साहित्य

गर्जन : बाघखोर प्रज्ञा—१

लिलाराज खतिवडा |
कात्तिक १२, २०७७ १२:४० बजे

सत्तरी–असी वर्षअघि अहिले म भएको ठाउँ एउटा घनघोर जंगल थियो । यो कैयौँ जनावर र चराचुरुङ्गीहरूको बासस्थान थियो । अर्काेतिर बूढापाकाहरू भन्ने गर्थे, ‘यहाँ कैयौँ किसिमका आत्मा पनि प्रशस्तै भट्किने गर्दछन् ।’

मान्छे बन्न लालायित एउटा भाले बाघको आत्मा यता अलिक ज्यादै भट्किएको आभास आजकाल मलाई भइरहेको छ । विगतमा त्यसले कैयौँ पटक मभित्र घुसेर उधुम मच्चाएको छ । मभित्र दबिएको गर्जनलाई मान्छे बन्ने अभिप्साले ग्रस्त त्यस खास भाले बाघको आत्माले कैयौँ पटक लल्कारेको छ । 


त्यसैले आजकाल लाग्न थालेको छ, बिहान सबेरै कुनै दिन अचानक म एउटा बाघमा रूपान्तर भएर उठ्न बेर छैन । अर्थात्, बेलुका सुत्दासम्म मान्छे नै रहेको म अर्को दिन बिहान उठ्दा एउटा बाघमा परिणत हुने सम्भावना बढिरहेको छ ।

बलिउडको भट्ट क्याम्पले जमानामा एउटा फिल्म पस्किएको थियो, ‘जुनून’ । यस फिल्ममा हिरो अचानक एउटा आदमखोर बाघमा परिणत हुन्छ र कहानीमा खतरनाक मोड आउँछ ।

जिन्दगीको कहानीमा पनि हामीलाई अनेक खतरनाक मोडले इनर्सिया उत्पन्न गरिदिन्छ । मेरो जीवनमा पनि कैयौँ खतरनाक मोड आए । गए । अनि फेरि आए । 
अब निकट भविष्यमा एउटा खतरनाक मोडको आभास पनि मलाई भइरहेको छ । बाघखोरको मान्छे म । मान्छे बन्न लालायित कुनै अज्ञात बाघको भट्किएको आत्मा कैयौँ पटक मभित्र घुसेर उधुम मच्चाएको प्रोफाइल पनि मसँग छ । त्यो बाघको आत्मा मभित्र घुसेर केकेसम्म गराएन ? 
तर पछि मलाई शान्तभावमा एउटा प्रज्ञाले कानेखुसी गरेर भनेको थियो, ‘त्यो भट्किएको बाघेआत्माले केवल तिम्रो दबिएको गर्जनलाई सतहमा ल्याइदिन खोजेको हो । अन्यथा केही पनि होइन । चिनियाँ क्यालेन्डर अनुसार तिम्रो राशी ‘बाघ’ हो ! के तिमीलाई लाग्दैन कि तिम्रो गर्जन दबिएको छ ? कारण, तिमी भेडाबाख्राहरूको बथानमा छौ !’ 

मने, मेरो रसायन कुनै बाघसँग डिट्टो मिल्छ ? म बाघ प्रकृतिको मान्छे हुँ ? ओके छ । तर म घाँस खाँदाखाँदा विरक्तिएको छु । 
तपाईंको मनमा प्रश्नको तरंग उठ्यो होला, ‘बाघ भएर घाँस किन खाएको नि ?’

ठ्याक्कै जवाफ त मसँग पनि छैन । तर सुनाउन लायक एउटा गज्जब प्रेरक कथा भने छ । सुन्ने हो ?

