साहित्य

महाप्रस्थान !

लिलाराज खतिवडा |
माघ ३, २०७७ १३:४२ बजे

यहाँ यात्रा त अनेक भए । तर महायात्रा कम भएका छन् । यहाँ प्रस्थान त अत्यधिक भए । तर महाप्रस्थान विरलै । यहाँ जिन्दगीका समीकरणहरू बिग्रिएका छन् । त्यसैले आज केही हिसाब गरौँ । अस्तित्वको हिसाब । प्राकृत हिसाब । जस्तो कि यहाँ मान्‍छेहरू एक र एक जोडेर दुई बनाउँछन् । तर अस्तित्व वा प्रकृतिको गणित नितान्त भिन्‍नै छ जहाँ एक र एक जोड्‍दा हुन्‍छ, तीन ।
कसरी ?
सोच्‍नुहोस् । एकछिन विचार गर्नुहोस् । एकमा एक जोड्दा कसरी तीन हुन्‍छ ?

जवाफ झिक्नुअघि केही भूमिका -एउटा अंक मात्रै होइन, एक । एक अनेक छ र यहाँ हरगिन्ती एकबाट नै सुरु हुन्‍छ । अनि गिन्तीहरूको समाप्ति पनि एकमा नै हुन पुग्छ । लाग्छ, सुरु र अन्त्यमा मात्रै नभएर यो एक अंकको खेल अस्तित्वको ठीक मध्यमा पनि अवस्थित छ । अस्तित्वको अविचलित मध्य । त्यो अविचलित मध्य अस्तित्वको धुरा हो ।


मनन् गर्नु पर्ने मुख्य सूत्र- प्रकृति एक छ र प्रकृतिमा परम आनन्द छ । मान्‍छे अनेक छ र मान्‍छे घोर तनावमा छ । तथापि अक्सर देखिन्‍छ यहाँ बढी चाहिँ जताततै अनेक । अनि त्यसको दाँजोमा एक यहाँ देखिन्‍छ निकै कम । निकै कम ? एक त यहाँ अदृश्य प्रायः छ । 

जे हामी देख्छौँ त्यो अनेक छ । अनेकमा भेद छ । जस्तो कि सागर एक छ । अनि लहर अनेक । यता आफैँभित्र घुसेर हेर्दा लहर सपना हो । अनि सागर सत्य । तर हामी बढीजसो सपना अर्थात् लहरमा नै बाँच्‍ने गर्दछौँ । अनि सकिन्‍छौँ पनि लहरमा नै । जीवनभर सत्यको एक झलकले पनि हामीलाई स्पर्श गर्दैन । कस्तो अन्धकार !

लहर अर्थात् सपना भ्रम हुन् । अहिले छन् भरे छैनन् । यद्यपि हामीलाई सपनामा जिउने बानी परेको छ । अनि हामी भ्रमित पनि छौँ । यस्तो लाग्छ जिन्दगीमा हामीलाई हमेशा एक सय चार डिग्री ज्वरो आएको छ र हामी जथाभावी बर्बराइरहेका छौँ । बडबड बडबड !

जाग्‍ने त कतै छनकै छैन । मान्‍छेहरू पेट, मन र सत्ताको अति भोजनमा यति धेरै एकाग्र भए कि उनीहरूलाई अस्तित्वको मध्यमा झाँक्ने न फुर्सद भयो न चासो । एकाग्रता त बिरालोसँग पनि छ, हजुर । तर उसले मुसा मारेर के लछारपाटो लगायो ? हामीलाई त शुद्धीकरणका साथमा होस चाहिएको थियो । तर यहाँ त त्यसको ठीक उल्टो बेहोसी घना भइदियो ।

