साहित्य

ऊ किन पेट बोकेर अस्पताल आई ?

विमल सिटौला |
फागुन २६, २०७८ बिहीबार १२:३८ बजे

मानिसको मन जस्तो खराब मलाई केही लागेन त्यस दिन । मानिसको मन एउटै विषयमा एक दिन एउटा निर्णय गर्छ भने अर्को दिन अर्को ।

क्याम्पसको अन्तिम महिना थियो त्यो, जुन समयमा मैले उपन्यास विमोचन गर्नुपर्ने अठोट गरेको थिएँ । पहिलो सेमेस्टरको अन्त्यसँगै म त्यो सपना पूरा गर्न दौडिएको थिएँ । धेरै दिनसम्म दिनरात त्यसैका लागि होमिएको थिएँ तर मेरो आफ्नो हठले भनौँ या कसैको गिद्देदृष्टिले, म आफू असफल भएको महसुस गरेँ ।


अब मैले एक महिनाको अन्तरालमा के गर्न सक्छु र ? पछिल्लो समय म यही कुराले पिल्सिन पुगेँ । नन्दीले बारबार भेट्न बोलाउँदा पनि मलाई उसको गृहमा जान मन लागेन । केही दिनअघि मैले जाने निर्णय गरेको थिएँ तर ममा त्यो एकाएक परिवर्तन भयो । म मानसिक रूपमा तल–तल पुगेर सोच्न थालिसकेको थिएँ– मेरो अलिखित कृतिका बारेमा ।

म सोच्थेँ– उसलाई भेटेर अब मैले के गर्नु र ? उसले भन्दी हो– ‘तिमीलाई नसोधी कृति विमोचन गरेँ । मलाई माफ गर ।’
मैले सोचेँ, ‘अब फेरि कलम चलाउनुपर्दा ।’
तर, विषय कुन त ?

निकै दिन भएको थियो अस्मिताले फोन गरेको पनि । मैले उसको फोन त्यस दिनदेखि उठाइरहेको थिइनँ, जुन दिन म उसलाई छाडेर एक्लै हिँडेको थिएँ थिएटरबाट । म क्याम्पस पनि गइनँ केही दिन त ।

मानिस आफैँ असमेल चिन्तामा धकेलिएपछि कसैको फिक्री नहुने रहेछ । सट्टामा फोन आउँदा झिझिन्थेँ पो ! त्यसै रात अस्मिताले ५ चोटिभन्दा बढ्दा फोन गरी । नन्दीले पनि गृहमा बोलाउन फोन गरिरहेकी थिई ।

भोलिपल्ट बिहानै मलाई थाहै नदिई अस्मिता टुप्लुक्क आइपुगी, मेरो कोठामा । ऊ मसँग औधी रिसाई ।
उसले मसँग अति नै कठोर शब्द प्रयोग गरी ।

मैले सम्झाउँदै भनेँ, ‘मसँग शिष्ट शब्दहरू बोल अस्मिता । मसँग तिमी किन यति जोरी खोजिरहेकी छ्यौ ? के मेरो सोझोपन, सिधापन, सहनशीलता, आकर्षक जीउडालप्रति तिम्रो योगिनी दृष्टि परेको हो ? तिमी यो बुझ कि मलाई कुनै स्त्रीको परोक्ष छैन । म स्त्रीको अभावमा पनि रमाउन सक्छु । मेरो अति साहित्य प्रेम छ । म यसैमा हराउन चाहन्छु । यसैलाई प्रेम गर्छु । यसैलाई चुम्बन गर्छु । शब्दहरूसँग शयर गर्न चाहन्छु । मलाई आफ्नो बाटोमा छाड ।’
मैले पनि निकै रूखो शब्द प्रयोग गरेँ । आफूलाई उच्च र आदर्श पुरुष देखाएँ । सायद त्यो मैले गरेको घमण्ड पनि होला । तर, मेरो बाध्यता थियो । म मेरी आमाको वचन तोड्न सक्दिनथेँ ।