कथाले लगभग यसो भन्छ :

बिहान सबेरै भाले डमरुलाई जन्म दिनासाथ जंगलमा एउटी बघिनीले प्राण त्यागी । सायद उसको प्रसव ठीकसँग हुन सकेन । अत्यधिक रक्तश्राव हुनपुग्यो । हुनसक्छ, केही दिनअघि उक्त बघिनीको अर्को कुनै जनावरसँग घम्साघम्सी परेको थियो । शरीरभित्र बलशाली दखल परेको पनि थियो होला । के गर्ने ? जंगल हो । जहाँ पाइला–पाइलामा मृत्यु भट्किरहेको हुन्छ ।

डमरु भने ज्युँदै थियो । घाम झुल्किएपछि उसले आमाको दूध टटोल्यो । चुस्यो । तर के आउँथ्यो, दूध ? बघिनीको शरीर चिसो भएको थियो । अब त त्यो अररिएको पनि थियो । 

तर दिउँसो नै सम्भावित खतराको आँकलन गरेर उनीहरूले बस्ती छाडिसकेका थिए ।

गाउँबाट एक हुल भेडाबाख्रा चर्न जंगलतर्फ आउँदै थिए । उनीहरू सधँै हिँड्ने मार्गछेउमा बघिनीको लास लडिरहेको थियो । र, लास वरिपरि त्यो डमरु ङ्यारङ्यार ङुरङुर गरेर यताउता गरिरहेको थियो । कहिले ऊ आफ्नी मृत आमाका सबै स्तन चुस्थ्यो पालैपालो र निराश भएर झन्झन् ठूलो स्वरले बिलौना गर्थ्यो । 

भेडाबाख्राको नजर त्यता पर्यो । बाघ देखेर पहिले त उनीहरू डराए, परपर भागे । तर एउटा बूढो बाख्राले झाडीबाट चियाएर वस्तुपरिस्थितिको मूल्यांकन गर्दै आफ्नो बथानलाई सम्बोधन गरेर भन्यो, ‘डराउनुपर्ने कुनै कारण छैन । माऊ मरिसकेको जस्तो छ । बच्चो भोकले रन्थनिएको छ ।’

‘माऊ मरिसकेको भए बच्चो पनि त अब बिस्तारै मर्नेछ । दूध खान नपाएपछि के गर्ला, त्यो नवजातले ?’ एउटी बूढी भेडीले नजारा मूल्यांकन गर्दै करुणामय आवाजमा भनी । 

आश्वस्त भएपछि केही बेरमा नै सबै भेडाबाख्रा बघिनी र डमरु भए ठाउँमा भेला भए । आपसी छलफल हुँदा उनीहरूले त्यस डमरुलाई त्यहाँबाट आफूहरूसँग लैजाने निधो गरे । कतिपयले प्रश्न पनि उठाए, ‘यमराजको बच्चो लगेर पाल्नु आफ्नो बथानका लागि हमेसा खतरा हुनेछ ।’ 

बथानको मुखिया भेडाले निर्णयात्मक हिसाबमा भन्यो, ‘अलिक ठूलो भएपछि जंगल ल्याएर छोडिदिउँला । यो दूधे बालकलाई यहाँ यसै अलपत्र छाड्यौँ भने हामीलाई पाप लाग्छ ।’ 

अनि उनीहरूले त्यस डमरुलाई आफैँसँग लगे । एउटी सुत्केरी बाख्रीको दूध पनि उसलाई खुवाए । दिनभरि घाँस चरेर साँझ उनीहरू आफ्नो वासस्थान फर्किए ।

बेलुका डमरुलाई बाख्रीको दूध मजाले चुस्न दिएपछि ऊ मस्त निदायो । अब क्रमशः ऊ भेडाबाख्राको बथानमा हुर्किन थाल्यो । अरु जस्तै घाँस खान थाल्यो । म्याँ म्याँ र भ्या भ्या गर्न थाल्यो । हेर्दाहेर्दै ऊ जवान पनि भयो । 

भेडाबाख्राहरूको डर पनि गायब थियो । आखिर डमरु उनीहरूसँग मिलेर बसेको थियो । त्यहाँ मायाप्रेमले पनि काम गरेको हुँदा उनीहरूले डमरुलाई आफ्नो बथानबाट हटाएनन् । फेरि डमरु पनि भेडाबाख्राहरूसँग साह्रै मिलेर बसेको थियो । त्यहाँ न डमरु पराया जस्तो थियो, न त भेडाबाख्राहरू नै । 