लहरलाई सागर भन्‍नेहरूको भीडमा सागरभित्रको मोतीको चर्चा गर्नु धृष्टता नभएर एक खतरनाक चुनौती पनि हो । सतही हिँडेको दुनियाँलाई अन्तःचेतनबाट सम्बोधन गर्दा छिटफुट मानसिक विस्फोटनहरू हुन पनि सक्छन्, बजारमा । तर त्यसको कुनै पर्वाह भएन । बजारमा केही मुमुक्षु पनि छन् । कुरा  बुझ्छन् । चुप लाग्छन् । घडी घुमेको हेर्छन् । सुत्छन् । कस्तो गजबको धैर्य हो ? कि यो एक गहन निद्रा हो धैर्य नामको ? विवेचना गर्ने आग्रह, भावी पुस्तालाई ।    

अर्को भूल, हामी सागर हेर्न जाँदा पनि लहरहरूमा नै अड्िकन्‍छौँ । लहर सागर होइन । सागर नितान्त भिन्‍नै र विराट छ । आँखा बन्द गरेर आफूभित्रको अनन्त सागरलाई हामी नियाल्दैनौँ । हामीलाई बाहिर हेर्ने बानी परेको छ । हर चिज हामी बाहिर खोज्छौँ । सारा मनुष्य जाति यहीँनेर चुकेको छ । उसका सारा परिभाषाहरू बहिर्मुखी छन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको हिसाबमा एकमा एक घटाउँदा एक नै बाँकी रहन्‍छ । आम मान्‍छेको भाषामा एकमा एक घटाउँदा शून्य बाँकी हुन्‍छ । हो, थाहा छ ।तर आजको मेरो मूल प्रश्नमा नै अवतरण गर्छु । एकमा एक जोड्दा कसरी तीन हुन्‍छ ? कुन गणितमा यो सम्भव छ ? तर यस गणितमा एकमा एक जोड्दा हमेशा तीन मात्रै नभएर कहिलेकाहीँ त चार वा पाँच वा छ वा सात वा आठ पनि हुन जान्‍छ । त्यति मात्रै ? यो हिसाब प्रायः अनन्तमा गएर पनि सकिँदैन । बढ्‍दै जान्‍छ । बढ्‍दै नै जान्‍छ । तर यसै गणितमा कहिलेकाहीँ एकमा एक जोड्दा हात लाग्न सक्छ केवल शून्य । शून्य, केवल शून्य !

कस्तो दुरुह गणित हो यो ? 
जिन्दगीमा कैयौँ गणितहरू पढियो होला । गणितका अनगिन्ती समीकरणहरू हल गर्ने सन्दर्भमा कैयौँ विद्यावारिधि पनि यहाँ भए होलान् । तर यो गणित, एकमा एक जोड्दा तीन फल आउने गणित, के हो र कसरी यो सम्भव छ ? अब ठाडै यसको जवाफ मथिंगल गरौँ ।

प्रकृतिको गणितमा एक जोड एक बराबर तीन सम्भव छ । र, यसको कारण पनि अति नै सरल छ । मान्‍छेको भाषामा भन्‍नु पर्दा विवाहको गणितमा यो सम्भव छ । समग्र अर्थमा भन्‍नुपर्दा, कुनै पनि प्राणीको परिपक्व भाले र पोथीबीच हुने समागम र वनस्पतिहरूको परागसेचनको गणितमा यो सम्भव छ । अर्थात्, प्रजनन प्रक्रियामा एकमा एक जोड्दा हुन पुग्छ, अनेक !

