साहित्य

कन्फेसन

त्रिवेणी |
फागुन २२, २०७७ शनिवार १०:४४ बजे

‘सेम टाइम नेक्स्ट इयर’ युट्युबको सर्च अप्सनमा सम्भवतः मैले धेरैपटक टाइप गरेको फ्रेज, थिएटरमा रात बिताउँदा प्रत्येक पटक जर्जको डाइलग बोल्छु म, आज पनि थिएटरमै जो छु ।

‘आइ ह्याभ दिस् मेन्टल पिक्चर अफ हर याट माई फ्युनेरल जस्ट याज दे आर क्लोजिङ द लिड अन माई कफिन् ...’ लगत्तै कोही कलाकार चिच्याउन सुरु गर्छ । 
‘मेरो नाम कर्नेल रूपक सिंह हो, प्रिजाइडिङ अफिसर अफ दिस् जनरल कोर्टमार्सल. . .’ उक्त कलाकारले ‘मृत्युसँग कन्फ्रन्ट गर्नुभएको’ भन्नुपूर्व नै मैले बोलिसकेको हुन्छु ।


‘ह्विच वोन डु यू लाइक ?’ साँच्चै डोरेसलाई उसको प्रेमीले छद्म नामले बोलाएझैँ मैले पनि त उनलाई पुकार्थें । त्यो सम्बोधनमा सम्मोहनको सुवास उनी किन पाउँदिनन् अचेल ? समर्पणको सत्व स्वीकारोक्ति भन्ठान्‍ने उनी स्पष्टीकरण सुन्नै नचाही टाढिइन् । टाढिनुमा दोष मेरै हो । अझ त अझ मैले बाँचेको समयको । आज दमनराजलाई पढिरहँदा लाग्यो, हामी दुवैले स्पष्टीकरणको मौका पाएनौँ : टू अन्लक्की फेलोज् । त्यसकारण, त्यो टाढाइका कारण गणितमा पढेको इन्फिनिटी एब्ट्रयाक्ट नभएर कङ्क्रिट लाग्न थालेको छ । साँच्चै, इन्फिनिटीसम्म सह-यात्रा गर्ने भनेका हामी आज दुई बिन्दुमा समेटिएका छौँ ।
पजेटिभ र निगेटिभ इन्फिनिटी ! 

प्रेम विनाकारण हुन्छ र कारणको अन्तर्यमा स्वार्थ छुपेको पनि भन्‍ने मैले उनलाई प्रेम वा माया के गरे हुँला ? नदेखेको-नबोलेको वर्ष दिन हुनलाग्दा पनि अपनत्व डगमगाएको भने छैन । तर, जीवनमा कसैलाई चिट गरेको छैन भनेर फूर्ति हाँक्ने मलाई पहिलो पटक लागेको छ :

‘आई चिटेड समवान !’ त्यसकारण पनि अब फूर्ति शेष छैन । आत्मसमीक्षा गर्दा आफैँलाई गिल्टी पाएपछि कन्फेस गर्न थिएटर छिरेको छु । वस्त्र फालेर नाङ्गो म सेट उक्काइएको फ्लोरमा मौन पलेटी कसेर बसेको छु । दर्शक नभएको खालीखाली दर्शकदीर्घा हेरेर आफ्नो ढोङ्गीपन ओकलेको म चिच्याउँछु :
‘के कन्फेस गरेपछि रूपक सिंहले झैँ मैले पनि माफी पाउँछु ?’ 

हामी सम्बन्धमा नहुँदैदेखि नै म डाइजापाम् खाएर सुत्थेँ, सुत्ने समय र स्थान त अनिश्चित हुन्थ्यो नै निद्रा पनि व्याकरणको खण्डाकारवाला अकार जस्तै थियो; अघि अस्तित्वमा थियो है भनेझैँ । अधिकांशले यस्तो हुँदा मदिरापान गर्छन् रे ! म नपिउने भेजिटेरिएन थिएँ । डिप्रेसन शरीरको प्रत्येक कोषमा कुँदिएको हुँदो हो, एकोहोरो भएको जो थिएँ । चुकुल नलगाई वासरुम छिर्ने, दूरी र दिशाको मेसो नपाउने, उज्यालोसँग डराउने र हाइड्रोफोबिया भएझैँ लाग्‍ने, विषमता असङ्ख्य थिए । कतै गइहाले कयौँ दिनसम्म हराउने हुँदा पर्खनेहरूलाई असाध्यै पीडा दिएको छु मैले । प्रसङ्ग भारत भ्रमणको थियो, मेरै प्रतीक्षामा कुनै प्राचीन मन्दिरका सिँढीमा उनले ती दिन कटाइन् रे !