डमरु उनीहरूसँगै घाँस चर्न जान्थ्यो । पाठापाठीहरूसँग खेल्थ्यो । म्याँ म्याँ गथ्र्याे । 

यस्तैमा एक दिन एउटा बूढो बाघको नजर जंगलमा भेडाबाख्राहरूका बीचमा घाँस चरिरहेको त्यो जवान डमरुमा पर्यो । बूढो बाघ छक्कै पर्यो । 

यो कसरी सम्भव छ ? बूढो बाघ अझै चकित थियो । 

समय नगुमाई बूढो बाघले बथानतिर छलाङ लगायो । सबै भागे । तर त्यो जवान बाघ भागेन । ठिंग उभियो । बूढो बाघसँग उसका आँखा जुध्न पुगे । 

त्यसपछि बूढो बाघ पलभरका लागि जङ्गलमा एकातिर अलप भयो । अलिक पर्तिर सर्ल्यांग पनि गर्यो । युवक बाघले केही सोच्न नपाउँदै बूढो बाघ एउटा जवान भेडो मुखमा च्यापेर त्यहाँ देखा पर्यो । भेडो निस्तेज हुँदै थियो ।

युवक बाघको सातो पुत्लो उड्यो । त्यो जवान भेडो उसको बाल्यकालको साथी थियो । 

बूढो बाघ छेवैमा सिकार चबाउन थाल्यो । युवक बाघलाई रिंगटा छुटेर आयो । अघाउन्जेल सिकार खाइसकेर बूढाले युवकलाई केही रगत चटाइदियो ।

युवकलाई उल्टी आउला जस्तो भयो । अनि ऊ बेहोस भयो ।

निकै बेरपछि उसको होस आयो । साँझ पर्न थाल्दै थियो । उसले चारैतिर हेर्यो । तर त्यहाँ कोही थिएन । आफ्नो बथान त पहिल्यै गायब भएको थियो । त्यहाँ त्यो बूढो बाघ पनि थिएन ।

युवक बाघलाई आफूभित्र कोही घुसेजस्तो महसुस भइरहेको थियो । भित्रभित्रै उसलाई निकै अनौठो पनि लागिरहेको थियो । 

अचानक ...
कताबाट त्यो बूढो बाघ गर्जिंदै फेरि त्यहाँ टप्कियो र पञ्जाले युवकलाई जोडसँग हान्यो । अलिक पर हुत्तिएको युवक बाघ रिसले आगो हुन पुग्यो । ऊभित्रबाट पनि अकस्मात् एउटा जोडदार गर्जन निस्किन पुग्यो । अनि उसले पनि बूढो बाघलाई आफ्नो पञ्जाले उसैगरी हान्यो । केही बेर दुवैको घम्साघम्सी पर्यो । दुवैको गर्जनले जंगल थर्कमान हुनपुग्यो ।

बूढाले युवकको गर्धनमा आफ्ना तीखा दाँत गाडिदियो । युवक झन् ठूलो आवाज निकालेर गर्जन ओकल्न थाल्यो ।

आकाशमा बिजुली चम्क्यो । केही बेरमा गड्याङगुडुङको डरलाग्दो आवाजले वातावरणमा भयको मात्रा बढायो । 

त्यसै बेला युवकले बूढाको बन्धन फुत्कायो र जंगलमा एकातिर अलप भयो । अनि नदी किनारमा पुगेर चारैतिर हेर्दै एकपटक फेरि गर्जियो । 

नदीपारि उसको घर थियो । याने उसलाई पाल्ने भेडाबाख्राहरूको बासस्थान । तर दिउँसो नै सम्भावित खतराको आँकलन गरेर उनीहरूले बस्ती छाडिसकेका थिए ।


Author

थप समाचार
ad
x