्यालय पढाइ सुचारु गरियो । खोलाछेउको त्यस बञ्जर भूमिमा नयाँ बस्ती पनि बसालियो । घडेरीहरू बिक्न थाले । सुनपकुवा माध्यमिक विद्यालय बडा मज्जाले सञ्चालन हुन थाल्यो । हाल सुनपकुवा एक आदर्श उच्च माध्यमिक विद्यालयमा हुन पुगेको छ । 

पश्चिममा तेली र पूर्वमा सोल्टी खोलाले च्यापिएर रहेको सो स्थान अहिले हराभरा र स्वच्छ छ । किनभने पश्चिम र उत्तरतर्फ यो स्थान जंगल र सिमसारसँग जोडिएको छ । तसर्थ उर्लावारी नगरपालिका—२ स्थित सम्पूर्ण मंगलबारे आवासीय र पर्यटकीय हिसाबले अब्बल रहेको छ । मुख्य रूपमा यो स्थान कृषि पेसा गर्नका लागि उत्तम मानिन्छ ।

गौतम बाले आफ्नो विगत स्मरण गर्दै भने, ‘मैले मेरो जीवन शैक्षिक सेवा र कृषि क्रान्ति गरेर बिताएँ ।’ 
२००९ देखि २०१३ सालसम्म उनले तेह्रथुम सदरमुकाममा रहेको श्री सिंहवाहिनी मिडिल स्कुलमा अंग्रेजी पनि पढ्ने मौका पाए । त्यसपछिको उनको अंग्रेजी भाषाप्रतिको लगाव अझै कायमै छ । तर पनि उनी शिक्षक भएनन् । उनी विद्यालय सञ्चालक समितिमा नै सीमित रहेर पनि सन्तानलाई पढाउनुपर्छ भन्ने नारा लिएर गाउँगाउँ घुमे । उनले किसान संगठनको अध्यक्ष भएरसमेत २०२१ देखि २८ सालसम्म काम गरे । 

‘त्यसो भए तपाईंको अनुभवमा आदर्श कृषि र शिक्षा कस्तो हो ?’ 
गौतम बाको ऊर्जामय जवाफ, ‘रसायन र विषादीरहित खेती र सीप सिकाउने शिक्षा आजको आवश्यकता हो ।’

नेपाल पछाडि पर्नुको कारण उहाँ प्रमुख कारण अशिक्षालाई ठान्नुहुन्छ । किसान, व्यवसायी, राजनीतिक नेतालगायत मुलुकका सबै मान्छेहरू शिक्षित भएको खण्डमा मात्रै समृध्दि आउने कुरामा उहाँ जोड दिनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘एक्कैपटक सबैलाई शिक्षित बनाउन सकिँदैन । यो क्रमिक रूपमा हुने कुरा हो । विज्ञान र प्रविधिलाई पनि साथै लिएर जान सक्ने प्रायोगिक शिक्षा आजको आवश्यकता हो ।’ 

सानैदेखि खेलकुदमा समेत रुचि राख्ने गौतम बाले नखेलेको खेल छैन । मने, युवावस्थामा आफ्नातिर खेलिने प्रायजसो खेलहरूमा उनी सामेल हुन्थे । फुटबल ग्राउन्ड बनाउन जग्गादान गरेकैबाट अनुमान लगाउन सकिन्छ उनको खेलप्रेम ।

‘म दौडमा सधैं प्रथम हुन्थेँ,’ उनी स्मरण गर्छन्, ‘मलाई सानैदेखि उकालो हिँड्न खुब जाँगर चल्थ्यो । अझै पनि चल्छ । बेलाबेला अझै दौडिन्छु ।’  ं
‘भने पछि यो तन्नेरीपना त्यसरी कायम छ ? राज त्यही हो त यसको ?’ मैले सोधिहालेँ ।