सारा प्राणी र वनस्पतिहरूलाई प्रकृतिको एउटा अति नै गाढा आदेश छ, तैँले सन्तानोत्पत्तिको प्रक्रियालाई जारी राख्लास् ! मैले सुनेको छु यो आदेश मान्‍नेहरू मात्रै यहाँ पैदा हुने गर्दछन् । आदेश नमाने उनीहरू एक झट्कामा नष्ट हुने पद्म, शंख, नील बीजहरू सदृश कालो खाडलमा सडेर स्वाहा हुने गर्दछन् । प्रकृतिको प्रजनन आदेश अस्वीकार गर्नेहरू लोप भएका छन् ।

आउनुहोस् एउटा गहन तत्व मीमांशा गरौँ । जस्तो कि एउटा वयष्क भालेको शुक्रकीटमा पद्म, शंख, नील बीजहरू हुने गर्दछन् । ती सबै उचित अवसर पाए जन्म लिने सम्भावना बोक्छन् । तर एक पटकमा तीमध्ये कम्तीमा केवल एक बीज गर्भस्थ हुन पुग्छ । अरू सबै कहाँ पुगे कसलाई के थाहा ?

प्रकृति निराकार शक्ति हो । यो पाँच ज्ञानेन्द्रियभन्दा इतर छ । यसलाई तदनुरूप भाँप्न सक्नुपर्छ । नवजातकालदेखि नै प्रकृतिसँग हाम्रो तादात्म्य कायम रहनु पर्दछ । कथंकदाचित त्यो टुटेको खण्डमा कष्ट हुन्‍छ । अति कष्ट हुन्‍छ । जस्तो कि अहिले भइरहेको छ ।

आज सारा मनुष्य जातिको कष्टको कारण प्रकृतिमैत्री जीवनयापन गर्न नसक्नु हो । वा प्रकृतिसँग तादात्म्य टुट्नुले गर्दा जगत्मा जताततै कष्ट नजर आएको हो । तर प्रकृतिसँग तालमेल मिलाएर जीवनयापन गर्ने हो भने टुटेका तारहरू पुनः गाँस्‍न सकिन्‍छ । त्यसपछि प्रकृतिसँग फेरि न्यानो लयबद्धता सुरु हुन जान्‍छ । नत्र पदार्थको पराकाष्ठा भोगेर पुनः प्रकृतिमा फर्किएकाहरूलाई एकफेर नियालेर हेर्नु ।

मनका विभिन्‍न रसायन र ग्रन्थीहरूको प्रदूषणका कारण हरक्षण हामीभित्रको प्रकृति छिन्‍नभिन्‍न हुन पुग्छ र हामी जिन्दगीमा सादगी नभेट्टाइ सकिन्‍छौँ । वा आफ्नै भाषामा भनौँ, झुसिलकिरो प्युपा नभई सीधै आर्यघाट ! मर्नुअघि मेटिनु जरुरी छ । मर्नुअघि नै एउटा महामृत्युबाट गुज्रिनु अति जरुरी छ । खिया परेको फलामलाई पोलेर र घनले पिटेर चाहिएको आकारमा ढाले जस्तो ।

जब म मेटिन्‍छु तब प्रकृति सुरु हुन्‍छ । म मेटिएपछि अगाडि जे प्रकट हुन्‍छ त्यही प्रकृति हो । एउटा स्यानो उदाहरण, आँखा स्वस्थ र स्वच्छ हुँदा म टाढाटाढासम्म देख्‍न सक्छु । तर यदि त्यही आँखामा धूलोको सानोभन्दा सानो कण परेको खण्डमा सब अन्धकार हुन पुग्छ । हाम्रो विराट चेतनामा पनि भ्रमको स्यानो धूलोकणले त्यस्तै अन्धकार सिर्जना गरिदिएको छ । एकातिर आँखामा धूलोको कण पर्दा आँसु बग्छ । अर्कातिर चेतनामा भ्रमको स्यानो कण पर्दा पनि जिन्दगीमा उसैगरी आँसु बग्छ । स्मरण रहोस्, मान्‍छेको चेतनाको रोदन नै दुःख हो । दुनियाँमा यति धेरै दुःख छ भने त्यो फगत भ्रमका कारण पैदा भएको छ ।