त्यस दिन ऊ निकै पातलो वस्त्र लगाएर आएकी थिई । झट्ट देख्ने जोसुकै युवकहरू कामित हुन सक्थे उसलाई देखेर । उसका कसिला छाती अरू दिनभन्दा निकै नूतन देखिन्थे । सायद ऊ मेरो सोझोपनमा रमाइलो गर्न आएकी थिई । मलाई उत्तेजित पार्न आएकी थिई । मेरो गतिलाई आफ्नो वशमा पारेर ऊ स्वार्थपूर्ण अंकुश लगाउन आएकी थिई कि !

त्यस दिन ऊ निकै पातलो वस्त्र लगाएर आएकी थिई । झट्ट देख्ने जोसुकै युवकहरू कामित हुन सक्थे उसलाई देखेर । उसका कसिला छाती अरू दिनभन्दा निकै नूतन देखिन्थे । सायद ऊ मेरो सोझोपनमा रमाइलो गर्न आएकी थिई । मलाई उत्तेजित पार्न आएकी थिई । मेरो गतिलाई आफ्नो वशमा पारेर ऊ स्वार्थपूर्ण अंकुश लगाउन आएकी थिई कि !

उसले विनासङ्कोच भनी– ‘मैले तिमीलाई धेरै साथ दिएकी छु । त्यो साथ र सहयोग यति छिट्टै नबिर्स शेखर ! मलाई वास्ता गर । म तिम्रो मायामा लिप्त हुन चाहन्छु । किन मलाई त्यस दिन छाडेर हिँड्यौ तिमी ? के मेरो चिन्ता लागेन ? मलाई अतिव स्नेहले च्याप । म तिम्रो मायामा हराउन चाहन्छु । के म तिम्रो आलिङ्गनमा बेरिन लायककी छैन ?’

म उसको कुराले निल्नु न ओकल्नु स्थितिमा पुग्छु । त्यस्तो अधकल्चो अवस्थामा पुगेको देख्दा म झट्टै ममतामयी मातालाई सम्झिन्छु ।
‘सुन अस्मिता ! म एक अकितार्थ लेखक हुँ । म अकिञ्चित छु । तिमी के भनिरहेकी छ्यौ यो ? मलाई तिमीप्रति त्यस्तो कुनै संवेग पलाएकै छैन त म कसरी तिमीलाई प्रेमासनमा बसाऊँ ? म तिम्रो असल साथित्व निभाउन सक्छु । त्योभन्दा बढ्दा मलाई नसोच । त्यसले तिमीलाई अपरिमित चोट निम्त्याएर घायल बनाउँछ ।’

‘म साहित्य बुझ्छु । लेख्छु पनि । म तिमीलाई अतिव प्रेम गर्छु शेखर ! म तिमीलाई कहिल्यै पनि यस भूमिमा एक्लो हुन दिन्नँ । यो मेरो आत्मनिर्णय हो ।’

‘अहँ, अस्मिता । प्रेम हुनलाई संवेग पलाउनुपर्छ । संवेग त प्रणवान् भएर पहिलो भेटबाटै हुने गर्छ तर त्यो त ममा छँदै थिएन । मलाई परिदाह नदेऊ । तिमीलाई थाहै छ– म स्त्रीहरूबाटै अनाहकमा अटेसमटेस रिक्ततामा पुगेको छु । म अझै त्यसको उल्लोलबाट बाहिर निस्कन सकेको छैन । मलाई मेरो काममा दत्तचित्त हुन देऊ । मेरो सपना पूरा गर्न देऊ ।’

मैले यति नै भनेँ उसलाई । ऊ खुरुखुरु उठेर मेरो र्याकतिर लागी र साहित्यिक पुस्तकहरू छानी । एक–दुई उपन्यासहरू च्यापेर बाटो लागी । म भने चुपचाप हातमा कलम बोकेर लेखिरहेका शब्दहरूप्रति ध्यानाकृष्ट भइरहेँ ।