गौतम बाले हाँस्दै भने, ‘म कहिले बूढो हुन्छु वा हुन्न भन्ने कुरा मेरो वशमा छैन । समयले बताउँदै लैजाँदो रहेछ । मेरो आयु समयलाई थाहा हुन्छ । मैले त्यतापट्टि खासै ध्यान दिनु जरुरी छैन ।’ 

‘तपाईंको विचारमा जिन्दगी के हो ?’ म गौतम बालाई अझै खोतल्न थालेँ ।
‘जिन्दगी केही होइन । शून्य हो जिन्दगी । अहिले छ भरे छैन । जिन्दगी बिहान सूर्योदयमा फूल जसरी फुल्छ । अनि साँझको सूर्यास्तसँगै ओइलाउँछ पनि । प्राणी र वनस्पति यहाँ जन्मिन्छन् र आफ्ना सन्तानहरू छाडेर शेष हुन्छन् ।’ गौतम बाको खुलस्त जवाफ थियो ।
‘अनि मृत्यु ?’ 

‘मृत्यु सागर जस्तो हो । जीवन नदी । जसरी नदी सागरमा मिल्न आतुर भएर निरन्तर बगिरहन्छ त्यसरी नै जीवन पनि मृत्युमा समाहित हुन अविच्छिन्न बगिरहन्छ ।’
‘विवाह के हो ?’ सफल दाम्पत्य जीवन जिउन सफल उहाँलाई अर्को प्रश्न गरियो ।

सदाबहार झैँ लाग्ने मुस्कान कायम राख्दै गौतम बाले दार्शनिक लवजमा भने, ‘विवाह सृष्टिको निरन्तरताका लागि हो । तर यसमा मान्छेहरूका अनेक विचार सक्रिय हुने गर्छन् । कोही केवल वासना पूर्ति गर्न यसलाई अपनाउँछन् भने कसैले यसलाई केवल समाजको जिम्मेवारी ठानेका छन् । कतै चाहिँ यो विकृति र घरेलु हिंसातर्फ उन्मुख छ ।’

‘विकृतिहरूबाट कसरी अछूतो रहने त ? युवा पुस्तालाई केही सल्लाह दिनुहोस् ।’ प्रश्नको सिलसिला जारी थियो । ‘शिक्षाले नै विकृति र विसंगतिहरूबाट मानिसलाई बिस्तारै विमुख गराउन सकिन्छ ।’ जुनसुकै समस्याको समाधान उचित र प्रायोगिक शिक्षाभित्र लुकेको हुन्छ भन्ने कुरामा जोड दिँदै गौतम बाले बताउनुभयो ।

गौतम बासँगको भलाकुसारी तात्दै थियो । उहाँको मोबाइल बज्यो । तर उहाँले उठाउनु भएन । बरु मौन राखिदिनु भयो ।
मैले सोधेँ, ‘फेसबुक पनि चलाउनुहुन्छ ?’
‘पहिले चलाउँथे । अहिले चलाउँदिन ।’ उहाँको स्पष्ट जवाफ ।
‘किन त ?’

‘त्यहाँ विचारको खडेरी पर्न थालेको स्पष्ट भएपछि छाडिदिएँ । त्यहाँ उध्र्वगमनभन्दा अधोगमन बढी छ । त्यो सब मलाई चाहिएन । बरु पुस्तकहरू नै ठीक छन् ।’
‘कुन कुन पुस्तक पढ्दै हुनुहुन्छ ?’

‘कोरोना महामारी यता मैले निकै पुस्तक पढेँ । महाभारत, देवीभागवत र कृष्णचरित्र मैले पुनः पढेँ । अहिले डा. राजु अधिकारीको खाने कसरी पिउने कसरी भन्ने पुस्तक  पढ्दै छु । यसमा उपयोगी खुराक छन् । पहिले रुद्रीचण्डी, वेद र अंग्रेजी पनि पढिन्थ्यो । अंग्रेजी अझै पनि पढ्छु । अलिअलि बुझिन्छ ।’
‘महाभारतमा युध्दबाहेक अरू के छ ?’ बालाई यस्तो प्रश्न सोध्न मन लाग्यो ।