अचेल कहिलेकसो पुग्छु, त्यही पुरानो मन्दिर र अझै पनि भेट्छु सिँढीमा कुँदिएका आफ्ना नाम, हराउन सक्ने म फर्किएपछि भाकल पूरा गर्न उनैले कुँदेकी थिइन् ती अक्षरहरू । हराइजानेको प्रतीक्षा गर्ने उनी नै हराएपछि स्पष्टसँग कुँदिएका ती अक्षर पनि हराइजाऊन् भन्‍ने लाग्छ । मान्छे कम जाने भएर होला क्षयीकरणको गति सुस्त छ, अक्षर हेर्दै जाँदा यसै सम्झन्छु एउटा गीत :

‘जाम सुस्तैऽ बिर्सनेलाई...’

मैले घर बिर्सिएको थिएँ । समाजका लागि त एलियन नै भइसकेको । उनले समेलिन्, म समेलिएँ । बिस्तारै समाजले मलाई पचायो, घरले स्वीकार्यो र डाइजापाम्ले बिदा पायो । अव्यवस्थित जीवन गतिमा फर्कियो, सामाजिक सम्बन्धले आकार लिए, मनोरोगको मूल उक्कियो, सबै थोक ठीक लाग्ने बेलामा हामी अलग्गियौँ । मेरो कदम प्रतिगामी थियो भन्न मलाई कुनै खेद छैन । आई वाज हिप्पोक्राट !

तर अब भने सुताई बिस्तारामा हुने भयो, निद्रासँग निगाह पनि, एक स्वस्थ भूतपूर्व मनोरोगी हुँ म भन्दै गर्दा लाग्छ । ‘कसैलाई चिट गरेको छु भनी भनी बाँचिरहँदा पुनः मनोरोगी होइने सम्भावना कति होला ?’ त्यसैले यो कन्फ्रन्टेसन आवश्यक छ ! म उदात्त स्वरमा चिच्याउँदै नाङ्गै स्टेजको चार कुना दौडिन्छु । मेरो शरीरबाट पितृसत्ताको ह्वाँस्स गन्ध आइरहेको छ । म तत्काल दत्तानीको ‘थर्टी डेज् इन सेप्टेम्बर’ नामक नाटक सम्झन्छु । मेरो अनुहार कस्तो मालाको मामाको जस्तो !

 

 घोप्टिएको मैले शिर उठाउनासाथ उनीहरू मलाई थुक्न सुरु गर्छन् । थुकिरहन्छन् । 

उसो भए मैले गरेको गल्ती के थियो ? ह्वाई वाज आई दि हिप्पोक्राट ? उत्तर सजिलो छ । पितृसत्ताले गाँजेको प्रेम सम्बन्ध । मैले हाम्रा सम्बन्धका पछिल्ला दिनहरूमा उनलाई प्रेमिका नभएर खोटो शरीरका रुपमा स्वीकारेको रहेछु । त्यो खोट खासमा ममा थियो । मेरो दृष्टिकोण खोटी, मेरा विचार खोटी, प्रेमको इतिहासलाई स्वीकार्न नसक्ने मभित्रका जीवरसहरू खोटी । मैले उनको शारीरिक विशुद्धतामाथि प्रश्न गरेँ ।

साँच्ची, शकुन्तलालाई दुष्यन्तले नचिनेजस्तो मैले उनको समर्पणभावलाई चिनिनँ, म त सिर्फ कौमारित्वमै अल्झिएको रहेछु । सम्बन्धको आधार समर्पण हो शरीर होइन भनेर बुझ्न मलाई यत्तिका समय लाग्यो, तर अफसोच ! यो युगकी शकुन्तलासँग औठी थिएन । दृष्यन्त दृष्टिभ्रमको द्विविधामा अल्झिएको पनि थियो । अहिले सोचिल्याउँदा लाग्छ मैले उनलाई केशशुल्काजस्ती पो भन्ठानेको रहेछु ! तर तत्कालीन मेरा विचारहरूनै श्वैरिणी थिए भनेर म यत्तिका समयपछि पो बोध गर्दैछु । यत्तिकैमा ब्याकग्राउन्डमा मधुर गीत सुनिन्छ :
बेला चाओ...। मलाई लाग्छ बेलाको जस्तो प्रेमी उनले पाइनन् । मसँगै गाउँछु, बेला चाओऽ... बेला चाओ ...बेला चाओ ... चाओ चाओ । 