मैले दुई दिनअघि सोचेको थिएँ– नन्दीले एक जना डेरावाल विद्यार्थीका बारेमा लेखी भने म पनि घरभेटीकी छोरीका बारेमा लेख्न सक्छु । नन्दीको साहित्यिक सङ्घर्षका बारेमा लेख्न सक्छु । उसकी आमाले आफ्नी छोरीलाई गरेको व्यवहारका बारेमा लेख्न सक्छु ।

नन्दीको प्रत्यक्ष भेटविनै उसले त्यस दिन भनेको कुरालाई स्मरण गरेँ । मेरो दिमागले उसले दिएको सल्लाहमा सहमति जनायो र सम्झँदै अपर्झट यही निर्णय गरेँ । अब मेरो प्रकाशोन्मुख उपन्यासको नाम रहनेछ– ‘नन्दी ।’

क्याम्पसका सबै काम थाती राखेर म दिनरात लेख्न थालेँ– नयाँ उपन्यास । उपन्यास लेखनमा मलाई बाधा पु¥याउने उही दीप्ति र अस्मिता थिए । दिनमा बाह्रचोटिभन्दा बढ्दा फोन गर्थे उनीहरू । तर, नन्दी समझदार युवती थिई । ऊ बारबार किचकिच गरिरहने प्रकृतिकी छँदै थिइन । नन्दीभन्दा ज्यादा बाँकी २ केटी मसँग झुम्मिन खोज्थे तर म मेरो अठोटमा लीन भएकाले किन उठाउँथेँ र फोन ? सबैका फोनहरू इन्कार गरेँ, लगातार १० दिनसम्म ।

क्याम्पस पनि एक हप्तासम्म गइनँ । जानै मन लागेन मलाई । क्याम्पसका किताबपट्टि ध्यानै गएन । म यति डुबेछु साहित्यमा कि दिन, घण्टा सबै बिर्सिएछु । नियमित समयमा खाना खान बिर्सेछु । सुत्न बिर्सेछु । वजन घट्दै गएछ तथापि लेख्न भने छाडिनछु । म घुँडा धसीधसी भनौँ वा टुप्पी कसीकसी लेख्नमै निमग्न भएछु ।

मलाई सम्पूर्ण कुरा त सम्झनामा छैन, होसमा लेखेथेँ कि बेहोसमा ! जे भए पनि १० दिनमा एउटा उपन्यास तयार पार्न सफल भएछु ।
जब मैले आफूलाई होसमा पाएँ, तब म कीर्तिपुर अस्पतालको शय्यामा रहेछु । मेरो साथमा अस्मितालाई र दीप्तिलाई देखेँ, तब मभित्र द्वन्द्व सुरु भयो ।
मैले एकोहोरो भित्तातिर हेरिरहेँ, उनीहरूलाई देखेपछि । अस्मिताको अनुहार देख्नेबित्तिकै मलाई पछिल्लो ताजा स्मरणले ठेलेर सम्पूर्ण शरीर परिदग्ध भएर आयो । मैले एकोहोरो उसैको अनुहार हेरिरहेँ ।

उसले पनि एकदमै मरेसरहको अनुहार लगाएर मलाई याचित मुद्रामा हेरिरहेकी थिई । उसको अनुहार भावमा पश्चात्ताप र ग्लानिले गुँड लगाएको प्रस्टै देखिन्थ्यो ।
त्यसपछि मेरा आँखा दीप्तितिर बटारिए । उसको अधम कर्मको परिणाम देखिहालेँ मैले । उसको पोटिलो पेट निस्किएको थियो अगाडितिर तर उसलाई लज्जाबोध भने पटक्कै थिएन । निसङ्कोच उभिएकी थिई ऊ । आखिर किन ऊ पेट बोकेर अस्पताल आई ? कुन उद्देश्यले आई ? कहाँबाट खबर पाई उसले ? जब मैले सोच्न थालेँ, तब मेरासामु झन् सकसको अवस्था आइरह्यो ।