कस्तो भ्रम ?
दुनियाँले हामीलाई अनेक तरहले भ्रमित तुल्याउँछ । किनभने दुनियाँमा जिन्दगीका सारा परिभाषाहरू बहिर्मुखी छन् । एउटा नवजात शिशुलाई नियालेर हेर्नुहोस् । ऊ सम्पूर्णतः रिक्त छ । त्यो नवजात अहिले भ्रमित भइहालेको छैन । तर अब क्रमशः उसमा अनेकौँ कार्यक्रमहरू हाल्दै लगिन्‍छ र उसलाई केवल एक यन्त्र तुल्याइन्‍छ । वयष्क हुँदै गर्दा व्यक्तिले अस्तित्वका बारेमा विभिन्‍न प्रश्नहरू उठायो भने, समाजले लादेका परिभाषाहरूलाई लात हानेर आफूभित्रको रिक्ततालाई टटोल्यो भने, त्यहाँ अब ऊ स्वयंले दिव्य कार्यक्रम हाल्न सक्छ ।

आधुनिक विज्ञानको भाषामा भन्‍नु पर्दा नवजात एउटा रिक्त कम्प्याक्ट डिस्क सरह छ र उमेर बढ्दै जाँदा त्यहाँ घरसमाजले अनेक कार्यक्रमहरू हालिसकेको हुन्‍छ । धेरैजसो मान्‍छेहरू त्यसरी हालिएको कार्यक्रमलाई नै सबथोक ठानेर जिन्दगीको बयलगाडामा नारिन्‍छन् ।

उता घरसमाजको तादात्म्य प्रकृतिसँग टुटेको छ र त्यो नवजात अब विभिन्‍न अप्राकृतिक कुराहरूले गाँजिदै जान्‍छ । घर र समाजमा जिन्दगीलाई भित्रबाट परिभाषित नगरिएका कारण नवजात हुकिँदै जाँदा आफूभित्रको परमसत्ताबाट टाढाटाढा पुग्दै जान्‍छ । ऊ आफैँलाई बिर्सिँदै जान्‍छ र उसमा अरूहरू हाबी हुन थाल्छन् । बच्चा बेलामा बाबुआमा हाबी हुन्‍छन् । परिवारका अन्य सदस्य हाबी हुन्‍छन् । छिमेकी, साथीभाइ हाबी हुन्‍छन् । त्यसपछि मास्टर, ट्युसन मास्टरलगायत एउटा मान्‍छेको जिन्दगीमा नजाने अरु कैयौँ मानिस र उनीहरूका कुरा हाबी हुन पुग्छन् ।

स्कुल, कलेज र जागिरमा एउटा मानव सबैभन्दा बढी भुटिन्‍छ । तातो कराहीमा डामिन्‍छ । त्यहाँ ऊ अब ऊ रहँदैन । नवजातले प्रकृतिबाट जे लिएर आएको थियो त्यो सबै क्रमशः खोसिन्‍छ । अनि टिनएज सकिँदा नसकिँदै त्यो बच्चो अवशादले ग्रस्त हुन पुग्छ । जिन्दगीका सारा कौतुहलहरू सकिए जसरी मानवका ती बच्चाहरू अब विवाह गरेर बच्चा जन्माउँछन् र बूढो भएर वा नहुँदै सकिन्‍छन् । यसबीच यदि कसैले घर र समाजले लादेको परिभाषालाई पहिचानमा लिएर आफूलाई पुनः रिक्त बनाउन सके ती मनुवाहरू धन्य कहलाउने छन् । अब तिनीहरूभित्र दिव्य कार्यक्रम हाल्न सकिन्‍छ र विधायक जीवनको थालनी गर्न सकिन्‍छ ।