‘हो, त्यहाँ युध्दैयुध्द छ । तर यता जीवनमा पनि हरपल कुनै न कुनै तरहले युध्द जारी छ । यहाँ कि गर् कि मर् भन्ने स्थिति छ । गीता एक उत्कृष्ट युध्ददर्शन हो । जीवनको युध्द लड्न र जित्न यो काम लाग्छ ।’ बाको स्पष्ट जवाफ आयो, ‘त्यतिबेला त्यहाँ व्याप्त आततायीहरूका खिलाफ, सबैखाले बर्बरता तथा अत्याचारका खिलाफ र मानव अधिकारका रक्षाका लागि महाभारत युध्द हुन पुगेको थियो ।’

‘आजको घोर कलियुगमा पनि युध्द सख्त जरुरी देख्नुहुन्छ उसो भए ?’ बालाई अर्को प्रश्न ।
‘समयको माग भए त्यस्तो सम्भव पनि हुन्छ ।’ गौतमबाको स्पष्ट र सटिक जवाफले चकित तुल्यायो ।

‘नेपालको वर्तमान राजनीति कस्तो लाग्छ यहाँलाई ? जताततै अराजकता र भ्रष्टाचार जो व्याप्त छ यहाँ ।’ जीवनमा एक सचेत नागरिकको भूमिका खेल्नु भएका लामो समयका साक्षी गौतम बालाई सोध्नै पर्ने महत्वपूर्ण प्रश्न थियो, यो ।

गौतम बाले निकै उत्साहित भएर भन्नुभयो, ‘नेपालको राजनीतिमा विकृति राणाकालमा पनि थियो । पञ्चायतकालमा पनि थियो । त्यतिबेला पनि सत्ता र सम्पत्तिको लुँछाचुँडी थियो । अनि अहिले पनि छ । अघि हामीले महाभारतको कुरा गर्र्यौं । विकृतिहरू त्यतिबेला त झन् धेरै थिए र भयंकर युध्दै हुन पुग्यो । त्यहाँ युध्द नगरौँ भनेर कृष्ण भगवान् साक्षात् आएर सम्झाउँदा पनि युध्द टरेन । कैयौँ मानिस मारिए । कैयौँ घायल भए । कैयौँ घरबारविहीन हुन पुगे । युध्दको परिणति कहाँ सामान्य हुन्छ र ?’

‘त्यसो भए यो धर्ती नै यस्तै हो त ? यहाँ कहिल्यै अमनचैन हुँदैन त ?’ प्रश्नको क्रमभंग भएकै थिएन ।
एक पटक फिस्स हाँसेर उहाँले आफ्नो पोल्टाबाट जवाफ झिक्नु भयो, ‘धर्तीलाई त दोष दिन मिल्दैन । तर मान्छेहरूले सुध्रिनु पर्यो । शिक्षित र सुसंस्कृत हुनुपर्यो ।’ 
जमानामा मेट्रिकसम्मको अध्ययन गरेका र अनेक अनुभव बटुलेका गौतम बाका कुराहरू सुनेर मन चकमन्न भयो ।  

बुवाआमाको देहान्त भएपछि आफूले घरव्यवहार सम्हाल्नुपरेका कारण थप पढाइ गर्न नसकेको उनले सुनाए । खासमा २०१७ सालमा गौतम बाका बुवा बिरामी भए । उपचारार्थ धरानको घोपा क्याम्प लगियो । भर्ना गरेपछि बिरामीसँग कसैले बस्न नपाउने व्यवस्था अनुरूप बुवालाई त्यहाँ छाड्नै पर्ने भयो । तर बुवा अरूले पकाएको नखाने स्वयमपाक्के थिए । त्यहाँ बुवाले खाना खान नमानेपछि भोलिपल्ट गोराहरूले गाली गरे । 