मैले एकै ठाउँमा ती दुईलाई देख्दा आश्चर्यभावमा फेरि भित्तातिर हेरिरहेँ । आश्चर्य र डरको मिश्रित भाव झन् चुलिएर गयो, जब मैले नन्दीलाई पनि पर कुनामा झुलिरहेकी देखेँ ।

आखिर यो कसरी सम्भव भयो हँ ? मेरो जीर्ण शरीर हेरेँ । निकै कमजोर भएको महसुस गरेँ । उठ्न खोजेँ । फेरि मुण्टो बटारेँ । निकै खरो भयो मलाई ।

शरीरले पानी माग्यो । याचित मुद्रामा पानीतिर हेरेँ । दीप्ति मलाई पानी दिन तम्सिई । मैले घटघट पिएँ । अस्मिताले दीप्तिलाई जुस खुवाउन आग्रह गर्दै जुस दिई । पानीले नै म अघाएँ । मैले हात हल्लाएँ ।

मेरो ध्यान पर कुनामा झुलिरहेकी नन्दीउपर गयो । जब गयो, म त्यस अनुहारलाई एकोहोरो हेरी मात्र रहेँ । उसको अनुहार हेरिरहेपछि अचानक मलाई त्यही लेखिरहेको उपन्यासको याद आयो ।

हँ ! मेरो उपन्यास । मैले सम्झिनसम्म सम्झिएँ– त्यो उपन्यास पूरा गरेँ कि गरिनँ भनेर । तर, मलाई हेक्का हुँदैन– कतिसम्म लेखिसकेँ भनेर ।
मैले सोध्न खोजेँ त्यहाँ । अस्मिता नजिक आई । मैले सकसपूर्वक ओठ खोलेँ– ‘मेरो उपन्यास । नन्दी ।’
दीप्तिले नन्दीलाई बोलाई ।

नन्दी दगुर्दै आई मेरो सामु । उसको अनुहार निकै खुलेको देखिन्थ्यो, त्यसरी तन्द्रामा झुलेर आउँदा पनि ।
सायद नन्दी भन्दा मैले ठूलो आवाजमा भनेछु क्यार ! दीप्ति पछि सरी, नन्दी अगाडि आउँदा ।

‘खै मेरो उपन्यास ? कति पुग्यो ? कहाँ छ त्यो ? कहिले प्रकाशित हुन्छ ?’
ऊ वाल्ल परिरही । एकोहोरो भएर अचम्म भावले हेरिरही । दीप्ति लाजले रातोपिरो भई ।
मैले सम्झिँदै भनेँ– ‘कोठामा मैले लेखिसकेको उपन्यास छ । मलाई त्यो उपन्यास चाँडै प्रकाशित गरिसक्नु छ ।’
मेरो कुरा सुनेर नन्दीले झट्टै अस्मितालाई साथ लिएर कोठातिर गई ।

मेरो साथमा दीप्ति मात्र थिई, त्यसपश्चात् । ऊ मेरो छेवैमा आई र एकोहोरो हेरिरहन थाली । मानसपटलमा पछिल्लो भेटमा ऊसँगको चर्काचर्की गुजमुजाउन थाले ।

मलाई थाहा थियो, ऊ मलाई असत्यको पोको बोकाउन आग्रह गर्थी तर म उसलाई बारबार सम्झाइरहेको थिएँ । म चटक्कै ऊबाट सम्पर्कविहीन पनि हुन सक्थेँ तर मेरो आत्माले यसो सोचिदिन्थ्यो– मानिस न हो । एक न एक दिन टुंगोमा आइहाल्छे नि ! कसैले नाम पोल्न लगाउँदैमा कोही नक्कली पिता बन्न सक्छ र ?