अब आफूमा लादिएका भ्रमका प्रोग्रामहरूलाई डिस्प्रोग्राम गर्ने बेला आएको छ । यो जागरणकाल हो । अब पनि नजागे हामी कहिल्यै जाग्न सक्ने छैनौँ । आफूलाई व्याख्या गर्ने सारा बहिर्मुखी प्रोग्रामहरूको हर खुस्काएर तिनको क्रमभंगता आजका युवाहरूको लागि अति नै जरुरी छ । नत्र हेर्दाहेर्दै अहिलेको पुस्ता आध्यात्मिक र नैतिक रूपमा स्वाहा भएर जानेछ । एकमा एक जोडेर तीन बनाउने गणित पनि त्यस्तो अवस्थामा अति नै दूषित र क्षीण हुनेछ । वा अहिले नै यो समीकरण क्षीण भइसकेको छ ।

अर्कातिर जन्मको रहस्य नजानी मृत्युको रहस्य पनि जान्‍न सकिँदैन । मर्नुअघि मृत्युको रहस्य जान्‍नेहरूको मात्रै यहाँ पूर्ण जिन्दगीको फेर पुग्छ । नत्र त जिन्दगी अधूरो अधूरो ! त्यसैले फटाफट अन्तर्मुखी हुनुको अर्को विकल्प छैन ।

समाजका सारा शिक्षाहरू अन्तर्मुखी हुनु जरुरी छ । अन्तर्मुखता उध्र्वगामी हुन्‍छ । तर आजको सम्पूर्ण सभ्यता बहिर्मुखी भएका कारण अधोगामी छ । यहाँ गोबर ज्यादा छ । अनि यहाँ दूध अत्यन्तै कम हुन पुगेको छ । जबकि गोबर र दूधको स्रोत त एउटै गाई हो । तर गाई दुहुँदा त्यहाँ गोबर पर्नु हुँदैन । मानिलिउँ एक हजार लिटर दूधमा एक किलो गोबर परेको खण्डमा पनि त्यो गोबर कहलाउँछ । उता एक हजार किलो गोबरमा एक लिटर दूध मिसाए पनि त्यो दूध कहलाउँदैन । गोबर नै कहलाउँछ ।

अहिले भर्खर यहाँ एउटा महायात्राको थालनी भएको छ । महाप्रस्थान !

यस प्रकार यहाँ गोबर बढी भएका कारण दूध ओझेलमा परेको छ । दूध यहाँ आज गौण हुन पुगेको छ । दुनियाँको सारा गोबर अब फटाफट तह लगाउने बेला आएको छ । गोबर पनि काम लाग्छ । गोबरबाट मिथेन ग्यास निकाल्न सकिन्‍छ । जो कि अति उत्तम इन्धन हो ।

गोबर एकातिर तह लगाएपछि शुद्ध दूधको ग्यारेन्टी हुनेछ । अब त्यस् दूधका अनेक प्रयोजन छन् । तताएर खाए पोषण । जमाएर खाए मीठो दही, मथेर सुगन्धित घिउ अनि शीतल मोही । अत्यधिक पकाएर खाए तागतिलो कुराउनी । चामल हालेर पकाए सुस्वाद खीर । शुद्ध घिउमा रातो हुन्जेल चामल भुटेर त्यही दूध हाली पकाउँदा ढकने ।

यहाँ मेरो भाषामा दूध ज्ञान हो भने गोबर अज्ञान । आज यहाँ ज्ञानको खडेरी परेको छ । ज्ञानको नाउँमा यहाँ केवल बुद्धिविलास बाँकी रहन पुगेको छ । विचारको तहभन्दा यताका थोथा हरफहरूले जिन्दगी भुट्‍ने खोजिरहेका छन् । ज्ञान शब्द होइन । प्रकाश हो । शब्द केवल मनको तहमा सीमित छ भने प्रकाश चराचर । अनि सब आरपार ।

त्यो प्रकाश हामीभित्रै छ । तर शब्दहरूले पुरिएको छ । भ्रमले ढाकिएको छ । यसलाई यसरी भनौँ, दूध त हामीभित्रै छ । तर गोबरले पुरिएको छ । अब शब्दहरूको दायरा नाघेर प्रत्येक मनुष्यले आफूभित्रको जाज्वल्यमान प्रकाशतर्फ चियाउनु जरुरी छ । मृत्युअघि नै यहाँ अब मान्‍छेहरूले जाग्नु अत्यावश्यक छ ।