गौतम बाको स्मृतिअनुसार गोराहरूले त्यहाँ दोभाषेको मद्दतले भने, ‘तिम्रो मान्छे खाना खाँदैन । खाना नखाए मान्छे बाँच्दैन । उपचार सम्भव हुँदैन । तिम्रो मान्छे लैजाऊ । नत्र पटनालीको बगरमा लगेर मिल्काइदिन्छौँ । तर खाना खायो भने यो मान्छेको उपचार हामी गरिदिन्छौँ ।’

त्यसपछि बाहिर डेरामा बसेर उपचार गर्ने सल्लाह भयो । गोराहरूले खुब मद्दत गर्न चाहे । डेराबाट अस्पताल लैजान र ल्याउनका लागि एम्बुलेन्सको व्यवस्था पनि उनीहरूले गरिदिए । बुवाको उपचारले चार वर्ष खायो । उनलाई प्रोस्टेटको समस्या थियो । बिसेक हुन सकेन । खोइ किन हो, उनीहरूले अपरेसन गरेनन् । सायद उचित प्राविधिक व्यवस्थाको अभाव थियो । बुवाको शरीरमा विभिन्न पाइप चाहिँ जडान गरिएको थियो । पछि बुवाले नै उपचार माया मारे । अनि चतरा जाने इच्छा व्यक्त गरे । चतरामा केही समय डेरा लिएर उनलाई राखियो । त्यहाँ एक दिन बुवाले देहत्याग गरे ।

संयोग नै भनौँ, गत साल गौतम बालाई पनि प्रोस्टेटको समस्या देखा पर्यो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अपरेसन गरियो । यो त्यही घोपा क्याम्प थियो जहाँ ६० वर्षअघि सोही रोगका लागि उनका बुवालाई लामो समय उपचार गरिएको थियो ।

गौतम बाले सुनाए, ‘मेरा ६ जना दाजुभाइमा चारजनालाई प्रोस्टेटको समस्या देखियो । यो रोग वंशाणुगत हिँड्दो रहेछ ।’
‘जिन्दगीमा अत्यन्तै इच्छा भएर पनि पूरा हुन नसकेको केही छ ?’ मैले अब बालाई यस्तो प्रश्नको माला लगाइदिएँ । 

चम्किला आँखा पारेर उनले भने, ‘हिमाल चढ्न मन थियो । तर सम्भव हुन सकेन । हिमाल चढ्न जान अनेक झमेला र अनावश्यक खर्च हुन्छ भन्ने सुनियो । आफ्नो देशको हिमाल चढ्न कसको अनुमति लिन जानू ? त्यसैत्यसै मन मरेर आयो । तर मौका मिले अझै पनि पछि चाहिँ हट्दिँन । पहाड हिँड्ने इच्छा पूरा गर्न पोहोर मुक्तिनाथ घुमेर आएँ ।’ 

केही समय अघिसम्म गौतम बा नियमित डायरी लेख्थे । उनका अक्षर अति राम्रा छन् । स्याना अक्षर लेख्न उनी पहिल्यैदेखि माहिर । अरूले एक लाइनमा लेख्ने जति क्षेत्रफलमा उनी तीन लाइन अक्षर लेखिदिन सक्छन् । 
उनी भन्छन्, ‘हिजोआज खासै लेख्दिँन । अब त बूढो पनि भएँ ।’  

कुराकानीलाई बिट मार्ने मनसायसँगै गौतम बालाई सोधियो, ‘मंगलबारेको हरियाली र स्वच्छता कायम राख्न के गर्नु पर्ला ?’
‘युवाहरूले जागरुक हुनु जरुरी छ । सबैखाले पेसा गर्नेहरूले अनिवार्य शिक्षित हुनु महत्वपूर्ण छ । विकृति र विसंगतिको गलत मार्ग त्यागेर इमानदारीसाथ सबैले आफ्नो धर्तीको सेवामा जुट्नु पर्छ ।’ गौतम बाको जवाफ सुनेर मन प्रफुल्ल भयो ।


Author

थप समाचार
x