उसको पहिलेको सहयोग सम्झिँदै मैले यस्तै निर्णय गरेको थिएँ कि म ऊसँग असल साथीत्व निभाउन चाहन्छु । ऊ पनि पीडामा छे तर परिस्थिति खराब भयो । ऊ मबाट निकै आशावादी भएझैँ गरेर आफूलाई कसरत गर्छे ।

नभन्दै ऊ लगातार प्रेममय भावले मेरो जीउडालतिर हात चलाउन थाली । म अर्कोपट्टि फर्किएर निदाउने चेष्टा गर्न थालेँ तर कहाँ निदाउन सक्थेँ ? एकातिर तीन स्त्रीको अनुहार एकैचोटि आइरह्यो, अर्कातिर उपन्यासको याद । सबैभन्दा बढ्ता मेरो दिमागले त्यो समय उपन्यासमा खर्चियो ।

‘मेरो उपन्यास देखेर उनीहरूले कतै लामो हात त गर्ने होइनन् ? फेरि मेरो उपन्यास चोरी भयो भने ?’
म फेरि पिरोलिँदै आत्तिएर जुरुक्क उठेँ । अब पनि मेरो उपन्यास चोरी भए म के गर्नु ? सायद म मर्छु होला ।
रातदिन हाडछाला घोटेर लेखेको उपन्यास । क्याम्पसको पढाइ छाडीछाडी लेखेको उपन्यास । म पुनः गम्न थालेँ ।
‘दीप्ति !’, मैले नजिककी दीप्तिलाई बोलाएँ ।

‘मेरो उपन्यास चोरी भयो कि छैन ? एकचोटि बुझिहाल त ।’
उसले सोधी– ‘कुन उपन्यास ?’
मैले उपन्यासको नाम भनेँ– ‘नन्दी !’

उसले अमिलो अनुहार बनाई । अति नै कुदर्शन लाग्ने अनुहार बनाएर मलाई सल्लाह दिई– ‘उपन्यासको नाम अर्कै राख्नु नि ! किन नन्दी राख्नु ?’
मलाई साह्रै झोँक चल्यो– ‘तिम्रो उपन्यास हो कि मेरो ?’
म जङ्गिँदै रिसले चुरमुरिएर उठेँ र भनेँ– ‘मेरो जिन्दगीमा तिमी किन मलाई बाटो देखाउन खोज्छ्यौ ? मैले जे लेखेँ, ठीक लेखेँ ।’
शान्त कोठा मेरो जङ्गाइले क्षणभरमै अशान्तिमय भयो । देखेँ, नर्सहरू दगुर्दै आइरहेका ।
‘के भयो ? के भयो ? किन कराउनुभाको ?’

म चुपचाप बनेँ । उसैले अघि सरेर भनी– ‘त्यस्तो केही होइन । जानुहोस् । जानुहोस् ।’
नर्सहरू फर्किए । मलाई उसको अनुहारै हेर्न मन लागेन त्यसपछि त । पछिल्लो समय मेरो अठोटमा खलल पु¥याउने जोकोही हुन्, उनीहरूलाई देखेपछि जङ चलेर आउँथ्यो ।

मेरो त्यो कड्काइले दीप्ति नजिक परिन । टाढाटाढा सरिरही । ऊसँग मेरो कहिल्यै पनि भेट भएन त्यसपछि । मैले उसबारे सोचेँ– सायद उसलाई हीनताबोध भयो कि ? वा ऊ सत्यको बाटो हिँडी कि ? वा ऊ फेरि कुनै अर्को जोगामेसो पर्खिएर बसेकी छे !

( चैत ५ गते प्रकाशित हुने उपन्यास ‘निर्दोष डेरावाल’बाट ।)


Author

विमल सिटौला

सिटौला त्रिवि केन्द्रीय शिक्षा विभागअन्तरगत स्‍नातकोत्‍तर तहमा अध्ययनरत छन् ।


थप समाचार
x