हामीभित्रको अति प्रकाशमा जन्म र मृत्युका सारा रहस्यहरू छिपेका छन् । अरूले लेखेका हरफहरू रट्नु र अनावश्यक गणितका समीकरण हल गर्न खोज्नुले कदापि ज्ञान प्राप्त हुँदैन । त्यसो गर्दा बरु ज्ञान अझै भित्र पुरिन्‍छ । तर विडम्बना के हो भने, शब्तातीत कुराहरूलाई पनि यहाँ अहिले म शब्दमार्फत नै ब्यक्त गर्न बाध्य छु । तर यी केवल इशारा हुन् । शब्दातीत आयाममा जानका लागि शब्दको माध्यमले गर्न सकिन्‍छ, केवल इशारा !

अहिले भर्खरै जाग्‍न चाहनुहुन्‍छ ?
लामोलामो सास फेर्नुहोस् । तपाईंभित्रको अति प्रकाशको ज्वाला तत्काल तेज हुनेछ । स्मरण रहोस्, लगातार सास फेरेर भित्रको त्यही अति प्रकाशलाई हामी अक्सिजन प्रदान गरिरहेका छौँ । तर हामी यति धेरै बहिर्मुखी हुन पुगेका छौँ कि हामीलाई आफ्नै नाकका प्वालहरूबाट भित्र गएर अहिर्निस ज्वाला दन्काइरहेको श्वासप्रश्वास प्रक्रिया उपर कुनै होस छैन ।

हामी त विचारहरूमै हराइरहेका छौँ । हामी सागरका लहरहरूमा नै अल्झिएका छौँ । लहर याने सपना । सपना याने मूर्च्छा । बेहोसी !

अब जागौँ र अन्तसको सागरभित्र डुबुल्की लगाऔँ । वा अन्तसको सागरभित्र डुबुल्की लगाएर जागौँ । बाहिरी आँखा बन्द गरौँ । अनि भित्री आँखा खोलौँ । अर्थात् भित्री आँखा खोल्नका लागि बाहिरी आँखा बन्द गरौँ । म अति प्रकाश हुँ । र, अहिले मानव शरीरमा कैद छु । शरीर मैले अहिलेसम्म खाएको खानाको विस्तार हो । म शरीर होइन । म अति प्रकाश हुँ । जसलाई हरपल अक्सिजन प्रदान गरेर म यस मानव शरीरमा बाँधेर राख्‍न समर्थ छु । शरीरमा लपेटिनुअघि पनि म प्रकाशस्वरूप मौजुद थिएँ । अहिले शरीरमा लपेटिएर मानवरूपमा अवस्थित छु । र, शरीरको अन्त्यपश्चात् पनि म अति प्रकाशका रूपमा यहाँ अस्तित्वरत हुनेछु ।

मानवको बीज अति प्रकाश हो । आज शरीरमा रहँदै त्यसको दर्शन सम्भव छ । कसरी ? अनेकबाट एकमा ओर्लिनुहोस् । अन्तर्मुखी हुनुहोस् ! पल्याँटी कसेर बस्‍नुहोस् । बिस्तारै आँखा बन्द गर्नुहोस् । अनि प्राकृतिक रूपमा आइरहेको र गइरहेको श्वासप्रश्वासमाथि तटस्थ होस राख्‍नुहोस् । सास आइरहेको छ । सास गइरहेको छ । बस् म त्यसलाई जानिरहेको छु । केवल जानिरहेको छु ।

अहिले भर्खर यहाँ एउटा महायात्राको थालनी भएको छ । महाप्रस्थान !


Author

थप समाचार
ad
x