कहिलेकसो लाग्छ, म त माधवीलाई प्रेम गर्ने पात्र, त्यो केशशूल्कीय दृष्टिकोणले हामीलाई छुट्टिनै पर्ने बनाएको हो त ? उसो त गालवले पनि माधवीलाई केशशूल्कानै बनायो । तर पनि उसले अन्तिमसम्म प्रेम गरिरहेको थियो । अपनाउन नसक्नु घृणा गर्नु होइन भनेर जसरी गालवले स्पष्टीकरण दिन पाएन उसरी नै म परिबन्दमा फसेँ । मैले उनलाई स्वीकार्न नसक्नु मेरो ढोंगीपना थियो तर त्यो कदापि घृणा थिएन । यसो भनेर म उम्किन खोजिरहेको पनि हुनसक्छु । अगेन आइ फिल लाइ हिप्पोक्राट । 

म उनीसँग छुट्टिन चाहन्नथेँ तर उनलाई अर्धाङ्गिनीका रुपमा स्वीकार्नु मलाई फलामको चिउरा चबाए बराबर भयो । अहिले मेरो सोच बदलियो होला तर समय घर्किसकेको छ । किन मभित्रको अकुमार पुरुषले कुमारी पत्नी चाह्यो ? 

मलाई अझै सम्झना छ, मैले उनलाई माड्सापको माधवी पढाएको । के गालवले माधवीलाई प्रेम गरेन ? के गालव पछुताउँदैन अचेल ? प्रश्न कौमारित्वको नभएर सोचको हो, खासमा मेरो विचारको सत्व डगेको थियो  नकी उनको स्त्रीधर्म !

म यो समयको गालव हुँ । एक त्यस्तो प्रेमी जो प्रेमलाई स्वीकार्न नसकेर पछुताइरहेको छ । पछुताइरहन्छ । होला त्यो युगको गालवले आफ्नी माधवीलाई गुरुआमा मानी स्वीकार्न सकेनँ, मैले कौमारित्वलाई कारण देखाएँ । म आफ्नो नाङ्गो इतिहास लुकाएर उनको वर्तमानलाई नङ्ग्याउन खोज्ने त्यो पुरुष रहेछु जो आफू भने गणिका गणसँग अभ्यस्त छ तर प्रेमिकाको शारीरिक विशुद्धतामाथि प्रश्नचिह्न खडा गर्छ । अहिले आउँदा मलाई लाग्छ, प्रश्न गर्ने त परको कुरा मलाई प्रश्नको कल्पना गर्नेसम्मको हक थिएन । तपाईंलाई के लाग्छ ? शिस्नदेवलाई स्त्रीको तथाकथित शारीरिक शुद्धतामाथि प्रश्न गर्ने हक छ ? 

पुरुषलाई जतिसुकै र जुनसुकै सम्बधमा रहन पनि छुट हुन्छ भन्ठान्ने मैले किन सोच्न नसकेको हुँला कि अधिकांश सम्बन्धमा पुरुष शिकारीजस्तो प्रतीत हुन्छ । अनि त्यो पुरुषको यौनकुण्ठाको सिकार भएका युवतीको भविष्य के ? कालान्तरमा मजस्ताले अर्को घाउ थपिदिनु धेरैको नियति बन्छ । अक्सर पुरुषहरू किन सोच्दैनन् कि कसैको कौमारित्वमा मेरो प्रतिविम्ब दोषी छ । म सोच्दासोच्दै बर्बराउँछु : धूल चेहेरे पे था... वाक्य नटुंगिँदै थिएटरको हाउसलाइट निभ्छ र केही चिच्याउँछ । 
‘अँध्यारोको विशुद्ध हो । तिमीले देखेको उज्यालोमा विसंगतिबाहेक केही छैन ।’

फेरि थिएटरको एलइडी चिम चम्किन्छ । पर कसैले ताली पड्काउन सुरु गर्छ, चिमले आफ्नो रङ बदल्छ । मलाई त्यो चिम मजस्तै पुरुष पात्र लाग्छ, रङ फेरिरहने । अनि म चेखोबको छेपारो कथा सम्झन्छु र चेरी अर्काडको डाइलग डेलिभरी गर्छु । ‘नर्स ह्याज डाइड इन योर एब्सेन्स ।’साँच्चै मेरो जीवन फर्काइदिने नर्सलाई मभित्रको पुरुषले पोइजन इन्जेक्ट गरिसकेको थियो । म बसेको स्थानबाट जुरुक्क उठ्छु, बौलाह पात्रझैँ बुर्कुसी मार्दै स्टेजलाई नाप्छु र यमक अलंकारयुक्त सेक्सपियरको लाइन भट्याउँछु । 

‘वि आर अपार्ट, स्टिल यू आर अ पार्ट अफ मी !’ एल्इडी निभ्छ । केही सेकेन्डको मौनतापछि अडियन्स लाइट बल्छ । म विदुषी र ज्ञानीहरूले खचाखच भरिएको रङ्गमञ्च देख्छु : घोप्टिएको मैले शिर उठाउनासाथ उनीहरू मलाई थुक्न सुरु गर्छन् । थुकिरहन्छन् । 


Author

थप समाचार
x